20081129

गिरिजाप्रसाद कोइरालाले चुनौती दिदै भने "म रहेसम्म सेना समायोजन हुन्नँ"

नेपाली कांग्रेको देशव्यापी जागरण अभियानअन्तर्गत पोखराको अमरसिंह चोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीले संविधानका बुँदाहरु तोड्दै गएको र संविधान निर्माण गर्ने काम ओझेलमा पर्दै गएको आरोप लगाउनुभएको छ। सेना समायोजनबारे उहाँको तर्क थियो म रहुन्जेल सेना समायोज हुन दिन्नँ। कार्यक्रममा बोल्दै कार्यवाहक सभापति सुशील कोइरालाले माओवादीले विगतमा भएका सहमतिको पालना नगरेकोमा आपत्ति जनाउनुभएको छ। १५ दिनभित्र घरजग्गा फिर्ता गर्ने प्रतिबद्धता माओवादीले पूरा नगरेको भन्दै उहाँले माओवादीलाई बोली र व्यवहार एउटै बनाउन आग्रह पनि गर्नुभयो। कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश कठिन मोडमा उभिएको बताउनुभएको छ। न्यायपालिकामाथि माओवादीले हस्तक्षेप गर्न खोजेको भन्दै उहाँले यसको विरोध समेत गर्नुभयो। कार्यक्रममा उपसभापति रामचन्द्र पौडेल, नेताहरु शेखर कोइराला, सुजाता कोइराला, युवानेता गगन थापा, प्रदीप पौडेललगायतको सहभागिता रहेको छ।
आमसभाअघि कांग्रेसले पोखराको चिप्लेढुंगाबाट र्‍यालीसमेत निकालेको थियो।
र्‍याली महेन्द्रपुल, पृथ्वीचोक हुँदै आमसभास्थल अमरसिंह चोकमा पुगेर सभामा परिणत भएको थियो।

बामदेव नभएको भए प्रचन्डको नाक काटिने...

सशस्त्र विद्रोह छोडी शान्तिपूर्ण राजनैतिक मूलधारमा आएर संविधानसभाबाट सबैभन्दा ठूलो पार्टी बन्न सफल माओवादीले २०६५ भदौ १० गते वर्तमान सरकारको नेतृत्व गर्दा नेपाली जनता, सरकारमा सहभागी दलहरू र अन्तर्राष्ट्रिय समुदायले योभन्दा कैयौं गुणा बढी गुणात्मक काम गर्ने आशा गरेका थिए। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि गठन भएको वर्तमान सरकारको कार्यशैलीप्रति सिंगो नेपाली जनता आक्रोशितमात्रै भएनन् सरकारमा सहभागी दलहरूभित्रै तीव्र विवादसमेत शुरु भयो। सरकारको एक सय दिनको समय विदेश भ्रमण गरी अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने प्रयास र आश्वासन बाँड्नेभन्दा बढी उपलब्धी हासिल हुन सकेन। गृहमन्त्री वामदेव गौतमले दुई चार वटा जनजीविकाको सवाल र विकृति विसंगतिविरुद्ध जेहाद नछेडेको भए नेकपा माओवादी नेतृत्वको सरकारसाग उपलब्धीका नारा नै हुने थिएनन्। गृहमन्त्री वामदेव गौतमले नाङ्गा रेष्टुरेन्टमा धावा बोलेर एउटा साहसिक काम गरे भने मदिराको विक्रीलाई व्यवस्थित गर्ने, फुटपाथ व्यवस्थापन र क्यासिनोमा हुने नेपाली प्रवेशलाई सरकारको उपस्थिति छ भन्ने देखाए। त्यसैगरी अर्थमन्त्रालय अन्तर्गत करको दायरा बृद्धि गर्दा केही सकारात्मक देखिएको छ। बजेटमा गाविसमा रकम बढाउने निर्णय, स्वास्थ्य चौकीहरूमा निःशुल्क उपचारको व्यवस्था, कमलरी प्रथाको अन्त्य आदि राम्रा कामहरू गरे पनि जनताले स्पष्ट देख्ने र राहत महसुस गर्ने गरी केही पनि काम गर्न सकेको छैन।
सरकारले सय दिनको बीचमा र दुरगामी असर पार्ने नकारात्मक काम नगरे पनि कोसी लगायत बाढी पीडितहरूको लागि राहत वितरण गर्ने कार्यमा सरकार असफल भयो भने पश्चिमका कैलाली र कञ्चनपुरका बाढीपीडितलाई त झनै निराशा पारेको छ। त्यसैगरी सरकारले सय दिनमा जनताले अपेक्षा गरेको बेपत्ता खोजविन आयोग, सहिद परिवारलाई राहत वितरण कार्य गर्न सकेको छैन। त्यस्तै आमूल परिवर्तन गर्ने आश्वासन बाँडेको सरकारले जनताको त्यो आशा पूरा गर्न सकेको छैन।
वर्तमान सरकारको सय दिनको कामप्रति जनता निराश देखिएका छन् भने विदेशीहरू पर्ख र हेरको स्थितिँम रहे पनि मन्त्रीहरू मख्ख देखिन्छन्। जनताको पक्षमा कुनै काम गर्न नसकेको विकासका कामहरूलाई तीव्रता दिन नसकिएको अवस्थामा मन्त्रीहरू भने भाषणमै रमाइरहेका देखिएको छ। कम्युनिस्टहरूको नेतृत्वमा गठन भएको सरकारले विगतमा बाँडेको आश्वासन र नारालाई मूर्तरूप दिन नसकेको अवस्था एकातिर छ भने अर्कोतर्फ प्रतिपक्ष कांग्रेस र विदेशीहरूको साथ र समर्थन लिएर निर्धारित समयमै संविधान बनाउनुपर्ने छ नेपाली जनताले अत्यन्तै आशाका साथ हेरेको यस सरकार सामु दर्जनौं चुनौतीहरू भए पनि सम्भावना धेरै छन्। जनताको आशालाई निराशमा परिणत हुन नदिन समृद्ध तथा नयाँ नेपाल निर्माणको मार्गमा सानातिना मतभेदलाई थाँती राखेर राष्ट्रिय स्वार्थकोे पक्षमा सबै एक भएर अगाडि बढ्न जरुरी छ। -अभिषेक कार्की

2 comments:

  1. खनाल जि को वेबसाईट क्लिक गर्दा लाग्यो मैले अब अरु खोल्न नपर्ने भयो , समाचार गीत भिदियो सब छ यार , वहाँ लाई बधाई है
    - करिश्मा
    लण्डन

    ReplyDelete
  2. वेबसाईट होश त यस्तो पो । क्या गजब को बात् ।
    - हीमाली

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक