20081228

प्रधानमन्त्रीको कार्यक्रम समेत स्थगित


व्यवस्थापिका संसदको आइतबार साँझ ६:४० मा सुरु भएको बैठक प्रमुख विपक्षी कांग्रेसले बहिष्कार गरेको छ। प्रधानमन्त्रीले कांग्रेससँग सहमति गरी संसदलाई संवोधन गर्ने कार्यक्रम समेत स्थगित भएको छ।संसद बैठक सोमबार अपरान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ। संसद अपरान्ह २ बजे सुरु हुने भने पनि कांग्रेसको ९ बुँदे मागलाई संबोधन गर्न बसेको बैठक लम्बिएका कारण सदन साढ चार घण्टा ढिलो सुरु भएको थियो। बैठक सुरु हुनासाथ कांग्रेसले बहिष्कार गरेको हो । मन्त्रिपरिषद्को बिहान बसेको बैठकले माओवादीले द्वन्द्वकालमा कब्जा गरेको सम्पत्ति फिर्ता गर्ने लगायतका नौ बुँदे माग संवोधन गर्ने निर्णय गरेको थियो। तर, सरकार र कांग्रेसबीच ९ बुँदे मागका बारेमा भएको छलफल सहमति नभएपछि बहिष्कार गरेको हो। बैठक सुरु हुनासाथ कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले प्रधानमन्त्रीबाट आश्वस्त हुन सक्ने गरी जवाफ नआएसम्म बैठक वहिष्कार जारी रहने बताए । संसद सुरु हुनु अघि निस्केका प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससित सरकार सहमति नजिक पुगेको बताएका थिए। कांग्रेससितको आइतबार अपराह्नबाट जारी वार्ताबाट बीचैमा निस्केका प्रधानमन्त्रीले कांग्रेससित केही कुरा मिल्न बाँकी रहे पनि सहमति हुने विश्वास व्यक्त गरेका थिए। प्रधानमन्त्रीले लिखित प्रतिवद्धता व्यक्त गरी १५ दिनभित्र पूर्व सहमति कार्यान्वयन गर्ने समयावधि जनाउनु पर्ने कांग्रेसको अडानमा माओवादी सहमत नभएपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो । "माओवादी समय तोक्न तयार नभएपछि आजको छलफल विना निष्कर्ष टुंगियो", कांग्रेस सभासद प्रकाशशरण महतले भने ।


कांग्रेसले अघि सारेको ९ बुँदे मागलाई पूरा गर्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय

सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अघि सारेको ९ बुँदे मागलाई पूरा गर्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको छ।
आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले नौ बुँदे मागको प्रस्तावलाई स्वीकार गर्दै कार्यान्वयन प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको बैठकपछि उपप्रधानमन्त्री वामदेव गौतमले जानकारी दिनुभयो। बैठकले अघि सारेको नौ बुँदे मागमध्ये द्वन्द्वकालमा माओवादीद्वारा कब्जा गरिएको घरजग्गा फिर्ता गर्न एक संसदीय समिति गठन गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो।
बैठकले सेना समायोजन विशेष समिति पुनर्गठन गर्ने निर्णय पनि गरेको छ। प्रमुख तीन दलबीच भएको सहमतिअनुसार प्रमुख चार दलका दुई/दुई जना सदस्य रहने गरी समिति पुनर्गठन गर्ने निर्णय गरेको आपूर्ति मन्त्री राजेन्द्र महत्तोले जानकारी दिनुभयो। पुनर्गठित समितिको नेतृत्व प्रधानमन्त्री स्वयंले लिने प्रस्ताव माओवादी मन्त्रीहरुले राखेको र त्यसमा एमालेले पनि सहमति जनाएको उपप्रधानमन्त्री बामदेव गौतमले जानकारी दिनुभयो। बैठकले गोर्खाको सिद्धीपुर, महेात्तरी बर्दिवासमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।


अखिल क्रान्तिकारी र नेपाली कांग्रेस नेता बीच पाल्पामा झडप

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अखिल क्रान्तिकारी र नेपाली कांग्रेस नेता बीच आइतबार झडप भएको छ । झडपमापरि नेपाली कांग्रेसका जिल्ला सभापति राजनप्रसाद पन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । क्रान्तिकारी विद्यार्थीहरूले काग्रेस नेता पन्तमाथि जाईलागेका थिए । सोही क्रममा अन्य कांग्रेसका नेताहरूलाई पनि हातपात भएको थियो भने क्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठलाई पनि विवादलाई साम्यपार्न हम्मे भएको थियो । आइतबार दिउँसो त्रिभुवन बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको भवनमा लेखिएका भित्तेलेखन मेटाउने विषयलाई लिएर विवाद हुँदा सो विवादले झडपको रुप लिएको हो । दुई साताअघि क्याम्पसमा भित्तेलेखन मेटाउन सर्वपक्षिय सहमति भएको र सोही अनुसार चार विद्यार्थी संगठनको बैठक बसेर क्याम्पसमा लेखिएको नारा मेटाउने क्रममा कांग्रेसका नेता आएर अखिल क्रान्तिकारीका विद्यार्थीलाई धम्क्याएको आरोप क्रान्तिकारीले लगाइएको छ ।सुरुमा नेपाली कांग्रेसका नेताहरू क्याम्पस हाताभित्र प्रवेश गरेर धम्काएको र पहिला उनीहरूले नै हात छोडेपछि मात्र झडप भएको अखिल क्रान्तिकारीका बासुले बताए । क्रान्तिकारीले आफ्ना नेता शितलमाथि पहिले कांग्रेस नेताले हातपात गरेपछि भिड आक्रोसित बनेको बताएको छ । भित्तेलेखनको क्रममा भएको सामान्य घटनालाई तत्काल समाधान नगरी क्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठले कांग्रेसका नेतालाई बोलाएको र विद्यार्थीमाथि पक्षपातपूर्ण व्यवहार गरेको अखिल क्रान्तिकारीका विद्यार्थीहरूले आरोप लगाएका छन् । क्याम्पसको भित्तामा लेखिएको नेपाली कांग्रेसका नेता वीपी कोइरालाको भनाईलाई मेट्दा विवाद सुरु भएको थियो । कांग्रेसका नेता राजेन्द्रगोपाल सिंहले भने सबै पार्टीका नेतासंग बसेर छलफल गर्ने योजना हुँदाहुँदै अखिल क्रान्तिकारीले मेटाउने काम गरेकोले त्यसैमा विवाद भएको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक