20090322

"माओवादी सरकारमा जानु मृत्युपत्रमा हस्ताक्षर"

दिल्ली सम्झौता गर्नेहरु आत्मालोचना गर्न थाले : रानाभाट
माओवादी सरकारमा जानु मृत्युपत्रमा हस्ताक्षर : काँग्रेस प्रवक्ता


प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले आफ्नो दल कुनै हालतमा माओवादी नेतृत्वको वर्तमान सरकारमा नजाने बताएका छन्। माओवादीको दादागिरीमा वर्तमान सरकार चलेको टिप्पणी गर्दै प्रवक्ता केसीले यो सरकारमा जानु काँग्रेसका लागि मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हुने टिप्पणी गरे। ´माओवादीको उदण्डता र दादागिरीमा चलेको सरकारमा काँग्रेस कुनै हालतमा जाँदैन´- पोखरामा शनिबार आयोजित नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको चौथो जिल्ला अधिवेसन उद्‍घाटन गर्दै केसीले भने- ´गुण्डागर्दी र हैकमवादबाट चलेको सरकारमा जानु काँग्रेसका लागि मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हो।´प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले केहीदिन अघि काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर सरकारमा आउने गरेको आग्रहलाई आफ्नो पार्टीले स्वीकार नगर्ने उनले बताए। प्रधानमन्त्रीले लोलोपातो गर्दैमा काँग्रेस सरकारमा गए पार्टीभित्रै चर्को विरोध हुने काँग्रेस प्रवक्ता केसीले बताए।
´माओवादीको उदण्डता र दादागिरीमा चलेको सरकारमा जाने कुरामा पार्टीका आम नेताकार्यकर्ता तयार छैनन्´ उनले भने-´केन्द्रीय समितिको निर्णय बीना कुनै यस्तो काम भए म नै विरोधमा उत्रने छु।´सरकारको नेतृत्व गरेको माओवादीले नेपाली सेना न्यायालय लगायत सम्पूर्ण कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप गरेर मुलुकलाई कमजोर बनाउन खोजेको केसीले आरोप लगाए।´माओवादीले पछिल्लो समयमा नेपाली सेनालाई राजनीतिमा तानेर तेजोबध गर्न खोजेको छ´- केसीले भने- ´सेनाको विषयलाई काँग्रेसले गम्भीर रुपमा लिएका छ।´ मुलुक जातिय द्धन्दतर्फ जान लागेकोमा चिन्ता व्यक्त गर्दै उनले त्यसको बिजारोपण गरेर माओवादीले जातिवाद हावी गराएको टिप्पणी गरे।´अहिले नेपाली भन्दा पनि कुन जातिको भनेर चिनिनु पर्ने अवस्था आएको छ,´ - केसीले भने- ´यस्तो जातिवादको सृजना गरेर माओवादीले जातिय आधारमा मुलुक बिखण्डन गर्न खोजेको छ।´कार्यक्रममा काँग्रेस नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले दिल्ली सम्झौता गर्ने दलहरु अहिले गल्ती स्वीकार गर्दै आत्मालोचना गर्न थालेको बताए । दिल्ली सम्झौतादेखि वर्तमान प्रतिपक्षीमा आँउदासम्म काँग्रेस नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको भन्दै उनले नेतृत्वको चर्काे आलोचना समेत गरे । ´माओवादीको सर्वसत्तावादी कार्यशैली देखेर दिल्ली सम्झौता गर्ने दलहरुले अहिले आत्मालोचना गरिरहेका छन‍्´, रानाभाटले भने-´क्षणिक आवेगमा आएर गल्ती गरिएछ भन्ने महसुस गर्न थालेका छन्।´माओवावादीले अनेक वाद र पथको सृजना गरेर मुलुकलाई अराजकता र दण्डहितनाको दिशामा अघि बढाएको उनले आरोप लगाए ।´माओवादीले बन्दुक बोकेर जातिय क्षेत्रीय र धार्मिक नारा बोक्ने परम्पराको सुरुवात गर्‍यो´ - रानाभाटले भने- ´त्यसैको सिको गर्दै अहिले चार दर्जनभन्दा बढी हतियारधारी समुह जन्मिसकेका छन्।´ -- मनोज अधिकारी,दैनिकी


एमाले नेताहरू वाईसीएल आक्रमणमा घाइते

वाईसीएलको आक्रमणमा नेकपा एमालेका पूर्वसांसद गोपाल गुरागार्इं, कोसी अञ्चल कमिटीका सदस्य धर्मराज पौडेल, जिल्ला कमिटी सचिव टीकाराम चेम्जोङ र सदस्य राजेन्द्र र्राई सख्त घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक गणेशबहादुर ऐरले क्षेत्रीय प्रशासन कार्यालयमा वार्ताका लागि बिनासुरक्षा पठाएका एमालेका नेताहरूलाई धनकुटाको बीचबजारमा वाईसीएलले आक्रमण गरेको थियो। सो आक्रमणमा एमाले नेताहरू बोकेको बा१च ४५७ नम्बरको क्षेत्रीय प्रशासन कार्यालयको गाडीसमेत तोडफोड भएको छ। घाइते एमाले नेता गुरागाईंको धनकुटामा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। एमाले नेताहरूलाई वाईसीएलले रड, लट्ठी, बियरका बोतल र ढुंगाले आक्रमण गरेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यस घटनामा संलग्न भएका अखिल क्रान्तिकारीका धनकुटा बहुमुखी क्याम्पस स्ववियु सभापतिका उम्मेदवार हेमचन्द्र र्राई र कार्यकर्ता हरि भट्टर्राईलाई प्रहरीले पक्राउ गरेको छ।
यसैैबीच नेकपा एमालेले शनिबार साँझ पत्रकार सम्मेलन गरी क्षेत्रीय प्रशासन कार्यालयमा वार्ताका लागि बोलाएर नियतवश एमालेका नेताहरूमाथि आक्रमण गर्न लगाइएको भन्दै प्रमुख जिल्ला अधिकारी रामुप्रसाद उपाध्याय र प्रहरी नायब उपरीक्षक गणेशबहादुर ऐरलाई निलम्बन नगरी वार्तामा नबस्ने बताएको छ।
दुइपक्षीय भिडन्तको खतराले जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा कर्फर्यु जारी गरेको छ। शनिबार बेलुका ७ बजेदेखि पूर्वमा बिहीबारे हटिया, पश्चिममा धनकुटा नगरपालिकाको ढाट, उत्तरमा स्कुलडाँडा र दक्षिणमा श्रीवानी बजारक्षेत्रभित्र अनिश्चित कालका लागि कर्फयु जारी गरेको छ भने धनकुटाबजारमा व्यापक जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक