20100818

Exclusive Interview With Former Crown Prince Paras Shah

"राजसंस्था जानुमा राजसंस्थाका पनि धेरै कमजोरी छन् र यसमा राजसंस्थाका पनि ठूला-ठूला गल्तीहरू छन्"

अहिलेको राजनीतिबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
        - यो मेरोभन्दा पनि नेपाली जनताको कुरा हो । नेपाली जनता अहिलेको राजनीतिप्रति सन्तुष्ट छन् भने म पनि सन्तुष्ट छु । जनता खुसी छन् भने म पनि खुसी छु । राजनीति जनताका लागि गर्ने हो र यसले जनतालाई सन्तुष्ट बनाउनुपर्छ । त्यसैले यो जनतालाई सोध्ने प्रश्न हो ।
image
देशमा अन्योलको स्थिति छ । चारपटकसम्म प्रधानमन्त्रीको चयन भएको छैन । यसलाई कसरी हेर्नुभएको छ ?
         - हामी संसदीय प्रणालीमा छौँ । यो प्रणाली आफैंमा नराम्रो होइन । यस प्रणालीमा मतदान र बहुमतको कदर हुन्छ । तर, यतिवेला हामी दुईवटा शासन-प्रणालीको बीचमा छौँ । एकातिर लोकतान्त्रिक शासन-प्रणाली अपनाएको ठूलो छिमेकी देश छ भने अर्कोतिर कम्युनिस्ट.....
शासन-प्रणाली अपनाएको अर्को विशाल छिमेकी देश छ । हामी दुई ढुंगाबीचको तरुलको अवस्थामा छौँ ।
हाम्रो छिमेकमा रहेका यी दुवै देशले नेपालमा आफ्नो स्वार्थ हेर्छन् नै । आप\mनो फाइदाका लागि उनीहरूले खेल्न खोज्छन् । तर, हामीले दुईवटा प्रणालीलाई बीचमा राखेर जानुपर्छ र उनीहरूको स्वार्थभन्दा पनि हाम्रो स्वार्थ खोज्नुपर्छ । दुईवटा प्रणालीलाई बीचमा राखेर अघि बढ्यौँ भने देश अघि बढ्छ ।

अहिलेको अवस्थामा नेपालमा एकीकृत सरकार आवश्यक छ । यस्तो सरकारले नै दुईवटा प्रणालीलाई बीचमा राखेर अघि बढ्न सक्छ ।
अन्योलको निकास अब कसरी होला त ?
मैले भनेँ नि, हामीले दुईवटा सिस्टमलाई मिलाएर जानुपर्‍यो । यसो गर्न सकेनौँ भने हाम्रो देश विदेशीहरूको स्वार्थमा प्रयोग हुन सक्छ । उनीहरूले आफ्नो प्रणाली अर्काको देशमा प्रयोग गर्न खोज्छन् । आफ्नो स्वार्थ अर्काको देशमा प्रयोग गर्न खोज्दा यसले देशमा गृहयुद्ध निम्त्याउन सक्छ । त्यो बाटोमा हामी जानैहुँदैन । द्वन्द्वको बाटो हामीले खोज्नुहुँदैन । त्यसकारण यी दुईवटा सिनारियोलाई गम्भीर रूपले नियाल्नुपर्छ । हामीले आफ्नो स्वार्थको रक्षा गर्न गम्भीर गृहकार्य गर्नुपर्छ । कुनै कारणले हामी गृहयुद्धमा गयौँ भने यसमा उनीहरू (छिमेकी) ले नै खेल्छन् । त्यो मौका दिनुहुँदैन । उनीहरूले नेपाललाई प्रयोग गर्न खोजेका छन् । त्यसकारण यो अवस्था हामीले नै रोक्नुपर्छ ।

तपाईंले राजनीतिमा प्रत्यक्ष संलग्न हुने सोचाइ बनाउनुभएको छ कि ?
राजनीतिमा प्रत्यक्ष संलग्न हुने मेरो सोचाइ छैन । तर, राजनीतिमा हरेक नागरिकले चासो राखेकै हुन्छन् । नचाहेर पनि चासो भइहाल्दोरहेछ ।
तपाईंका ज्वाइँ राजबहादुर सिंह हालै एउटा पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले यस विषयमा तपाईंसँग केही सल्लाह गर्नुभएको थियो ?
उहाँ पार्टीमा प्रवेश गरेको मलाई केही थाहा थिएन । समाचारमा आएपछि मात्र थाहा पाएको हुँ ।
उहाँ त्यसरी प्रवेश गर्नु हुँदैनथ्यो भन्ने तपाईंलाई लाग्छ ?

त्यो उहाँको कुरा हो । यसमा मैले के भनुँ ?
तपाईं पनि कुनै पार्टीविशेषसित नजिकिनुभएको त छैन ?
अहिले देशमा संक्रमणकालको स्थिति छ । मेरो त्यस्तो कुनै योजना छैन । (मैले) पार्टीमा प्रवेश गर्ने समय आएको छैन । संविधान बनेको छैन । कस्तो संविधान बन्छ त्यो हेर्न बाँकी नै छ । संविधान बनेपछि के गर्ने त्यो त्यसपछिको कुरा हो ।
नेपालमा राजसंस्थाको अन्त्य हुनुमा तपाईं के कारण देख्नुहुन्छ ?
यसमा धेरै कारण छन् । हामीलाई एक्ल्याइयो । नेपालभित्रको समस्या नेपालबाटै समाधान हुनुपथ्र्यो । नेपालको समस्यालाई बाहिरबाट समाधान गर्न खोजियो । नेपाली-नेपाली मिलेर नेपालको समस्या समाधान गर्नुपथ्र्यो भन्ने मेरो भनाइ हो ।
यसमा राजसंस्थाको पनि केही त कमजोरी रह्यो होला नि, होइन र ?
तपाईंले भनेको सही हो । राजसंस्था जानुमा राजसंस्थाका पनि धेरै कमजोरी छन् र यसमा राजसंस्थाका पनि ठूला-ठूला गल्तीहरू छन् । हामी जुन परम्परा र प्रविधिमा चलेका थियौँ, त्यो सीमित व्यक्तिहरूको पहुँचमा मात्र थियो । उनीहरूले हामीलाई घेरेका थिए । हामीलाई जनतामा जान दिइएन र जनताको कुरा सुन्नै पाइएन । जनतालाई पनि हाम्रो पहुँचमा आउन दिइएन । यो एकदमै पुरानो परम्परा थियो । हामी त्यो घेरा तोडेर सोझै जनतामा जान सकेनौँ र जनता पनि हामीसँग आउन सकेनन् । सीमित व्यक्तिहरू हामी र जनताबीच पर्खाल बने । हामीले त्यो घेरा ब्रेक गर्नुपथ्र्यो भन्ने मलाई लागिरहेको छ । त्यो पुरानो परम्परा अब काम लाग्दैन । त्यो त्यतिवेला काम लाग्थ्यो होला । त्यसकारण पुरानो परम्परा र प्रविधि तोड्नुपर्छ ।
उसो भए, अहिलेचाहिँ तपाईं जनतामा जान खोज्नुभएको हो ?
मैले भनेँ नि, जनता र हामीबीचको पुरानो घेरा र प्रविधि अब तोडिनुपर्छ । हामी जनतामा जानुपर्छ ।
के राजसंस्था फेरि र्फकन सक्ने देख्नुहुन्छ त ?
यो जनताको कुरा हो । जनताले चाहे भने जे पनि हुन सक्छ । जनता चाहन्छन् भने राजसंस्था र्फकन सक्छ । यो कुरा मैले वीरगन्जमा पनि भनेको हुँ । मुलुकलाई कस्तो प्रणाली चाहिन्छ त्यसको निर्णय जनताले गर्नुपर्छ ।
जनता के चाहन्छन् भनेर कसरी थाहा पाउने ? जस्तो कि राप्रपा नेपालले राजसंस्थाको विषयमा निर्णय गर्न जनमतसंग्रहमा जानुपर्छ भनिरहेको छ, यसमा के भन्नुहुन्छ ?
त्यो पनि एउटा व्यावहारिक विकल्प हुन सक्छ । जनताको निर्णय बुभ\mन विभिन्न विकल्प छन् । सबैभन्दा व्यावहारिक र उपयुक्त विकल्प जनमतसंग्रह हुन सक्छ । तर सर्वोच्च निर्णय जनताको हातमा छ ।
अचेल दिन कसरी बिताइरहनुभएको छ ?
यस्तै चलिरहेको छ । पत्रपत्रिका पढ्छु । साथीभाइहरूसँग कुराकानी र भेटघाट भइरहन्छ । अहिले मलाई देशको बारेमा चिन्ता छ । देश अघि बढोस् भन्ने मेरो चाहना हो ।
अब सिंगापुर कहिले जानुहुन्छ ?
तत्काल सिंगापुर जाने कार्यक्रम छैन । एक-दुई हप्ता यहीँ बस्छु ।
तपाईंको दाम्पत्यजीवन कस्तो चल्दै छ ? श्रीमान्-श्रीमतीबीच राम्रो सम्बन्ध छैन भन्ने चर्चा मिडियामा चलिरहन्छ नि ?
होइन, एकदम राम्रो सम्बन्ध छ । तपाईं फेरि आउनुहोस् हामी दुईजना सँगै बसेर तपाईंलाई अन्तर्वार्ता दिउँला नि । आज (आइतबार) बन्दको दिन भएर केटाकेटी पनि पढ्न गएका छैनन् । अहिले हामी सबै सँगै छौँ । एकदम खुसी छौं ।

पूर्वराजा तपाईंसँग सन्तुष्ट हुनुहुन्छ भन्ने पनि समाचार वेलावेलामा आउने गर्छन्, सत्य के हो ?
त्यस्तो हुँदै होइन । बुबासँग दिनमा दुई-तीनपटक भेट हुन्छ । आज मात्रै तीनपटक भेट भइसक्यो । मसँग उहाँ एकदम खुसी हुनुहुन्छ । मिडियामा हाम्रो सोझै पहुँच हुँदैन । दोस्रो व्यक्ति या तेस्रो व्यक्तिबाट हाम्रो विषयमा समाचार जाने गर्छ । उनीहरूले पनि आप\mनो स्वार्थ हेरिहाल्छन् । पहिलो व्यक्तिबाट दोस्रोमा जाँदा र दोस्रोबाट तेस्रोमा जाँदा धेरै कुरा फिल्टर हुँदै जान्छन् र पत्रपत्रिकामा यस्ता समाचार आउँछन् । त्यसकारण मिडिया र हामीबीचको पर्खाल पनि अन्त्य होस् भन्ने मेरो चाहना छ ।
अहिले तपाईंको स्वास्थ्यस्थितिचाहिँ कस्तो छ नि ?
स्वास्थ्यस्थिति एकदम राम्रो छ । समस्या केही छैन ।
चुरोट र बियर कत्तिको पिउनुहुन्छ ?
चुरोट त पिउँछु तर बियर पिउँदिनँ भने पनि हुन्छ । कहिलेकाहीँ त्यस्तै नखाइनहुने स्थिति भयो भने अलिकति खान्छु । तर, मैले छोडिनै सकेँ भन्दा हुन्छ ।
आगामी योजनाहरू के छन् ?
खासै त्यस्तो केही छैन । एक-दुई हप्ता यतै बस्छु । मलाई के लाग्छ भने अब हामीले भावी पुस्ताका लागि केही न केही काम गर्नुपर्छ । समय थोरै छ तर अझै बिगि्रसकेको छैन । अब हामी देशका निम्ति लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।
अब हामी पार्टीभन्दा माथि उठ्नुपर्‍यो । एउटा नेपाली र अर्को नेपाली सँगै भएर काम गर्नुपर्‍यो र त्यो काम नेपालका लागि गर्नुपर्‍यो ।
नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालको भविष्य उज्ज्वल छ । तर देशलाई हाँक्ने सक्षम व्यक्ति हुनुपर्‍यो । नेपाल हाँक्ने एकजना मान्छे चाहियो । जसले राम्ररी हाँक्न सकोस् । सिंगापुरले ४५ वर्षमै धेरै विकास गर्‍यो, त्यो पनि एकजना व्यक्तिको भरमा । त्यस्तै व्यक्ति नेपालमा भए छोटो समयमै देशलाई अघि बढाउन सक्छ ।
सक्षम नेता चाहियो भन्न खोज्नुभएको हो ?
नेताभन्दा पनि देश हाँक्ने सक्षम व्यक्ति चाहियो भनेको हुँ ।
देशमा अब बन्ने संविधान कस्तो होस् भन्ने चाहनुहुन्छ ?
संविधान निर्माण हुनुपर्ने समय अब दस महिना मात्र बाँकी छ । यो दस महिनाभित्र बन्ने संविधान नेपालीको हुनुपर्‍यो र नेपालीले स्वीकार गर्ने हुनुपर्‍यो । जनतामा अनमचयन र खुसी आओस् भन्ने हाम्रो चाहना हो ।
निर्मलनिवास छिर्दा
अनेकौं विवादमा तानिने पूर्वयुवराज पारससँग अन्तर्वार्ता तय भएपछि आइतबार दिउँसो तीन बजे निर्मलनिवासको गेटमा पुगियो । गेटबाहिर सुरक्षाकर्मीले सोधपुछ गरे । पहिले नै उनीहरूलाई एकजना गेस्ट तीन बजे आउँदै छन् भनेर सूचना दिइएको रहेछ । तर, नाम भनिएको रहेनछ । सायद म अनौपचारिक पोसाकमा त्यहाँ पुगेको कारण हुन सक्छ, सुरक्षाकर्मीले मलाई निर्मलनिवासको गेस्ट ठानेनन् र केहीबेर सोधपुछ गरे ।
त्यसपछि गेटमा रहेका सुरक्षाकर्मीले पूर्वयुवराजको एडिसीकहाँ सूचना पुर्‍याए । करिब तीस मिनेट गेटमा प्रतीक्षा गरेँ । त्यसपछि भित्रबाट सूचना आयो । पूर्वयुवराजका एडिसीले मलाई गेटभित्र छिराए । उनले मलाई सीधै निर्मलनिवास परिसरको चौरमा लगे । चौरको बीचतिर पूर्वयुवराज पारस र एकजना सहयोगी सँगै देखिए । उनी बसेको कुर्सीअगाडि सामान्य खालको टेबुल थियो जसमा आइतबारका सबैजसो दैनिक पत्रिका थिए । टेबुलमा सूर्य चुरोट राखिएको थियो । पूर्वयुवराज कालो पाइन्ट र कालो टिसर्टमा थिए । पृष्ठभूमिमा निर्मलनिवास थियो । वरिपरि रूखहरू थिए ।

म पुगेपछि पारसले नजिकैको कुर्सीमा बस्न आग्रह गरे । उनले तपाईं भनेर सम्बोधन गरेका थिए । 'ल भन्नुहोस् देशको स्थिति के छ ?' भनेर उनले नै कुराकानी थालेका थिए । मलाई चुरोट पिउन आग्रह पनि गरे । मैले चुरोट पिउने गरेको छैन भनेँ । त्यसपछि कुरा गरुन्जेल उनले पनि चुरोट खाएनन् ।
कुराकानीको क्रममा उनले अनौपचारिक ढंगले धेरै कुरा गरे पनि औपचारिक अन्तर्वार्तामा भने निकै नापतौल गरेर बोले । करिब पौने घन्टाको कुराकानी अवधिभरि उनी सहज र प्रफुल्ल लागे । उनले आफ्नो कुरा मिडिया जाँदा दोस्रो, तेस्रो हुँदै चौथो व्यक्तिबाट जाने भएकाले सूचना बांगिने गरेको गुनासो पोखे ।
त्यहाँ पारस र उनका सहयोगीबाहेक अरू कोही देखिएनन् । एडिसी पनि मलाई पुर्‍याएर त्यहाँबाट हिँडेका थिए । उनका सहयोगी मोबाइलमा कुरा गर्दा भने अलि पर जान्थे । फर्कंदा हँसिलो ढंगले उठेर बिदाइ गरेका थिए । फेरि भेटौँला पनि भने । 
- पूर्वयुवराज पारससँग नयाँ पत्रिका सहकर्मी भुवन शर्माले लिएको विशेष अन्तर्वार्ता

बिचरा "म"

पाडो होस कि खसी
आलु होस कि फर्सी
मौकामा चौका ठोक्नै पर्‍यो
दुइचार दाम ढोक्नै पर्‍यो
कालिमाटी जोडले करायो।

चिनी होस कि चामल
लत्ता होस कि सामल
बसेर दाउ छोप्नै पर्‍यो
कसेर भाउ जोख्नै पर्‍यो
महङ्गी तोडले करायो।

ग्यास होस कि मट्टितेल
पानी होस कि भट्टितेल
अभाब सिर्जना गरेर
जनताको ढाड सेक्नै पर्‍यो
नेताको चन्दा थेग्नै पर्‍यो
कालो बजार जुर्मुरायो।

नाकाहरु खोलिनुपर्छ
भाकाहरु बोलिनुपर्छ
काकाहरु मोल्लिनुपर्छ
चरेस गाजा बोक्नै पर्‍यो
दाम राखी ढोक्नै पर्‍यो
दुई नम्बरी मुर्मुरायो।

बजार भाउ हेर्दै
हिसाब किताब केर्दै
लामो सास फेर्दै
बिचरा "म"को आँखै तिर्मिरायो।
 

1 comment:

  1. Thanks for bringing this news to us. Its time to be reunited for country. We youth have to lead anyway for the nation. Otherwise, these political leaders will collapse the country.
    shah.ashok@live.com

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक