20110315

रक्सी खान हुन्न भन्ने बाहुनहरु टिकी झोल हुन थालेका बेला रक्सी नखाए भगवान रिसाउँछन भन्दै रक्सी खाने तामाङ् हरुले गरे रक्सी निसेधको घोषणा ! अरुले पनि सिक्ने कि !

तामाङ समुदायका बासिन्दाहरुले धर्म र नियम हामी आफैंले बनाएको हुँदा नराम्रो पक्षलाई परिमार्जन गर्न पनि सक्छौं भन्दै गतिलो उदाहरणस्वरुप धर्मको नियमभित्र जाँडरक्सीको प्रयोगलाई तोड्ने अभियानमा लागेका छन्। तामाङ जातिका समुदायभित्र विषेश गरी देवतालाई खुसी पार्न पूजाआजामा चढाउन र पाहुनाको सत्कारका लागि जाँडरक्सीको प्रयोग हुने गर्दछ। धर्मको नाममा जाँडरक्सीले विकृति जन्माएकोले जिल्लाको ककनीका बुढापाका युवासहित समाजसेवीहरुले जाँडरक्सीसँगै जुवातासलाई पनि प्रतिबन्ध लगाएका छन्। जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा चिनिएको ककनीलाई तामाङ समुदाय र स्थानीय समाजसेवीहरुको
सक्रियतामा मदिरा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको हो। ककनी गाविस-२ को हिलेखर्कमा पछिल्लो समयमा जुवातास र मदिराको कारण दिनानुदिन सामाजिक विकृतिले प्रश्रय पाउन थालेपछि सामाजिक मर्यादालाई बचाउन निषेधित क्षेत्र घोषणा गरिएको हो। अधिकांश तामाङहरुको बसोवास रहेको उक्त क्षेत्रमा
सामाजिक सुधारका लागि पुर्खौंदेखि रहेको कुरीति कुसंस्कारको अन्त्य गर्न सामाजिक चेतना जगाइएको स्थानीय समाजसेवी रेशमबहादुर तामाङले बताउनुभयो।

माघ महिनाको शुरुदेखि नै मदिरा जुवातास निषेधित अभियान थालिएकोमा अहिले आएर स्थानीय संघसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन्। त्यसका लागि आमा समूह र युवाहरु संगठित भएर अनुगमन गरिरहेको निषेधित अभियान सफल बनाउन सक्रिय रुपमा लागिपरेका अर्का सुब्बा तामाङले जानकारी दिनुभयो। केही समयअघि मात्र सयौं गाउँवासीको सकि्रयतामा मदिरा उत्पादन गर्ने माटाका दर्जनौं भाँडाकुँडा सार्वजनिक स्थलमा ल्याई फुटाइएको थियो।

दुई महिनाअगाडि लामा गुरुहरुले जाँडरक्सीले देवता खुसी नहुने देवताका लागि बाहुन क्षेत्रीले जस्तै सफासुग्घर भई फूल अक्षता दही दूध चढाउनुपर्ने प्रशिक्षण दिएका थिए। प्रशिक्षण दिएपछि हिलेखर्कका तामाङसमुदाय जाँडरक्सीले गर्दा गरिब र पिछडिएको अनुभव गरी निषेध अभियानमा सक्रिय भई लागेको बताइएको छ।

तामाङ जातिले मान्ने बौद्ध धर्मभित्र जाँडरक्सी चढाउनुपर्ने उल्लेख पनि नभएकोले यो संस्कार झूटो भएको समाजसेवी रेशमबहादुर तामाङले बताए। अब यस ठाउँमा भोजभतेर चाडपर्व र धार्मिक संस्कार तथा अन्य सामाजिक क्रियाकलापमा समेत जाँडरक्सीलाई वर्जित गरिने भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक