20110303

सुजाताका ज्वाँई तारेखमा गएनन, पारस गए ! पंचेबाजा बजाएर स्वागत, पूर्व युवराज पारस शाहले समर्थक माझ केही बोलेनन् !

   अधिवक्ता भट्टराईले चर्को भाषण गर्दा पारस मुस्कुराउँथे !
नागरिक लेख्छ : आफू विरुद्ध चितवन जिल्ला प्रशासन कार्यालयमा परेको मुद्दाको तारेख खेप्न भरतपुर आएका पूर्व युवराज पारस शाहले समर्थक माझ केही बोलेनन्। उनको स्वागतमा आयोजित
कार्यक्रममा 'पारस सरकार'को तर्फबाट कानुन व्यवसायीले गणतन्त्र, संविधानसभा र नेताको चर्को आलोचना गरे। पूर्व युवराज पारसले गत मंसिर २५ गते चितवन निकुञ्ज भित्र रहेको टाइगर टप्स जंगल लजमा गोली चलाएको खवर संचारमाध्यममा आएपछि उनी मंसिर २८ गते पोखराबाट समातिएका थिए। सार्वजनिक स्थानमा अशान्ति फैलाएको अभियोग सहित चितवन जिल्ला प्रशासनमा उनका विरुद्ध मुद्दा दायर भएको छ। सोही मुद्दाको तारेख बिहीबार परेकाले उनी जिल्ला प्रशासन कार्यालयमा आएका थिए। जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा साक्षीको बयान लिने काम सकिएपछि उनको स्वागतमा समर्थकहरुले भरतपुर केन्द्रीय बस पार्कमा सभा आयोजना गरे। जहाँ एकजनाले स्वागत मन्तव्य राखे भने पारसका कानुन व्यवसायी विष्णु भट्टराईले मन्तव्य।
भट्टराईले आफू 'पारस सरकारको' तर्फबाट बोलेको भन्दै सात बुँदे सहमतिदेखि अहिलेको राजनैतिक अवस्थासम्ममको आलोचना गरे। देशको राजतन्त्र फालेर राष्ट्रपति भएको व्यक्ति कतारका राजाको जहाज चढेर उनको समारोहमा जानु हास्यासपद भएको भट्टराईको भनाइ थियो। प्रधानमन्त्री भएका बेलामा माधवकुमार नेपालले भ्रमण गरेको देश डेनमार्कमा राजतन्त्र भए पनि विश्वको राम्रा मुलुकमा पर्ने र गणतन्त्र भए पनि इथोपिया विश्वकै गरिव देशमा पर्ने भएकाले उनले राजतन्त्र गणतन्त्रभन्दा उत्कृष्ट रहेको जिकिर गरे। संविधान सभाले ठट्टै ठट्टामा देशको अस्मिता खतरामा पुर्‍याएको भट्टराईले बताए। 'जन प्रतिनिधिले राम्रो गर्छन भन्ने हुँदैन,' उनले अगाडि भने 'सिक्किमलाई जनप्रतिनिधिले नै भारतमा विलय गराएका हुन्। संविधान सभामा पुगेका नेताले पनि त्यस्तै घात गर्त बेर लगाउँदैनन्। संविधानसभाको बैठक बस्दा भत्तामा मात्रै दिनको २५ लाख रुपैयाँ खर्च हुन्छ भन्दै उनले भत्ताकै लागि नेताले संविधान नलेख्ने ठोकुवा गरे।

'प्रधानमन्त्री बल्ल बल्ल पद छाड्छन् तर पाएको गाडी त्याग्दैनन्। सभासद् भनाउँदाहरु राम्रो कुर्ता सुरुवाल देखाएन भनेर व्यपारीलाई पुलिसकोमा थुनाउँछन्। यस्ताबाट हामी केही आशा राख्न सकिन्न,' सम्बोधनको क्रममा अधिवक्ता भट्टराईले भने। उनले संविधानसभाको म्याद कुनै पनि हालतमा थप्न नहुने तर्क गरे। 'संविधान सभा गठन भएपछि पनि २० लाख नयाँ युवा मतदाता भएका छन्। अब उनीहरुको पनि जनादेश लिएर संविधानसभा गठन गर्नु पर्छ। नत्र यी युवाले संविधान अस्विकार गर्ने छन्,' भट्टराईले बताए। दलले सिंहदरवार पाए, कार्यकर्ता जीएम र हाकिम भए तर जनयुद्ध र जनआन्दोलनमा मारिएका सर्वसाधरणको आफन्तले केही नपाएको उनले बताए। अधिवक्ता भट्टराईले चर्को चर्को भाषण गर्दा पारस केही मुस्कुराउँथे। उनले भाषण भ्याएपछि लगातार रुपमा ताली बजाए। जगत गौचन र नायक शिव श्रेष्ठ समेत मञ्चमा बसेको कार्यक्रममा पूर्व युवराज पारस शाहले केही बोलेनन्। केही त बोल्नु न भन्ने पत्रकारहरुको आग्रहमा उनले, 'यहाँ आउँनु भएका सवैलाई धन्यवाद' मात्रै भने। पूर्व युवराज पारस बा ५ च ८९७९ नम्बरको सुनौलो रंगको ल्यान्डक्रुजर गाडी आफैले चलाएर जिल्ला प्रशासन कार्यालमा छिरेका थिए। उनलाई चितवन रामनगरदेखि नै समर्थकहरुले स्वागत गरेको थिए। युवाहरुले मोटर साइकल र्‍याली निकालेका थिए। उनी विरुद्धको मुद्दाका साक्षीहरुको बयान लिने काम सकिएपछि पारस बसपार्कको कार्यक्रममा सहभागी भएका थिए। पंचेबाजा बजाएर उनको स्वागत भएको थियो। उनी विरुद्ध दायर भएको मुद्दाका बारेमा गंगाबहादुर क्षेत्री, रामजी तामाङ, जीतबहादुर महतो, बुद्धिमान तामाङ, राजिव शाही, फणिन्द्र भण्डारी, आदर्शबिक्रम राणा र अभय शाहाले बयान दिए। साक्षीको रुपमा रहेका रुवेल चौधरी उपस्थित भएनन्। साक्षीको बयान सकिएकाले चैत्र २ गते यो मुद्दाको पेशी तय भएको छ। सुजता चौधरीका ज्वाई रुवेल चौधरीसँग विवाद भएपछि पारस शाहले गोली चलाएको समाचार आएको थियो। प्रहरी अनुसन्धानको आधारमा पारस विरुद्ध सार्वजनिक स्थलमा शान्ति भंग हुने काम गरेको अभियोग लगाएर मुद्दा दायर भएको छ। जुन अभियोग प्रमाणित भएमा १० हजार रुपैयाँ जरिवाना हुन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक