20111019

मुलुक टुक्र्याउने धम्की दिने राष्ट्रघाती रक्षा मन्त्रीले बर्खास्त भए पछी भन्दैछन 'मैले राजीनामा दिएको छैन, दिन्न पनि'

निवर्तमान रक्षामन्त्री शरतसिंह भण्डारीले आफूमाथि अन्याय भएको भन्दै राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बन्धित दलको सिफारिसमा भण्डारीलाई पदमुक्त गरेको केही घण्टापछि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले राजीनामा नदिएको बताए । 'मैले राजीनामा दिएको पनि छैन,' उनले भने, 'र दिन्न पनि ।' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता भण्डारी भदौ २८ गते रक्षामन्त्री नियुक्त भएका थिए । उनले आफ्नो राजीनाका विषयमा पार्टी पनि विचलित भएको आरोप लगाए । उनले भने, 'पार्टीभित्र लोकतन्त्र कायम गर्न नै
हामीले पार्टीका नाम लोकतान्त्रिक फोरम राखेका थियौं, तर पार्टी पनि विचलित भयो ।' पार्टीको बुधबार बसेको राजनीतिक समितिको बैठकले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेकोप्रति उनी र समर्थक सदस्यहरु विपक्षमा थिए । उनले आफूलाई अन्यायपूर्ण ढंगले हटाउने निर्णय भएको र संसदमा आफ्ना कुरासमेत राख्न नदिएका उल्लेख गरे । 'पार्टीका केही साथीहरुले मलाई फिर्ता बोलाउने निर्णय गर्नुभयो,' उनले भने, 'यस्तो महत्त्वपूर्ण निर्णय केन्द्रीय समितिबाट हुनुपथ्र्यो, मैले केन्द्रीय समिति बैठक पनि माग गरेको थिएँ । तर आफूले पार्टी नछाड्ने उनको भनाइ थियो ।

रक्षामन्त्री भण्डारी प्रतिपक्षी कांग्रेस र एमालेप्रति भने आक्रामक देखिए । उनले आफूमाथि राज्यद्रोहको मुद्ध लगाउन पनि चुनौति दिए । 'मैले समावेशीकरणको आवाज उठाएको हो,' यस्ता अभिव्यक्ति दिइरहने बताउँदै उनले भने, 'म बोलिरहन्छु, र कांग्रेस-एमालेलाई चुनौति दिन्छु मलाई राज्यद्रोहको मुद्धा लगाइयोस् ।' उनले आफ्ना मुद्धालाई लिएर अधिकार नपाएका जनतासमक्ष जागरण अभियान लिएर जाने घोषणा गरे ।

उनले प्रतिपक्षी दलले सामान्य संसदीय मुल्य मान्यताकोसमेत ख्याल नगरेको आरोप लगाए । 'कांग्रेस र एमाले जसरी जिम्मेवार हुनुपथ्र्यो ? 'सिम्पल' मान्यतालाई समेत पालना गरेनन्,' उनले भने, 'यस्तो आरोप लागेको अवस्थामा 'पार्लियामेन्ट'मा स्पष्टीकरण दिने मौका दिनुपर्थ्यो । तर कांग्रेस-एमालेले संसदीय व्यवस्थामा प्राकृतिक न्यायकोसमेत ख्याल गर्नुभएन । त्यो ममाथि घोर अन्याय भयो ।' उनले आफूमाथि लगाइएको राष्ट्रघातको आरोप सामान्य नभएको बताए ।

शान्ति र संविधान नचाहने कांग्रेस र एमालेले विभिन्न बहानामा मुलुकलाई बन्धक बनाउन खोजेको उनको आरोप थियो । 'मलाई आशंका छ उनीहरु शान्तिप्रक्रिया र संविधान निर्माणमा इमान्दार छैनन्,' उनले भने । उनले आफ्नो भनाइलाई बंग्याएको जिकिर गर्दै भने, 'कमसेकम त्यस पत्रकार सम्मेलनको पूर्ण अंश सुन्नुपर्दथ्यो ।'

उनले आफूले सेनालाई समावेशी बनाउन तत्काल तीन हजार मधेसीलाई सेनामा भर्ना गर्ने तयारी गरेको उल्लेख गरे । 'यस विषयमा सेना पनि सकारात्मक थियो,' उनको भनाइ थियो । उनले आफूले मुलुक टुक्र्याउने कुन कहिल्यै नसोचेको दोहोर्‍याए ।

भण्डारीले असोज ९ गते राजधानीमा आयोजित साक्षात्कारमा मधेसीहरु विभेदमा परिरहने हो भने मधेसका २२ जिल्लाले नेपालबाट अलग हुन सक्ने चेतावनी दिएका थिए । 'मधेसका २२ जिल्लाले छुटि्टने निर्णय गरे कुन ऐन र कानुनले मुलुकलाई बचाउँछ ?' उनले प्रश्न गरेका थिए ।

उनको भनाइ राष्ट्रघाती भएको आरोप लगाउँदै कांग्रेस-एमालेलगायत प्रतिपक्षीले लगातार सदन अबरुद्ध गर्दै आएका थिए ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक