20111218

बाबुराम भट्टराई राजमा जेलभित्रै कङ्रेसी युबा नेता माथि आक्रमण पश्चात उनको निधन भएपछी नेपाल अशान्त, कङ्रेस द्वारा गृहमन्त्रिको राजिनामा माग्दै नेपाल बन्द र तोडफोड !


Updated news....
नेपाली कङ्ग्रेसको आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकले नेपाल बन्द फिर्ता नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईसितको भेटपछि सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 'सरकारले हाम्रो माग सम्बोधन गरेन, त्यसैले बन्दलगायतका संघर्षका कार्यक्रम फिर्ता लिँदैनौँ', केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए। *****************
नेपाली कङ्ग्रेस पदाधिकारी बैठकले आफ्ना माग पुरा नभएको निष्कर्ष निकाल्दै भोलिको बन्द फिर्ता नलिने राख्ने निर्णय गरेको छ। सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल गरी आन्दोलनका कार्यक्रमका सम्बन्धमा थप निर्णय लिने
निष्कर्ष निकालेको हो। कङ्ग्रेसले मृतक पौडेललाई शहीद घोषणा, उनीसहित उनका साथीहरुमाथि लागेको व्यक्ति हत्याको अभियोग फिर्ता र गृहमन्त्रीको राजीनामा आउनुपर्ने माग अघि सारेको छ । पार्टीको राजनीतिक दर्शनविरुद्ध कङ्ग्रेसको प्रदर्शन हिंसात्मक बनेपछि बन्दको विषयमा छलफल गर्न कङ्ग्रेस पदाधिकारी बैठक बसेको थियो। चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको कारागार आक्रमणपछि राजधानीमा उपचार क्रममा मृत्यु भएपछि कङ्ग्रेस आफ्नो राजनीतिक दर्शन छाडेर हिंसात्मक प्रदर्शनमा उत्रिएको हो। सबैभन्दा जेठो लोकतान्त्रिक दलद्वारा निर्दोष नागरिकलाई प्रत्यक्ष असर पार्ने कार्य गरेको भन्दै बन्दको चौतर्फी आलोचना भइरहेको छ। फेसबुक र ट्वीटरबाट सर्वसाधारणले दोषीलाई कारवाही गर्दा निर्दोषलाई सास्ती नदिन र सभ्य समाजतर्फ मुलुकलाई डोर्‍याउन माग गरेका छन्। यसैगरी पार्टी निर्णयविरुद्ध आइतबार बिहान राजधानीका मुख्य कलेजहरु पशुपति, त्रिचन्द्र, ताहाचल क्याम्पस अगाडि विद्यार्थी समूहले प्रदर्शन गरेको छ। विरोधका कारण ती क्षेत्रमा ट्राफिक समस्या भए पनि अन्य स्थानमा सवारी सामान्य छ। कांग्रेसले सोमबार मात्र नेपाल बन्दको आहृवान गरेको बताउँदै अन्य बन्द स्थगित भएको हिजै जनाएको थियो।
पौडेलको अन्त्येष्टि आज
कारागार आक्रमणमा घाइते भइ हिजो निधन भएका पौडेलको आइतबार देवघाटमा अन्त्येष्टि गरिने भएको छ। उनको शव चितवन लगेर शहर परिक्रमा गराइ देवघाट पुर्‍याइनेछ।
************************
न्युरो अस्पतालमा उपचाररत तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि आक्रोशित तरुण दलले जिल्ला बन्द घोषणा गरेको छ। सरकार र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेकाले पौडेलको निधन भएको भन्दै तरुण दलले अनिश्चितकालिन चितवन बन्दको घोषणा गरेको हो। पौडेलको आज बिहान तीन बजे निधन भएको चितवन प्रहरीले जनाएको छ। घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने ,पीडित परिवारलाई सरकारले जिम्मा लिनुपर्ने, पौडेललाई शहिद घोषणा गर्नुपर्ने ,दोषीहरुलाई कडा कारबाही गर्नु सहितका चारवटा माग आफूहरुले तय गरेको तरुण दल चितवनका सचिव प्रेम पाठकले बताए। चितवन बन्द सँगै ठाउँमा ठाउँमा तरुण कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन। पूर्वी चितवनको सौराहा चोक र नारायणगढको लायन्स चोकमा तरुण कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन। रत्ननगरको टाँडीमा सवारी समते अवरुद्ध पारिएको जानकारी तरुण दलले दिएको छ। बन्दका कारण अहिले चितवनका सडकमा लामो तथा स्थानिय रुटका सवारी चलेका छैनन। फाट्ट फुट्ट मोटरसाइकल र रिक्साहरु तथा बिरामी बोक्ने एम्बुलेन्स भने चलेका छन। टाँडीमा बन्दमा चलाएको भन्दै एउटा ट्रक तोडफोड भएको छ।
न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको शिव पौडेलमाथि सरकारले झुटा मुद्दा लगाएको भन्दै परिवारले उनको शव लिन अस्विकार गरेका छन्। यता नेपाली कङ्ग्रेसले गृह मन्त्री विजयकुमार गच्छेदारको राजीनामा माग्दै नेपाल बन्दको घोषणा गर्ने भएको छ।
हत्याको अभियोगमा जेलमा रहेका तरुण दल चितवनका अध्यक्ष पौडेलमाथि जेलमा आक्रमण भएको थियो। उनको उपचारका क्रममा निधन भएको हो। 'परिवारमात्र होइन हामी पनि उनको झुटो मुद्दाको विरोधमा उनको शव बुझ्दैनौ,' तरुण दलका केन्द्रीय अध्यक्ष बालकृष्ण खाँडले भने। नेपाल बन्द आह्वान गरेको नेपाली कङ्ग्रेसका कार्यकर्ताले धरानमा तीन वटा सवारी साधन तोडफोड गरेपछि तनाव उत्पन्न भएको छ।
सवारीमा तोडफोड गरिएपछि पूर्व जानकारीविना एक्कासि बन्द आह्वान गरेको भन्दै आक्रोशित मजदुरले पनि राजमार्गमा प्रदर्शन गरिरहेका छन्।

मजदुर र बन्दकर्ताबीच झडप हुने सम्भावना बढेपछि सुरक्षाकर्मीले मजदुरलाई सम्झाउने र स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

मजदुरहरु कोशी राजमार्गमा ट्राफिक चोक मास्तिर तोडफोड गरिएको सवारी तेर्स्याएर बाटो पूरै अवरुद्ध पारेका छन्। आक्रोशित मजदुरहरुले त्यो बाटो भएर रिक्सा, मोटरसाइकललगायतलाई पनि चल्न नदिएपछि तनाव बढेको हो। मजदुरहरुले पनि सडकमा टायर बालेर केहीबेर प्रदर्शन गरेका छन्।

करिब १२ बजेतिर सडकमा रोकिराखेको को १ ख २२३५ र को १ ख २१०८ नम्बरको बस तथा बीपी प्रतिष्ठानबाट आउँदै गरेको को १ ह २४७ नम्बरको टेम्पोमा बन्दकर्ताहरुले तोडफोड गरेका थिए। बन्दकर्ताहरुले ती सवारीसाधनको अघिल्लोपट्टिको सिसा पूर्णरुपमा फुटाइदिएका छन्।

केही दिनअघि चितवन कारागारमा आक्रमणमा परी गम्भीर घाइते भएका तरुण दलका पूर्व जिल्ला अध्यक्ष शिव पौडेलको आज बिहान मृत्यु भएपछि कङ्ग्रेसले बन्द आह्वान गरेको थियो। अचानक बन्द आह्वान गरिएपछि सयौं सर्वसाधारण बीच बाटोमै अलपत्र परेका छन्। यसअघि पनि अरुण पूर्वका ९ जिल्लामा सङ्घीय लिम्बूवान राज्य परिषद्‍ले ४ दिन बन्द गराउँदा सर्वसाधारण आहत बनेका थिए।

हवाईजहाजबाट यात्रु ओसारेको आक्रोशमा भरतपुर विमानस्थलमा तोडफोड
आफ्ना अध्यक्ष शिव पौडेलको निधनपछि चितवन बन्द गरेका तरुण युवाहरुले बन्दमा हवाईजहाजबाट यात्रु ओसारेको भन्दै भरतपुर विमानस्थलमा तोडफोड गरेका नागरिकन्युजकर्मी चाँदनी हमालले बताएकी छिन्। बन्दका कारण सबै सवारी ठप्प हुँदा आवतजावत गर्न हवाई माध्ययम प्रयोग गरेपछि कङ्ग्रेस कार्यकर्ताहरु थप आक्रोशित बनेका हुन। आक्रोशित युवाहरुको समूहले भरतपुर विमानस्थलमा केहीबेरअघि तोडफोड गरेका छन। यात्रु प्रतीक्षा गर्ने स्थलमा रहेका कुर्सी तथा झ्यालका सिसा तोडफोड भएको छ। उडान भर्न लागेको बुद्ध एयरमा पनि आक्रमण गर्न कङ्ग्रेस कार्यकर्ताहरु उत्तेजित भएका थिए। उनीहरुलाई रोक्न विमानस्थलले उडान नै स्थगित गरेको छ।

राजमार्ग अवरोध
उपेन्द्र लामिछानेले वीरगन्जबाट जनाएअनुसार पौडेलको हत्याको विरोधमा मध्य तराईका जिल्लामा विरोध प्रदर्शन भएका छन्। सरकार र प्रहरी विरोधी नारा लगाउँदै नेपाली कङ्ग्रेसका कार्यकर्ताले बजार तथा राजमार्ग बन्द गराएका छन्। वीरगन्जमा नेपाली कङ्ग्रेसका कार्यकर्ताले मध्याह्न १२ बजे जुलुस निकालेर बजार बन्द गराए। उनीहरुले माईस्थान चोकमा टायर बालेर नारा लगाएका छन्। प्रहरीले हस्तक्षेप गरेर आगो निभाएपछि जुलुसले बजार परिक्रमा गरेको छ ।

त्यसैगरी बाराको सिमरा र निजगढमा नेपाली कङ्ग्रेसका कार्यकर्ताले राजमार्ग अवरोध गरेका छन्। रौतहटको चन्द्रनिगाहपुर बजार बन्द भएको छ। आन्दोलनकारीले पूर्व–पश्चीम राजमार्ग बन्द गराएपछि यात्रु समस्यामा परेका छन्। धनकुटामा पनि बजार र यातायात बन्द भएको सिद्धराज राईले जानकारी गराएका छन्।

बाग्लुङमा झडप
दिलीप पौडेलले बाग्लुङबाट पठाएको समाचारअनुसार पौडेलको मृत्यु भएपछि नेपाली कङ्ग्रेस र भातृ संस्थाले आह्वान गरेको बन्दका कारण शनिबार धौलागिरीको जनजीवन प्रभावित बनेको छ। कङ्ग्रेस कार्यकर्ताले धौलागिरी अञ्चलका पर्वत, बाग्लुङ, म्याग्दीका बजार, सवारी साधन बन्द गराएका छन्। वर्तमान सरकारले राजीनामा दिनुपर्ने, पौडेलमाथि आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने र शहीद घोषणा गर्नुपर्नेलगायतका नाराबाजी गर्दै कङ्ग्रेस कार्यकर्ताले प्रदर्शन गर्दै हिँडेका छन्। म्याग्दीमा तरुण दलका कार्यकर्ताले चोकचोकमा टायर बालेका छन्। सवारी सधान नचलेपछि गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन्। नियोजित ढङ्गले कङ्ग्रेस कार्यकर्ताको हत्या गरिएकाले बन्द आयोजना गरेको कङ्ग्रेस बाग्लुङका सभापति प्रकाश शर्मा पौडेलले बताए।
बाग्लुङमा ब्राह्मण समाजको अधिवेशनको पूर्व सन्ध्यामा निस्किएको र्‍यालीका सहभागी र बन्द गराउँदै हिँडेका कङ्ग्रेस कार्यकर्ताबीच सामान्य झडप भएको छ। जीपपार्क चोकमा हात हालाहाल भए पनि थप अप्रिय घटना भएन।

रुकुम, रोल्पा र सल्यान पनि बन्द
कमल थापाले रुकुमबाट जनाएअनुसार पौडेलको निधनको विरोधमा नेपाली कङ्ग्रेसले रुकुम, रोल्पा र सल्यान बन्द गरेको छ। नेपाली कङ्ग्रेस रुकुमको आकस्मिक बैठकले पार्टी केन्द्रले आह्वान गरेको नेपाल बन्दलाई समर्थन गरेको हो। बन्दले खलङ्गा बजार सुनसान बनेको छ। यातायात बन्द भएका छन्। शुक्रबार दलित हत्याको विरोधमा बन्द भएको रुकुम शनिबार पनि बन्द भएकाले जनजीवन प्रभावित बनेको छ। लगातारको बन्दले व्यापारी र सर्वसाधारण मर्कामा परेका छन्।

नेपाली कङ्ग्रेसले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्युपछि छानविनका लागि कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। पौडेलका परिवारले उनको आक्रमणमा कङ्ग्रेस जिल्ला सभापति विकास कोइरालाको हात रहेको बताएपछि समिति गठन भएको हो।

छानविन समितिमा बालकृष्ण खाँड, कृष्णचन्द्र नेपाल, शंकर भण्डारी र चन्द्र भण्डारी सदस्य छन्। सोमबारसम्म समितिले छानविन गरी प्रतिवेदन बुझाउने छ। 'जिल्ला सभापति यो आक्रमणमा दोषी छन्,' शिव पौडेलका दाजु कृष्णले न्युरो अस्पतालमा भने, 'उनलाई कारबाही नगरेसम्म हामी शव लिन्नौं।'
त्यसैगरी शिव पौडेलको निधनका लागि पार्टीले ४ दिनसम्म झन्डा झुकाउने निर्णय गरेको छ। तरुण दलले १३ दिन झन्डा झुकाउने भएको छ।
एमाले कार्यकर्ता मारिँदा केन्द्रले उनको सहभागिता नभएको भनेपनि जिल्ला मौन थियो।

देउवाद्वारा कङ्ग्रेस चितवन सभापतिलाई तत्काल कारबाही गर्न माग
हिजो राति न्युरो अस्पतालमा मृत्यु भएको शिव पौडेलका परिवारले चितवन कङ्ग्रेसका सभापति विकास कोइरालालाई कारबाही नगरेसम्म शव नबुझ्ने जनाएका छन्। उनीहरुको भनाई सुनेपछि कङ्ग्रेस नेता शेरबहादुर देउवाले तत्काल कोइरालालाई कारबाही गर्न पार्टी सभापति सुशील कोइरालालाई माग गरेका छन्।

न्युरो अस्पताल बाँसबारी पुगेका देउवालाई मृतकको परिवारका सदस्यले झुटा मुद्दामा फसाउन जिल्ला सभापति कोइराला सक्रिय भएकाले उनलाई तत्काल कारबाही गर्न आग्रह गरेका थिए। कोइरालाको गतिविधिको विरोध गर्दै चितवन कङ्ग्रेसका नेता कार्यकर्ताले पार्टीमा लिखित ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।

यसै घटनालाई लिएर बसेको कङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सोमबार नेपाल बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै कङ्ग्रेस भातृ संगठनले आज गरेको बन्दलाईसमेत समर्थन गरेको छ। बैठकले घटनाको छानविनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग राखेको छ। यस्तो समिति गठन नभएसम्म वार्ता नगर्ने निर्णय गरेको छ। कङ्ग्रेसले गृह मन्त्रीको राजिनामा हुनुपर्ने लगायतका माग राखेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक