20120107

६०१ राजाहरुबाट लोकतन्त्र र गणतन्त्रका नाममा यसरी पनि देश लुटिने क्रम जारी छ, लुट्नेहरुको पल्ला हरेक दलमा भारी छ !

संविधानसभा चुनावमा सप्तरी-५ बाट विजयी भएपछि स्वतन्त्र सभासद सदरुल मियाँ हकले श्रीमती नुरजहाँ खातुनलाई स्वकीय (पिए) राखे । संसद् सचिवालयले स्वकीय राख्ने अधिकार सभासदलाई नै दियो र तलब/सुविधा शाखा अधिकृतसरह तोकिदियो । सचिवालयले सभासदका स्वकीयको योग्यतै किटान नगरेपछि जो राखे पनि हुने नै भयो । त्यसैले श्रीमतीलाई स्वकीय राख्न हकलाई के अप्ठ्यारो ? अहिले उनी स्वकीयको तलब पनि आफैं बुझ्छन् । श्रीमती, श्रीमान्, छोरा, छोरी, भतिजा, भतिजी, दाइ, भाइ वा अन्य नातेदारलाई स्वकीय राख्ने सदरुल एक्ला सभासद भने होइनन् । संविधानसभाको बितेको साढे ३ वर्ष अवधिभर अधिकांश सभासदले वास्तविक स्वकीय राख्दै राखेनन् । तर, आफ्नै नातेदार र घरपरिवारका सदस्यको नामबाट भए पनि स्वकीयको तलब भने बुझ्न छाडेका छैनन् । संविधानसभा सुरु
भएको २०५६ मा १३ हजार हाराहारी रहेको सभासदका स्वकीयको तलब अहिले मासिक १८ हजार ७ सय ९० रुपैयाँ छ, जुन शाखा अधिकृतको बराबर हो । सचिवालयका अनुसार सभासदका स्वकीयहरूका लागि राज्यकोषबाट मासिक १ करोड ११ लाखभन्दा बढी खर्च हुन्छ । शाखा अधिकृतसरहको तलब भए पनि उत्तिकै योग्यता भएका स्वकीय राख्ने सभासद भने केही मात्र छन् । सचिवालयमा नागरिकता बुझाएकै भरमा त्यो व्यक्ति सभासदको स्वकीय ठहरिन्छ, अरू कुनै योग्यता चाहिन्न ।

प्रत्यक्ष, समानुपातिक र मन्त्रिपरिषद्को सिफारिसबाट संविधानसभामा ६ सय १ (अहिले ५९४) सभासद पुगेका थिए । त्यसमा कतिपय निरक्षर र संविधानसभाका पक्रिया वा सामान्य कानुनबारे ज्ञान नभएका समेत रहेकाले उनीहरूलाई संविधान लेख्न, कानुनसम्बन्धी जानकारी लिन र विषय वस्तु बुझाउन मद्दत होस् भनेर शाखा अधिकृतसरहका स्वकीयको व्यवस्था गरिएको हो ।

तर त्यो उद्देश्य विलकुलै पूरा हुन नसकेको सचिवालयका अधिकारीहरू बताउँछन् । 'योग्य र क्षमतावानलाई राख्नुपर्नेमा धेरैले आफन्तलाई स्वकीय बनाएका छन्,' संसद् सचिवालयका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाले भने, 'त्यो जायज भएन भनेर धेरै पटक आवाज पनि उठ्यो तर केही भएन ।'

नियमतः सभासद आफंैले स्वकीयको तलब बुझ्न नपाइने भए पनि बुझ्ने काम भइरहेको ढुंगानाले बताए । 'सभासदले नियुक्त गरेको व्यक्तिले मात्रै तलब बुभ्mनुपर्ने हो' उनले भने । स्वकीयको तलब बुझेर पनि भरपाई नबुझाउँदा सचिवालयको बेरुजु बढेको ढुंगानाले जनाए ।

सचिवालयका लेखा शाखाका उपसचिव केशवबाबु अर्यालका अनुसार धेरैजसोको स्वकीयको तलबसमेत सभासदको तलबभत्तासँगै जान्छ । आधाभन्दा बढीको तलब सीधै बैंकमा जान्छ भने बैंक खाता नभएका सभासदले सीधै लेखाबाट बुझ्छ । नातेदारलाई स्वकीय सचिव बनाउनेमा शीर्ष दलका शीर्ष नेतासमेत छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय छोरा प्रकाश हुन् । सधैंजसो बाबु दाहालसँगै हुने प्रकाश भने हरेक महिना आफैं सिंहदरबारस्थित सचिवालयको लेखा शाखाबाट तलब बुझ्छन् । माओवादीकै सीपी गजुरेलका छोरा सञ्जीव गजुरेल पनि स्वकीयको तलब लिइरहेका छन् । कांग्रेस सभासद गोपालमान श्रेष्ठको स्वकीयको तलब आफन्त मेखलाल श्रेष्ठले बुझिरहेका छन्् ।

एमालेका समानुपातिक सभासद नजिर मियाँले भाइ मोहम्मदिन अलिको नामबाट आफैं स्वकीयको तलब लिइरहेका छन्् । मोहम्मदिन एमालेको भ्रातृसंगठन एत्तेहाद संगठनका उपाध्यक्ष पनि हुन् ।

माओवादी प्रमुख सचेतक देव गुरुङले लामो समयदेखि आफूसँगै रहेका काभ्रेका शिवकुमार श्रेष्ठलाई स्वकीय बनाएका छन् । सचिवालयबाट उनैले नै स्वकीयको तलब बुझेको देखिन्छ ।

माले समाजवादीकी सभासद शान्ता नेपालीले त झन् श्रीमान्लाई नै स्वकीय बनाई तलब लिइरहेकी छिन्् । एमालेकी शान्ता चौधरीले पहिला पवित्रा नेपालीलाई स्वकीय बनाएर तलब लिइरहेकोमा अहिले आफन्त रोजी चौधरीलाई बनाएकी छिन् ।

तर एमालेका रवीन्द्र अधिकारीले भने सभासद हुनुअघिदेखि नै टेकनाथ आचार्यलाई स्वकीयका रूपमा काम गराउँदै आएकोमा र अहिले पनि उनीबाटै काम लिइरहेका छन् । 'मैले पिएबाट संविधानसम्बन्धी सामग्री संकलन, लेखनलगायत भरपुर सहयोग लिइरहेको छु,' उनले भने । पछिल्ला समयमा धेरै सभासदले पिए नराखी सचिवालयलाई ठगिरहेको उनको पनि बुझाइ छ । 'संविधानसभाको एक वर्षसम्म त धेरैले स्वकीय राखे' उनले भने, 'अहिले त्यस्तो देखिन्न ।'

त्यसो त आधाभन्दा बढी सभासदले त स्वकीयको नामसमेत सचिवालयमा बुझाएकै छैनन् । 'बुझाएकाको पनि अधिकांश आफ्नै नातेदार र परिवारभित्रका छन्' सचिवालयका एक अधिकारीले भने, 'श्रीमान्ले श्रीमतीको नाम र छोराछोरीको नाममा पनि भरपाई बुझाएर पैसा लिएका छन् ।'

कतिपय सभासदले पटकपटक स्वकीय फेर्ने पनि गरेका छन् । माओवादी सभासद हिसिला यमीले अहिलेसम्म ४ जना स्वकीय फेरिसकेकी छिन् । ध्रुव कार्की, राजेन्द्र अर्याल हुँदै अहिले उनकी पिए गोरखाकी जानुका पौडेल छिन् ।

त्यस्तै, कांग्रेसका रमेश लेखक, माओवादीका गोपाल किराँती र अमिक शेरचन, लोकेन्द्र बिष्ट मगरलगायतले पनि पटकपटक स्वकीय फेरेका छन् । शान्तिमन्त्री सत्य पहाडी बस्नेतले आफन्त मुक्तिराज बस्नेतलाई स्वकीय बनाएर तलब दिलाइरहेकी छिन् । - अब्दुल्लाह मियाँ

1 comment:

  1. Des ko barema yestyo sunuparda dukha lagchha.Amalai charai tira bata luchhe ko dekda aakha tilpilauchha.Ama kai lagi sahid bhayeka dai bhai haruko samjhanale bhakano chhutera aauchha.Yesma galti netaharuko chhaina,tiniharulai sudharna nasakne hami jantako ho.Aba pheri aawaj uthauna jaruri chha.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक