20120108

नेपाली काँग्रेसले शान्ति प्रकृया टुंगोमा नपुगेसम्म संविधान लेखनको काम अघि नबढाउने निर्णय, १५ दलको संयुक्त बैठकले माओवादी शान्ति प्रक्रियाबाट भाग्न थालेकोले माओवादीलाई दवाव दिने निर्णय

"माओवादीले उपरथी नपाए समायोजनमा नजाने र अवकाश रोजेकालाई पनि बिदा नगर्ने"
नेपाली काँग्रेसले शान्ति प्रकृया टुंगोमा नपुगेसम्म संविधान लेखनको काम अघि नबढाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले शान्ति प्रकृया नटुंगिएसम्म संविधान लेखनको काम अघि बढ्न नदिने निर्णय गरेको संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो । माओवादी सहमतिबाट भाग्न खोजेको भन्दै बैठकमा सहमति कार्यान्वयनका लागि संविधानको काम रोक्न निर्णय भएको जोशीको भनाई छ । बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलले विगतमा भएका सहमति र संविधान लेखनका कामका विषयमा जानकारी दिनुभएको थियो । काँग्रेसले शासकीय स्वरुपका विषयमा छिट्टै संसदीय दलमा छलफल गर्ने भएको छ । शनिबार मात्र नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त बैठकले माओवादी सात बुँदे सहमतीबाट भागिरहेकोले शान्ति प्रकृया र संविधान निर्माणको काम अवरुद्ध भएको निष्कर्ष निकालेका थिए । नेपाली काँग्रेस र नेकपा एमाले लगायतका १५ वटा विपक्षी दलले सात बुँदे सहमति
पालना गराउन एक भएर लाग्ने भएका छन् । १५ दलको संयुक्त बैठकले माओवादी शान्ति प्रक्रियाबाट भाग्न थालेकोले सात बुँदे र ६ बुँदे सहमति कार्यान्वयनका लागि एक भएर माओवादीलाई दवाव दिने निर्णय गरेको छ । बैठकपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया पुरा गर्न माओवादीले चासो नदेखाएकोमा सबै दल एकमत रहेको जानकारी दिनुभयो । यसबारे माओवादी र अन्य दलसँग थप छलफल गर्ने सहमति भएको पौडेलले जानकारी दिनुभयो । शासकीय स्वरुपमा सहमति नभए शान्ति प्रकृया रोकिने चेतावनी दिएर माओवादी नेताहरुले सहमति तोडेको भन्दै एक भएका काँग्रेस—एमालेले आफ्नो पक्ष बलियो बनाउन अरु विपक्षी दलसित छलफल गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले बन्दुक र बुलेटले शासन व्यवस्था सञ्चालन गर्न खोजेको आरोप लगाउनुभएको छ । आइतबार संसद बैठकमा बोल्दै पौडेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड र अन्य माओवादी नेताका अभिव्यक्तिका कारण माओवादीले अझैपनि बुलेटकै राजनीतिमा विश्वास गरिरहेको प्रमाणित भएको दावी गर्नुभयो । ‘प्रधानमन्त्री, माओवादी अध्यक्ष र लडाकू कमाण्डरका अभिव्यक्तिले राज्यपुनर्संरचनाको विवादसँग सेना समायोजनका विषयलाई पनि जोडेका छन्’, पौडेलले भन्नुभयो, ‘माओवादीले शान्ति प्रक्रियामा राजनीति गर्न खोजेको छ ।’ पौडेलले मुलुकको शासन व्यवस्था ब्यालेटबाट चल्ने भन्दै बुलेटको भरमा देश चलाउने सपना नदेख्न माओवादीलाई आग्रह गर्नुभयो ।   माओवादीका कारण शान्ति प्रकृया रोकिएको भन्दै कांग्रेस उपसभापति पौडेलले गत कात्तिक १५ गते भएको सहमति अनुसार मंसिर ७ गतेसम्ममा सेना समायोजनको प्रकृया पुरा गर्ने भनिएपनि माओवादीका कारण काम रोकिएको बताउनुभयो ।
 माओवादीका पोलिट्ब्यूरो सदस्य जनार्दशन शर्मा प्रभाकरले शान्ति प्रक्रिया पुरा गर्ने नाममा माओवादी लडाकुको जिम्मेवारी र हैसियतको टुङ्गो नलागी समायोजनमा जान नसक्ने बताउनुभयो । उहाँले कांग्रेस र एमालेले भनेझैं लडाकुको दर्जाको टुङ्गो नलगाइ ब्रिजीङ कोर्स र तालिम तोकेर शान्ति प्रक्रिया एकलौटी ढंगबाट पुरा गर्न नसकिने बताउनुभयो । जनमुखी र दीगो संविधान बन्न नदिन प्रतिपक्षी दलले बन्दुकको कुरा उठाएर नागरिकमा त्रासदी थपेको उहाँको आरोप छ ।
माओवादी लडाकूका प्रवक्ता चन्द्रप्रकाश खनाल बलदेवले उपरथी नपाए समायोजनमा नजाने र अवकाश रोजेकालाई पनि बिदा नगर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आइतबार गरेको कार्यक्रममा बलदेवले समायोजन रोज्ने मध्ये तीन हजार दुई सय लडाकूलाई आर्थिक प्याकेज दिनुपर्ने माग गर्नुभयो । 
समायोजनका लागि तोकिएको संख्या ६ हजार ५ सय बाहेक अरु लडाकूलाई प्याकेज दिनु पर्ने उहाँको भनाई छ ।  सेना समायोजन गर्दा माओवादी लडाकूलाई उपरथीसम्मको दर्जा दिनु पर्ने भन्दै बलदेवले त्यसो नभए ब्यक्तिगत योग्यताका आधारमा समायोजन हुन नसक्ने ठोकुवा गर्नुभयो ।थप क्षतिपूर्ति वा आर्थिक प्याकेज, उपरथी र बृजकोषको विषयमा कुरा नमिलेसम्म शान्ति प्रक्रिया अवरुद्ध हुने चेतावनी दिदै उहाँले बैशाख नलागी शिविर खाली हुने सम्भावना नरहेको बताउनुभयो । 
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक