20120210

रौतहटमा माओवादीका दुई समूहबीच झडप, ५ जना घाइते

माओवादीले मालपोतमा तालाबन्दी गरी झण्डा गाढे
माओवादी स्थायी कमिटीको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि विकल्प खोज्ने निर्णय 
 रौतहटमा एकीकृत नेकपा माओवादीका दुई समूहबीच झडप भएको छ । झडपमा परि ५ जना घाइते भएका छन् । माओवादी नेताद्धय प्रभु साह र विन्देश्पर यादव पक्षधरबीच नाला निर्माणको विषयमा शुक्रबार शझडप भएको हो । झडपमा परि बिन्देश्वरव पक्षका झिगन यादव, कमल यादव, नन्दु राय यादव, दिनेश यादव र शम्भु यादव घाइते भएका हुन । घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । नमूना वस्ती विकास कार्यक्रम अन्तर्गत आएको बजेट खर्च गर्नका लागि गठन गरिएको उपभोक्ता समितिमा प्रभु साहले आफ्ना निकट कार्यकर्तालाई मात्र सम्मिलित गराएको भन्दै विन्देश्वर यादव पक्षका कार्यकताले विरोध जनाएपछि विवाद सुरु भएको थियो । झडपका क्रममा प्रभु साह पक्षका कार्यकर्ताले चार राउण्ड हवाइ फायर समेत गरेको माओवादीका रौतहटका पुर्व इन्चार्ज अशोक जयसवालले बताउनु भयो । माओवादी कार्यकर्ताबीचको झडपपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । जनसत्ताले गरेको घरजग्गा रजिष्टे्रशनलाई कानुनी मान्यता दिने निर्णय फिर्ता लिएकेा विरोधमा माओवादी रुकुमले जिल्ला मालपोत कार्यालयमा तालाबन्दी गरेको छ । माओवादी कार्यकर्ताले मालपोतमा तालाबन्दी गरी रातो झण्डा गाढेको छ । निर्णय फिर्ता लिनु समग्र किसान वर्गको हितको लागि नभएको भन्दै निर्णय नसच्चाएसम्म मालपोत कार्यालयमा
लगाइएको ताला नखोलिने माओवादीले जनाएको छ ।
संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी) आफ्नै नेतृत्वमा भएको सरकारको विकल्प खोज्न तयार भएको छ । द्वन्द्वकालमा माओवादीको ‘जनसत्ता’ ले गरेको कामलाई सरकारले दिएको मान्यतालाई सरकारले नै फिर्ता गरेपछि माओवादीभित्र प्रारम्भ भएको विवाद सरकार परिवर्तनसम्म पुग्ने सम्भावना देखिएको छ । माओवादी स्थायी कमिटीको शुक्रबार केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि विकल्प खोज्ने निर्णय गरेको छ । माओवादी बैठकमा उपाध्यक्ष वैद्यपक्षका नेताहरूले पार्टीको निर्देशन र निर्णय नमान्ने हो भने माओवादीको नेतृत्वमा सरकार रहनुको कुनै औचित्य छैन भन्दै वर्तमान सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्काल राजीनामा दिन दबाब दिएपछि पार्टीले सहमतिको सरकारका लागि विकल्प खोज्ने निर्णय गरेको हो । वैद्यपक्षले उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई पार्टीको निर्णयविरुद्ध र जमिनदारको पक्षमा आत्मसमर्पण गरेर ‘जनसत्ता’ को कामलाई मान्यता दिने आफैंले गरेको निर्णयलाई फिर्ता लिएको गम्भीर आरोप लगाएको छ। जमिनदारको पक्षमा उभिने हो भने माओवादीको नेतृत्वमा रहेको सरकार भनेर आमकार्यकर्तालाई किन भ्रममा राख्नुप¥यो भन्ने प्रश्नसमेत वैद्यपक्षले उठाएको छ । पार्टीको संस्थापन पक्षले भने ‘जनसत्ता’ को कामलाई मान्यता दिने निर्णय फिर्ता गरेको नभई वैकल्पिक बाटो खोेजेर समस्याको समाधान गर्न खोजिएको स्पष्ट पार्न खोजे पनि वैद्यपक्षले स्वीकार गरेको छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण र शान्तिप्रक्रियालाई अगाडि बढाउनका लागि विकल्प खोजिएको विषयलाई अन्यथा नलिने आग्रह गर्नुभएको छ । तर वैद्य पक्षले पार्टीको नेतृत्वसमेत पार्टीको नीतिअनुसार नहिँडेको आरोप लगाएको छ । दुवै पक्षबीच वर्तमान सरकार निर्माण भएदेखि नै विवाद रहेको र वैद्यपक्षले वर्तमान सरकारलाई बहिष्कार गरे पनि हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा तत्कालका लागि विवाद समाधान भएको तर सरकारले ‘जनसत्ता’ को निर्णय फिर्ता गरेपछि सरकार बदल्नेसम्मको विवाद उत्पन्न भएको पार्टी केन्द्रीय सचिव वैद्यपक्षीय सीपी गजुरेलले जानकारी गराउनुभएको छ । राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि पार्टीमा छलफल प्रारम्भ भएको र वर्तमान सरकारको औचित्य समाप्त भएको कुरा आफूहरूले प्रस्ट रूपमा बैठकमा राखेको जानकारीसमेत सचिव गजुरेलले गराउनुभएको छ । पार्टी संस्थापन पक्षका स्थायी कमिटी सदस्य एवम् अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सहमतिको सरकारका बारेमा पार्टी अध्यक्ष प्रचण्डले अन्य दलका नेताहरूसँग कुराकानी गर्ने र त्यसबारेमा थप छलफल शनिबार बस्ने स्थायी कमिटीको बैठकमा हुने जानकारी गराउनुभएको छ । पार्टीको तत्कालीन ‘जनसत्ता’ ले गरेका कारोबारलाई मान्यता दिने निर्णय सरकारले नै फिर्ता लिएपछि माओवादीका विभिन्न जिल्लाका संगठनहरू आन्दोलनमा उत्रिएका छन् । माओवादीले मध्यपश्चिमका सम्पूर्ण मालपोत कार्यालयमा पार्टीको झन्डा गाडी अनिश्चितकालीन रूपमा तालाबन्दी गरेको छ। माओवादीले एमाले, कांग्रेस र वर्तमान सरकारविरुद्ध नाराबाजी गर्दै मालपोत कार्यालयमा तालाबन्दी गरेको र यो आन्दोलन देशव्यापी हुने जानकारी माओवादी नेता हेमन्त प्रकाश ओलीले जानकारी गराउनुभएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक