(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120208

"जब प्रचण्डले 'जनविद्रोह'को हुंकार छाड्छन्: - गंगा बीसी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेलाबेला आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताउने गरेका छन् । माओवादी प्रमुख भएका कारण उनीमाथि वैचारिक र राजनीतिक आक्रमण हुनु अस्वाभाविक पनि होइन । तर प्रचण्डले अवश्य पनि हेक्का राखेको हुनुपर्छ, कुन अवस्थामा उनीमाथि आक्रमण भएको छ ? जब मुलुकको राष्ट्रिय राजनीतिमा संकट आउँछ, त्यसबेला एउटा राष्ट्रि्रय नेताको खोजी हुन्छ । जब प्रचण्डले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने कुरा गर्छन्, पार्टीको दायराभन्दा बाहिर गएर त्याग गर्ने बताउँछन्, तब मुलुकले आशाको आँखाले उनीतिर हेर्छ । उनी राष्ट्र्रकै नेता बन्ने लक्षण देखिन्छ । तर जब प्रचण्डले 'जनविद्रोह'को हुंकार छाड्छन्, त्यसबेला मुलुक फेरि स्तब्ध हुन्छ । प्रचण्ड राष्ट्रको होइन, एउटा गुटको नेता बन्न पुग्छन् । त्यसैबेला उनीमाथि राजनीतिक र वैचारिक आक्रमण बढी हुन्छ । अनि प्रचण्ड भावुक बन्छन् र भन्छन्- मलाई चौतर्फी घेराबन्दी गरेर आक्रमण गरिँदैछ । माओवादीका खरिपाटी वा पालुङटार बैठकमा प्रचण्डको अनुहारमा जनविद्रोहको लाली चढेको
थियो । तर त्यो लाली उनलाई खासै सुहाएन । बन्दुक, बारुद र गोलीले होली खेल्ने बेला उनलाई युद्धको, जनविद्रोहको लाली खुबै सुहाउँथ्यो । अहिले उनलाई जनविद्रोहको लाली चढेको अनुहार सुहाउँदैन । विस्तृत शान्ति सम्झौता गरेपछि उनलाई शान्ति र संविधान बोकेकै अनुहार सुहाउँछ । तर बेलाबेलामा उनी विद्रोहतिर ढल्कन खोज्छन् । गत साउनमा उनले साहसिक निर्णय गरे, जनविद्रोहको कार्यदिशा स्थगित गर्ने । त्यसबेला उनले त्यसलाई 'बोल्ड डिसिजन' भने । त्यो बोल्ड डिसिजन नै थियो । त्यसपछि उनले शान्ति र संविधानलाई केही गतिसमेत दिए । धेरैलाई लाग्यो, प्रचण्ड राष्ट्रकै नेता बन्ने बाटोमा छन् । पार्टीभित्र मोहन वैद्य पक्षको चर्को विरोधबीच उनले आफ्नो गतिलाई कमी गरेनन्, बरु अझै बढाए । वैद्य पक्षले कडा प्रहार गरे पनि अन्य थुप्रैले उनको प्रशंसा गरेका थिए ।

प्रचण्डप्रति जति अपेक्षा छ, त्यति नै आक्रोश आउनु अस्वाभाविक होइन । उनले बाटो बिराउँदा निम्तिने आक्रोशलाई आक्रमणको रूपमा बुझे भने भूल हुनेछ । आखिर शान्ति र संविधानको बाटो लिएको बेला उनले कम्ती स्याबासी पाएका होइनन् । गत साउनयता उनले कतिपय अवस्थामा पार्टीको दायरा नाघेर पनि शान्ति र संविधानका पक्षमा कदम चाले । उनले ती कदम माओवादी पार्टीका लागि भनेर गरेका थिएनन्, मुलुकका लागि गरेका थिए । उनले भन्दै र गर्दै गए- मुलुकका लागि गरेको त्याग र बलिदानलाई अन्यथा ठानिन्छ भने म शान्ति र संविधान टुंगोमा पुर्‍याएर संन्यास लिन तयार छु ।

पछिल्लो समयमा प्रचण्डले प्रधानमन्त्री हुने मोह त्यागिसकेका छन् । यसलाई धेरैले राजनेता बन्ने संकेतका रूपमा बुझे । उनले संविधान निर्माण हुनुअघि प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । त्यो त्यागले मुलुकलाई निकासको बाटोतिर लैजाने दाबी गरेका थिए । हुन पनि उनले प्रधानमन्त्रीको मोह त्यागेपछि शान्ति र संविधानले केही गति लिएको थियो । त्यसयता एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका

छन् । यसो हुनुमा प्रचण्डको त्याग थियो । मुलुकले संक्रमणकाल पार नगर्दासम्म प्रचण्डको त्याग आवश्यक छ, जुन उनले पनि बुझेको हुनुपर्छ ।

प्रचण्ड विस्तृत शान्ति सम्झौताका एकमात्र जीवित हस्ताक्षरकर्ता हुन् । त्यो सम्झौताको मूलमर्म शान्ति प्रक्रियालाई टुंग्याउनु र नयाँ संविधान लेखन पूरा गर्नु हो । अहिलेसम्म यी दुवै काम अधुरै छन् । यसको अर्थ प्रचण्डको काम पनि अधुरै छ । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि यो अभिभारा प्रचण्डको काँधमा आएको छ । उनी आफैंले पनि स्वीकारेको कुरा हो यो । तर बेलाबेला उनी जिम्मेवारीबाट भाग्न खोजेजस्तो देखिन्छ । धेरैको चाहना उनले द्वैध चरित्र त्यागुन् भन्ने छ । दुइटा डुंगामा खुट्टा राख्ने प्रवृत्ति न प्रचण्डको हितमा छ, नत राष्ट्रको ।

माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेस सभापति सुशील कोइरालाले 'हिरो हुने मौका नगुमाउन' भनिरहेका छन् । माओवादी बाहेकले उनलाई राजनेता बन्न सुझाव दिइरहेका बेला माओवादी उपाध्यक्ष मोहन वैद्यले चाहिँ राजनेता होइन, विश्व सर्वहाराको नेता हुन हौस्याएका छन् । प्रचण्ड स्वयम्ले राजनेता र विश्व सर्वहारा नेतामा खास फरक नपाएको बताएका

छन् । यसको अर्थ हो, उनी राजनेता बन्न चाहन्छन् । प्रचण्ड राजनेता बन्ने सुनौलो अवसर पनि यतिबेला छ । किनभने नेपाली राजनीतिको साँचो अहिले धेरै हदसम्म उनकै हातमा छ । उनले त्यो साँचो दायाँ घुमाउँदा नेपाली राजनीतिको गाँठो फुक्छ, बायाँ घुमाउँदा अझ जेलिएर जान्छ । त्यसलाई कतातिर घुमाउने, उनकै भूमिकामा भर पर्छ । प्रचण्ड राजनेता बन्ने कि एउटा कम्युनिष्ट पार्टीको अध्यक्षमात्रै रहने भन्ने पनि यसमै निर्भर छ ।

प्रचण्ड राजनेता हँुदा पार्टीको नेता पनि रहन सक्छन्, तर पार्टीको नेतामात्र हँुदा राजनेता बन्न सक्दैनन् । त्यसका लागि उनले दुइटा काम अनिवार्य गर्नुपर्छ । पहिलो, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, दोस्रो संविधान लेखेर मुलुकलाई स्थायी बाटोमा लैजाने । पहिलेजस्तै विद्रोही नेता बन्ने हो भने त उनीसामु जनविद्रोहको बाटो पनि छ । हुन त उनले पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनविद्रोह गर्ने प्रयास असफल भएको स्वीकारिसकेका छन् । शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर हुने चुनावबाट अघि बढ्ने जनाएका छन् । यदि अहिले पनि उनको बुझाइ यही हो भने उनी सही बाटोमा छन् । यसैले उनको र सबैको हित गर्छ ।

प्रचण्डले जनताको चाहनाअनुसार शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याएर संक्रमणकालको अन्त्य गर्नुपर्छ । उनले बाटो बिराए भने राजनीतिक र वैचारिक प्रहार अहिलेभन्दा तीव्र हुनेछ । गतिरोधको गाँठो फुकाएर शान्ति/संविधान टुंग्याए भने नेताबाट राजनेता बन्ने अवसर आउनेछ ।
 *****************************************************************

 माओवादी नामक कारखानाबाट अध्यक्ष दाहाल नव सामन्त बन्न सफल भए
 
शोषित, पीडित, मजदुर, किसान र गरिव जनताको मुक्ति घोषणा गरी नयाँ नेपाल बनाउने उद्देश्यका साथ शुरु भएको माओवादी रणनीति अन्तत अध्यक्ष पुष्पकमल दाहालको ठगी खाने भाँडोका रुपमा रुपान्तरित भएको छ। शोषणरहित समतामूलक समाज निर्माणका लागि लाखौं युवाहरूको सपना र भविश्य चौपट पारेर अध्यक्ष दाहाल खर्वपति बन्न सफल भएका छन्। गरिव जनताको हक हितका लागि राजनीति शुरु गरेका दाहालले काला व्यापारी, तस्कर र दुई नम्बरीसँग हिमचिम बढाएका छन्। रक्तचन्दन तस्करी, यार्सागुम्वा, कर्मचारी सरुवा बढुवा, नक्कली लडाकुको तलव भत्ता अध्यक्ष दाहालका कमाईका स्रोत हुन्।  
व्यापारिक साझेदार अजय सुमार्गी(पराजुली) मार्फत अध्यक्ष दाहालले राजधानीमा थुपै्र व्यापारीक कम्प्लेक्स, घरजग्गा कारोबार सञ्चालन गरिरहेका छन्। नयाँ बानेश्वरमा अध्यक्ष दाहालका पिताको नाममा मुक्ति टावर, माइतीघरमा करोडौं मूल्य पर्ने फर्निसिङ हाउस लगायत थुपै्र भवन दाहालले अवैध कमाई मार्फत जोड्न सफल भएका छन्। राजधानीभित्र धेरै ठाउँमा जग्गा प्लटिङ गरी दाहालले अवैध कमाई सुरक्षित गरिरहेको माओवादी स्रोत बताउँछ। अध्यक्ष दाहालका दाहिने हात मानिने कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, हरिवोल गजुरेल आदिले दाहालका नाममा व्यापारीक 'डिल' गर्ने गरेका छन्। स्मरण रहोस् महरा अध्यक्ष दाहालको नेतृत्वमा सरकार बनाउन चिनियाँ व्यापारीसँग ५० करोड रकम लिने अभियुक्त पनि हुन्। अध्यक्ष दाहालले स्वदेशका थुपै्र क्षेत्रमा गरेको लगानीबाट बाँकी रहेको रकम विदेश समेत पुर्याहएको अनुमान गरिएको छ। बेला–बेलामा अध्यक्ष दाहालले शंकास्पद रुपमा गर्ने विदेश भ्रमण सोही उद्देश्यका लागि हुने गरेको समेत बुझिएको छ।
यसैबीच गत शुक्रबारदेखि शुरु भएको अवकाश रोज्ने लडाकुलाई आधा रकम दिएर घर फिर्ता पठाउन थालिएको छ। लडाकुले लिएको चेक र परिचयपत्र अध्यक्ष दाहालको निर्देशनमा कमाण्डरले कब्जा गर्नुले पनि माओवादी पार्टीभित्र आर्थिक अपराध कुन हदसम्म मौलाएको रहेछ भन्ने पुष्टि हुन्छ। नक्कली लडाकुको तलबभत्ताबाट मात्रै माओवादीले दुई अर्वभन्दा बढी रकम राज्य कोषबाट लिइसकेको छ। त्यसैगरी ०६३ साल यता माधवकुमार नेपाल नेतृत्वको सरकारमा बाहेक उनीहरू निरन्तर सरकारमा छन्। सरकारमा रहँदा माओवादीले भ्रष्टाचारीलाई संस्थागत गर्न अन्य सबै दललाई उछिनेको छ। द्वन्द्वकालमा बैंक लुटेको, कब्जा सम्पत्ति आदिबाट पनि माओवादीले नियमित कमाई गरिरहेको छ। सयौं ठाउँमा जग्गाधनीको जग्गा कब्जा गरी माओवादी नै कुद बुझ्ने गरेको भेटिएको छ। त्यही अबैध कारोबारलाई बैधानिकता दिन प्रधानमन्त्री बाबुराम भट्टराईले गत पुस २८ गते द्वन्द्वकालका घरजग्गाका लिखितलाई मान्यता दिने निर्णय मन्त्रीपरिषद्बाट गराएका थिए। सोहि विषयप्रति विरोध जनाउँदै प्रतिपक्षी दलहरूले गरेको संसद् अवरोध अझै जारी छ। अध्यक्ष दाहालकै जोडबलमा उक्त निर्णय गरिएको हुनाले प्रम भट्टराईले त्यस निर्णय फिर्ता लिन सकेका छैनन्। दाहालका आय आर्जनका थुपै्र स्रँेतमध्ये द्वन्द्वकालको कब्जा सम्पत्ति पनि एक हो।
हालसालै माओवादी अध्यक्ष्ँ दाहाल नयाँबजारबाट लाजिम्पाट 'डेरा' सरेका छन्। लाजिम्पाटको सुविधा सम्पन्न घर एक लाख तीन हजारमा भाडामा लिइएको विज्ञप्ति नै निकालेर सार्वजनिक गरिएको छ। तर १० वटा सम्म गाडी पार्किङ्ग गर्न मिल्ने लाजिम्पाटको सुविधासम्पन्न घर एक लाख तीन हजार भाडामा पाइने कसैले कल्पना पनि गर्न सक्दैन। त्यसमाथि दाहालको सुरक्षामा खटिएका पाँच दर्जन सुरक्षाकर्मीका लागि बस्ने छुट्टै सानो घर समेतको बहाल त्यहि देखाइएको छ। घर भाडा सम्बन्धि विज्ञप्तिमा आउनु पूर्व लाजिम्पाटको घर खरिद नै गरिएको व्यापक चर्चा चल्यो। अन्य थुपै्र प्रश्नप्रति मौन रहने दाहालले घरभाडा सम्बन्धि विषयमा भने तत्कालै विज्ञप्ति निकालेर खण्डन गर्नुले 'चोरको खुट्टा काट' भन्दा दाहालले खुट्टा उचालेको अर्थमा लिन थालिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक ४२ हजार रहेको छ तर गरिव किसान, शोषित, पीडितको नाईके हुँ भन्ने दाहालले मासिक एक लाख तीन हजार घरभाडा मात्रै तिर्छन्। अब उनलाई गरिव जनताको नेता मान्ने कि तस्कर वा काला व्यापारिका नाइके?
माओवादीले आदर्श मान्ने गरेका रुसका तत्कालिन नेता लेनिनको राष्ट्रपति निर्वाचन हुँदा समेत दुईवटा भन्दा बढी सुट रहेनछ। राष्ट्रपति निर्वाचित भएपछि थप दुईवटा सुट सिउन आग्रह गर्दा लेनिनले अस्वीकार गर्दै जनताको जीवनस्तर सँगसँगै आफ्नो पनि जीवनस्तर उकास्ने बताएछन्। त्यसपछि पोलिटव्यूरो बैठक नै डाकेर लेनिनलाई नयाँ सुट सिलाउने निर्णय गरिएको थियो भने दिनहुँ नयाँ सुट र गेटअपमा देखिने माओवादी अध्यक्ष दाहालको रहनसहन र खानपान भने सामान्तको भन्दा फरक छैन। दिनहुँ महँगो विदेशी मदिरा सेवन गर्नुपर्ने, पार्टी विवादको समाधान खोज्न एवम् मनोरञ्ननका लागि महँगा रिसोर्ट जाने कुलतमा दाहाल फसेका छन्। माओवादी निकट स्रोत भन्छ–'नायिका रेखा थापासँग नाच्ने, खानपान, रहनसहन एवम् सरसंगतकै कारण दाहालपुत्र प्रकाशले केटी फेर्ने र दिउसै मदिराले झुम हुने शिक्षा पाएका हुन्। घर भाडामा मात्रै मासिक एक लाख भन्दा बढी खर्च गर्ने दाहालले अन्य शिर्षकमा कति खर्च गर्दा हुन? त्यो खर्चको स्रोत के हो? त्यो भने खुलासा भएका छैनन्। माओवादी अध्यक्ष दाहालले अवकाश रोजेका लडाकुले पाउने रकम आधा पार्टीलाई बुझाउनु पर्ने निर्देशन लडाकु कमाण्डरलाई दिएका छन्। सोही निर्देशनकै कारण नवलपरासीस्थित शिविरमा लडाकु र कमाण्डरबीच कुटपिट समेत भएको थियो। परिचयपत्र र चेक कमाण्डरले लिन खोजेपछि आइतबार नवलपरासिमा उक्त घटना भएको हो। अवकाश प्राप्त लडाकुले पाउने रकम पार्टीले लिन खोजेको गुनासो आफू समक्ष आएको लडाकु समायोजन विषेश समिति सदस्य एवम् कांग्रेस नेता डा. रामशरण महतले आईतबार सार्वजनिक गरिदिएका छन्। अनमिनले प्रमाणीत गरेका लडाकुले पाउने तलव भत्तामा पनि माओवादीले निश्चित प्रतिशत 'लामो हात' गर्दै आएको छ। अनमिनले अयोग्य प्रमाणित गरेका, युद्धकालमा घाइते भएका, वाइसीएलमा गएका कार्यकर्ताको भरणपोषणका लागि निश्चित हिस्सा लडाकुको रकमबाट लिएको माओवादीले नै स्वीकार गर्दै आएको छ। माओवादी नामक कारणखाना अध्यक्ष दाहालका लागि नोट छाप्ने मेसिन सरह भएको छ। एकातिर पार्टीका दाहाल पक्ष मालामाल छ भने अर्कोतिर बैद्य पक्ष आफूलाई आर्थिक नाकावन्दी गरेको गुनासो गर्दै आएको छ।
दक्षिण एशियाकै माओवादी सबैभन्दा धनी दलको रुपमा रहेको थुपै्र टिप्पणी सार्वजनिक भएका छन्। खुला राजनीतिमा आएको केही समयमै कोटेश्वर पेरिसडाँडामा माओवादीले तीन करोड रुपैयाँमा भवन खरिद गर्यो्। हाल पार्टीको केन्द्रीय कार्यालय रहेको उक्त भवन चलनचल्तीको मूल्य भन्दा दशौं गुणा कम मूल्यमा  खरिद गरिएको सहजै अनुमान गर्न सकिन्छ। त्यसैगरी माओवादीका राज्यसमिति स्तरका कार्यकर्ता समेतले निजी गाडि चढिरहेका छन्। त्यसको पनि स्रोत भने खुलाइएको छैन। सम्पत्ति थुपार्न माओवादी कति हदसम्म अपराध गर्न तयार हुन्छ भन्ने त कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठ हत्या काण्डले नै पुष्टि भइसकेको छ। राजधानी र नगरपालिका भित्रका ठूला–ठूला भवन माओवादी नेताका आफन्तका नाममा रहेको चर्चा चल्ने गरेको छ। त्यसैगरी जग्गा प्लटिङमा पनि माओवादी नेता नै अग्रमोर्चामा छन्। ठूला ठेक्कापट्टामा पनि माओवादीकै बोलवाला छ। ठेक्कापट्टा हात पार्न वाइसीएल हातहतियारसहित गुण्डागर्दीमा उत्रने गरेका थुप्रै घटना भइसकेका छन्। माओवादी निकट एक बुद्धिजीवी भन्छन्–'सुरा, सुन्दरी र सम्पत्ति अर्थात तीन 'स' माओवादी अध्यक्ष दाहालका कमजोरी हुन्। सुन्दरीका हकमा रेखा थापासँग नाचेर आफ्नो कुण्ठा सार्वजनिक गरे पनि कुनै स्क्याण्डल भने सार्वजनिक भएको छैन। तर सम्पत्ति र सुराका हकमा भने दाहालले रेकर्ड नै कामय गरेको स्रोतको दावी छ।' मदिरा सेवनमा अम्मली दाहालले एमाले नेता इश्वर पोखरेलको घरमा होसै गुम्नेगरी पिउँदा चस्मा नै  विर्सिएको घटना छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मदिरा सेवनमा कांग्रेस नेता शेरबहादुर देउवालाई पनि उछिनेको केही समयअघि बताएका थिए। एक थोपा पानी नहाली दशौं पेग मदिरा पचाउने दाहालको क्षमताको ठूलै चर्चा हुने गरेको छ। आफ्नो अवैध सम्पत्ति व्यापारिक साझेदारले हडप्ने चिन्तामा दाहाल मदिराको दुर्व्यसनी बन्दै गएको समेत थाहा भएको छ। दिनको तीन पटकसम्म कुरा फेर्ने, आफ्नो पार्टीमा एउटा र सर्वदलीय बैठकमा छुट्टै प्रकारको मन्तव्य दिने, छ–छ महिनामा पार्टीको कार्यनीति बदलिरहने अस्वभाविक व्यवहार दाहालले देखाँउँदै आएका छन्। सम्पत्ति सम्बन्धि तनावका कारण दाहालले त्यस्तो व्यवहार देखाउने गरेको हुन सक्ने माओवादीभित्रै चर्चा छ।
केही समयअघि सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीहरूले लिएको गाडि र सुरक्षाकर्मी अवैध घोषणा गरिदियो। त्यसपछि सबै पूर्व प्रमहरूले गाडि र सुरक्षाकर्मी फिर्ता गरिदिए तर दाहालले भने गाडि मात्रै फिर्ता गरेका छन्। अध्यक्ष दाहालले सुरक्षामा चुनौति रहेको बताउँदै सुरक्षाकर्मी फिर्ता नगरेको बताएका थिए। नयाँ बजारबाट लाजिम्पाट 'डेरा' सर्नुमा पनि दाहालले सुरक्षाकै कारण देखाएका छन्। तर आफूमाथि असुरक्षा कोबाट भइरहेको छ भन्ने चाहि दाहालले खुलाउन सकेका छैनन्। हालै सम्पत्तिकै कारण सशस्त्रका डीआईजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या गरे। कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठ सम्पत्तिकै कारण माओवादीबाट मारिए। त्यही भूतले अध्यक्ष दाहाललाई सताइरहेको हुनसक्छ। माओवादीको बैद्य पक्षले बारम्बार पार्टीको हिसाव किताव अपारदर्शी रहेको र अध्यक्ष दाहालले व्यक्तिगत हैसियतमा पार्टीकोष चलाएको बताएको छ। यसरी माओवादी नामक कारखानाबाट अध्यक्ष दाहाल नव सामन्त बन्न सफल भएका छन्।


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिव तीन हजार नक्कली लडाकू तयार पारेर राज्यबाट रकम असुलेको स्वीकार गरे
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिव तीन हजार नक्कली लडाकू तयार पारेर राज्यबाट रकम असुलेको स्वीकार गरेका छन् । गोकर्ण रिसोर्टमा बुधबार बसेको तीन दलको वैठकमा प्रचण्डले राज्यसँग पैसा असुलेर भ्रष्टाचार भएको स्वीकारेका हुन् ।
तीन दल वैठकमा नेपाली कांग्रेसका नेता रामशरण महतले नक्कली लडाकू देखाएर राज्यबाट रकम असुल्नु संस्थागत भ्रष्टाचार भएकोले यसको छानविन हुनुपर्ने माग गरेपछि प्रचण्डले नक्कली लडाकू देखाएको स्वीकार्दै अप्ठेरो बुझिदिन आग्रह गरेका थिए । ‘साँच्चिकै भन्नुपर्छ, हामीले त्यो रकम अयोग्य र वाईसिएलमा खटिएका लडाकूलाई दिंदै आएका छौं’ – प्रचण्डको भनाई उदृत गर्दै वैठकमा सहभागी स्रोतले भन्यो ।
संबिधानसभा चुनावमा लडाकू खटाएर डर देखाई माओवादीले चुनाव जितेको अन्य दलले आरोप लगाइरहेका बेला माओवादी नेतृत्वले लडाकूलाई वाईसिएलमा पठाएको पनि स्वीकारेको छ । प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रका कारण पनि आफुले दुई तीन हजार लडाकूलाई बाहिर निकालेको दावी गर्दै पार्टीको अप्ठेरो बुझेर धेरै नउचाल्न कांग्रेस र एमाले नेताहरुलाई आग्रह गरेका थिए ।
यसैवीच लडाकूको चेक खोसिएको बिषयमा छानविन गर्न मुख्य तीन दल सहमत भएका छन् । यसैगरि सेना समायोजनका लागि सरकारले सेनालाई निर्देशन दिन समेत सहमति भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक