(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20120321

पाँच दलका ‘शीर्ष’ भनिने दशजना टाउके नेताहरुले भित्री मनदेखि प्रतिबद्धता जनाएर साँच्चै लागिपर्ने हो भने सात दिनमा नयाँ संविधान तयार भइ वरी जारी हुन सक्छ

कैलाश चियाको विज्ञापनमा झैँ ‘मूड चेन्ज तुरुन्तै’ हुने प्रवृत्ति भएको हाम्रोजस्तो समाजमा ज्ञानेन्द्रको पुनरागमन भइहाल्यो भने पनि अनौठो नमाने हुन्छ ।
                    - कृष्ण अविरलको गहिरो बिस्लेसण   (यो लेखक को निजी बिचार हो) -
पाँच दलका ‘शीर्ष’ भनिने दशजना टाउके नेताहरुले भित्री मनदेखि प्रतिबद्धता जनाएर साँच्चै लागिपर्ने हो भने सात दिनमा नयाँ संविधान तयार भइवरी जारी हुन सक्छ । तर संविधान निर्माण गर्ने नाममा सरकारी भत्ता-सुविधा लिन र ६०१ जना सभासद र तिनका पिए गरी १२०२ जना बढीलाई दिलाउन थालेको चार वर्ष बित्न लाग्दा पनि संविधान तयार हुने लक्षण देखिएको छैन । नेताहरु प्रति जनतामा तीब्र घृणा अनि राजनीति प्रति चर्को वितृष्णा उत्पन्न हुन थालिसक्दा पनि ‘शीर्ष’ भइखाएकाहरु झिनामसिना मतभेदलाई लिएर आपसी गाँड कोराकोरको आत्मरतिमा रमाइरहेका छन् । तीललाई पहाड बनाउँदै एकअर्काको आङको जुम्रा औँल्याइरहेका छन् । एकअर्काको थाप्लोमा छारो खन्याएर उपहासको हाँसो हाँसिरहेका छन् । इतार दलभित्र मात्रै होइन, एउटै दल भित्र पनि यस्तै प्रवृत्ति मौलाइरहेको छ । आखिर किन ? भाषणमा वाक्यैपिच्छे देश र जनताको दुहाइ दिने यी नेताहरुले विलासितामा डुबेर जनताको भावना बुझ्ने हैसियत बास्तवमै गुमाएकै हुन् ? के यिनमा आफूहरु सधैँका लागि मुलुकका सर्वेसर्वा हौँ जनताले हाम्रो विकल्प खोज्न सक्तैन भन्ने दम्भ पलाएकै हो ? आफूहरुको गैरजिम्मेवारीले पराकाष्ठाको सीमा नाघ्दै जाँदा कुनै न कुनै रुपको निरंकुशताले टाउको उठाउन पाउँछ भन्ने
सामान्य चेत पनि यिनमा नभएकै हो ?
यी प्रश्नका उत्तर आ-आफ्नै होलान् । किनकि पछिल्लो दशकमा इमान, स्वाभिमान, आत्मनिर्भरताजस्ता कुरा दुर्लभ हुँदै गए पनि राजनीतिक विश्लेषण गर्ने क्षमता अधिकांश नेपालीमा ह्वात्तै बढेको छ । त्यसैले पनि हरेकले यी प्रश्नमा आ-आफ्नै ढंगको उत्तर निकाल्ने सामथ्र्य राख्छन् । सत्यचाहिँ के हो भने संविधान निर्माण भएर जारी हुनमा बाधाका रुपमा देखिएका मतभेद देखावटी मात्र हुन् । नेपाली जनताका आँखामा छारो हाल्ने उद्देश्यले प्रेरित यी घटना क्रममा पछाडि ठूलो षडयन्त्र लुकेको छ । कहिलेकाहीँ त लाग्छ, हामीले आड भरोसा गरेका नेताहरुले आफू खेलाडी बनेर त्यही षडयन्त्रलाई मूर्तरुप दिने प्रयास गरिरहेका छन् ।
एउटा पुस्तक लेख्ने सिलसिलामा अनुसन्धान गर्दा फेला परेको तथ्य के हो भने नेपाली जनताले आड भरोसा गरेका हरेक नेताको देखाउने र चपाउने दाँत फरक-फरक रहेछ । आवरणमा देखिने अनुहार भित्र अर्को अनुहार पनि लुकेको हुँदोरहेछ । बाहिर खरो गणतन्त्रवादी सावित हुन खोज्नेहरुको लन्च-डिनर पूर्वराजावादीहरुको खर्चबाट चल्दो रहेछ । सर्वहाराका पक्षधर, परिवर्तनका पक्षपाती ठानिएकाहरु डरलाग्दा सुविधाभोगी, तस्कर-माफियाका पि्रय र विषयलम्पट हुँदारहेछन् । बोलीमा सबैभन्दा खरा राष्ट्रवादी देखिनेहरु सबैभन्दा ठूला विदेशी दलाल, मतियार र एजेन्ट हुँदारहेछन् । प्रचण्ड, मोहन बैद्य, माधव नेपालदेखि गगन थापासम्मका नेतामा त्यही चरित्र भेटिँदा सुरुसुरुमा त पंक्तिकारलाई पत्याउनै मुस्किल पर्‍यो । तर प्रमाण नै सामुन्ने भएपछि नपत्याएर सुख पनि भएन । विडम्बना भन्नुपर्छ, कतिपयलाई हामीले बेलैमा चिनेर पनि दुत्कार्न सकेनौँ, देशको दिशा निर्माण गर्ने बागडोर उनीहरुका हातमा सुम्पिइरह्यौँ, त्यो पनि निणर्ायकका रुपमा । त्यो उनीहरुको कमजोरी होइन, हाम्रै हो । त्यसैले उनीहरुलाई गाली गर्नु भनेको आकाशतिर फर्केर थुक्नुजस्तै हो ।
प्रधानमन्त्री र नेताहरुले जतिसुकै विश्वास दिलाए पनि र संविधानसभाको म्याद बढाएर दश वर्ष पुर्‍याए पनि नयाँ संविधान बनेर जारी हुन सक्तैन । यो कुरामा ठोकुवा गर्ने अवस्था नेताहरुको विगत चार वर्षयताको द्वैध चरित्र, असंगत ब्यवहारले देखाइसकेको छ । किनकि यिनीहरु भनेका दक्षिणको छिमेकीका एजेन्ट र मतियार मात्रै हुन् । प्रचण्डलगायतका केही सार्वजनिक रुपमै खुलेका छन्, केहीले मखुण्डो लगाइरहेका छन्, फरक त्यति मात्रै हो ।
दक्षिणको हाम्रो छिमेकीले वास्तवमै नेपाली जनताको भलो र समुन्नती चाहेको भए संविधानसभाको जनअनुमोदित अवधिमै संविधान निर्माण भएर जारी हुनसक्थ्यो । जनभावनालाई कुल्चिएर बारम्बार संविधानसभाको म्याद थपिरहनु पर्ने नै थिएन । तर दक्षिणको छिमेकीको कुत्सित उद्देश्य नै अर्कै छ । सन् २००५ मा ढाकामा सम्पन्न तेह्रौं सार्क सम्मेलनमा तात्कालीन राजा ज्ञानेन्द्रले आफूविरुद्ध जोरी खोज्दै चीनलाई पनि सार्कको सदस्य बनाउने प्रस्ताव गरेपछि बिच्किएको उसले गणतन्त्र घोषणा गराएर सवक सिकाइदियो । देखावटी रुपमा जे-जे भनिए पनि र परिवर्तनको जस माओवादीले आफ्नो पोल्टामा पार्ने दुर्नियत गरे पनि वास्तविकता त्यही सार्क सम्मलेनमा ज्ञानेन्द्रले राखेको प्रस्ताव थियो । किनकि २०६२-२०६३ को जनआन्दोलनपछि सम्म पनि माओवादी र अरु दलका नेताहरुका बोली र बाचाहरु राजतन्त्र विरोधी थिएन, जुन कुरा त्यसबेलाका अखबारहरुले पनि प्रमाणित गर्छन् । जनता निरंकुशताको विरुद्धमा थिए, त्यो बेग्लै पाटो हो ।
आफूले भरोसा गरेका गिरिजाप्रसाद कोइराला, प्रचण्डलगायतका नेताहरुका बाचाका बावजुद नारायणहिटीबाट बलात् बाहिरिनु परेपछि तात्कालीन राजा ज्ञानेन्द्रमा इख पलाउनु स्वाभाविक थियो । ‘यी नेताहरुले भारतको गुलाम बन्दा हुन्छ भने मैले पनि उसलाई रिझाएर पुनः श्रीपेच प्राप्त गर्दा के विग्रन्छ ?’ -नागार्जुन निकट रहेकाहरुका भनाइमा ज्ञानेन्द्रमा त्यसबेला उमि्रएको प्रतिशोध यही थियो । त्यही कारण नारायणहिटीबाट बाहिरिने बेलामा सन्चारमाध्यमहरुका सामू उनले चुनौतीको भाषा बोले । त्यसबेला उनले भनेका थिए- “जनताको नासो यो श्रीपेच अक्षुण्य रहोस् ।” यसको सोझो अर्थ हो, फेरि आउन सक्छु, मेरो श्रीपेच सुरक्षित राखिराख्नू ।
लगत्तै उनले आफ्नो सम्पूर्ण पहुँच, स्रोत र शक्ति दक्षिणको छिमेकीलाई रिझाउनमा प्रयोग गरे । उसले चाहेको पनि त्यही थियो । उसको सकारात्मक सन्देश आएपछि तीर्थाटनका नाममा लगत्तै उनी आफैँ दिल्लीका दरबारहरुमा पुगेर ‘त्वम् शरणम्’ गरेपछि उसको बर्षौ पुरानो रणनीति फेरियो । आफ्ना निश्चित शर्तहरुमा ज्ञानेन्द्रलाई मन्जुर गराएपछि उसले नेपालमा अर्कै खेल सुरु गर्‍यो । अरुले जेसुकै भने पनि त्यही रणनीति अन्तर्गतको पहिलो चरण थियो, तराईमा फोरम र तमलोपा जन्माउने काम । जसले माओवादीलाई आफू अनुकुलको साइजमा मात्रै ल्याएन, आफ्नो गुलाम बन्नुपर्ने स्थितिमा पुर्‍याइदियो । भनिन्छ, अहिले हाम्रो दक्षिणको छिमेकी आफू अनुकुलको भुटानको जस्तो रवरस्ट्याम्प राजतन्त्र फर्काएर यहाँको प्रकृतिक स्रोत साधन सधैँका लागि आफ्नो बनाउने रणनीतिक योजनालाई अन्तिम कार्यान्वयन गर्ने चरणमा छ । त्यही रणनीतिकै कारण संविधानसभाको जनअमुमोदित दुई वर्ष र अवैध दुई वर्षमा नयाँ संविधान जारी हुन नसकेको हो ।
रोचक कुरा चाहिँ के हो भने जबजब बाबुराम भट्टराईको सरकार अरु दलसँग सहमति खोजेर संविधान निर्माण गर्ने वातावरण निर्माण गर्न लाग्छ, माओवादी पार्टी भित्र बैद्य पक्षका नाममा बखेडा सुरु हुन्छ । माओवादी भित्र उत्पन्न हरेकचोटिका बिवादका निहुँ देख्दा यस्तो लाग्छ- मात्र गणतन्त्रलाई असफल सिद्ध गराउनका लागि उनीहरुलाई बाहना चाहिएको छ । जनतालाई भ्रममा पार्न आफू र आफ्नो पार्टी माओवादी गणतन्त्रको सबैभन्दा ठूलो मसिहा भएको भाषण गरुन्, त्यो अर्कै खेल हो । किनकि यस्तो खेल केशरजंग रायमाझी, आरके मैनाली, देवी ओझा, कमल चौलागाईलगायतका धेरैले खेलिसकेका छन् । किनकि इतिहासले धेरैचोटि र प्रचण्डले समेत अनेकपटक प्रमाणित गरिसकेका छन्- आवरणमा सबैभन्दा खरा देखिनेहरुको भित्रीपाटो अर्कै हुन्छ ।
माओवादी भित्र मात्रै होइन, ठूला भनिएका हरेक दलभित्र सानोसानो निहुँमा मतभेद उमि्ररहन्छन् । कहिले एमाले भित्र काट्टोछिनो हुन्छ, कहिले कांग्रेस भित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेलका कित्ताका बीचमा पानी बाराबार हुन्छ । भारतले सत्ताको साँचो दिलाएका तराईका पार्टीहरु त फुटेर चिराचिरा भइसकेका छन् । बर्षौदेखि त्याग र जीवन अर्पण गरेको माउ पार्टी छाडेर भारतको एक इशारामा जातीय र क्षेत्रीय पार्टी खोल्न तम्सनेहरुमा के व्यक्तिगत स्वार्थकै कारण फुट आएको होला त ? पत्याउन मुस्किल पर्छ । बरु ढुक्कले भन्न सकिन्छ, हरेक राजनीतिक दलमा कलह र फूट उत्पन्न गराएर राजनीतिक दल प्रति जनतामा तीब्र नैराश्य एवम् वितृष्णा उत्पन्न गराउने गुप्त योजना अन्तर्गत नै यो सब भइरहेको छ । फेसबुकका भित्ताहरुमा फर्जी नाममा नेताहरुलाई कुकुर बनाएर मनमोहन सिँहले डोर्‍याउँदै गरेका चित्र राखिनु, नेताहरुलाई चर्का गाली गर्दै फाँसीको माग गरिनुका पछाडि आवेश मात्रै होला भनेर पत्याउन सकिने अवस्था नै छैन । साथै पछिल्ला दिनमा भारतीय योजना अन्तर्गतका घटनाक्रम यसरी विकास भइरहेका छन् कि ज्ञानेन्द्र शक्तिमा फर्किएको दिन हेर्न अब धेरै कुर्नु पर्दैन ।
यो आशंकालाई पुष्टि गर्ने अर्को पाटो पनि छ । गणतन्त्र बहाल भएपछि भारत भ्रमणमा गएका तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतका लागि भारतीय समकक्षी मनमोहन सिंह आफैँ एयरपोर्टमा आएका मात्र थिएनन्, कोइरालालाई हादिकतापूर्वक अँगालो हालेर ‘एशियाका महान् नेता’को उपमा समेत दिएका थिए । तर त्यही भारतले नेपालका पछिल्ला प्रधानमन्त्रीहरुसँग त्यो स्तरको हार्दिकता देखाएन । अझ पछिल्ल्ाोचोटि डा. बाबुराम भट्टराई जाँदा त उसले राज्यमन्त्री स्तरका मान्छे एयरपोर्ट पठाएर औपचारिकता निर्वाह गर्‍यो । भारतपरस्तका रुपमा आलोचित डा. भट्टराईले कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेट गर्न समेत निकै कठिन भयो । यस विपरित पूर्वराजा ज्ञानेन्द्र जाँदा भने नयाँदिल्ली न्यानो आतिथ्य प्रदान गर्‍यो । सोनिया लगायतका नेताहरुसँग उनको सहज भेट मात्र भएन, घन्टौं भलाकुसारी पनि सम्भव भयो । आखिर किन ?
यता, नयाँ दिल्लीबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र निकै उत्साही देखिएका छन् । फागुनको तेस्रो साता पुराणमा सहभागी हुने बाहनामा सुनसरीको झुम्का पुगेका उनले पत्रकारहरुका सामू जे बेलो त्यसले उनमा पुनरागमनको त्यही आत्मविश्वास प्रकट भएको देखिन्छ । किनकि ज्योतिष विद्यामा अति विश्वास गर्ने ज्ञानेन्द्र केही महिना भित्रमा आफ्नो सत्ता फर्किनेमा लगभग ढुक्क छन् । नागार्जुन निकट रहेकाहरुका भनाईमा अहिले ज्ञानेन्द्र पश्चिमतिरको देश दौडाहाको योजना बनाइरहेका छन् । यससँगै विगतमा तीन चिरामा विभाजित पूर्वपन्चका पार्टीहरु सैद्धान्तिगत मतभेदलाई मिलाउँदै एकताको तयारीमा जुटेका छन् । ज्ञानेन्द्रका समर्थकहरुको सल्बलाहट पनि निकै बढेको छ । पछिल्लो समयमा विकशित यी घटनाक्रमलाई चितुवा कराउने र बाख्रो हराउने संयोग मात्रै परेको हो भनेर नेताहरु मस्तसँग भुसे निद्रामा निदाए पनि संभावित अनिष्टलाई अस्वीकार गर्न सकिने अवस्था छैन् । भलै ज्ञानेन्द्रं र उनका विश्वासपात्रहरुको योजनालाई मूर्तरुप दिनसक्ने सैन्य नेतृत्वको अहिले अभाव छ । तर मौका पर्नासाथ विरालो पनि चितुवा हुने प्रवृत्ति भएको समाजमा कसैलाई विश्वास गरिहाल्न सकिने अवस्था पनि छैन् । दुखद कुरा हो कि ज्ञानेन्द्रको पुनारागमनलाई रोक्न सक्ने सामथ्र्य भएको एमाओवादी पार्टी पनि यतिखेर कमाओवादीका रुपमा परिणत भएर जनस्तरमा असाध्यै आलोचित भइसकेको छ । अनेकखाले विकृतिका एचआइभीबाट संक्रमित उसले निरंकुशताको प्रतिरोध क्षमता नै गुमाइसकेको छ । नेताहरुले जतिसुकै चर्का भाषण गरे पनि तिनहरुभित्रको अन्तरविरोध देख्दा यस्तो लाग्छ, अब माओवादी पार्टीलाई एड्स हुनमात्र बाँकी छ । अरु दलहरुको हालत पनि जनस्तरमा २०५८-०५९ कै जस्तो कन्तविजोग हुन थालेको छ । त्यसै कारण कैलाश चियाको विज्ञापनमा झैँ ‘मूड चेन्ज तुरुन्तै’ हुने प्रवृत्ति भएको हाम्रोजस्तो समाजमा ज्ञानेन्द्रको पुनरागमन भइहाल्यो भने पनि अनौठो नमाने हुन्छ । दलका अगुवा नेताहरुलाई बेलैमा चेतना भएन भने त्यो अनिष्ट अब टाढा छैन् ।
२०६८ चैत ७

3 comments:

  1. That what i was thinking for years.Now you wrote exactly what myinner anlysis tells me.

    ReplyDelete
  2. Usually I would not have a single second for this Abiral person based on his previous publications but he might be learning fast and if so it is quite natural and human.

    ReplyDelete
  3. Jhari po halchha ki bhanera dubai hat jholthyaera sadhe ko pachhi lagne haru dherai chhan. K Thegan Jhari po halchha ki? Kati Khajabadi le matra Ryal kadhi rahane? Aba palo rajabadi ko! Kag lai bel pakyo harsha na bismat bhane jhai, gau ka sojha sojha nepali lai jo sukai aun, jo sukai jaun k matlab? Bhok na bhakari sok na surta bhane jhai kumbha karne neta bhanauda ko ghaita ma kaile gham lagena kyare!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक