20120310

शुशील कोइरालालाई प्रधानमन्त्री बन्न प्रचण्डको आग्रह, प्रचण्डको खेल बुझेका शुशीलले जबाफ दिए "शान्ति प्रक्रिया टुगिएपछि मात्रै", बुझी नसक्नुछ बा प्रचण्डको भित्री खेल

'जहिले पनि उहाँहरु पहिला हतियार बुझाउनुस् अनि संविधान लेखौंला भन्नुहुन्छ, 'हतियार बुझाउने कुरा १२ बुँदे समझादारी विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान कहीं पनि लेखिएको छैन - माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालालाई संयुक्त सरकारको नेतृत्व गर्न आग्रह गर्नुभएको छ । शुक्रबार बिहान कोइराला निवास महाराजगञ्जमा भएको भेटमा दाहालले शान्ति प्रक्रिया टुंगोमा पुग्ने निश्चित भएकाले राष्ट्रिय सरकारको नेतृत्व कोइरालालाई लिन आग्रह गर्नुभएको हो । प्रतिउत्तरमा कोइरालाले भने शान्ति प्रक्रिया टुगिएपछि मात्रै राष्ट्रिय संयुक्त सरकार बन्न सक्ने जवाफ दिनुभएको थियो । दाहालले निर्वाचन प्रणाली मिश्रित, शासकिय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र सदनबाट प्रधानमन्त्री बनाउने गरी संविधान लेखन प्रक्रिया अघि बढाउन कोइरालासँग प्रस्ताव समेत गर्नुभएको थियो । भेटमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्दै पौडेल पनि सहभागी भएका थिए ।  यसै बिच पुष्पकमल दाहाल 'प्रचण्ड’ले जेठ १४ पछि जस्तोसुकै अवस्था आए पनि त्यसको
सामनाका लागि मानसिक रुपमा तयार भएर बस्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ। १०२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पार्टीनिकट अनेमसंघ क्रान्तिकारी ले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफ्ना कार्यकर्तालाई सो निर्देशन दिनुभएको हो। उहाँले एमाले र कांग्रेसले हलो अड्काएर गोरु चुट्ने काम गरिरहेकाले शान्ति र संविधान लेखनको काम अवरुद्ध भएको बताउनुभयो।

कांग्रेस र एमालेको हठका कारण शान्ति र संविधान लेखन प्रक्रियामा पूर्णविराम लागेको उहाँको आरोप थियो। आफ्नो पार्टीले शान्ति र संविधानको प्रकि्क्रियालाई सहजतापूर्वक अगाडि बढाउन देखाएको लचकतालाई सम्झौतावादको कोणबाट हेरेर कांग्रेस-एमालेले घेराबन्दीमा पार्न खाजेको उहाँको भनाइ थियो। 'हामीले देखाएको जिम्मेवारीपूर्ण लचकतालाई कमजोरी ठानेर कांग्रेस र एमालेले सम्झौतावादमा फसेको अर्थमा बु´ने गरेका छन्’ प्रचण्डले भन्नुभयो- 'हामीले अलिकता अडान लिने बित्तिकै सबै मिलेर घेराबन्दीमा पार्ने प्रयास गर्ने गरिएको छ। हामी कुनै पनि हालतमा आत्मसमर्पण गर्ने पक्षमा छैनौं।’ शान्तिप्रक्रिया सम्माजनक रुपमा टुंगिने र संघीयतासहितको नयाँ संविधान जारी नहुने अवस्था आए आफूहरु जस्तोसुकै कडा कदम चाल्न पनि तयार हुने उहाँको चेतावनी थियो। कांग्रेस र एमालेले १२ बुँदे समझदारी विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा कहीं उल्लेख नभएको हतियार बुझाउने कुरा उठाएर परिवर्तन संस्थागत गर्ने एजेन्डा ओझेलमा पार्न खोजेको आरोप लगाउनुभयो।
'जहिले पनि उहाँहरु पहिला हतियार बुझाउनुस् अनि संविधान लेखौंला भन्नुहुन्छ’ प्रचण्डले भन्नुभयो- 'हतियार बुझाउने कुरा १२ बुँदे समझादारी विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान कहीं पनि लेखिएको छैन। पहिला हतियार बुझाऊ अनि मात्र संविधान भन्नु षड्यन्त्रको द्योतक हो।’ आफूहरुले भनेअनुसार सम्मानजनक शान्तिप्रक्रिया र संघीयतासहितको संविधान नबन्ने ग्यारेन्टी नभए जारी राजनीतिक प्रक्रिया नै भंग हुन सक्ने उहाँको चेतावनी थियो। कांग्रेस-एमालेले शान्ति र संविधान निर्माणमा अवरोध गर्ने तर दोषजति माओवादीमाथि थोपर्ने गरिरहेको भन्दै उहाँले त्यसो नगर्न आग्रह गर्नुभयो। शान्ति र संविधान निष्कर्षमा पुगे जनता अधिकार सम्पन्न हुने र त्यसको जस माओवादीलाई जाने त्रासका कारण कांग्रेस-एमाले षड्यन्त्रको खेतीमा लागेको आरोप उहाँको थियो। माओवादी नै शान्ति र संविधानको वास्तविक जननी भएको दाबी गर्दै उहाँले त्यसलाई टुंगोमा पुर्याउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता थियो।

यसैबीच अध्यक्ष प्रचण्डले लडाकूलाई दिने दर्जामा कुरा मिल्न नसक्दा शान्ति र संविधानको काम अगाढि बढ्न नसकेको बताउनुभएको छ। नेपाली सेनामातहत बन्ने महानिर्देशनालयमा राजनीतिक निर्णयद्वारा लडाकूलाई बि्रगेडियर जनरल दिनु सातबुँदे सहमतिअनुसारै हुने जिकिर उहाँको छ।
आफ्नै निवास लाजिम्पाटमा बिहीबार साचारकर्मीसँग कुरा गर्दै प्रचण्डले कांग्रेस नेताहरुसँगको छलफल सकारात्मक दिशातर्फ उन्मुख भएकाले केही साताभित्रै सेना समायोजन प्रक्रिया टुंगिने विश्वास व्यक्त गर्नुभयो। शासकीय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने मिश्रित प्रणालीमा दलहरु सहमतिनजिक पुगसिकेको खुलासा उहाँले गर्नुभयो। प्रचण्डले कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमितको सरकार बन्ने सम्भावना रहेको संकेतसमेत गर्नुभयो। माओवादी र एमालेले संविधानसभा निर्वाचनपछि दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेकाले कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्नुलाई अन्यथा मान्न नहुने उहाँको भनाइ थियो।

यस्तै प्रचण्डले बिहीबार रिपोर्टस्र क्लबले दिएको ज्ञापनपत्र लिँदै आगामी संविधान जारी गर्नुअघि नै राष्ट्रिय सहमतिको सरकार बनिसक्ने बताउनुभएको छ। अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म राज्यको पुनःसंरचना एवम् संघीयतालाई टुंगोमा पुर्याउन नसकिने स्थिति रहेको समेत स्पष्ट पार्नुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक