20120318

दुई करोडको थैलो बोकेर सगरमाथा चढ्यो, झोलामा शान्ति र संविधान लिएर फक्र्यो । गजबै रहेछ बा यो पथ !

- खगेन्द्र संग्रौला
धेरै पहिले लेखेको थिएँ- तेन्जिङ नोर्गे र एडमन्ड हिलारीपछि सगरमाथाको चुलीमा पाइला टेक्नुको उत्रो महत्त्व छैन । सगरमाथाको चुलीमा हिँडेरै चढे पनि, कुदेरै चढे पनि, जति नै छिटो चढे पनि पुगिने उचाइ उति नै हो । कोही पनि तेन्जिङ र हिलारीभन्दा एक इन्च माथि पुग्दैन । यी दुई कीर्तिमानी आरोहीपछिका सबै आरोहणहरू केवल उही सिद्धिका आवृत्तिहरू व्ाा कार्बनकपीहरू हुन् । तैपनि सगरमाथा चढाइ जारी छ । रैथाने शेर्पाहरू पेसा-व्यवसाय वा दाल-भात-डुकुका लागि सगरमाथा चढ्छन्, विदेशीहरू नयाँ उत्तेजनामा नयाँ आनन्द खोज्नका लागि सगरमाथा चढ्छन् । यसबाट अलिकता रोजगारी प्राप्त हुन्छ, अलिकता वैदेशिक मुद्राको आर्जन हुन्छ । यहाँसम्म कुरा ठिकै छ । केही समयअघि कोही सगरमाथाको कार्बनकपीरूपी आरोहण गर्न जाने खबर ठूलो हल्लाखल्ला भएर मछेउ आयो । सुनेँ- लुम्बिनी-सगरमाथा अभियान भन्ने नाम जुराइएको यो आरोहण शान्ति र संविधानका लागि हो रे । अहो ! हुँदाहुँदा अब सगरमाथा आरोहणसमेत पनि शान्ति र संविधानका लागि समर्पित हुने भएछ । क्या कल्पनाशील र सिर्जनशील छन् हाम्रा अल्छीतिघ्रे गोखर्ेे काजीहरू ! यी काजीहरूको करामत देखेर म कानसम्म मुख च्यातेर हाँसे । सोचेँ- केके न गर्न लागेँ भनेर हल्ला गर्दै आरोहण गर्न खुट्टा उचाल्नेहरू गैसस
उद्यमका लटालट कमाउ जोधाहाहरू होलान् अथवा बाहिरफेरको मूल्यवान् मुद्रा भक्षण गर्ने ममतामयी मानवअधिकारकर्मी होलान् । यस्ता लीला रच्नमा यी महामहिमहरू हुनुसम्म खली छन् । यी बाहिरको पैसाले लाखबत्ती बाल्छन् र तुरुक्क आँसु झार्दै शान्तिका लागि पुकारा गर्छन् । यी बाहिरफेरकै पैसाले परेवा उडाउँछन् र मखलेल मुद्रामा शान्तिको माला जप्छन् । यी बाहिरफेरकै पैसाले रुमानी संगीत यात्रामा घुम्छन् र मक्ख पर्दै शान्तिको सुतीखेती गर्छन् ।
तर यसपाला सुन्दै जाँदा आरोहणको पात्र आनका तान फरक पर्न गयो । जम्मैजसो नेपाली र आङ्लभाषी ढ्याके अखबारहरूले माउ आरोही कुनै दाहाल हुन् भनी पहिलो पातोमै सचित्र खबर छापे । चित्रमुनि तिनले नवराजकुमारको दामी पर्वतारोहण भन्ने मनसायको व्यहोरा ठोकिदिए । यो अजबको देश हो जसमा गजबको चाला छ । सरकारी कोषमा मानौँ पैसो माटोसरि छ र अति उदारमना सरकारको छाती छ नाङ्लोजत्रो । नाङ्ले छातीधारी सरकारले शान्ति र संविधान ल्याउन सगरमाथा चढ्ने जादूगरी पात्रलाई दुई करोड नखत टक्रयाउने निधो गरेछ । मन्त्री हृदयेश त्रिपाठी कन्दै सञ्चारसामु भन्दै थिए- पहिलेदेखि दिने नजिर बसको रहेछ, त्यसैले दियौँ । अप्रकट रूपमा मानौँ उनी भनिरहेका थिए- हातमा सत्ताको लगाम लिएपछि पहिलेदेखि चोर्ने र लुट्ने नजिर बसको भए निहुरमुन्टी न भएर आफूले पनि चोर्नैपर्छ र लुट्नैपर्छ ।
दुई करोड पाउने भाग्यमानी नवराजकुमारको चित्र गौण गरेर हेरेँ र चिनेर म चकित भएँ । सोर्सफोर्सवाला जत्थाका एक प्रमुख आरोही प्रकाश दाहाल रहेछन्- पिता पुष्पकमल दाहालका एक मात्र पुत्ररत्न प्रकाश दाहाल । मनले धत्तेरिका भन्यो । मेरो आङ सिरिंग भयो । मलाई कसोकसो दिगमिग लागेर आयो । पेरिसडाँडामा पर्वतारोहण विभाग पनि छ भन्ने मलाई थाहा थिएन । रहेछ । धन्य पशुपतिनाथ ! अब पर्वतारोहणका माध्यमले अति दुर्लभ शान्ति र संविधान एकदमै सुलभ हुने भएछ । दुई करोडको थैलो बोकेर सगरमाथा चढ्यो, झोलामा शान्ति र संविधान लिएर फक्र्यो । गजबै रहेछ बा यो पथ ! यो पर्वतपथ माओपथको कुन सिद्धान्त, कुन मान्यता वा कुन तर्कभित्र पर्छ मलाई थाहा छैन । सके पर्वतारोहण नगरेका अज्ञानी माओलाई नै थाहा नहुँदो हो !
नवआविष्कृत चमत्कारमुखी पर्वतारोहणको प्रसंगले मेरा मनमा अनेक प्रश्न उब्जायो । रकमको रासमा सवार भई सगरमाथा चढेर शान्ति र संविधान प्राप्त हुनेरहेछ । उसोभए फेवातालमा डुबुल्की मारेर वा मस्र्याङ्दीमा बाँकटे हानेर वा प्याराग्लाइडमा हल्लिएर पनि त शान्ति र संविधान प्राप्त होला । खालि के भने खल्तीमा सरकारी दुई करोड हुनुपर्‍यो । कुरो त्यसै हो भने संविधानसभामा जालझेल र आलटाल एवं विचार र तर्कको त्यत्रो रणसंग्राम किन ? पठाइदिऊँ न ६ सय १ जनलाई सगरमाथा आरोहण गर्न । जाऊन्, चुलीमा उभिएर शून्य आकाशमा हात फैलाऊन् र भगवान्सँग पुकारा गरून् । स्वर्ग सर्वोच्च सगरमाथाको शिखरनजिकै होला । त्यहाँबाट गरिने पुकारा सजिलै भगवान्ले सुन्लान् । र, भक्तको दुःखपुकाराबाट पग्लिएका भगवान्ले माथिबाट रेशमी कपडामा बेरेर शान्ति र संविधानको पोको थपक्क खसाइदेलान् ।
आयो कुरा अब सहज विकल्पको । आरोहणबाटै शान्ति र संविधान प्राप्त हुने भए त्यत्रोबिधि दुई करोडको पर्वतारोहणै किन गर्नु ? गजारोहण गरे भयो, महिषारोहण गरे भयो, शृंगालारोहण गरे भयो अथवा वृक्षारोहणै गरे पनि भयो । यी होचा आरोहणहरू कम कठिन र कम खर्चिला होलान् । आरोहणका लागि दुई करोड नदिई नछाड्ने सरकारको जिद्दी हो भने थुप्रै पात्रहरूले यस्ता आरोहण गर्ने सौभाग्य प्राप्त गर्लान् । जति धेरै आहरोहण, उति छिटो र उति राम्रो शान्ति र संविधान ! आखिर चीज त बन्यो !
भन्न झन्नै छुटेछ । सगरमाथा आरोहण जत्थाका चामत्कारिक संयोजकबारे अलिकता प्रकाश नपार्नु मलाई लाग्छ निश्चितै रूपमा पाप हो । संयोजक रहेछन् 'जिउँदा सहिद' श्री कृष्ण केसी । केसीबाबु एनेकपा माओवादीका केन्द्रीय सदस्य हुन् क्यारे । पदअनुसारको काम गर्ने हो भने त्यत्रो ठूलो पार्टीका केन्द्रीय सदस्यको दायित्व ठूलै हुँदो हो । त्यहाँ विचार फाँटको दायित्व हुँदो हो, राजनीति फाँटको दायित्व हुँदो हो, संस्कृति फाँको दायित्व हुँदो, संगठन फाँटको दायित्व हुँदो हो । तर लाग्छ, माओवादी पार्टीमा विचार, राजनीति र संस्कृति खुरुखुरु गोलखाडी गइरहेछन् । ओठमा झुन्डिएको सिद्धान्त सांसारिक छ । त्यो भौतिक छ । त्यो लौकिक छ । तर व्यवहार भने दिनानुदिन असंगत, हास्यास्पद र तिलस्मी हुँदो छ । चिन्तन र मन्थन, विवाद र संवाद एवं संघर्ष र सहमतिका माध्यमले होइन, माओवादी वृत्तमा अब खुस्केटका माध्यमले शान्ति र संविधानको खोजी गर्न थालिएछ । देवीदेउताको भाकल, यज्ञयज्ञादि, कोटिहोम, जपतप, भजन-कीर्तन, शक्तिपीठ गमन, हिमाल चढान, पोखरी डुबान, नदी पौडान र गंगास्नानका माध्यमले शक्तिको उपासना गर्ने त अदृश्य र अलौकिक शक्तिमाथि विश्वास गर्ने महासामन्तहरूले पो हो । यो वास्तवमा ज्ञानेन्द्रपथ हो जसको अभ्यासमा ज्ञानेन्द्रबाबु नित्य समर्पित छन् । पर्वतारोहणद्वारा शान्ति र संविधान हात पार्न दुई करोड ठेल्ने र उकाली लाग्न खुट्टो उचाल्ने माओवादी वैचारिक दृष्टिले कुन पथको पथिक हुन खोजेको हो ? 'बलवान् बाबुका भाग्यमानी छोराले दुई करोडको थैलो बजाउने भए !' सहरभरि ग्याइँग्याइँ चर्चा यस्तो छ । 'हिजो शिरपेचधारीका छोराले पाउँथ्यो, आज टोपीधारीका छोराले पायो !' पुच्छ्रे चर्चा यस्तो पनि छ । र, चर्चाकर्मीहरू आक्रोशित मुद्रामा भन्छन्- यो सरासर नातावाद हो ! यो हाकाहाकी लुट हो ! यो राजतन्त्रपछिको राजतन्त्रै हो ! पेरिसडाँडाले भनोस्- आखिर यो के हो ? देखासिकी गर्नु मानव स्वभाव हो । दुर्भिक्षकालको दुई करोड ठट्टा होइन । मानौँ कि कसैलाई शान्ति र संविधानका लागि जनकपुर-सगरमाथा अभियान चलाउन जङ चल्यो । मानौँ कि कसैमा खप्तड-सगरमाथाको तरंग उठ्यो । सरकारले तिनलाई दुई-दुई करोड दिन्छ ? दुई करोड पाउनेको वंश, जात, लिंग र पेरिसडाँडासितको नाता के हुनुपर्छ ?

सगरमाथा संवाद

- अखण्ड भण्डारी
 'ट् वाक-ट्वाक,' प्रचण्ड माओ त्से-तुङको पुस्तक दि आर्ट अफ वार पढिरहेका थिए, कसैले ढोकामा हिर्कायो ।
'को हो ?' भित्रबाट चर्को आवाज आयो ।
'म हुँ, बुबा,' प्रकाशको बोली सुनियो ।
'एकाबिहानै किन, बेटा ?' बिस्तारै ढोका खुल्यो ।
'साह्रै टेन्सन भो, बुबा !' भित्र छिरेर ढोका ठेल्दै प्रकाशले भने, 'त्यही भएर ।'
'सरकारले पैसा दिने भो त,' प्रचण्डले भने, 'फेरि किन टेन्सन भो तँलाई ?'
'त्यसैले त टेन्सन भो,' प्रकाशले
प्रस्ट्याए । 
'हँ ?' प्रचण्ड झस्किए, पढ्दै गरेको पुस्तक फ्यात्त फाले र सोधे, 'किन ?'
'सबैले विरोध गरे, वाहियात भने,' प्रकाशले अझ खुलस्त गरे, 'पत्रिकाले पनि भँगेराटाउके अक्षरमा लेखे ।'
'यो सबै मगन्ते मनस्थितिको उपज हो, बाबु !' छोराको कुममा सुमसुम्याउँदै प्रचण्डले थुमथुम्याए, 'तँ नडरा, म छु ।'
प्रकाश घोसे मुन्टो लाएर चुप लागिरहे ।
'सरकारले पैसा तेरा लागि दिएको हो
र ?' महान् नेताकै शैलीमा प्रचण्डले सम्झाए, 'मेरा लागि दिएको हो । मेरो छोरो भएर तँलाई दिएको हो । हजारौंले सगरमाथा चढे होलान्, अरू हजारौंले चढ्ने जमर्को गरे होलान् । तँजस्तो भाग्यमानी को छ, देखा
त ? तँ कसरी त्यस्तो भइस् थाहा छ ? त्यो हो- मेरो छोरो भएर ।'
'त्यो त हो,' प्रकाशले छोटो उत्तर दिए ।
'गौरवशाली पार्टीको महान् नेताको छोरो भएपछि छाती ठूलो बनाउनुपर्छ,' प्रचण्ड भन्दै गए, 'नाथे दुई करोडमा तँ आत्तिइस् । हामीजस्तो लाखौं करोडौं खेलाउने हैसियतमा पुगिस् भने के गर्छस्, बाबु ?'
'त्यो त हो,' प्रकाशको अलि बोली फुट्यो, 'जनयुद्धकालमा लुटिएका कति पैसा हजुरले केके गर्नुभयो भन्ने थाहा पाए भने झन् कसो गर्छन् होला, हगि ?'
'चुप लाग्,' प्रचण्ड कड्किए, 'भित्ताको पनि कान हुन्छ भन्ने थाहा छैन ?'
'सरी बुबा,' प्रकाशको अनुहार अभियुक्तको झैं अँध्यारो देखियो, 'फेरि यस्तो भन्नेछैन ।'
'भइगयो,' प्रचण्डले भने, 'अहिले त हामी दुई जना मात्र छौं । अरू ठाउँमा पैसाको प पनि ननिकाल्नू ।'
'हस्,' प्रकाशले स्वीकृतिको मुन्टो
हल्लाए ।
'तँलाई थाहै छ, मेरो निवासको विषयलाई लिएर कति कुर्लिए चुत्थाहरू ?' प्रचण्डले भने, 'कोही भन्छन्- अजय सुमार्गीको आफन्तका नाममा राख्न लगाएर मैले खासमा किनेकै रे । कोही भन्छन्-
वैद्यजीका वाईसीएल लगाएर छानबिन
गर्ने रे । कोही सोध्छन्- सर्वहाराका नेतालाई यत्रो दरबार किन ?'
'अर्काको चियोचर्चो कति चाहिएको यिनीहरूलाई ?' प्रकाशले सही थपे, 'हामीले सुकुम्बासी बस्तीमा गएर बसिदिनुपर्ने होला तिनीहरूका लागि !'
'त्यसो पनि नभन्,' प्रचण्डले पढाए, 'बाहिर त्यसो भनिस् भने फेरि सुकुम्बासी रिसाउँछन् । हाम्रा राम्रा भोटर उनीहरू नै हुन् । उनीहरूको बस्तीलाई इन्सल्ट गर्नु हुँदैन । रूप र सारमा फरक भए पनि सकेसम्म त्यस्तो देखिनु हुँदैन । बाहिर पनि सर्वहारा, भित्र पनि सर्वहारा ।'
'बरु यसो भन्ने गर्नू,' प्रचण्डले थपे, 'कम्युनिस्टहरू सिद्धान्तका लागि कम्युनिस्ट हुनु हुँदैन । व्यवहारमै हुनुपर्छ । एनेकपा
-माओवादी) जस्तो गौरवशाली कम्युनिस्ट पार्टीका सबै कर्मठ नेताहरू त तपाईंहरूजस्तै सुकुम्बासी हुन् । उनीहरूसँग आफ्नो नाममा एक टुक्रो जग्गा छैन । घरको त कुरै छाडौं ! घरबार नभएका यस्ता महान् नेतालाई दरबारको आरोप लाग्छ । यो सबै सामन्ती सोचको उपज हो । पुनरुत्थानवादीको षड्यन्त्रको हो । दलाल, नोकरशाही र पुँजीवादीको चलखेल हो । शान्ति र संविधान बिथोल्नेहरूको निहुँ खोजाइ हो ।'
'अनि बुबा, खासमा यो निवासचाहिँ कस्तो हो नि ?' प्रकाशले जिज्ञासा राखे, 'किनेको कि भाडाको ?'
'आ, छोडिदे,' प्रचण्डले भने, 'तँ केटाकेटी नै छस् । यति सानो मान्छेलाई यस्ता कुरामा खोजीनिती किन चाहियो ? आखिर मेरो शेषपछि तैं होस्, किन टाउको दुखाउँछस् ?'
'ठीकै छ,' प्रकाशले टाउको हल्लाए ।
प्रचण्डले किताब ताने । पहिला पुर्‍याए ठाउँमा पल्टाए र गहिरिएर पढ्न थाले ।
'बुबा !' प्रकाशले फेरि ध्यान भत्काइदिए ।
'अरू केही छ ?' मुन्टो उठाएर प्रचण्डले सोधे ।
'एउटा सानो कुरा !' प्रकाशले टाउको कन्याए ।
'के हो त्यस्तो ?' प्रचण्डले भने, 'कम्युनिस्टजस्तो प्रस्ट भन् । निर्धक्क भन् । ठाडो शिर गरेर भन् । कुरा नचपाई भन् । भटाभट भन् ।'
'के म सगरमाथा चढ्न सक्छु होला त ?' साँच्चै ठाडो शिर गरेर प्रकाशले सिधै सोधे, 'हँ, बुबा ?' 
'कस्तो हुतिहारा कुरा गरेको तैंले ?' अलि कडा स्वरमा प्रचण्ड बोले, 'किन सक्दैनस् ? बुढापाका चढेका छन् । बालबच्चा चढेका छन् । अपांग चढेका छन् । महिला चढेका छन् । तँ मेरो लक्का जवान छोरो भएर पनि किन दोधारमा छस् ? सकिस् भने टुप्पामा पुग् । नसके आधार शिविरबाटै फर्की वा जहाँसम्म जान सक्छस्, जा । सबै आरोही सफलै हुनुपर्छ भन्ने कहाँ छ ?'
'अनि, म सगरमाथा चढें भने शान्ति र संविधान पक्कै आउँछ त, बुबा ?'
'तँ बच्चै रैछस् केटा,' प्रचण्ड अलि रिसाए, 'चुप लागेर जा । शान्ति र संविधान तैंले ल्याउने हो र ? चाह्यौं र सक्यौं भने त्यो काम हामीले गर्ने हो । तेरो काम सकिस् भने सगरमाथा चढ्ने हो । नसके बाटैबाट फर्की । दुई करोड पाइगइस् ।
अझै पुगेन ?'
'पैसा त जति पाए पनि,' ढोका ढप्क्याउँदै प्रकाश बोले, 'कहाँ पुग्थ्यो बुबा !' 

1 comment:

  1. Ma ta bhan6u prachanda ko dimag ma bhatmara haru le bilasitaka kira ko sui(enjection) fata fat handai chan. comred hosiyar janata k bhandaichan sunera matra pahila chhal ne ho ki!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक