20120402

यसरी घोषणा भयो सँघीय राज्यहरु ! ’बलवान स्वायत्त प्रदेश, सर्वलिंग प्रदेश, अलपत्र प्रान्त, मापसेमुक्त प्रदेश, तालुवान राज्य, लफडा प्रदेश, ठिंगुवान प्रदेश, दारुहट राज्य, ठगरात राज्य, पेवा राज्य ।’

नेपालमा हुस्सु दिवस सम्पन्न ! 
ढोकाको भित्तामै टाँसिएको कागजमा लेखिएको थियो -’नाबालाक, बुढाखाडा, प्राडो नभएका प्रा.डा., घुस नखाई अवकाश भएका मतिछाडा, पुरस्कारका लागि र्याल नचुहाउने गतिछाडा, कवि एवं स्वच्छका छविका लागि प्रवेश, बाँकीले अर्को ढोका प्रयोग गर्नुहोला ।’ भित्र छिर्नै लागेका यो पढेर एकपटक मुस्कुराए । भित्र पसेपछि झन् खित्का छोड्न बाध्य बनायो उनीहरुलाई । हलको अघिल्तिर र पछिल्तिर हार मिलाएर लेखिएको थियो-’बलवान स्वायत्त प्रदेश, सर्वलिंग प्रदेश, अलपत्र प्रान्त, मापसेमुक्त प्रदेश, तालुवान राज्य, लफडा प्रदेश, ठिंगुवान प्रदेश, दारुहट राज्य, ठगरात राज्य, पेवा राज्य ।’ आफू कुन राज्यको अघिल्तिर बस्ने भन्नेमा एकछिन सबै अलमलिए । कसैले तालु छामे, कसैले अर्कोको अनुहार हेरे । एकअर्कालाई हेरेर खित्का छाडे र खाली कुर्सीमा ढसमस्स बसे । दृश्य थियो, राजधानीको रुसी साँस्कृतिक केन्द्रको हलको । रुसका प्रसिद्ध साहित्यकार निकोलाई गोगोलको २०३ औं जन्मजयन्तीका सन्दर्भमा सिस्नुपानी नेपाल र रुसी विज्ञान तथा साँस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रम । हँसाउने उदेश्यले आयोजना गरिएको कार्यक्रमको नाम थियो -’हुस्सु दिवस, भागशान्ति जयनेपाल ।’ आयोजकले दिउसो साढे तीनबजे कुर्सी ओगट्ने र पौने चार बजे कुर्सी
भागबण्डा गर्ने समय मिलाएका थिए । त्यही अनुसार हलमा हाँस्यव्यंग्य लगायत साहित्यका अरु क्षेत्रका स्रष्टा र अरु दर्शकको घुईंचो लागे । घडीले पौने चार बजाउनुअघि नै हल खचाखच भरियो । ठीक समयमै मञ्चको पर्दा खुल्यो । हास्यंव्यंग्य कलाकार मनोज गजुरेलले कार्यक्रमको शुरुवात गरे । निकोलाई गोगोलको बारेमा प्रष्ट्याउने विधि पूरा भएपछि हाँसोठट्टाको कार्यक्रम शुरु भयो । गजुरेलले मञ्चमा अतिथि बोलाए । अनि प्रमुख अतिथि लेखिएको कुर्सीमा एउटा स्वादे मूला, सभापति लेखिएको कुर्सीमा भेट्नो नभएको डल्ले फर्सी र विशेष अतिथि लेखिएको कुर्सीमा ठूलो दाबिलो राखेर सिस्नुपानीका कलाकारले मञ्चमा लहरै राखे । अनि फेरि ताली र हाँसोको फोहोर छुट्यो । नेताहरुको व्यवहार सुहाउँदो अतिथि कुर्सीमा बिराजमान गराइसकेपछि गजुरेलले आलुको अभाव भएकोले सबै दर्शकलाई आलुको भूमिका निभाउन अनुरोध गरे । सबैले ताली बजाएर समर्थन गरे ।
ऐतिहासिक स्वागत र धन्यवाद मन्तव्य

हुस्सुसभामा अरु रमाइला प्रसँगसँगै स्वागत र धन्यवाद मन्तव्य पनि गजबकै भयो । स्वागत मन्तव्यको लागि मञ्चमा बोलाइएकी सिस्नुपानी नेपालकी हरिकला उप्रेती एकछिन ठिंग उभिईन् । ज्यान हेरेर उनलाई दुब्लीमान प्रान्तको तर्फबाट मन्तव्य राख्न बोलाईएको थियो । उनी बोल्दासम्म रमाइलो गीत बजिरहृयो । उनी उनले सुस्वागतम्, सुस्वागतम्, सुस्वागतम् भनेर हिंडिन् । हाँसो र तालीको स्वर फेरि बढ्यो । स्वागत मन्तव्यपछि उद्घोषकले राष्ट्रिय गान बजाउन लागेकोले उठ्न अनुरोध गरे । सबै जर्याकजुरुक उठे । तर गाना बजेन । त्यहाँ पनि रमाईलो भयो । कार्यक्रमको अन्त्यमा पनि दारुहट प्रदेशको तर्फबाट भन्दै देवी घिमिरेलाई धन्यवाद ज्ञापन गर्न भनियो । उनले हात हल्लाएर धन्यवाद भनेर पाँचै सेकेण्डमा औपचारिकता पूरा गरे । यहाँ पनि रमाईलो भयो ।

सबैलाई उत्तिकै व्यंग्य

हुस्सु सभामा हँसाउने कलाकाहरुले राजनीतिक र सामाजिक क्षेत्रप्रति तिखो व्यंग्य गरे । तालुवान प्रान्तको तर्फबाट भन्दै मञ्चमा पुगेका अर्जुन पराजुली दारी हल्लाउँदै माइक समात्न पुगे । टोपी फुकालेर तालु देखाए, अनि कविता भट्याउन थाले ।

…पाईपको वल्लो मुखबाट नेता बनाएर भित्र छिराएको मान्छे

पाइपको पल्लो प्वालबाट नोट बनेर निस्कन्छ

नोटले मान्छेलाई कठालोमा समातेर जुत्तामा दल्छ र जुत्ता टल्काउँछ………….

जनआन्दोलनको बेलामा समेत व्यंग्य कविता भनेर चर्चित भएका उनले यसैगरी नेताको खोइरो खने । सहभागीले गडगडाहट ताली बजाए । टुप्पीवान प्रान्तका सरोज घिमिरे, ठगरात प्रान्तका रुपक अधिकारी, सर्वलिंग प्रान्तका राजा राजेन्द्रले पनि व्यंग्य कविता र प्यारोडी सुनाएर गडगडाहट ताली बज्यो । बलवान प्रान्तका बलराम दाहालको व्यंग्य गजलले सबैभन्दा बढी ताली पायो । हरेक कलाकार मञ्चमा पुग्दा आयोजकले गीत बजाउँथे । उनको पालोमा चाहिं गर्नु गर्यौ बलाराम भैंसी पालेर………भन्ने गीत बज्यो । बलारामको गीत सुन्दै बलरामले सरकार र दलहरुको क्रियाकलापप्रति तिखो व्यंग्य प्रहार गरे ।

….चश्मा किन्न आँखा बेच्ला र कसले ……..

जुत्ता किन्न खुट्टा बेच्ला र कसले…………भन्दै उनले जनतालाई भेडा नठान्न शासक वर्गलाई खबरदारी गरे । अलपत्र राज्यबाट लक्ष्मण गाम्नागेले सामाजिक विकृतिलाई व्यंग्य प्रहार गरेर निबन्ध वाचन गरे । उत्तर आधुनिक बबन्डर भन्ने उनको निबन्धमा अहिलेको पुस्ताको तडकभडक र तामझामलाई निकै चोटिलो ढंगले उतारिएको थियो । ठिंगुवान प्रान्तका टंकराज आचार्यको चुट्किला, टीका भण्डारीको प्यारोडी र लफडा प्रदेशका प्राध्यापक डाक्टर माधव पोखरेलको संस्मरण पनि चोटिलै थियो । पत्रकार शैली बस्नेतले पनि केही हँसाउने प्रयत्न गरिन् । उद्घोषक मनोज गजुरेलले आफ्ना नयाँ पुराना प्रस्तुति पस्किए । कार्यक्रमको अन्त्यमा गजल भन्ने बलरामलाई फर्सी उपहार दिइयो । आलुको संज्ञा पाएका अरु सबैलाई खाजा पनि उसिनेको आलु नै थियो । नुन दलेको आलु खाँदै सबै दंग परे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक