20120404

झापाका पत्रकार यादव पौडेलको मङ्गलबार राति हत्या

झापाका पत्रकार यादव पौडेलको मङ्गलबार राति हत्या भएको छ । एभिन्यूज टेलिभिजनसहित राजधानी दैनिक र मेची टाइम्स दैनिकमा कार्यरत ३८ वर्षीय पत्रकार पौडेलको शव विर्तामोड बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लज अगाडि फेला परेको हो । मोरङको सिजुवा गाविसमा घर भएका पौडेल विर्तामोडमा ६/७ वर्षदेखि पत्रकारिता गर्दै आएका थिए । उनको हत्याको कारण खुलेको छैन । पौडेलको अनुभार भरि तथा घाँटीमा चोट देखिएको छ । हात भाँचिएको छ । उनले लगाएको कपडा च्यातिएको छ । घट्नास्थलमा उनले लगाएको एउटा जुत्ता भेटिएको छैन । उनी चढ्ने मोटरसाइकल घट्नास्थल मै भेटिएको छ । अन्य दुईवटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार हत्या भएपछि बुधबार दिनभर झापासहित छिमेकी जिल्लाका पत्रकारको भीड रह्‍यो । पौडेलको बुधबार नै भद्रपुरमा पोस्टमार्टम गरिएको छ । पौडेलको हत्या खबरले सिजुवामा रहेका उनका परिवार र आफन्तमा रुवावासी चलेको छ । यसैबीच प्रहरीले १२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । घट्नास्थल पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका सञ्चालक सोम ढकाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलका श्रीमती र एक छोरा छन् ।
झापाका पत्रकार यादव पौडेलको हत्याको बिरोधमा देशभरका पत्रकारले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आहृवानमा राजधानी सहित देशभर भएको प्रदर्शनमा पत्रकारहरुले हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् । महासंघ केन्द्रीय समितिको आयोजनामा काठमाडौंको माइतीघरमा भएको बिरोध प्रदर्शनमा पत्रकार संघसंस्था र नागरिक समाजका प्रतिनिधिले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको भन्दै आलोचना गरे ।
‘देशमा दण्डहिनता फस्टाउँदै र प्रेस स्वतन्त्रताको अवस्था खस्कँदै जाँदा समेत सरकारले केही गर्न सकेन’ पत्रकार महासंघका महासचिव ओम शर्माले भन्नुभयो -’सरकारले दोषीलाई कानुनी कठघरामा उभ्याउन सकेन भने महासंघले अझै सशक्त आन्दोलन गर्नेछ ।’ दण्डहिनतामा संलग्न मुख्य अपराधीलाई राज्यले केही गर्न नसकेकोले मुलुकमा हत्या हिंसाको श्रृँखला बढ्दै गएको भन्दै उहाँले शान्ति सुरक्षा कायम राख्न माग गर्नुभयो ।
महासंघका पूर्व सभापति तारानाथ दाहालले दण्डहिनता अन्त्यको लागि पत्रकारहरुले निरन्तर खबरदारी गर्न जरुरी रहेको बताउनुभयो । ‘सञ्चारकर्मीलाई काम गर्न अप्ठेरो छ भन्ने कुरा पत्रकार पौडेलको हत्याले प्रमाणित गरेको छ’ दाहालले भन्नुभयो -’प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि राज्यले केही गर्न नसक्नु दुखद कुरा हो ।’
कार्यक्रममा पेशागत सञ्जाल पापडका अध्यक्ष तथा नेपाल बार एशोसियशनका अध्यक्ष प्रेमबहादुर खड्काले सूचनाको हकमाथिको अंकुश तथा मानवअधिकार उल्लंघनका घटना दिनप्रतिदिन बढिरहँदा समेत सरकार चुप रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गगन बिष्ट, नेपाल प्रेस युनियनका महासचिव शिल लम्साल लगायतले पत्रकार हत्याका दोषीमाथि कार्वाही र पीडितलाई राहत दिन सरकारसित माग गरे । सरकारले माग पूरा नगरे सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
एभीन्यूज टेलिभिजन तथा राजधानी दैनिकका झापा संवाददाता पौडेललको गएराति हत्या भएको हो । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले डेढ दर्जनलाई पक्राउ गरेको छ । पौडेलको आजै बुधबार नै अन्त्येष्टी गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक