20120624

केही समययता मौन रहँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक संकटबारे मुख खोल्ने भएका छन


 केही समययता मौन रहँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक संकटबारे मुख खोल्ने भएका छन । चार दिन लामो जिल्ला भ्रमणको कार्यक्रम बनाएर उनले आºना कुरा मिडियामार्फत सार्वजनिक गर्ने तयारी गरेका हुन । पूर्वराजाले आगामी असार १७ देखि २० सम्म कपिलवस्तु, भैरहवा, नवलपरासी र बुटवलको भ्रमण गर्दै छन । भ्रमणका क्रममा स्थानीय मन्दिरमा गई पूजाआजा गर्ने कार्यक्रम छ । कृष्णनगरको रामजानकी मन्दिर, कपिलवस्तुमा रहेको कमलेश्वर महादेव, नवलपरासीमा रहेको पालाही माई र रुपन्देहीमा रहेको मस्टबाराही मन्दिरमा गई उनले पूजाआजा गर्ने भएका छन । भ्रमणमा उनले पुरानै शैलीमा स्थानीय जनतासँग भेटघाट गर्ने बताइएको छ । भेटघाटका क्रममा पूर्वराजाले देशको राजनीतिक परिस्थितिबारे मुख खोल्ने उनका सहयोगीले जानकारी दिए । भैरहवाबाट उनको चारदिने भ्रमण सुरु हुनेछ । पूर्वराजाको भ्रमणमा बढीभन्दा
बढी मान्छे जम्मा गर्न भैरहवा, कपिलवस्तु र बुटवलका राजावादीले केही दिनयता व्यापक गृहकार्य गरेका छन् । भ्रमण सफल पार्न एउटा समिति गठन गरिएको छ । ‘भ्रमणको तयारी सबै पूरा भइसकेको छ,’ समितिमा रहेका वसन्त शाहीले सौर्यसँग भने, ‘सरकारले मन्दिरमा गई पूजाआजा गर्ने क्रममा स्थानीय व्यक्तिसँग भेटघाट गर्ने र उनीहरूको दु:ख–सुख सुन्ने योजना छ ।’
पछिल्लोपटक उनी सुदूरपश्चिम भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले देशको तत्कालीन स्थितिबारे चिन्ता व्यक्त गरेका थिए । संविधान निर्माण नभई संविधानसभा विघटन भइसकेपछि पूर्वराजा ज्ञानेन्द्रले केही बोलेका छैनन । यस बीचमा उनी कुनै सार्वजनिक कार्यक्रममा पनि गएका छैनन । उनका सहयोगीहरूले देशको परिस्थितिबारे बोल्न पटक–पटक आग्रह गरे पनि उनी मौनता साँधिरहेका छन । संविधान निर्माण नभई संविधानसभा विघटन भएको स्थितिमा केही राजावादीले देश राजतन्त्रकालीन अवस्थामै फर्केको भन्दै पूर्वराजालाई उक्साउनेसमेत गरेका छन ।
भ्रमणको तयारीका सिलसिलामा पूर्वराजाका सहयोगी सागर तिमिल्सिना भ्रमण गर्ने ठाउँमा पुगेर आइतबार काठमाडौं फर्किए । ती जिल्लामा भ्रमण गर्न उपयुक्त वातावरण रहेको तिमिल्सिनाले बताएका छन । उनी भ्रमण अवधिभर पूर्वराजासँगै रहनेछन । पूर्वराजाको भ्रमण सफल बनाउन काठमाडौंबाट समेत केही राजावादी जाने तयारी छ ।

1 comment:

  1. वर्तमान अवस्थाको राजनैतिक परिवेशलाई मध्यनजर राखी पूर्वराजालाई मौन रहनु नै उपयुक्त देखिन्छ । किनकी अहिले नेपालको राजनैतिक माहौल विषम परिस्थितिमा गुज्रिरहेको छ, नेपालका राजनैतिक नेताहरुलाई देशको भन्दा सत्ताको प्यारो भए पछि के लाग्छ र? पूर्व राजाले अब राजनीतिक बारे बोल्नु भन्दा आउने चुनावमा एउटा नयाँ पार्टी खोलेर चुनावमा लड्दा उपयुक्त होला जस्तो लाग्छ । यि राजावादी भनाउँदा नेताहरुको पनि भर छैन । किनकी उहिले पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमहरुमा यि राजावादी भनाउँदा नेताहरुले धोका नदिएको भए शायद देशको यस्तो स्थिति आउने थिएन होला जस्तो लाग्छ ।
    Dev Ido.
    Pokhara.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक