20120721

दाहालले गाडी र लाजिम्पाटको आलिसान घर छाड्ने !

- केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक  समिति गठन
- सबै राज्य समितिका इन्चार्ज, सह–इन्चार्ज र सेक्रेटरीको सरुवा गरिने
- अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईका सचिवालयका कर्मचारी साटासाट गरिने
- दाहालले महागो गाडी र लाजिम्पाटको आलिसान  घर छाड्ने
- आर्थिक पारदर्शिता देखाउन केन्द्रमा आर्थिक र लेखा समिति बनाइने
- अहिले अध्यक्ष र उपाध्यक्षहरूको जिम्मामा रहेको सबै सम्पत्ति आर्थिक समितिमा बुझाइने
झन्डै अढाई दशकपछि एकीकृत नेकपा (माओवादी)ले महाधिवेशन गर्ने भएको छ । ०४८ मा भएको एकता महाधिवेशनपछि माओवादी अहिलेसम्म पार्टीको सर्वोच्च निकाय महाधिवेशनमा गएको थिएन । दशक लामो सशस्त्र युद्ध र शान्तिप्रक्रियामा आएको पछिल्लो पाँच वर्षको अवधिमा पनि माओवादीले पटक–पटक महाधिवेशन घोषणा गरे पनि स्थगन गर्दै आएको थियो । तर, शनिबार सम्पन्न सातौँ विस्तारित बैठकले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समितिसमेत भंग गरेर महाधिवेशन आयोजक
समिति बनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आगामी माघमा महाधिवेशन गर्न राखेको प्रस्तावलाई विस्तारित बैठकले सर्वसम्मतिले पारित गरेको छ । महाधिवेशन गर्न अहिलेको स्थायी समिति र पोलिटब्युरोलाई भंग गरी सम्पूर्ण केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ । महाधिवेशनसम्म अध्यक्ष, उपाध्यक्ष र सचिव रहेको केन्द्रीय कार्यालय बनाइएको प्रचार–प्रसार उपसमितिका संयोजक विश्वभक्त दुलालले बताए ।
संयोजक दुलालका अनुसार महाधिवेशन आयोजक समितिमा महिला, दलित, मुस्लिम, मधेसी, उत्पीडित क्षेत्र र वरिष्ठ नेताहरूलाई थप्ने निर्णय पनि विस्तारित बैठकले गरेको छ । केन्द्रीय समितिझँै सबै राज्य र जिल्ला समिति पनि सम्मेलन आयोजक समितिमा रूपान्तरित गरिनेछन् ।
विस्तारित बैठकले सबै राज्य समितिका इन्चार्ज, सह–इन्चार्ज र सेक्रेटरीको सरुवा गर्ने निर्णय गरेको छ । अहिलेसम्म पडाडी क्षेत्रमा रहेका पदाधिकारीलाई तराई र तराईमा रहेकालाई पहाडी क्षेत्रमा सरुवा गर्ने योजना माओवादीको छ ।
पार्टीभित्र आर्थिक हिसाब–किताब पारदर्शी नभएको कार्यकर्ताको गुनासोलाई सम्बोधन गर्न केन्द्रमा आर्थिक समिति र लेखा समिति बनाउने निर्णय पनि माओवादीले गरेको छ । त्यस्तै, अहिले अध्यक्ष र उपाध्यक्षहरूको जिम्मामा रहेका सबै चल–अचल सम्पत्ति आर्थिक समितिमा बुझाउने र आर्थिक समितिमार्फत सबै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको प्रचार–प्रसार समितिले जनाएको छ ।
अध्यक्ष दाहालले अहिले चढ्दै आएको महँगो गाडी र उनी बस्दै आएको लाजिम्पाटस्थित आलिसान घर(डेरा) पनि छाड्ने निर्णय विस्तारित बैठकले गरेको छ । पूर्वप्रधानमन्त्रीका हैसियतमा दाहालले पाउने सुविधा भने उनले उपभोग गर्न पाउनेछन् । नेता र कार्यकर्ताका लागि नियमित रूपमा पार्टी, स्कुल चलाउने निर्णय पनि विस्तारित बैठकले गरेको छ ।
पार्टीभित्रको गुटबन्दी अन्त्य भएको सन्देश कार्यकर्तामाझ पुर्‍याउन अध्यक्ष दाहाल र उपाध्यक्षद्वय डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सचिवालयका कर्मचारी साटासाट गर्ने निर्णय विस्तारित बैठकले गरेको छ । सचिवालयका कर्मचारी हेरफेर व्यक्तिगत निर्णयले नभएर पार्टीको संस्थागत निर्णयमा हुनेछ ।
बैठकले घनश्याम ढकाललाई सांस्कृतिक सहिद घोषणा गर्ने र घनश्याम ढकाल स्मृति प्रतिष्ठान बनाउने निर्णय पनि गरेको छ । त्यस्तै, विस्तारित बैठकमा आउने क्रममा दुर्घटनामा परी मृत्यु भएका कार्यकर्तालाई सहिद घोषणा गरिएको छ ।
विस्तारित बैठकमा कार्यकर्ताले उठाएको जिज्ञासा अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई र उपाध्यक्ष श्रेष्ठले जवाफ दिएका थिए । दाहालले सम्पन्न विस्तारित बैठकलाई ‘संघर्ष–रूपान्तरण–एकता र विजयको बैठक’ भएको घोषणा गरे । यो विस्तारित बैठकमा पारित दस्ताबेजले आगामी माघमा सम्पन्न हुने महाधिवेशनमा पूर्णता पाउने र त्यसले नेपाली क्रान्ति पूरा गर्ने विश्वास उनले कार्यकर्तालाई दिलाए ।
पूर्वलडाकुहरूले अपमानजनक ढंगलले समायोजन गरिएको गुनासोप्रति अध्यक्ष दाहालले पनि पार्टीका तर्फबाट कमजोरी भएको स्विकारे । ‘सम्मानजनक समायोजन हुन्छ भनेर तपार्इंहरूलाई हामीले भनेका थियौँ, त्यो ढाँटेको होइन । तर, नेतृत्वका तर्फबाट केही कमीकमजोरी भने भएका हुन्,’ दाहालले भने । उनले अब समायोजनको सम्भावना क्षीण हुँदै गएको बताउँदै लडाकुलाई उचित पैसा दिलाएर फिर्ता बोलाउन सकिने सम्भावना रहेको पनि बताए ।
शान्तिप्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन र राजनीतिक संकटबारे सहमति जुटाउन आफूले कांग्रेस र एमालेसित एकपटक फेरि छलफल गर्ने र उनीहरू त्यसमा सहमत नभए आºनै ढंगले अगाडि बढ्ने चेतावनी पनि अध्यक्ष दाहालले दिए । ‘हिजो १९ हजार सेना थियो, अब ५० हजार बनाइन्छ, तीन महिनामा सबकुछ गरेर देखाइन्छ,’ दाहालले भेलामा भने । तर, अबको लडाइँ सशस्त्र नभएर शान्तिपूर्ण हुने उनले बताए ।
विस्तारित बैठकमा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले गरेका कामको बचाउ गरे । भारतसित गरिएको बिप्पा, सेना समायोजनका क्रममा भएका निर्णय, बाग्मती किनारका सुकुम्बासी हटाउनेजस्ता निर्णयको बुझाइमा समस्या रहेको
उनले बताए ।
प्रधानमन्त्री भट्टराईले पार्टीकै सल्लाहअनुसार बिप्पा गरिएको कार्यकर्तालाई बताए । त्यसअघि नै नेपालले ६ मुलुकसित बिप्पा गरिसकेको बताउँदै उनले बुझाइमा समस्या रहेको जिकिर गरे । ‘यसको बुझाइमा समस्या देखिएको हो, सम्झौता भएर नेपाललाई केही नोक्सानी हुँदैन,’ भट्टराईको भनाइ उद्धृत गर्दै एक राज्य समिति सदस्यले भने ।
बाग्मती किनारका सुकुम्बासीलाई व्यवस्थित गर्न हटाइएको प्रधानमन्त्री भट्टराईले बताए । बरु, सुकुम्बासीको नाम भजाएर खानेहरूले ललितपुरमा उनीहरूलाई व्यवस्थित गर्न नदिएको उनले बताए ।
बैठकमा समूहगत छलफलका क्रममा भट्टराई सरकारको चर्को आलोचना भएको थियो । सरकारले राष्ट्रघाती बिप्पा गरिएको, माओवादी लडाकु र हतियार अपमानजनक ढंगलले नेपाली सेनाको जिम्मा लगाइएको, सुकुम्बासीका टहरा भत्काएर सडकमा ल्याएको जस्ता आरोप कार्यकर्ताले लगाएका थिए ।
बैठकमा प्रधानमन्त्री भट्टराईले विगतमा आºनो समूहले तत्कालीन पार्टी उपाध्यक्ष मोहन वैद्यसित गरेको धोबीघाट गठबन्धन ठीक भएको जिकिर पनि गरे । तत्कालीन अवस्थामा त्यो गठबन्धन ठीक भएको उनको भनाइ थियो । पार्टीमा देखिएको वैचारिक र कार्यदिशाबारेको अस्पष्टताका कारण विगतमा गुट–उपगुट निर्माण भएको उनले बताए । अब, गुटहरू समाप्त भएर जाने भट्टराईको दाबी छ ।
बैठकलाई सम्बोधन गर्दै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्ष दाहालको नेतृत्व अनिवार्य रहेको बताए । कार्यकर्ताले छलफलका क्रममा उठाएको राष्ट्रिय स्वाधीनताको प्रश्न जायज भएको उनले बताए । सच्चा कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुखतासाथ उठाउनुपर्ने श्रेष्ठले बताए ।- -खगेन्द्र पन्त

2 comments:

  1. नाली को गन्धा किरो जति धोएर पखाले पनि फेरी मौका हेरेर नाली मै फर्किन्छ किनकि उसलाई फोहोर खाने बानी ले गर्दा सरसफाई मन पर्दैन प्रचण्ड पनि त्यहि .........त्यसकारण कुरा उही हो साथीहरु

    ReplyDelete
  2. नाली को गन्धा किरो जति धोएर पखाले पनि फेरी मौका हेरेर नाली मै फर्किन्छ किनकि उसलाई फोहोर खाने बानी ले गर्दा सरसफाई मन पर्दैन प्रचण्ड पनि त्यहि .........त्यसकारण कुरा उही हो साथीहरु

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक