20130623

पाकिस्तानमा एक नेपालीसहित एघारको हत्या

उत्तरी पाकिस्तानको नांगा पर्वत इलाकामा उग्रवादीहरुले हमला गरी एकजना नेपाली पर्वतारोही सहित एघारजनाको हत्या गरीदिएका छन्। उग्रवादीहरुको हमलामा एकजना नेपाली पर्वतारोही पनि मारिएका छन्
विश्वकै नवौं अग्लो नांगा पर्वतमा विदेशी पर्वतारोहण टोलीसंग गएका एकजना नेपाली पर्वतारोही सोना शेर्पा पनि मारिनेहरुमा रहेको अधिकारीहरुले जनाएका छन्।  मारिने अन्य विदेशीहरुमा चीन र युक्रेनका पर्वतारोहीहरु रहेको बताइएको छ। सोना शेर्पासंगै गएका अन्य आठजना नेपाली शेर्पा पर्वतारोहीहरु चाहिं बाटो बनाउन हिमालतिर गएकाले बच्न सफल भएको काठमाण्डूस्थित सेभेन समिट ट्रेकिङ एजेन्सीका सन्चालक मिङमा शेर्पाले बीबीसीलाई बताए। उग्रवादीहरुको हमलामा मारिएका पैंतीस वर्षीय सोना शेर्पाले सर्वोच्च शिखर सगरमाथाको दुईपटक सफल आरोहण गरिसकेको पनि उनले बताए।"आठजना नेपाली शेर्पा पर्वतारोहीहरु चाहिं
बाटो बनाउन हिमालतिर गएकाले बच्न सफल भएका छन्।"
मिङमा शेर्पा, सेभेन समिट ट्रेकिङ एजेन्सीका सन्चालक
प्यारामिलिटरी पोशाक लगाएका भनिएका झण्डै बीस जना उग्रवादीहरु शनिबार राती पौने एघारबजेतिर होटलमा प्रवेश गरी त्यहां रहेका सबैलाई बन्धक बनाएका थिए।
उनीहरुले होटलका स्थानीय पाकिस्तानी कर्मचारीहरुलाई अलग पारी हातगोडा बांधेर छाडिदिएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसपछि उनीहरुले विदेशीहरुको गोली प्रहार गरी हत्या गर्नुकासाथै उनीहरुको राहदानी र पैसा पनि लिएर गएका थिए।
झण्डै दुई घन्टापछि हमलाकारीहरु त्यहांबाट गएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
एकजना पाकिस्तानी गाइड पनि उग्रवादीहरुको हमलामा मारिएका थिए।
मारिएका विदेशीहरुको शव आइतबार अपरान्ह इस्लामावाद ल्याईपु-याईएको बीबीसीका संवाददाताहरुले जनाएका छन्।

पाकिस्तानस्थित तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको छ।
हालै चालकरहित अमेरिकी विमानले गरेको हमलामा आफ्ना एकजना वरिष्ठ कमाण्डर वलिउर रहमान मारिएको बदला लिन आफुहरुले उक्त हमला गरेको तालिबानले जनाएको छ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले ती हमलाको निन्दा गरेका छन्।
गृहमन्त्री चौधरी निशार अलि खानले सुरक्षा निकायहरुले राम्रो संग आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै आलोचना गरेका थिए।
संवाददाताहरु भन्छन्, त्यस क्षेत्रमा हालैका वर्षहरुमा स्थानीय शिया समुदायमाथि हमलाका घटनाहरु बढ्दै गएको भएतापनि विदेशीहरुलाई निशाना बनाइएको घटनालाई चाहिं अत्यन्तै अस्वाभाविक ठानिएको छ। - BBC

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक