20130703

"झलनाथ, सुशील, रामचन्द्र र प्रचण्डले हावा खान्छन्, यदि उहाँ काठमाडौंबाट चुनाव लड्नुहुन्छ भने म फ्लोर क्रस गरेर लोहनीलाई भोट हाल्छु, कमल थापा, शरतसिंह भण्डारीमा गज्जपको क्वालिटी छ" : केशव स्थापित

 काठमाडौंका पूर्वमेयर केशव स्थापित अहिलेसम्म नेकपा एमालेका नेता मानिनुहुन्छ । यद्यपि उहाँको भनाइ छ- ‘अब सुशील कोइराला, झलनाथ खनाल, रामचन्द्र पौडेलहरुले हावा खान्छन् । प्रचण्ड पनि खत्तम मान्छे हुन् । काठमाडौंमा उमेद्वार बने भने अब म प्रकाशचन्द्र लोहनीलाई फ्लोर क्रस गरेर भोट हाल्छु । मैले खोजेको पात्र कमल थापा जस्तो हो ।’विकासको एजेण्डा उठाउन नेपाल डेभलोपमेन्ट फाउण्डेसन गठनको तयारीमा रहेका रमाइला एमाले नेता स्थापितसँग अनलाइनखबरले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको मूल्यांकन कसरी गर्नुहुन्छ भन्ने जिज्ञासा राख्दा उहाँले रोचक कुरो गर्नुभयो । अब ६५ कटेका नेताहरुको अब काम नरहेको उहाँले बताउनुभयो । स्थापितको रमाइलो विश्लेषण उहाँकै शब्दमा :
अहिलेका नेताहरुले अब हावा खान्छन् । भोलेन्टियर रिटायरमेन्ट हुनुपर्छ भनेर देशव्यापी आन्दोलन भएपछि के गर्छन् ? जसले संसार देख्यो, सबै थाहा छ, नयाँ पुस्तामाथि यत्रो अविश्वास गर्न मिल्छ । मैले अहिले ५४ वर्ष भएँ । अब ११ वर्ष सेवा गर्न सक्छु तर, ६५ वर्षपछि छोड्छु भन्दा अरुलाई पनि रिटायरका लागि
दबाव पर्छ । आफ्नै पार्टीका नेताहरुले धक्का हान्न थालेपछि बूढाहरुले छाड्नु पर्‍यो नि
झलनाथ खनाल र एमाले
झलनाथ जीलाई तपाई २ घण्टा आफ्नो कुरा सुनाउनुस्, चार दिनपछि गएपछि इस्यु त परै जाओस्, मान्छे नै तपाई को हो भनेर सोधेपछि कुनै सार बाँकी छ ? यही कुरा अरु पार्टीमा पनि हेर्नु न । झलनाथ जीले अब छोडेँ भने हुन्छ । विद्या भण्डारी किन टिकिराख्ने ? केपी ओली किन टिक्ने ? जसले मेहनतपूर्वक सेवा गर्छु त भन्यो होला तर, उहाँहरु बिमार त हुनुहुन्छ नि । लेखन धरनमा लागौं न । उहाँहरुले आफ्नो बायोग्राफी, अनुभव लेख्नु भो भने तीन पुस्ताले पढ्छन् । त्यसको रोयल्टी लिनुस् बस्नुस् ।
एमालेको आठौं महाधिवेशनमा म केन्द्रीय सदस्यमा हारेँ । केपी ओली र म एउटै घरमा बसेको, उहाँले मलाई १० पटक भन्दा बढी भन्नुभो होला, मेरो प्यानलमा नाम हाल्छु है भनेर । जित्नुस, सेन्ट्रल कमिटीमा जानुस्, पछि पोलिटब्यूरोमा जानुपर्छ भन्नुभएको थियो । युवा संघमा संगै काम गरेको, उहाँ र मेरो धेरै कुरा मिल्थ्यो । मैले तपाईको प्यानलमा नबस्ने भनेँ ।
पछि वामदेवजीले झलनाथको प्यानलमा बस्ने भन्नुभयो, मैले हुन्छ भनें । जुन दिनमा नामावली दर्ता गर्नुपर्ने हो त्यो दिन वामदेवजीलाई प्यारालाइसिस भयो । कुदाकुद गरेर काठमाडौं ल्याउनुपर्‍यो । मैले फोन गरेर मेरो उमेद्वारीबारे भनेँ, उहाँले झलनाथ जीसँग कुरा गर्न भन्नभयो । तर, झलनाथजीले सुन्नुभएन । म थोरै भोटमा हारेँ । हारेको मान्छेको उपयोगिता छैन भन्ने लाग्यो होला, अहिले मलाई कुनै जिम्मेवारी दिइएको छैन ।
अहिले एमालेमा मेरो समकालीनका एकजना वडाध्यक्ष पनि छैन । धेरै माओवादीमा गए, कोही नेपा पार्टीमा गए । म यहाँको आदिवासी हुँ । यहाँको सोसल इकोनोमिकल सम्बन्ध छ । हाम्रै पार्टीका कृष्णगोपाल जीलाई हेर्नुस न । उहाँ कहाँ पूर्वबाट आउनु भो । साँखुतिर बस्नु भो । उहाँको निश्चित परिवारभित्र बाहेक सामाजिक सम्बन्ध के ? त्यसैले समस्या के छ भने एमालेलाई नेवार भनेपछि पुग्यो । केहीले भने केशव स्थापित भनेको के भनेर बुझेका छन्, उनीहरुलाई म आएँ भने विस्थापित हुन्छु भन्ने लागेको छ । नेतृत्वमा रहेका नेताहरुलाई फलाम र चुम्बक एउटै लाग्छ ।
मैले अस्ति पनि भनें तपाईहरु के-के जातको हो मलाई थाहा छैन । तर, यो काठमाडौंका दरबारहरु हाम्रा पुर्खाले बनाएको हो । तपाईहरुको कुनै नाता नै छैन । मेरो उपस्थिति भनेको तपाईहरुको पुँजी हो । म एक्लो केही नभए पनि तपाईहरुले प्रयोग गर्ने हो भने केही होला नि । हैन भने अरु प्रयोग गर्छन् । मलाई पनि त धेरै ठूला अफरहरु आएका होलान् र छन् पनि ।
कांग्रेस, कोइराला र रामचन्द्र
सुशील कोइराला, उ आफैंले के बोलेको छ, आफैंले सुन्दैन क्या । उसको पीएले पनि बुझ्दैन, पत्रकारले पनि बुझ्दैन । अब अस्ति धनगढी जान खोज्नु भो तर, एयरपोर्ट पुग्दा टिकट छैन भनेपछि प्रचण्डसँग लिफ्ट मागेर जानुपर्‍यो । पीएले नबुझेर त होला नि ! आफ्नो सेक्रेटरीसँग त ट्युनिङ नमिलाउनेले देशसँग कसरी ट्युनिङ मिलाउँछ ? न नीति, न सिद्धान्त, न दर्शक छ, न पर्सनालिटी छ । केही पनि बाँकी नभएको मान्छे नेपाली कांग्रेसको लिडर भएपछि के हुन्छ ?
रामचन्द्र अब पार्टीमा किन बस्ने ? अस्ती प्रधानमन्त्री हुन त्यत्रो दौडमा लाग्नु भो । हि इज डिस्कार्डेड । हुँदै हैन भनेपछि त छोड्नुपर्‍यो नि । फुटबलमा त तपाईको विरुद्धमा हुटिङ भो, साथीहरुले पनि बाहिर जा भनेपछि त मैदान छाड्नु पर्छ, आफै गोल गर्छु भनेर हुन्छ ? त्यसरी बस्ने हो भने गुटहरु जन्मिन्छ ।
मैले युवा संघ हाँकेका बेला । मैले गिरिजाबाबुलाई भेटेर तरुण दल खोल भनेँ । गिरिजाबाबु यस्तो रिसायो कि हाम्रो पार्टीमा किन हस्तक्षेप भने । मैले भनेँ मेरो युवा संघ मेची महाकाली फैलियो गिरिजाबाबु, यो मुलुकमा वामपन्थी भएर मात्र पुग्दैन । प्रतिस्पर्धा गर्ने शक्ति चाहियो, अनि न डेमोक्रेसी फल्छ, फुल्छ । अर्को कुरा म घोडाजस्तो मान्छे गिरिजाबाबु, म एक्लै भएपछि प्रतिस्पर्धी नभएपछि घाँस खान गइन्छ, म बिग्रन्छु गिरिजाबाबु । मैले गिरिजाबाबुलाई भेटेको दुई हप्तापछि तरुण दल गठन भो । लिडरपसीप भनेको यो हो ।
प्रचण्ड, बाबुराम र एमाओवादी
माओवादी अध्यक्ष प्रचण्डको बारेमा भन्न सकिएन । उहाँको यति विविध विषय भयो कि जे विषयमा पनि कुरा उठाइदिनुहुन्छ । त्यसैले उहाँले बिहान बोलेको कुरामा बेलुकी अर्कै बोलिसकेको हुन्छ । नयाँ परिस्थिति आएपछि त्योसँग सामना गर्ने नाममा बोल्नुहुन्छ तर, बिहान बोलेकोसँग मेल नखाएपछि यो मान्छे खत्तम भन्ने भएन ।
बाबुरामजीलाई म सम्मान गर्छु । बाबुरामजीजस्तो पीएचडी गरेको अर्बान आर्किटेक्ट नभएको भए काठमाडौं उपत्यका विकास प्राधीकरण नै जन्मदैनथ्यो । उहाँ आफैं प्लानर, ठूलो आँट भएको नेता हो ।
म एक दिन हिसिलालाई भेट्न गएँ । यो सडक भत्काएको ठीक भएन, फोहोर व्यवस्थापन पनि ठीक भएन भनेँ । उहाँले के गर्ने भनेपछि मैले योजना सुनाएँ । यहाँ हिसिलाजीको पनि अलिकति रोल छ । यो सुनेपछि उहाँले बाबुरामजीलाई मिटिङबाटै उठाएर ल्याउनु भो र के भन्नु भो भने केशवजीले चमत्कार गरे, हामीले गरेको ठीक भएनछ भनेपछि उहाँ रिसाउनु भो । म मिटिङमा बसेको मान्छेलाई तानेर त्याउने, तपाईको कुरा म ६ बजे सुन्छु भन्नुभो । ६ बजे जाँदा के भन्ने खोजेको भनेर रिसाउनुभो । मैले आफ्ना योजना सुनाएपछि उहाँले यू ज्वाइन माइ पार्टी भन्नु भो । मैले तपाईहरुको लिगेसीमा आउँदिन भनंे । तर, उहाँले एक महिनापछि प्राधीकरण जन्माउनु भो । उहाँको त्यो क्षमता अरुमा छैन । काम गर्ने क्रममा भिन्नता रहृयो होला । उहाँले हट भन्नुभो, मैले मानिँन । ट्वाइलेट पेपर हो र जतिबेला चाहियो त्यतिबेला प्रयोग गर्न । तर, उहाँसँग मेरो कुनै बैरभाव छैन । उहाँलाई पनि गर्व लागिरहेको होला, मैले ल्याएको केशवले काम गर्‍यो भनेर ।
फ्लोर क्रस गरेर लोहनीलाई भोट हाल्छु
प्रकाशचन्द्र लोहनीलाई हेर्नुस् न । यदि उहाँ काठमाडौंबाट चुनाव लड्नुहुन्छ भने म भोट हाल्छु । फ्लोर क्रस गर्छु । किनभने उहाँसँग मिटिङ गर्दा तपाई १५ बटा एजेण्डा लिएर जानुस्, उहाँले यो यो गर्ने, यो नगर्ने भनेर १५ मिनेटमा नै काम गर्नुहुन्छ । उहाँ को हो भन्ने मैले किन हेर्ने ? शरतसिंह भण्डारी मा गज्जपको क्वालिटी छ । कमल थापालाई हेर्नुस न, उहाँमा क्वालिटी छैन र ? सबै युग खत्तम भइसक्यो तर, उहाँको ब्रहृमले जे देख्यो, त्यही भन्नु भो, मलाई राजा चाहिन्छ । राजा भयो भने युनिफाइड हुन्छ । उहाँको धर्म हो क्या । धर्मच्यूत त भएन नि । अवसर पाउनासाथ रंग फेरेर गएन । मैले खोजेको पात्रहरु पनि यस्तै हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक