20130801

रातारात नायक झैं बनेका प्रचण्ड र बाबुराम मध्ये प्रचण्ड आफ्नै बोलिका कारण निकै अघिनै ध्वस्त भइ सकेपनि बाबुराम भनें अलिकति बाँकीनै थिए तर हिजोआज बाबुराम....!

babita

- बबिता बस्नेत
सानो छँदा “मुख छ भन्दैमा प्याच्च बोल्न हुदैन” भनेर ठुलाबडाले भन्दा के भनेको होला यस्तो जस्तो लाग्थ्यो । दुरदर्शी बुढापाकाले किन त्यस्तो भनेका रहेछन भन्ने चांही हिजोआज बुझिदैछ । 17 हजार भन्दा बढि मान्छे मारिएको नेपालको ससस्त्र द्वन्द्वमा मानिसलाई अपहरण गर्दा, हात खुट्टा भाँचेर अपाङ्ग बनाउदा, बेपत्ता पार्दा र मार्दा समेत त्यति धेरै आलोचना खप्नु नपरेका माओवादी नेता डा.बाबुराम भट्टराईले केही दिन अघि आफैले बोलेको बचनका कारण सर्बसाधारणको कटु आलोचना खप्नु परेको छ । दश बर्षे युद्ध पश्चात शान्ति प्रक्रियामा आए पछि रातारात नायक झैं बनेका प्रचण्ड र बाबुराम मध्ये प्रचण्ड आफ्नै बोलिका कारण निकै अघिनै ध्वस्त भइ सकेपनि बाबुराम भनें अलिकति बाँकीनै थिए । त्यसोत प्रधानमन्त्री भएपछि उहाँ प्रतिको आशा, अपेक्षा र भरोसा टुटेपनि यिनले जतिबेला पायो त्यतिबेला जे पायो त्यही बोल्दै चांही हिड्दैनन है भन्ने थियो जनमानसमा । तर बाढी पीडितलाई राहत बाँड्न पूर्व राजाको सुदुरपश्चिम भ्रमणलाई लिएर राजा ज्ञानेन्द्रलाई जेल हाल्नु पर्छ भन्ने अभिब्यक्ति दिएपछि भनें उहाँको बाँकी रहेको उचाई घटाउनलाई आफ्नै अभिब्यक्तिले राम्रै योगदान गरेको देखिएको छ । नेताका बोलीले खासै महत्व पाउन छोडि सकेका बेला डा.भट्टराईको यो भनाईलाई जनस्तरमा बडो गंभिरता पूर्वक लिएको देखियो । लौन त्यस्ता मान्छेले पनि के बोलेको होला त्यस्तो? देखि लिएर ‘जेल त तिनीहरुलाईनै हाल्नु पर्ने हो’ भन्ने सम्मका
प्रतिक्रियाहरु सुनिए । चोक, गल्ली, बाटोघाटो मिडिया, सामाजिक संजाल जताततै यो भनाईले निकै चर्चा परिचर्चा पायो । बोली र गाली फुत्किएपछि फर्कदैनन भन्ने पनि हाम्रै नेपाली उखान हो । शान्ति प्रक्रियाको सुरुवातताका यो मुलुकका महानायक झैं ठानिएका प्रचण्ड समयक्रममा आफ्नै बोलीका कारण सस्तिदै जानु भएको थियो । हिजोआज त उहाँले बोलेको कुरालाई मान्छेहरुले खासै वास्ता पनि गर्दैनन । आफुले बोलेको बचन पुरा गर्नु त कता हो कता बारम्बार आफैले खण्डन गर्ने र जतिबेला जे मन लाग्छ त्यही बोल्ने बानीले उहाँ आफैले आफैलाई हल्का बनाउदै लानु भएको हो ।
मनिसले समय परिस्थिति अनुसार कहाँ कतिबेला के बोल्ने भन्ने कुरामा ध्यान दिएन भनें राम्रै कुराले पनि गलत अर्थ दिन सक्छ । हाँस्नु, मुस्कुराउनु मानिसको जीवनमा राम्रै कुरा हो । तर हामी आर्यघाटमा गएका बेला या कसैको घरमा आपत बिपत परेका बेला हाँस्न मुस्कुराउन थाल्यौं भनें त्यसलाई राम्रो मानिदैन, मान्न सकिदैन । यो मुलुकको प्रधानमन्त्री भइ सकेका र बिद्वान भनेर चिनिएका बाबुराम भट्टराईले यस पल्ट पूर्व राजालाई जेल हाल्ने कुरा गर्दा पनि सुन्नेलाई राम्रो नलाग्नुको कारण पनि समय र परिस्थितिनै हो । कुनै बेला यो मुलुकमा जल्दो बल्दो राजसंस्था थियो, सेनाको परमाधिपति सहितका शक्तिशाली राजा थिए, कसैले राजालाई चुनौती दिनु बडो बहादुरी मानिन्थ्यो । चुनौती दिनु ठुलै कुरा हुन्थ्यो पनि । तर अहिले मुलुकमा राजसंस्था छैन । कुनै रक्तपात बिना चुपचाप आफ्नो दुइ सय चालिस बर्षको इतिहासलाई फरक धारमा परिणत गर्दै नागरिक भएर सर्बसाधारणको जीवन बिताइ रहेका राजा र राजपरिवारका सदस्य मात्र छन । पूर्व राजा भएपनि मानिसहरु उहाँलाई राजा र सरकारनै भनेर संबोधन गर्छन, जुन सम्बोधनले राज्य संरचनामा कुनै असर गर्दैन । मुलुकमा भएभरका ठकुरीहरुलाई समेत राजा संबोधन गर्ने नेपालीहरुले साँच्चीकै राजाका छोरा र राजा भइ सकेका ब्यक्तिलाई राजा भन्नु कुनै ठुलो कुरा पनि होइन । शक्तिमा नभएपनि आफ्नै बिशाल पृष्ठभूमि भएका राजा ज्ञानेन्द्रले बाढी पीडितलाई सहयोग गर्न लाग्दा जुन प्रतिक्रिया बाबुरामबाट आयो त्यसले जनस्तरमा ‘इरिटेशन’ पैदा भएको छ । त्यसपछिको माहौलले ओह्रालो लागेको मृगलाई खेदेको मन नपराउने नेपालीहरुको संख्या पनि प्रसस्त रहेको पुष्टी गरेको छ । आफु शक्तिमा भएका बेला मानिसहरुले आफु कहाँ छु? आफ्नो धरातल के हो? कुन अवस्थामा छु? भन्ने कुरा बिर्सन्छन भनिन्छ । शायद बाबुरामलाई पनि त्यस्तै भयो । कुनै बेलाका नायक उहाँहरु अहिले जनताको नजरमा खलनायक झैं बनि सकेको कुरा थाहै भएन । बितेको दश बर्षमा बागमतिमा धेरै ढल बगि सक्यो, दश बर्ष अघिका नायक उहाँहरु आफ्नै ब्यवहार र कार्यशैलीका कारण जनताको नजरमा खलनायक झैं बनि सक्नु भएको छ । शक्तिशाली राजा नागरिकमा रुपान्तरित भएर नागर्जुन पुगी चुपचाप बसेपछि मानिसहरुमा पुनः एक प्रकारको सहानुभुति जागेको छ । राजसंस्था प्रतिको श्रद्धा त अधिकांश नेपालीहरुमा सधै थियोनै, यसबीचमा नेताहरुको ब्यवहारले अहिले झन थप भएको छ । आफ्नो मुलुकको ससानो कुरामा पनि छिमेकी गुहार्ने कार्यशैलीले नेताहरु प्रति नेपालीहरुलाई थप सशंकित पनि बनाएको छ ।
कुनै बेला राजालाई ‘राजनीति गर्ने हो भनें श्रीपेच खोलेर आउ’ मात्र भन्दा पनि मदन भण्डारी रातारात हिरो बनेका थिए । गद्दीनासिन राजालाई यति भन्न सक्नु त्यतिबेला निकै ठुलो कुरा पनि थियो । तर समयक्रममा अहिले डा.बाबुराम भट्टराईले पूर्व राजालाई ‘म प्रधानमन्त्री भएको भए जेल हाल्थें’ भनेको कुराले उहाँको बाँकी रहेको उचाइलाई स्वाट्टै घटाउने काम ग¥यो । पूर्व राजालाई जेल किन हाल्ने? आपतमा परेकालाई राहत बाड्दा नेपालीले जेल जानु पर्छ? नेपालमा कसैलाई जेल हाल्नका लागि अपराधको मापदण्ड के हो? उहाँको भनाइले जनमानसमा यस्ता तमाम प्रश्नहरु उब्जाइ दिएको छ । युद्ध अपराधी भनेर अदालतले सजाय तोकेका उहाँका पार्टी नेता, कार्यकर्ताहरु खुलेआम उहाँकै अगाडी पछाडी हिडि रहेका बेला बाढी प्डिितलाई राहत बाढ्दै हिडेका पूर्व राजालाई जेल हाल्नु पर्छ भन्दा उक्त अभिब्यक्ति हास्यास्पद मात्र नभएर धेरैनै बेमौसमी पनि बन्न पुग्यो । अहिले नेताले पूर्व राजालाई गाली गर्दा ताली बज्ने बेला होइन, उहाँहरु स्वयंलाई गाली गर्दा चांही वाह वाही पाउने बेला हो । त्यसैले बाबुरामले अहिलेको परिस्थिति र आफुहरुको अवस्थानै नबुझ्नु भएको देखियो । चुनाव गराउन गठित रेग्मी सरकारले राहत बाड्नमा रोक लगाउनु अर्को हास्यस्पद कुरा हो । यस्तै, यो मुलुकमा जे पनि हुने रहेछ भन्ने कुराको उदाहरण चांही नेपाली सेनाले आफ्नै पूर्व परमाधिपतिलाई दार्चुलामा एकै छिनका लागि हेलिप्याड प्रयोग गर्न नदिनु हो । नेपाली सेनाको इतिहासमैं शायद यो आश्चर्यजनक घटना हो । आफ्नै इतिहास बोकेको नेपाली सेनाबाट “माथिको निर्देशन” का नाममा यति सम्म होला भनेर सोचिएको थिएन । यो घटनाबाट अहिले परमाधिपति बनेर बसेका राष्ट्रपतिलाई पनि भोली ‘पूर्व’ भएको अवस्थामा कुनै पनि प्रकारको ब्यवहार हुने रहेछ भन्ने कुरा अहिलेनै अनुमान गर्न सकिन्छ । राजनीतिक फेरबदल भइ रहने हाम्रो जस्तो मmुलुकमा कति बेला कस्तो परिस्थिति बन्छ के भन्न सकिन्छ र?
(साउन १६ गते घटना र बिचारमा प्रकाशित)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक