७५ जना जनपद र सशस्त्र प्रहरीको सुरक्षा घेराले पुगेन, प्रचण्डलाई लिन प्रकाश वाकिटकीसहित जहाजको ढोकैसम्म
- खिलानाथ ढकाल विराटनगर, असोज १३

प्रचण्ड पुत्र प्रकाश दाहाल कहिले तेस्रो बिहे गरेर चर्चा बटुल्छन्, कहिले डिएसपीको बर्दी र फूली लगाएर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश आइतबार विराटनगर विमानस्थलमा सुरक्षाकर्मीले बोक्ने सञ्चार सेट वाकिटकीसहित भेटिए । रंगेलीस्थित एक कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल मध्याह्न विमानस्थल आइपुग्नुपूर्वै प्रकाश भिभिआइपी कक्षमा सञ्चार सेटसहित देखिएका थिए ।
सञ्चार सेट बोकेर दाहाल सुरक्षाकर्मीसँग बाबु (अध्यक्ष)को सुरक्षा बन्दोबस्तीको जिम्मासाथ अगाडि नै पुगेका हुन् । केन्द्रीय सदस्य धर्मशिला चापागाईं, गोपी अछामीलगायत स्थानीय नेता कार्यकर्ता पनि भिआइपी कक्षमा दाहाल पुत्रसँगै थिए । (हेर्नुहोस् तस्विरमा)

भिआइपी कक्षबाट कटेर आम मानिस रनवेमा जान नपाउने नियम प्रकाशलाई लागेको थिएन । दाहाल केहीअघि प्रहरी नायब उपरीक्षक डिएसपीको कपडा लगाएको तस्बिर फेसबुकमा राखेर विवादमा आएका थिए । पूर्वप्रधानमन्त्रीको हैसियतमा दाहालको सुरक्षाका लागि सशस्त्र र जनपद प्रहरीको टोली नै सरकारले खटाइदिएको छ । प्रहरी नायब उपरीक्षक रामजी केसीको नेतृत्वमा ५० जना सशस्त्र र नेपाल प्रहरीका नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा २५ सुरक्षाकर्मी सरकारले दाहालको सुरक्षामा खटाएको छ ।
युद्धकालीन शैलीमा एमाओवादी नेताहरुले दोहोरो सुरक्षा लिइरहेकोमा सरकारले खारेज गरेको थियो । युद्धकालका बेला यस्ता सञ्चारसेट माओवादी नेता कार्यकर्ताले बोक्थे । ‘प्रकाशजीले कतै त्यै पुरानो गैरकानुनी सेट त बोकेको हो कि,’ जिल्लाका एक सुरक्षा अधिकारीले भने, ‘इजाजत लिएर निजी सेट बोक्न पनि पाइन्छ, तर उनले लिए/नलिएको थाहाँ भएन ।’ माओवादीको दोहोरो सुरक्षा संरचना खारेज गरिएको भने पनि दाहालको छुट्टै सुरक्षा सचिवालय अहिले पनि छ । पहिले लडाकु नेतृत्वमा रहेको निजी सुरक्षा सचिवालय अहिले नेताहरु छन् ।
केन्द्रीय सदस्य सन्तु दराईको नेतृत्वमा ७ जनाको सुरक्षा समितिमा दाहालपुत्र पनि सदस्य छन् । ‘अध्यक्षको सुरक्षा सचिवालयमा स्वकीय सचिव भुवनमणि खड्का र म पनि छौं,’ सेतोपाटीसँग प्रकाशले भने, ‘यो वाकिटकी हाम्रो निजी सचिवालयको हो ।’ इजाजत लिएर वाकिटकी प्रयोग गर्न पाइने कानुनी प्रावधान छ । दाहालपुत्रले वाकिटकी बोक्ने इजाजत लिए नलिएको खुलाएनन् ।

रंगेलीमा विभिन्न पार्टीबाट कार्यकर्ता एमाओवादीमा प्रवेश गराउने कार्यक्रममा दाहाल विराटनगर आएका हुन् । उनलाई विमानस्थलमा लिन दुई दर्जन गाडी र सयौं मोटरसाइकल पुगेका थिए । - source : setopati
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक