20131110

२६ गतेदेखि मंसिर ५ गतेसम्म ८ दिन यातायात बन्द गर्ने ३३ दलको निर्णय, बन्द र आमहडतालजस्ता निर्वाचनविरोधी गतिविधिलाई पूर्णरूपमा निस्तेज र असफल पार्न गृहमन्त्रीको आह्वान

गृहमन्त्री माधवप्रसाद घिमिरेले मङ्सिर ४ गतेको संविधानसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको बन्द र आमहडतालजस्ता निर्वाचनविरोधी गतिविधिलाई पूर्णरूपमा निस्तेज र असफल पार्न सर्वसाधारणलाई आह्वान गर्नुभएको छ ।  निर्वाचन सुरक्षाका लागि सरकारले भरपर्दो र प्रभावकारी सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिँदै मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले मतदाताहरूलाई ढुक्क भएर मतदान केन्द्रसम्म पुगी आफूले इच्छाएको उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गर्नुभयो ।  देश चुनावमय वातावरणमा होमिइसकेको छ, निर्वाचन सुरक्षाका लागि सिङ्गो सुरक्षा निकाय केन्द्रदेखि जिल्लातहसम्म पुगिसकेको छ, उहाँले भन्नुभयो– यस्तो अवस्थामा पनि बन्द र हडतालको आयोजना गरी एक करोड ४२ लाख मतदाताको चाहनाविपरीत काम गर्नेहरूलाई संविधानसभा निर्वाचनको भेलले भगाउने छ । एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षाका लागि केन्द्र, क्षेत्र र जिल्लास्तरीय सुरक्षा छलफल गरी योजनाहरू समेत कार्यान्वयनमा ल्याइसकेको थप जानकारी दिँदै उहाँले मतदाता, मतपेटिका र उम्मेदवारको सुरक्षाका लागि राजनीतिक दलका नेता तथा कार्यकर्ता र चारवटै सुरक्षा निकायबीच समन्वय, सहयोग र सूचना आदानप्रदान
भइरहेको बताउनुभयो ।  
बन्द र आमहडताल पूर्णरूपमा निस्तेज पार्न मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा गस्ती, सहर, गल्ली, टोल तथा चोकचोकमा सुरक्षा तैनाथी प्रभावकारी बनाई निर्वाचनविरोधी कार्य गर्नेलाई पक्राउसँगै कानुनी कारबाही गर्ने रणनीति सरकारले अख्तियार गरेको मन्त्री घिमिरेले स्पष्ट पार्नुभयो ।  
राजनीतिक निकासको मुख्य बाटो नै चुनाव हो, चुनावबिनाको सरकारले राष्ट्रलाई सही निकास दिन नसक्ने भएकाले वर्तमान सरकार दृढताका साथ भयरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले चुनाव गराउन लागिपरेको हो, सञ्चारकर्मीले सोधेको एक प्रश्नमा मन्त्री घिमिरेले भन्नुभयो, “सेना परिचालन चुनाव विरोधीलाई दबाउन होइन, मताधिकार सुरक्षाका लागि हो । ” 
उहाँले निर्वाचन सुरक्षाका लागि विदेशी नम्बरप्लेटका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध, सीमामा कडाइ तथा केही दिनका लागि सिल गर्ने र राजनीतिक दलका कार्यकर्ताबीच वादविवाद तथा झडप हुन नदिन सुरक्षा मजबुत तुल्याउने कार्यमा सम्पूर्ण सुरक्षा निकाय क्रियाशील रहेको जानकारी दिनुभयो ।  
बन्द र हडतालको समयमा सार्वजनिक सवारी साधन चलाएको अवस्थामा तोडफोड तथा आगजनी भए त्यसको क्षतिपूर्ति सरकारले ब्यहोर्ने र मतदाताको निःशुल्क औषधि उपचार गरिने जानकारी पनि सो अवसरमा दिएको हो ।  ‘म फेरि पनि भन्छु, निर्धक्का साथ मतदान गर्नुहोस्, शान्तिसुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले गर्छ’ मन्त्री घिमिरे थप्नुभयो ।  
२०६४ को संविधानसभा चुनावभन्दा यो वर्षको चुनाव शान्त, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै चुनावी सुरक्षामा परिचालन सेनालगायतका सुरक्षाकर्मी, मतदान केन्द्रको सुरक्षा व्यवस्था र कुनै समस्या आइपरेको खण्डमा १० मिनेटदेखि आधा घण्टाको बीचमा थप मद्दत सहजै रूपमा पुग्न सक्ने व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो ।  
निर्वाचनविरोधी दलहरूका गतिविधिलाई निस्फल पार्न निर्वाचनमा सहभागी राजनीतिक दल, सर्वसाधारण मतदाता, यातायात व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलगायत सबैको सहयोग अपरिहार्य रहेको चर्चा गर्दै उहाँले विगतको जस्तो बन्दको व्यवस्थापन होइन, सरकारले निस्फल नै पार्छ भन्नुभयो ।  
सडक अवरुद्ध गर्ने, मतपेटिका लुट्ने, मतदान केन्द्रमा धाँधली गर्ने तथा बुथ क्याप्चर गर्नेजस्ता अराजक गतिविधिको पछि कोही लाग्छ भने त्यसलाई क्षम्य हुने छैन, गृहमन्त्री घिमिरेको भनाइ थियो– म कहिल्यै पनि दलको कार्यकर्ता भएर राजनीति गर्ने छैन, त्यसैले यो निर्वाचनमा कसैलाई काखापाखा नगरी कसुर गर्नेलाई माफी हुने छैन ।  निर्वाचन सुरक्षामा परिचालन भएका सेना, प्रहरी, सशस्त्र प्रहरी, विशेष प्रहरी तथा म्यादी प्रहरीको सङ्ख्या, कामकारबाही र जिम्मेवारीको बारेमा जानकारी दिँदै मन्त्री घिमिरेले काठमाडौँ उपत्यकाका लागि चुनावसम्म गोप्य रूपमा विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो ।  उहाँले चुनावमा सहभागी राजनीतिक दललाई मैत्रीपूर्ण प्रतिस्पर्धाबाट चुनावमा भाग लिनसमेत आग्रह गर्नुभयो ।  
पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले मतदातादेखि मतदान केन्द्र र मतपेटिका सुरक्षाका लागि प्रहरी दृढ र प्रतिबद्ध रहेको बताउनुभयो ।  चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ उहाँले भन्नुभयो, सञ्चारकर्मीहरू पनि मतदाताको रूपमा आ–आफ्नो जिल्ला वा गाविसमा रहेका मतदान केन्द्रमा मत खसाल्न जानुहोस् ।  


नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पूर्व घोषित चुनाव बहिस्कार आन्दोलनका कार्यक्रमलाई परिर्माजन गर्दै भोलि २५ गते मात्र आमहड्ताल गर्ने भएको छ । २६ गतेदेखि मंसिर ५ गतेसम्म ८ दिन यातायात बन्द गर्ने ३३ दलको निर्णय छ ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिर्वतन गरेको हो । ‘हामी आन्दोलनबाट पछि हटेका होइनौं, राष्ट्रघाति निर्वाचनको सशक्त प्रतिरोध गर्न आन्दोलनको स्वरुपमात्र परिवर्तन गरिएको हो’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता देव गुरुङले भन्नुभयो-’विपक्षीलाई थुनेर गरिने निर्वाचनले तानाशाहीको मात्र जन्म दिन्छ, त्यसैले यो निर्वाचनको प्रतिकार गर्छौं ।’
स्कुल बस गुड्न नदिने, के-के चल्न दिने ?
३३ दलीय मोर्चाले २५ गते विहान ६ बजेदेखि साँझ ५ बजेसम्म यातायात, बजार, कलकारखाना, शिक्षणसंस्था बन्द गर्ने बताएको छ । यातायात हडताल भने २५ गतेदेखि मंसिर ४ गते साँझ ५ बजेसम्म जारी रहने मोर्चाले जनाएको छ । यातायात हड्तालका क्रममा एम्बुलेन्स, रेडक्रस, अस्पतालका गाडी, शववाहन, फोहोर, पानी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडी, रिक्सा, साइकल र गेठा चल्न दिइने विज्ञप्तिमा उल्लेख छ । तर, यातायात हड्तालका क्रममा स्कुल बसहरुलाई भने चल्न नदिने माओवादी सचिव गुरुङले बताउनुभयो । यातायत हड्तालमा स्कुल बस चल्न दिने कि नदिने भन्ने अनलाइनखबरको प्रश्नमा गुरुङले भन्नुभयो-’विद्यालय खोल्ने नखोल्ने उहाँहरु नै जान्नुस तर, स्कुल बस चलाउन दिँदैनौं ।’
यसअघि माओवादी नेतृत्वको ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
३३ दलीय मोर्चाले देशलाई द्वन्द्वमा जान नदिन मंसिर ४ को निर्वाचन स्थगित गरेर गोलमेच सम्मेलनगर्नु पर्ने अडानलाई पुनः दोहोर्‍याएको छ । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै ३३ दलीय मोर्चाले यदि सरकारले धरपकड गरेमा भने त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘लोकतन्त्रमा निर्वाचन वहिष्कार गर्ने अधिकार हुन्छ । यदिन सरकार हस्तक्षेपमा उत्रेमा जनता प्रतिकारमा उत्रने छन्’, गुरुङले भन्नुभयो-’चारदलसँग सैद्धान्तिकरुपमा सहमतिमा पुगेको अवस्थामा चार दल र सरकार विमतिको बाटोमा गए । शान्तिपूर्ण बहिष्कारको विरुद्धमा सेना परिचाल गर्नु भनेको राजनीतिक रुपमा पराजित हुनु हो ।’
राष्ट्रसंघद्वारा आन्तरिक मामलामा हस्तक्षेप
संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधीले केही दिनअघि ३३ दलीय मोर्चाको आन्दोलन कार्यक्रमविरुद्ध सार्वजनिक गरेको धारणाप्रति ३३ दलीय मोर्चाले कडा आपत्ति जनाएको छ ।
राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको धारणा शान्तिपूर्णरुपमा निर्वाचनमा सहभागी हुने र बहिष्कार गर्ने दुवै अधिकार विरुद्ध भएको जनाउँदै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि मोर्चाले आग्रह गरेको छ । ‘निर्वाचन वहिष्कार गर्नु र बन्द गर्नु अवैधानिक भनेर राष्ट्रसंघका प्रतिनिधिले लोकतन्त्रको मूल्य मान्याता विपरित बोलेको प्रति हाम्रो आपत्ति छ’, माओवादी सचिव गुरुङले भन्नुभयो, ‘कुटनीतिक मर्यादा विपरित आएको धारणाले नेपालमाथि हस्तक्षेप गर्ने काम भएको छ ।’
 प्रेस विज्ञप्तिको पूर्णपाठ
आज मिति २०७० कार्तिक २४ गतेका दिन ३३ दलीय राजनीतिक मोर्चाको बैठक नेकपा-माओवादीको केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसी निम्न निर्णयहरु लिइएका छन् ।
१. मुलुकको विद्यमान सङ्कटलाई समाधान गर्नका लागि राजनीतिक शक्तिहरुको बीचमा राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन । त्यसैले सबै राजनीतिक शक्तिहरुको बीचमा गोलमेचसभाको आयोजना गरी नयाँ संविधान निर्माणको मार्गचित्र सुनिश्चित गर्दै संविधानसभाको निर्वाचनको प्रक्रियामा अगाडि बढौं भनी ३३ दलको तर्फबाट निरन्तर रुपमा सरकार र ४ दलसँग आग्रह गर्दै आइरहेको यथार्थता सर्वविदितै छ । परन्तु, उक्त प्रस्तावलाई निषेध गर्दै ४ दल र सरकारले जबर्जस्त रुपमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको प्रायोजन गर्दैछ । त्यसको हामी घोर विरोध एवम् भत्र्सना गर्न चाहन्छौं ।
२. राष्ट्रिय सहमति कायम गर्नका लागि हामीले आन्दोलनका विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौ्रं । यसै क्रममा यही कार्तिक २५ गतेदेखि १० दिनसम्म देशव्यापी आम हडतालको कार्यक्रम घोषणा गरेका थियौं । उक्त कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउन त्यसका रुपहरुमा परिमार्जन गर्नुपर्ने विभिन्न समुदायहरुको सुझावलाई पनि ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरुलाई निम्न अनुसार परिमार्जन गरिएको छ ।
क) यही कार्तिक २५ गते बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म देशव्यापी आमहड्ताल गर्ने निश्चित गरिएको छ । उक्त दिन सम्पूर्ण यातायात, बजार, कलकारखाना, शिक्षणसंस्थाहरु आदि सबै बन्द रहनेछ ।
ख) कार्तिक २५ गते बिहान ६:०० बजेदेखि मंसिर ४ गते बेलुका ५:०० बजेसम्म दिनरात २४ सै घण्टा सम्पूर्ण यातायात हड्ताल गर्ने निश्चित गरिएको छ । जसअनुसार – एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहार बोक्ने गाडी, पानी बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडीहरु, रिक्सा, साइकल र ठेलागाडा बाहेक सम्पूर्ण यातायातको चक्काजाम हुनेछ ।
ग) यस अवधिमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको विरोध तथा बहिष्कारको पक्षमा देशव्यापी रुपमा प्रचार-प्रसार, विरोधसभा, विरोध प्रदर्शन, जनप्रतिरोधका कार्यक्रमहरु आदि सञ्चालन हुनेछन् ।
३. उपरोक्त आन्दोलनका कार्यक्रमहरुलाई समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण मजदूर, किसान, यातायात मजदुर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, बुद्धिजीवी, शिक्षक-विद्यार्थी लगायत सबै जनसमुदायहरुमा हार्दिक आग्रह गर्ने निश्चित गरिएको छ ।
४. निर्वाचन बहिष्कार गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार हुन् । परन्तु, राज्यले बहिष्कार आन्दोलनको विरुद्ध दमन-धरपकड, झुठा मुद्दा र धम्की दिंदै आतङ्क सिर्जना गर्न खोजिएको छ । त्यसको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका साथीहरुलाई विनाशर्त रिहा गर्न माग गर्दछ ।
५. मुलुकको राजनीतिक निकासको निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक सहमति कायम गर्नका लागि निर्वाचनको कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा अगाडि बढ्नका लागि सरकार, ४ दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत सबैमा ३३ दलीय मोर्चा फेरिपनि हार्दिक आग्रह गर्दछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक