(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140117

लोकमानसिंह कार्कीको आक्रोशित मुद्रा र बोलीलाई समाचार बनाएर उनको एटिच्युडको पर्दाफास गर्नुको साटो पत्रकारहरू आफैँ आक्रोशित बन्न पुगे

-बबिता बस्नेत 

दुई वर्षअघिको कुरा हो– एउटा कार्यक्रमको सिलसिलामा जिल्लामा गएको बेला एकजना पत्रकार भाइले आयोजकलाई प्रश्नमाथि प्रश्न तेर्स्याउँदै ‘तपाईंहरूजस्ता मान्छेलाई हामीले राम्ररी चिनेका छौँ’ भने। विचरा आयोजक जिल्ल परे, उनी अरू नै जिल्लाबाट भर्खरै सरुवा भएर त्यहाँ पुगेका रहेछन्। म अरूकै कार्यक्रममा एउटा प्रस्तुतिका लागि त्यहाँ पुगेकी थिएँ र उक्त सत्रमा मैले बोल्ने कुनै कार्यक्रम थिएन। एक राष्ट्रिय दैनिकमा समेत काम गर्ने सोही जिल्लाका सक्रिय पत्रकारले ‘भइहाल्यो नि अनावश्यक कुरामा विवाद गरेर समय नफालौँ’ भनेपछि कार्यक्रम अघि बढ्यो। हामीलाई सबै कुरा थाहा छ, तिमीहरू को हौ? भन्ने शैलीमा प्रस्तुत भएका उनको बोली र प्रस्तुति हेर्दा यस्तो लाग्थ्यो मानौँ उनी अर्कै उपग्रहबाट आएका हुन्। पटकपटक उनले प्रयोग गर्ने ‘हामी पत्रकार’ भन्ने शब्दले पत्रकारले सबै कुरा जानेका हुन्छन्, केही जानिरहनुपर्दैन भन्ने भाखा बोलिरहेको थियो। चिया खाने बेलामा मैले उनको बारेमा उनैसँग बुझेँ, स्थानीय एफएममा नौ महिना जति भएको रहेछ प्रवेश गरेको। सोही बेलामा महासङ्घका जिल्ला अध्यक्षले भने, साथीहरूलाई तालिम छैन, पत्रकारको आचारसंहिता धेरैलाई
थाहा छैन, कहिलेकाहीँ त निकै अप्ठ्यारो पर्छ। पछि आफ्नो बोल्ने पालोमा उनको नाम लिँदै मैले भने– भाइको कुरा अघि मैले सुनेँ, सुरुसुरुमा यो पेसामा आउँदा यस्तै हुन्छ। तपाईंहरू एफएममा हुनुहुन्छ, समाचार पढ्नुहुन्छ, मानिसहरूसँग अन्तर्वार्ता लिनुहुन्छ, धेरैले त्यो सुन्छन् र नामले चिन्छन्। म कुनै बेला रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारमा काम गर्दा कुनै एफएमहरू थिएनन् न त अहिलेझैं धेरै सञ्चारमाध्यम नै थिए। देशव्यापी रूपमा सुनिने त्यही एउटा रेडियो नेपाल थियो त्यसमा पनि समाचारमूलक कार्यक्रम, हामीलाई कति मान्छेले सुन्थे तपाईंहरू अन्दाज गर्न सक्नुहुन्छ। आफ्नो नाम भन्नेबित्तिकै मान्छेले चिन्थे, चिनेनन् भने किन चिनेनन् हँ? भन्ने लाग्थ्यो। आफूलाई यसरी हेरिन्थ्यो कि बाटोमा हिँड्दै गर्दा ठेस लाग्दा पनि म त पत्रकार पो हुँ त मलाई किन ठेस लाग्यो हँ जस्तो लाग्थ्यो। समयक्रममा पत्रकारिताको धर्म र मर्मलाई बुझ्दै जाँदा र यसका संहिताहरूलाई आत्मसात् गर्दै जाँदा थाहा भयो हामीले अपनाउनुपर्ने संयमता त अरूले भन्दा धेरै पो रहेछ। हामीले बुझ्नुपर्ने र जान्नुपर्ने कुरा त कति रहेछन् कति… म जान्दछु या मलाई थाहा छ… होइन कि थाहा भएकै कुरालाई पनि पुनर्पुष्टि गर्नका लागि कति ठाउँ थाहा नपाएजस्तो गर्नुपर्ने रहेछ। जानेको कुरालाई पनि कहिलेकाहीँ नजानेजस्तो गर्नुपर्ने रहेछ। हामी यो समाजभन्दा फरक कहिले पनि छैनौँ, तर अरूभन्दा जिम्मेवार भने सधैँ हुनुपर्ने रहेछ। बोल्नभन्दा सुन्न सक्नुपर्ने रहेछ, कसैसँग बोली फर्काउनुभन्दा आफूसम्बद्ध मिडियामा त्यही कुरा लेख्दा त्यसको महत्त्व फरक हुने रहेछ, मान्छेले गर्ने व्यवहार र हेर्ने दृष्टिकोण पनि फरक पर्ने रहेछ।
वास्तवमा उक्त कार्यक्रममा मेरो यसप्रकारको भाषण गर्ने कुनै एजेण्डा थिएन न त रुचि नै थियो। कार्यक्रममा ती भाइको व्यवहारले साह्रै नै अप्ठ्यारो लागेर त्यति भन्नुपरेको थियो। पछि खाना खाने बेलामा उनी मसँग आए र अन्य विषयमा पनि हाम्रो केही कुराकानी भयो। राम्रो कुरा के भने उनी मसँग रिसाएनन्, दिदीले भनेको कुरा साह्रै चित्त बुझ्यो भने। हामी मिडियाका मानिसहरूमा ‘म त पत्रकार पो हुँ’ भन्ने एकप्रकारको दम्भ भइरहेको हुन्छ। पत्रकार भएकै कारणले म विशेष हुँ भन्ने भावना पनि कतिपय व्यक्तिमा देखिन्छ, भेटिन्छ। वास्तवमा समाजमा पत्रकारको भूमिका मात्रै विशेष हो, व्यक्ति स्वयम्चाहिँ विशेष होइन। धेरै नै उत्तरदायी हुँदै कतिपय अवस्थामा जोखिमसमेत मोल्नुपर्ने भएकाले पत्रकारको भूमिकालाई भने विशेष मानिएको हो। तर, हामीकहाँ पत्रकारको भूमिकालाई लिएर पटकपटक प्रश्न उठ्ने गरेको छ। राजाको रूपमा नारायणहिटी राजदरबारमा आफ्नो अन्तिम पत्रकार सम्मेलन गरेपछि राजा ज्ञानेन्द्र बसेको कुर्सीमा बस्दै फोटो खिचाएको प्रसङ्ग होस् या जनजाति नेता आङकाजी शेर्पासँग रिपोर्टर्स क्लबमा तँ–तँ र म–म भनेर होस् पत्रकारको भूमिका चर्चामा आउने गरेको छ। आङकाजी शेर्पाले पत्रकारलाई गाली गरे भनेर पत्रकारहरू उनीसँग जाइलागे तर एउटा पत्रकारको रूपमा भूमिका भने उनीसँग जाइलाग्ने नभएर उनले भनेका, गाली गरेका कुराहरूलाई जस्ताको तस्तै मिडियामा ल्याएर सर्वसाधारणलाई उनको स्तरका बारेमा जानकारी गराउनुपर्ने थियो। पत्रकारको काम पुलको भूमिका निर्वाह गर्ने मात्रै हो न कि खहरे बनेर आफैँ गड्गडाउने।
अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले हालै विराटनगरमा गरेको पत्रकार सम्मेलन अहिले निकै चर्चामा छ। उक्त पत्रकार सम्मेलनमा पत्रकारले गरेका प्रश्न, ती प्रश्नमा दिइएका जवाफ र त्यसपछि प्रमुख आयुक्त कार्कीका विरुद्ध गरिएका नाराबाजी, धर्ना सबै हेर्दा एउटा पत्रकारका रूपमा ती सबै गर्नु उचित हो कि होइन? भन्ने बहस पनि चलेको छ। विराटनगर घटनामा केन्द्रित हुँदा दुवैतर्फलाई जिम्मेवार मान्नुपर्ने हुन्छ। सार्वजनिक जीवनमा रहेका मानिसहरूले प्रेस सम्मेलन गरेपछि कुनै पनि प्रकारका प्रश्न आउन सक्छन् भन्ने कुरालाई ध्यानमा राखी ती प्रश्नलाई कसरी लिने भनेर मानसिक रूपले तयार हुनुपर्दछ। पत्रकार सम्मेलनमा आफूले सोचेजस्तो या चाहेजस्तो मात्रै प्रश्न आउँछन् भन्ने हँुदैन। यदि फरक आइहाले पनि तिनलाई सामान्य रूपले लिई त्यहीअनुरूपको रेस्पोन्स गर्नु उचित मानिन्छ। तर, यो घटनामा प्रमुख आयुक्त कार्की आक्रोशित भए, जुन जरुरी थिएन। त्यस्तै पत्रकारहरूले उनी आक्रोशित भएको कुरा जस्ताको तस्तै रिपोर्टिङ गरेर आफू कार्यरत सञ्चारमाध्यममार्फत प्रकाशन–प्रसारण गरेका भए त्यो व्यावसायिक त हुने थियो नै, आक्रोशित व्यवहार गर्नेलाई ठूलो सबक पनि हुने थियो, अन्य केही गरिरहनुपर्ने नै थिएन। वास्तवमा रेडियो र टेलिभिजनहरूका लागि त झन् त्यसप्रकारका श्रव्य र दृश्यहरू निकै बिकाउ समाचार बन्ने थिए। तर, कार्कीको आक्रोशित मुद्रा र बोलीलाई समाचार बनाएर उनको एटिच्युडको पर्दाफास गर्नुको साटो पत्रकारहरू आफैँ आक्रोशित बन्न पुगे। यो घटनामा उनी आक्रोशित बनिसकेपछि अरू एक–दुई प्रश्न गरेर बढीमा पत्रकारहरूले उनले आयोजना गरेको चियापान बहिष्कार गरेर हिँड्न सक्थे। तर, त्यसपछि जे–जे भयो त्यो हुनुपर्ने भूमिका भन्दा फरक भयो। विश्वमा पत्रकारहरूलाई सम्मान गरिएको पत्रकारहरूमा ‘म त पत्रकार पो हुँ त’ भन्ने भावनाका कारणले होइन, पत्रकारहरू समाजका वाचडग हुन् भन्ने जनमानसको बुझाइका कारणले हो। पत्रकारहरूमा हामीले मात्रै संसारलाई हेरिरहेका, मूल्याङ्कन गरिरहेका छौँ भन्ने भ्रम छ, त्योभन्दा बढ्ताचाहिँ संसारले पत्रकारलाई हेरिरहेको, मूल्याङ्कन गरिरहेको हुन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक