(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140125

प्रचन्ड र बाबुरामले बर्बाद पारेका माओवादी पूर्व लडाकु भन्छन् "यस्तो होला भन्ने थाहा भएको भए बन्दुक हैन, जुठा भाँडा समाउँथ्यौँ’"

- चाँदनी हमाल 
चितवन । ‘युद्धका बेला, सेनाको पोशाक, काँधमा बन्दुक, खुट्टामा गमबुट लगाएर छापामार भएर घर्याप, घर्याप जंगल थर्किने गरि खुट्टा बजाथ्र्यौ । त्यो जोशमा अब देश हाम्रै हो भन्ने लाग्थ्यो ।  जिल्ला, नाका, ईलाका, सेना, प्रहरीका चौकी कति जिते कति । सरकारी सेना प्रहरीलाई चित खुवाउँदा अब देश हाम्रै हो झै महसुस हुन्थ्यो । युगले कोल्टे फेर्छ । सर्वहारा
वर्गको सत्ता र राज्यको सुख भोगचलन गर्न पाईन्छ । कोही गरिब र कोही धनी हुन्नन् । न त सुकुम्वासी र हुकुम्वासी हुन्छन् । सबैका घर उस्तै । काम उस्तै । सबै बराबर ।  यही लालसाले बन्दुक, बम अनि बारुदका गोलासँग पैंठेजोरी खेल्यौं । कति साथी बम र बन्दुकले रगतपच्छे मृत्युको मुखमा परेको देखियो  । कति अपांग अनि घाईते भए ।’ 
कुनै कथाको अंश हैन दश वर्ष युद्ध लडेर माओवादी पथमा लागेका लडाकुहरुको वास्तविकता हुन । २०५२ सालबाट सशस्त्र द्वन्द थालेको तत्कालिन माओवादी लडाकुहरुले युद्धको शंखघोष रामेछापको वेथान गाविसबाट गरेका थिए । जनयुद्धको उदगम थलो भने रोल्पा मानिन्छ ।  
जतिसुकै ठूलो युद्ध लडेपनि त्यसले लडाकु सेनाको मन बलियो पारेन ऐंजेरु भाँचिए झै भाँचियो । नपलाउने गरि । 
कार्लमाक्र्सको ऐतिहासिक द्वन्दात्मक भौतिकवादको सिद्धान्त आत्मसात गर्दै नेताहरुले परिवर्तनका लागि लडाकुलाई बन्दुक भिराए । भौतिक युद्ध जितेजस्तो भयो समाज परिवर्तनको युद्ध हारे । 
माक्र्सले १९ औं सताब्दीमा व्याख्या गरेको भौतिकवादी वर्गसंघर्षको औचित्य १४ हजार नेपालीले ज्यान ज्यान गुमाएपछि नेपालमा सकियो ।  तर परिणाम आलो घाउ बनेर लडाकुसँग रहिरह्यो । ‘दशवर्ष युद्ध लडेपछि यस्तो हुन्छ भन्ने थाहा पाएको भए युद्धको बन्दुक हैन जुठा गिलासनै समाउथे’ पूर्वी चितवन चैनपुर चोकमा चिया पसल थापेका पूर्व लडाकु प्लाटुन कमाण्डर विशाल मोक्तान भन्छन । 
‘ठूला नेताहरु कार चढे, नेताका चाकरी गर्ने साथीको मार्वल ओच्छ्याएको घर छ’ उनी थप्छन्, ‘हाम्रो भने दिनभरी जुठा भाँडा माझ्दा पनि गुजारा गर्न कठिन छ ।’ 
‘सत्रवर्ष हेरिसक्यो अब के हेर्नु आफ्नै विजोग छ’ शिविरभित्रै विशालसँग बिहे गरेकी सरस्वती थापाले भनिन्, ‘बरु पहिल्यै यसरी चिया पसल थापेका भए आज ठूलै होटल हुन्थ्यो होला ।’
एक छोरीका अभिभावक विशाल बारा, पर्सा, मकवानपुरको भिमाद सहितका आधादर्जन युद्धमा सामेल भए । कतिपटक त सेनाले समायो पनि भिमादमा सँगै लडेका विकास, लक्ष्मी, किरण, मुक्ति, गता, भूमिका, किसान, रोशनी सहित १६ जना युद्धमा ठहरै भएको क्षण आजैजस्तो लाग्छ उनलाई ।
पाँचवर्ष शिविरमा थुन्नुको साटो पहिल्यै पाँचलाख दिएको भए लडाकुले महंगीको घरजम गर्नु नपर्ने तर्क साईकल पसलमा साईकल बनाउदै गरेका दिपक सुवेदी उल्लेख गर्छन । दिनको कमाईले पसलको भाडा, कोठा भाडा, छोराछोरीका स्कूलको शुल्क तिर्नै धौधौ हुने गरेको उनले बताए । 
कल्कलाउदो बैशालु १९ वर्षे उमेरमा २०५६ सालमा युद्ध लडिन गोर्खाकी पार्वती गिरी वाईवा । ‘महिला हिंसा र पिडाबाट मुक्ति मिल्छ, गरिब माथिको थिचोमिचो हट्छ यस्तै–यस्तै आश्वासनले डोर्यायो युद्धमा’ उनी भन्छिन, ‘तर शिविरको अन्तिम रात आजदेखि भात नखा तिमेरु भनेर तिनै नेताले भोकै राखे ।’
    
कहाँ रैछ र समानता न त पार्टीमा न त समाजमा नै कुनै परिवर्तन देखिनन् उनले । शिविर छँदा बलबहादुर वाईवासँग अन्तरजातिय बिहे गरेपछि माईतीको सम्बन्ध पनि टुट्यो । दुईछोरी छन् । 
‘बरु पहिल्यै घरजम गरेको भए सुखी परिवार हुन्थ्यो होला युद्धले विगार्यो हाम्रो जिवन’ बलबहादुर भन्छन् । दुईचार बाख्रा र मझुवा ऐलानीको दश धुर जग्गामा सानो घर । त्यही हो संसार उनीहरुको । धनीमनीकै परिवर्तन भो समाज परिवर्तन भएन भन्ने गुनासो उनीसँग पनि छ ।
उनीहरुजस्तै शिविरमै अन्तरजातिय बिहे गरि शान्ति न्यौपाने र मोहन राई, सरस्वती थापा र विशाल मोक्तानले पनि बिहेपछि घर छिर्ने बाटो बन्द गरे । सेनाको कमाण्डमा जनवादी बिहे गर्दाको क्षण र बाहिर निस्केपछिको वातावरण आकाश पातालको फरक रहेको अनुभव उनीहरुको छ ।
घरजम थालेका युगेन लामा र अनिता लामा पनि मझुवा ऐलानीमा घर बनाउन व्यस्त छन् । पाएको पैसा यही जग्गा र घरमा सकियो अनिता सुनाउछिन् गर्जो टार्न मजदुरी नगरी हुन्न । 
२०६३ साल मंसिर ५ को शान्ति सम्झौतासम्म ३६ हजार लडाकु रहेको तत्कालिन माओवादीको दाबी थियो । सम्झौतापछि शिविर छिर्ने बेला भने १९ हजार ६ सय २ जनामात्र भए ।  पार्टीको ब्याकफोर्सका रुपमा धेरै लडाकु शिविर बाहिरै राखिए । दोस्रो जनआन्दोलन अनि शान्ति सम्झौता र राजनितीक सहमतिका आडमा २०६३ मंसिर ५ गतेदेखि सात विभिन्न शिविरमा बसे । 
युद्धको तोडले केही न केही परिवर्तन हुने आश शिविर बसाईमा ज्युँदै थियो । तर राजतन्त्रको अन्त्य र धर्मनिरपेक्ष गणतन्त्र मुलुक घोषणामै सिमित भयो परिवर्तन ।
शान्ति सम्झौताको नियम अनुसार पटक–पटक गर्दै वर्गीकरण प्रकृयाबाट लडाकुहरु शिविरबाट बाहिरिए । 
सेना समायोजनको सर्त अनुसार १३ सय ५२ जनामात्र सेनामा गए । बाँकी लडाकु पद अनुसार पाँचदेखि देखि दशलाखसम्म लिएर घर फर्के । सेनामा गएकाको हालखबर ठिकै छ । तर बाहिर रहेका पूर्व लडाकुको स्थिति अधिकांसको सुध्रन सकेन ।
- onsnews. 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक