20140703

नेकपा एमालेको नवौं महाधिवेशन विहीबारदेखि काठमाडौंमा सुरु, उद्घाटनस्थलमा जान नपाएको भनेर आक्रोशित भएका कार्यकर्ताले बाहिर नाराबाजी र तोडफोड गरे !


 

 





एमालेको नवौं महाधिवेशन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशनको उदघाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले नवौं
महाधिवेशनले पार्टीलाई अझै एकताबद्ध बनाएर लैजाने बताउनुभयो । उहाँले पार्टीको महाधिवेशनले महाधिवेशनपछि पार्टी वैचारिक तथा सांगठनिक दुवै रुपमा एकताबद्ध हुने बताउनुभयो ।
उदघाटन समारोहमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संविधान निर्माण, लोकतन्त्र र विभाजनविरुद्धका सडयन्त्रलाई रोक्नुपर्ने बताउनुभयो । अहिलेको मुख्य काम संविधान निर्माण भएको भन्दै ओलीले सबै नेपाली नेपालीबीच समान व्यवहार हुनुपर्ने बताउनुभयो । ‘आजको मुख्य सन्दर्भ भनेको संविधान निर्माण हो । विना संविधान निर्माण, विना लोकतन्त्र हामी अघि बढ्नै सक्दैनौं’ ओलीले भन्नुभयो, ‘अहिले विभिन्न ढंगले देशलाई विभाजन गर्न खोजिएको छ, नेपाली नेपालीबीच विभाजन ल्याउन खोजिएको छ । त्यसलाई रोकेर सबैलाई समान अधिकार, अवसर, सुरक्षा र सम्मान हुनुपर्छ र त्यसैका आधारमा राष्ट्रिय एकता हुनुपर्छ ।’
यस्तै एमाले बरिष्ट नेता माधबकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि सहकार्य र सहमति आवश्यक रहेको बताउनभुयो । ‘लोकतन्त्रको सन्दर्भमा हामी जनताको सार्वभौम अधिकारका विषयमा हामी कसैसँग सम्झौता गर्नेछैनौं ।’ नेता नेपालले भन्नुभयो, ‘लोकतन्त्रका विश्वव्यापी मान्यताका आधारमा हामी द्विविधामा रहने छैनौं । लोकतन्त्रको खम्बाको रुपमा हामीले आफूलाई उभ्याउनुपर्छ ।’
एमाले उपाध्यक्ष बामदेव गौतमले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने र देशलाई विकासको बाटोमा हिंडाउने मुख्य चुनौती भएको बताउनुभयो । समाजवादमा पुग्ने बाटो हिंसात्मक हुन नसक्ने उहाँको भनाइ छ ।
‘अबको एक्काइसौं शताब्दमा समाजवादमा पुग्ने बाटो युद्ध हुन सक्दैन भनेर नै हामीले समाजवाद निर्माणको नयाँ बाटो रोजेका हौं’ गौतमले भन्नुभयो, ‘लोकतान्त्रिक पद्धतिमा हामी जनताबाट निर्वाचित भएर समाजवादमा पुग्न चाहनछौं ।’
पार्टीको नेतृत्व हत्याउन जे पनि गर्ने कुरा मान्य नहुने उहाँको भनाइ छ । ‘प्रतिष्पर्धा अनिवार्य विषय हो, यो पार्टी भित्र पनि हुन्छ,’ गौतमले भन्नुभयो, ‘तर नेकपा एमालेको नेतृत्वमा आफूलाई स्थापित गर्ने नाममा नेताहरुबाट त्यस्तो व्यवहार हुनु भएन । जनताको बहुदलीय जनवादले जहाँ पनि लड्नै पर्छ भन्दैन ।’
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कात्तिक महिनाभित्र संविधान लेख्न सभासदलाई निर्देशन दिनुपर्ने बताउनुभयो । ‘महाधिवेशन सम्पन्न भएपछि हाम्रो प्राथमिकता केही बन्नु हुँदैन,’ नेम्वाङले भन्नुभयो, ‘नेकपा एमालेले आफ्नो सभासदलाई भन्नुपर्छ, माघ ८ गते भित्रमा संविधान बन्नुपर्छ ।’
कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रको मिलनबिन्दुमा सवै एक हुनुपर्ने भन्दै अब पार्टीका आ आफ्ना अडान छोडेर देशको स्वार्थका लागि एक हुनुपर्ने बताउनुभयो । अझैपनि आफुमाथिको कार्यभार पुरा गर्न नसके आफुहरुको पुस्ता नै असफल हुने खतरा रहेको पौडेलको भनाइ छ ।
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीले संविधान निर्माणलाई साझा एजेण्डा बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टीलाई बाहिर राखेर संविधान नबनाउन चेतावनी दिनुभयो । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेता र विदेशी पाहुनाहरुले पनि सफलताको शुसभकामना दिएका थिए ।
महाधिवेशनको लागि २ हजार २ सय १४ जना प्रतिनिधि चयन भइसकेका छन् भने विधान अनुसार १ सय ११ जनाको मनोनयन पनि विहीबार नै गरिने एमालेले जनाएको छ ।
तर उद्घाटनस्थलमा जान नपाएको भनेर आक्रोशित भएका कार्यकर्ताले बाहिर नाराबाजी गरेका छन् । एक हप्तासम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले प्यानल सहित उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ ।

मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्व तहले पार्टीको नवौं महाधिवेशन सबै हिसाबले नेपालकै नमुना अधिवेशनका रुपमा स्थापित गर्ने दाबी गर्दै आएका थिए। पार्टीको महाधिवेशनको उद्घाटन आधुनिक प्रविधिको प्रयोगका हिसावले अत्यन्त नौलो र व्यवस्थित कार्यक्रम बनाउने लक्ष्य पनि व्यवस्थापन समितिले राखेको थियो। जसअनुसार महाधिवेशनमा सूचना प्रविधिको प्रयोग मार्फत पार्टी नेताहरु, प्रतिनिधि, आमन्त्रित पाहुनाका साथै संचारकर्मीलाई उच्च प्रविधीयुक्त डिजिटल पासको आधारमा मात्र कार्यक्रमस्थलमा प्रवेश दिने व्यवस्था मिलाइएको थियो। कार्यक्रमको बारेमा हेर्न चाहने पार्टी शुभचिन्तक, समर्थक र कार्यकर्तालाई पनि प्रविधिकै सहयोगमा राष्टिय सभागृह र त्यसबाहिर विभिन्न स्थानमा स्त्रि्कनमार्फतमात्र नभइ युटुवमार्फत पनि प्रत्येक्ष प्रसारण गर्ने योजना बनाएको थियो। तर, प्रविधीको व्यवस्थापनका लागि खटिएका प्राविधिकहरुले सोचे अनुसारको काम गरी प्रविधिको पूर्ण प्रयोग गर्न नसक्दा कार्यक्रमस्थल भित्र उद्घाटनमा मात्र कमजोरी देखिएन। बाहिर कार्यकर्ताको लागि राखिएका डिजीटल स्क्रिनले पनि कुनै काम गर्न सकेन। कार्यक्रमस्थल वरपर जम्मा भएको भीडले कार्यक्रमको बारेमा कुनै जानकारी नपाएपछि जवरजस्ती भित्र प्रवेश गर्न खोज्दा एमालेको महाधिवेशन उद्घाटन नमूना त बन्यो। तर गलत नमूना। पार्टीको कार्यक्रममा सहभागी हुन आएका कार्यकर्ता प्रत्येक ४ वर्षमा आउने पार्टीको कुम्भ मेलामाभन्दा पनि विगतका आन्दोलनमा शासक अधिकार माग गर्दै सडकमा भिडेजस्तै गरी सुरक्षाकर्मीसँग झडप गर्न तल्लिन भए। कार्यक्रमस्थलमा प्रवेश नपाएका कार्यकर्ताले नै कार्यक्रम भाड्न विरोधी दलका भिजीलेन्तेको शैलीमा पार्टीको तर्फबाट कार्यक्रमस्थल बाहिर प्रदर्शनीमार्गमा राखिएका तुल, व्यानर र माइकसमेत तोडफोड गरी ध्वंश गरे। जसले गर्दा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले आन्दोलनकारीलाई दमन गर्ने शैलीमा धरपकड र लाठिचार्ज समेत गर्नु पर्यो। एमाले कार्यकर्ता र प्रहरीको झडपले प्रर्दशनीमार्ग मात्रै नभएर रत्नपार्क वरपरसमेत रणभूमि जस्तो बन्यो। जसका कारण रत्नपार्क रुट भएर चल्ने सार्वजनिक र निजी सवारी साधनको आवागमन समेत प्रभावित हुन पुगेको थियो। अपरान्ह २ बजेबाट उद्घाटन कार्यक्रम भित्र शुरु भएपनि बाहिर कार्यकर्ताले हुलदंगा गरिरहँदा पार्टीको नेतृत्वले उनीहरुलाई शान्त पार्ने पहल समेत गर्न सकेन। यसबारेमा पार्टीको प्रतिक्रिया माग्दा उद्घाटन कार्यक्रमपछि एमाले नेता रघुजी पन्तले सेतोपाटीसँग भने, 'आज कार्यक्रमस्थल बाहिर जे भयो त्यो अत्यन्त दुःखद भयो। यो जसले गरेको भएपनि यस्तो क्रियाकलाप एमालेका इमान्दार कार्यकर्ताले कदापि गर्न सक्दैनन।' कार्यक्रममा आमन्त्रीत गरिएका विदेशी पाहुनामाथि समेत भएका हातपात र आक्रमणको प्रति पनि पन्तले भर्त्सना गर्दै त्यसलाई दुःखद घटना भएको भन्दै यसले एमालेका इमान्दार कार्यकर्ताको भावनामाथि नै चोट पुर्‍याएको बताए।
भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि काठमाडौंको भृकुटीमण्डपमा आक्रमण भएको छ । एमाले महाधिवेशनमा सहभागी भएर बाहिर निकस्ने क्रममा उनीमाथि केही उत्श्रृखल समूहले आक्रमण गरेको एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिए ।उनीमाथि पानीको बोत्तल प्रहार भएको प्रहरीले जनाएको छ । एमालेले उनीमाथि आक्रमण भएको भन्दै खेद ब्यक्त गरेको छ । एमालेले आक्रमण गर्नेमाथि कडाभन्दा कारबाहीको माग गरेको छ । आक्रमणबाट जोलीलाई चोट लागेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक