20140720

सडक यातायात अवरुद्ध, अविरल बर्षाका कारण बाढी र पहिरोमा परी सुदूरपश्चिममा ८ जनाको ज्यान गयो, दार्चुला सदरमुकाम खलंगामा फेरि पोहोरको जस्तै दुर्दशा दोहरिने आशंका

बर्षाका कारण बाढी र पहिरोमा परी सुदूरपश्चिममा ८ जनाको ज्यान गएको छ। कैलालीमा लगातार वर्षापछि खोलामा आएको बाढीले आइतबार एक जनाको मृत्युभएको छ। कैलाली रामशिखरझाला–२ बस्ने ५० वर्षीय वीरबहादुर रावतको स्थानीय राजघाट खोलाले बगाएर आइतबार बिहान मृत्यु भएको कैलालीका प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए। घाँस काट्न जाँदा खोला तर्ने बेला आएको बाढीले उनलाई बगाएको थियो। बगाएको
ठाउँ भन्दा ३ सय मिटर तल शव फेला परेको जोशीले बताए। चार दिनदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिममा ८ जनाको ज्यान गएकोे क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले बताए। उनका अनुसार बैतडीमा २, डडेल्धुरामा १, डोटीमा २, कैलाली १ र कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ। महाकाली नदीमा पानीको बहाव बढेर उच्च जोखिममा परेको दोधारामा निरीक्षणका लागि डिआइजी चन्द आइतबार पुगेका थिए। ‘क्षतिको विवरण संकलन भइरहेको छ। महाकालीको बहाव बढेर उच्च जोखिममा रहेको दोधाराबाट भर्खर फर्कँदैछु,’ उनले भने, ‘त्यहाँ उच्च सर्तकता अपनाएका छौं।’ डडेल्धुरा शीर्ष गाविस ५ मकैलका ४० वर्षीय पदमबहादुर बिष्टको शनिबार बाढीले बगाउँदा ज्यान गएको थियो। उनको शव पाँच सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ। डोटीमा दिपायल सिलगढी–६ का ४५ वर्षीय हर्कबहादुर भण्डारी आइतबार सेती नदीमा बगेका छन्। पिपल्ला बजारबाट घरतर्फ जाने बेला उनी नदीमा बगेको प्रहरीले जनाएको छ। शनिबारै डोटीमा तोलेनी गाविसकी २० वर्षीया चन्द्रा साउदको भीरमा घाँस काट्ने बेला पानी पर्दा चिप्लेर लडी ज्यान गएको छ। यसअघि शुक्रबार बैतडीमा घर भत्किएर उदयदेव–७ का ७० वर्षीय आनसिंह महता र उनकी श्रीमती ६४ वर्षिया सुनादेवी महताको ज्यान गएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाकी ४५ वर्षीय तुलसीदेवी पन्त दाउरा निकाल्न खोज्दा शनिबार महाकाली नदीमा डुबेर बेपत्ता भएकी छन्। सोही नगरपालिका वडा नम्बर २ भासीका २५ वर्षीय अमर धामीको आइतबार खोलामा बगेर ज्यान गएको छ।
चार दिनको अबिरल बर्षाका कारण महाकालीमा आएको अत्यधिक बाढी गाउँ पसेपछि जोगबुढा गाविस तातापानीमा एक दर्जन भन्दा बढी घर बगेका छन्। भने ५० परिवार बिस्थापित भएका छन् । बाढीले जोगबुढा –३ तातापानीका राजेन्द्र बहादुर सिंह , गोबिन्द जाग्री , जंग बहादुर जाग्री , रामदत्त अबस्थी, धनीदत्त अबस्थी , अकवर घरेडी र खेमराज पन्त लगायत एकदर्जन घर बगाएको तातापानी प्रहरी चौकीले जनाएको छ। शीर्ष–९ केसी नाथ लगायतका दर्जन बढीको घर बगाएको छ। 'अहिलेसम्म एक दर्जन परिवार सुरक्षित स्थानमा राखिएका छन्।' नागरिक वडा मञ्चका संयोजक रमेश पनेरुले भने, 'छेलागाउँदेखि तातापानी गाउँसम्म रहेको मोहडाबाट महाकाली नदी गाउँ छिरेपछि ठूलो संख्यामा स्थानीयहरुले घर छोडेका छन्।' जोगबुढामा रहेको ईलाका प्रहरी कार्यालय र नेपाली सेनाको बेशक्याम्प समेत बिस्थापित भएका छन्। नेपाली सेना स्थानीय सामुदायिक वनको भवनमा बसेका छन् । महाकाली नदीले तातापानी १० घर बगाएको छ भने शिर्ष–९ घट्टेबगरमा १५ घर बगाएको स्थानीय केसी नाथले बताए । तातापनीका बिस्थापितहरु पुरानो प्रहरी चौकीको भवनमा बसीरहेका छन् । 'महाकालीले लगातारा कटानी गरीरहेको छ ।' पनेरुले भने,' यसरी कटान हुने हो भने रातभरी तातापानी गाउँ पुरै सखाप हुन्छ ।' सो गाउँका ५० परिवारलाई सुरक्षीत स्थानमा सार्ने तयारी भइरहेको छ । तातापानी क्षेत्रमा एकैरातामा ४० रोपनी जमिन कटान गरेको स्थानीयले बताए । अझै कटान भईरहेका कारण कुनै बेलापनि स्थानीय बिस्थापित हुन सक्ने प्रहरीले जनाएको छ । उता शिर्ष गाबिसको परिगाउँमा १५ परिवार बिस्थापित भएका छन् । महाकाली र रंगुन नदीले कटान जारी राखेका कारण स्थानीय बिस्थापित हुने क्रम बढेको छ । मान्छे , चौपाया र खाद्य सामग्री बोकेर प्रहरीले उद्धार गरीरहेको छ । प्रहरीका अनुसार तातापानी गाउं संगै जोडीएको सीसमझाला गाउंका एक दर्जन परिवार गाउँलेले उद्धार गरी सांदनीगाउँ पुगाएको छ । 'पानी धेरै भएका भएका कारण कुनै क्षेत्रमा पनि उद्धार गर्न जान नसकिएको प्रहरीले जनाएको छ । सिसमझाला गाउँको एकातिरवाट महाकाली र अर्कोतिर बाट सांदनी खोला पसेपछि स्थानीय र प्रहरीले उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक केशब बोहराले बताए । महाकाली र सांदनी खोलाको बाढीले तातापानी र सिसमझालाई बिचमा पारेपछि प्रहरीले उद्धार गरेको हो । सिसमझाला, तातापानी , छेला र बण्ड, कुणागाउं पुरै जोखीममा रहेका छन् प्रहरी निरिक्षक बाहेराले भने ' कुनै पनि बेला हुन सक्ने सम्भाबित खतरालाई ध्यानमा राखी त्यो क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।' महाकाली नदीको कटानका कारण प्रसिद्ध धार्मिक स्थल परशुराम मन्दिर पनि डुवानमा परेको छ । परिगाउँमा रहेको परशुराम प्राथमिक बिद्यालयमा समेत महाकालीको पानी पसेपछि पढाई प्रभावित भएको स्थानीय हिक्मत सिंहले बताए । बाढी प्रभावित क्षेत्रमा स्थानीय र प्रहरीको रात्री टोली समेत खटिएको स्थानीय गणेशबहादुर सिंहले बताए । रंगुन र महाकाली किनाराका सबै गाउंलेहरुले गाउँ छोडीसकेका छन् , पन्तुरा र सांदनी खोलामा समेत बाढीको चाप बढ्दै गएपछि ठूलो संख्यामा स्थानीयहरु बिचल्लीमा परेका छन् ' । रंगुन नदी, महाकाली नदीमा अहिले सम्म पानीको उच्च बहाव रहेको स्थानीयले बताए । रंगुन नदीले यस बर्ष आलीतालको स्यालचौडी , घुम्ती बजार ,मौरी , जोगबुढाको कैनपानी , रज्यौडा क्षेत्र , लालढुंगा बजारको प्रहरी सेना रहेको क्षेत्र , सरकुंणा, ठण्डझाला , कुणा , तातापानी , छेला , सीसमझाला, भोरकुण्डा लगायतका गाउंहरु बिस्थापीत बनेको स्थानीय प्रहरी चौकीहरुले जनाएका छन् ।
चार दिनदेखिको अविरल वर्षाले शनिवार बिहानदेखि महाकाली नदीको बहाव बढेसँगै दार्चुला सदरमुकाम खलंगा फेरि पोहोरको जस्तै दुर्दशा दोहरिने आशंकामा त्रसित छ। समाचार सार सडक तथा बाटोघाटो अवरुद्ध, सीमा नाका बन्द रहँदा सदरमुकामबासीमा उकुसमुकुस आइतबार बिहानदेखि नदीको जलस्तर स्थिर छ। नदीको बहाव अहिलेसम्म आफ्नै धारमा रहे पनि बाढीको त्रास कम भएको छैन। नदीले अपी नगरपालिको वडा नं. ११ बंगाबगड क्षेत्र जोड्ने पैदल बाटो बन्द भएको छ। बंगाबगडलाई बजारसँग जोड्न सडक कार्यालयले नदी किनारमा अस्थायी बाटो निर्माण गरे पनि नदीको बहाब बढेपछि बाटोमाथि महाकाली नदी बगिरहेको छ। बंगाबगड क्षैत्रमा एक सय मिटरको बाटोको लागी दुई किलोमिटर उकालो घुमेर आउजाउ भइरहेको छ। वर्षा नरोकिएकाले नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने हुँदा स्थानीयमा छाएको चिन्ता कम हुन सकेको छैन। पानी पर्न नरोएकाले महाकाली नदी किनार नजिक घर भएकाहरू वासस्थान छाडी सुरक्षित स्थानतर्फ सरिसकेका छन्। ‘पोहोरको दुर्दशा देखिसकेकाले यसपालि समयमै सुरक्षित स्थानतर्फ सरिसकेका छौं,' घाटबजारका हरकसिंह ठगुन्नाले भने, ‘हिजोदेखि घर छोडिसक्यौं।' महाकाली किनारका होटलमा रहेका ग्राहकहरुसमेत होटल छोडी अन्यत्रै सरेका छन्। सधैं भरिभराउ रहने होटल दुई दिनदेखि खालि रहेको पसरौल गेस्ट हाउसका सञ्चालक पानसिंह बोहराले बताए। पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा नदीले जुनसुकै बेला कटान गर्नसक्ने भएकाले रातमा पालैपालो गरी सुत्नुपरेको स्थानीय हंशराज भट्टले बताए। सडक अवरुद्ध लगातारको वर्षाले जिल्लामा यातायात सेवासमेत ठप्प भएको छ। महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडक खण्डको तीन–चार ठाउँमा पहिरो तथा महाकालीको कटानले बाटो पूर्णरुपमा अवरुद्ध भएको छ। ग्वानी, शंकरपुरको तथा धामीगाडा, भगवतीको भर्तोला र धापको असिगाडामा सडक अवरुद्ध हुँदा मूल सडकसँग सम्बन्धविच्छेद भएको छ। त्यसैगरी खलंगा दल्लेख सडकसमेत पहिरोले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला सदरमुकामबाट तीन दिनदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्। यातायातका साधन जिल्ला भित्रिन नसक्दा दैनिक उपभोग्य वस्तुको अभावसमेत हुनसक्ने अवस्था आएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरो आउन सक्ने भन्दै स्थानीय प्रशासन, रेडक्रसलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहेको जिल्ला प्रशासनले जनाएको छ। सुरक्षा निकाय तथा जिल्लास्थित सबै स्थानमा रहेका प्रहरी युनिटलाई पानी पर्न नरोकिएकाले उद्धारका लागि तयारी अवस्था रहन निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताए। यसैबीच भारतमा सोमबार हुने विधानसभा उपचुनावका लागि नेपालसँग जोडिएका सीमा नाका ४८ घन्टाका लागि बन्द गरिएको छ। उपचुनावका लागि शनिबार साँझ ६ बजेबाट सोमबार साँझ ६ बजेसम्म सीमा नाका बन्द गरिएको हो। भारतसँग जोडिएका प्रमुख दुई नाका सदरमुकाम खलंगा र दत्तुमा ४८ घन्टाका लागि झोलुंगे पुल बन्द गरिएपछि उकुसमुस थपिएको छ। दुई दिनसम्म सीमा नाका बन्द रहँदा स्थानीयको जनजीवनमा समेत प्रभाव परेको छ। नेपालतर्फ सडक यातायात अवरुद्ध रहेकाले दार्चुलाबासीले भारतीय बजार सडक मार्ग प्रयोग गर्दै आएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक