(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140801

माओवादी र त्यसको नेतृत्वकर्ता बाबुराम भट्टराईलाई लाज लाग्नुपर्ने हो !

- राजकुमार श्रेष्ठ
 एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईकी एकमात्र सन्तान मानुषी भट्टराई पीएचडी गर्नका लागि बिहीबार भारतको नयाँ दिल्ली पुगेकी छिन् । उनका लागि चाँजोपाँचो मिलाउन बाबुराम पत्नी अर्थात एमाओवादी नेतृ हिसिला यमी पनि उतै लागिन् । खुसीको कुरा हो, मानुषीले पीएचडी गर्नु । मानुषी जस्ता थुप्रै युवाहरुले पीएचडी गरुन । यही देशमा फर्किउन । अनि राष्ट्रका लागि केही गरुन । तर, मानुषी र अरु नेपाली युवायुवतीमा फरक छ । फरक यसअर्थमा कि मानुषी ती बाबुआमाकी छोरी हुन, जसले आफ्ना छोरीलाई
जस्तो जनताको छोराछोरीलाई कलमकापी लिन सिकाएनन् । बरु, ब्रुर्जवा शिक्षाका नाममा विद्यार्थीलाई अपहरण गरी सभा सम्मेलनमा लगे । बन्दुक बोकाउन सिकाए । कलमको निपबाट होइन, बन्दुकको नालबाट नै सत्ता प्राप्त हुन्छ भनेर सिकाए । २०५२ सालमा सशस्त्र युद्ध सुरु गर्दा नै तत्कालिन नेकपा माओवादीले नेपालको शिक्षा नीति केवल वुर्जवा मात्र भएको र यो शिक्षा प्रणालीले नेपालका परिवर्तनमा कुनै पनि भुमिका खेल्न नसक्ने उद्घोष गरेको थियो । शिक्षा नीति नै वुर्जवा र परिवर्तन बाधक भन्दै शिक्षाको मन्दिरहरु पाठशालामा भौतिक क्षति पुर्याएर सरकारको सम्पतिको ध्वंस पारेको तत्कालिन नेकपा माओवादी र त्यसको नेतृत्वकर्ता बाबुराम भट्टराईलाई त आज लाज लाग्नुपर्ने हो । कि उनले माफी माग्नुपर्ने, हिजो उनले लिएको बाटो गलत थियो भनेर । कि त भन्नुप¥यो– गणतन्त्र भनेको ‘मानुषी’हरुका लागि मात्रै हो भनेर । तस्वीरमा मानुषीको जुन हर्षको हाँसो देखिन्छ, त्यसमा त उनको केही गल्ती छैन । तर, उनका पिता बाबुरामलाई भने पीडाबोध हुनुपर्ने हो । हजारौं गरिब स्कुले छात्रछात्रालाई जबर्जस्ती र कसैलाई समृद्ध नेपालको रंगीन सपना बाँडेर सशस्त्र युद्धमा होम्दा बाबुरामले आफ्नो छोरीको पढाईमा भने कहिल्यै अवरोध सिर्जना गरेनन् । बाबुराम र हिसिला छोरीको यो प्रगतिमा सन्तुष्टिको हाँसो हाँसिरहँदा ती हजारौं आमाबाबुहरु अहिले पनि गहभरि आँशु लिएर मझेरीमा टोलाइरहेका छन् । किनकी युद्धमा मानुषी जस्ता थुप्रै होनाहार किशोर किशोरी मारिए, थुप्रै अंगभंग भए, थुप्रै बेपत्ता छन् । र, थुप्रै पढ्न नपाएर अहिले भीख मागेर हिँड्नुपर्ने अबस्थामा पुगेका छन् । तर, तिनैलाई रंगीन सपना देखाउने बाबुराम छोरीको सन्तुष्टिमा मात्रै मख्ख छन् । समयले बाबुरामलाई यसरी फिका र नांगेझार बनाइदिएको छ कि दिनदिन उनको कद उचो होइन, घट्दो छ । जनताको छोराछोरीलाई परिवर्तनको सपना बाँडेर शिक्षाबाट वञ्चित गर्दै शसस्त्र युद्धमा होमेका वावुरामको यो व्यवहारले नै उनको सक्कली तस्वीर बोल्छ । दुःखको कुरा । मानुषी दिल्ली उडेकै दिन बाबुरामकै पार्टीको कालिकोट सदस्य गौरीकला विक घाँस काट्न जाँदा भीरबाट खसेर मरेको खबर आयो । संयोग नै मान्नुपर्छ युद्धका रचनाकार बाबुरामकी छोरी व्यक्तिगत जीवन सफल वनाउन महंगो शुल्कमा शिक्षाका लागि लम्किरहँदा परिवर्तनको आशमा वन्दुकका नालमा जीवन लगाउने उही गौरिकला विक भने गाँउको भीरपखेरामै थिइन् । न त बाबुरामले देखाएको क्रान्तिले देश चल्यो, न त गौरीकलाको घर । जब राजनीतिक लेपन बुझिन, गौरीकला युद्धको रंगीन सपनाबाट घाँसदाउराका पुरानै दैनिकीमा फर्किइन् । तर, घाँस दाउरा लिन जाँदा उनी भीरवाट लडेर मरिन् । हुन पनि शिक्षा, परिवार र सम्पूर्ण जिन्दगी पार्टीलाई नै त्याग दिएका गौरीकलाहरुको जिन्दगी गणतन्त्रपछि फेरिएन । लाभ पाए त केवल मानुषीहरुले । अझ रोचक के छ भने भूमिगत हुँदा भारतमै सेल्टर लिएर बसेको माओवादीले भारतसँगै सुरु युद्ध लड्ने ध्वाँस दिन्थ्यो । अहिले त भारतसँग युद्ध लड्ने होइन्, को नजिक हुने भन्ने प्रतिस्पर्धा छ एमाओवादीमा । त्यही भारत जसलाई एमाओवादीले दुष्मन ठान्थ्यो, आज त्यही पार्टीका एक वरिष्ठ नेताकी छोरी भारतकै शिक्षा लिन गइन्, त्यो एमाओवादी भित्र बहसको विषय बन्छ कि बन्दैन ? त्रिभुवन विश्वविद्यालयकी स्ववियु सचिव समेत रहेकी मानुषी यहीँ पनि पीएचडी गर्न सक्थिन् नि । किन बाबुको पाइला पछ्याउँदै भारतमै पुग्नुप¥यो त ? हजारौँ नेपाली जनतालाई जर्बजस्ती युद्धको अग्रभागमा होमेर आफू सँधै सुरक्षित बन्दै भारतमा नै बसेर जनता र देश परिवर्तनका कुतर्कका नाममा रगतको खोलो वगाएको केका लागि रहेछ भन्ने अहिले पुष्टि अहिले हुँदैछ । त्यो शसस्त्र आन्दोलन राष्ट्रियता रक्षाका लागि होइन् । भारतलाई रिझाएर आजन्म सरकारमा नै टिकिराख्ने अनि व्यक्तिगत मोजमस्तीका लागि गरिएको खेल मात्र थियो भन्न अब कसैले पनि धक मान्नुपर्देन । गाउँका सोझा साझा जनतालाई आश, त्रास र अवसरको खोक्रो खोल देखाएर सत्ता र सरकार संचालन गर्दा समेत आफ्नै स्वार्थता, पारिवारिक अवसरवादलाई प्रशय दिएर देश र जनताको विश्वासमा कुठाराघात गरेका छन्, बाबुरामहरुले । जनयुद्धको त्यो उत्कर्षमा क बाट कमरेड, प बाट प्रचण्ड, ब बाट वन्दुक, ज बाट जनसरकार भनि प्रचण्डका फोटो टाँसेर पुस्तक प्रकाशन गरी जनयुद्ध पढाएका प्रचण्ड र वावुराम जति चाँडै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा वाहवाहीको पात्रका रुपमा दर्ज भएको थिए, त्यसैगरी त्यो भन्दा तीव्र गतिका साथ स्वखलित समेत बने । देश र जनताको नाम भजाएर अकृत सम्पति आर्जन गर्दै बिलासी जीवन व्यतित गर्दा हिजो जनतासँग गरेका वाचा कसमले प्रचण्ड र बाबुरामलाई कहिले पोल्ला ? आफनो छोरीको सफल भविष्यका कल्पना गर्ने बावुराम अझै क्रान्तिको सपना बाँड्छन् । नयाँ शक्ति बनाउने भन्छन् । बरु केही बाँकी होला, प्रचण्डसँग । बाबुरामले त गर्न बाँकी केही पनि राखेनन् । हत्यारा बालकृष्ण ढुंगेललाई चोख्याउनेदेखि संविधानसभा विघटनसम्म उनकै कार्यकालमा भएका हुन् । अनि सत्ता टिकाउन अपवित्र गठबन्धन बनाइ सत्ताको दुरुपयोग गर्ने बाबुराम नै हुन् । देश र जनताको सपनाको हत्या गरेर अब बाबुरामले कस्तो शक्ति बनाउन खोजेका हुन ? त्यसैले त उनी आज घर न घाटका छन् । न पार्टीमा राम्रोसँग टिक्न सकेका छन्, न जनताका माझमा बिक्न सकेका छन् । (लेखक तनहुँका पत्रकार हुन् ।)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक