20141111

नेपाल र नेपालीका लागि अर्को एउटा दु:खद खबर : एमाओबादी बाट अलग भएको बैद्य माओवादी पनि बिभाजन हुँदै, शान्ती र संबिधान फेरी पनि अलपत्र, फेरी हत्या हिँसा को त्रास बढ्दै !

अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले भने भेलालाई पार्टीविरोधी गतिविधि भन्दै रोक्न निर्देशन 
नेकपा-माओवादी पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेका नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय भेला बोलाएका छन् । भेलासँगै नेकपा-माओवादी बुधबारदेखि औपचारिक रुपमै विभाजित हुने संकेत देखिएको छ । तर, अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले भने भेलालाई पार्टीविरोधी गतिविधि भन्दै रोक्न निर्देशन दिएका छन् । पार्टीको पोलिटब्यूरो बैठकले कात्तिक २९ गते केन्द्रीय समितिको बैठक डाकेको छ भने मंसिर ६ गते विस्तारित बैठक बोलाएको छ । भूमिगत विद्रोहको तयारीमा रहेका सचिव विप्लवले बुधबार र विहीबार दुई दिने राष्ट्रिय भेला बोलाएका छन् । भेला राजधानी बाहिर भूमिगतरुपमा हुने भएकाले स्थान गोप्य राखिएको एक नेताले बताए । भेलामा पोलिटब्यूरो एवं त्योभन्दा माथिल्लो तहबाट विप्लव र पूर्वमन्त्री खड्गबहादुर बिकमात्रै सहभागी हुने छन् । पूर्व लडाकू सहकमाण्डर दिपक चलाउने, अनिल शर्मा विरहीसहितका नेताहरु विप्लवका पक्षमा छन् । तर, विप्लवको पक्षमा लाग्ने केन्द्रीय नेताहरु विरलै रहेको स्रोतले बतायो । विप्लव निकट मानिएका मजदुर नेता रामदीप आचार्य पनि विप्लवको पक्षमा नलागेको स्रोतले अनलाइनखबरलाई बतायो । राष्ट्रिय भेलामार्फत् अलग पार्टी गठन गरी भूमिगत छापामार संघर्ष सुरु गर्ने
विप्लवको योजना छ । सुरुमा भ्रष्टाचारीमाथि भौतिक कारवाही गरिने बताइएको छ । रामबहादुर थापा बादलको निवासअगाडि नयाँ जनवादी क्रान्ति जिन्दावाद नारा लेखेर विप्लव समूहले विद्रोहको आह्वान गरेको थियो ।
  विप्लव समूहले बहिस्कार गरेको बैद्य माओवादीको पोलिटब्यूरो बैठकले चन्दलाई पार्टीविरोधी गतिविधि गरेको आरोप लगाएका छन् । बैठकपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेला रोक्न निर्देशन दिएका छन् । विज्ञप्तिमा भनिएको छन्-‘केही जिम्मेवार कमरेडहरुबाट पार्टी पद्दति विपरीत अलग ढङ्गले गतिविधि गरिरहेकाले उक्त गतिविधिहरु तत्काल बन्द गरी पार्टीलाई एकतावद्ध तुल्याउन निर्देशन दिने ।’ बैद्य पक्षको बैठकले आगामी मंसिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेत सहभागी हुन पाउनेछन् । माओवादीको पोलिटब्यूरो बैठकले मंसिर ४ गते संविधानसभा विघटनको माग गर्दै प्रदशन गर्ने निर्णयसमेत गरेको छ ।
बुधबारदेखि छुट्टै भेलाको आयोजना गरेको विप्लव समूहका लागि २९ गते बस्ने केन्द्रीय समितिको बैठकले नैतिक दबाव पुगेको छ । मंसिर ६ गते विस्तारित बैठक बोलाइएपछि विप्लव समूहले अब पार्टी विभाजनको घोषणा गर्छ या केन्द्रीय समितिको बैठकमा सहभागिता जनाउँछ भन्ने प्रश्न पैदा भएको छ । तर, पोलिटब्यूरो बैठकले विप्लवलाई भेला रोक्न निर्देशन दिए पनि देशैभरिबाट कार्यकर्ताहरु राष्ट्रिय भेलाका लागि एकीकृत भइसकेका छन् । मंगलबार नाइट बस चढेर कार्यकर्ताहरु भेला स्थलतर्फ लागिसकेकाले बुधबारदेखि हुने विप्लव पक्षको भेला रोकिने संकेत देखिएको छैन । विप्लवको भेलामा हिँडेका एक कार्यकर्ताले भने- ‘हामी भेलाका लागि नाइट बस चढिसक्यौं, त्यसैले अब रोकिन्छ कि के हुन्छ, भेलास्थलमै नपुगी थाहा हुन्न ।’
यसैवीच पूर्वलडाकू कमान्डरलाई समेत लिएर रोल्पाको भ्रमणमा निस्किएका एमाओवादी अध्इक्ष प्रचण्डले विप्लवको भन्दा क्रान्तिकारी कुरा गर्न थालेका छन् । आफूलाई फेरि एकपटक बंकरमा सुत्न मन लागेको प्रचण्डले बताएका छन् । रोल्पाका जनतालाई सोधेर विगतमा जनयुद्ध सुरु गरिएको भन्दै प्रचण्डले फेरि रोल्पाका जनताले जे भन्छन्, त्यही गर्ने अभिव्यक्ति दिएका छन् । सोमबार दाङ पुगेको प्रचण्डको टोली मंगलबार रोल्पा पुगेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक