20160208

Breaking News.......नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शुशील कोइरालाको दु:खद निधन !

नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शुशील कोइरालाको दु:खद निधन भएको छ । कोइरालाको हृदयघातका कारण निधन भएको पारिबारिक श्रोतले नेपाल मदर डट कमलाई फोनमा बताए पनि चिकित्सा प्रबिधी अनुसार उक्त कुराको पूस्टि हुन बाँकी छ । कोइरालाको मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री सिंहले जानकारी दिए । 
संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल कोइराला लामो समयदेखि जिब्रो र छातीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
उहाँ सोमबार काठमाडौं कांग्रेसको जिल्ला अधिवेशन उद्घाटन गर्न आउने कार्यक्रम भए पनि पछि आउन सक्नु भएको थिएन । उहाँले पछिल्लो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि संयुक्त राज्य अमेरिकामा नियमित स्वास्थ्य परीक्षण गरी फर्कनुभएको थियो । अमेरिकाको न्यूयोर्क्स्थित मेमोरिएल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उनको छाती, जिब्रो र घाँटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । उहाँका स्वकीय सचिव अतुल कोइरालाले सभापति कोइरालाको निधन भएको पुष्टि

गर्नुभएको छ ।
कोइराला व्यवस्थापिका संसद्बाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वा्चित हुनुभई २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो । कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा विराटनगरमा भएको जन्मनु भएको थियो ।
सुशील अविवाहित हुनुहुन्थ्यो र प्रधानमन्त्री भएपछि सम्पत्ति विवरण मोबाइल मात्रै भएको विवरण दिएर संसारकै गरिब प्रधानमन्त्रीमा चर्चा आउनुभएको थियो । पिता वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुग्नु भएको र त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमै भएको हो ।
उहाँ विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । वि. सं २०१७ मा प्रजातन्त्रको अपहरणपछि उहाँ १६ वर्षसम्म भारतमा  प्रवासमा रहँदा उहाँले नेपाली कांग्रेसको मुखपत्रतरुणको सम्पादन गर्नुभएको थियो । नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताउनु भएका कोइरालाले वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नु भएको थियो ।
उहाँले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रियरूपमा लाग्नुभएको थियो ।
बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गर्नुभएका कोइरालाले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गर्ने अवसर पाउनुभएको थियो ।
कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका छन् । पार्टीको एघारौँ महाधिवेशनपछि उहाँले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम सरकारी लाभको पदमा नहरनुभएका कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित हुनुहुन्थ्यो ।
उहाँलेले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।  उहाँले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गर्नुका साथै पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ बाँके जिल्लाबाट निर्वाचित हुनु भएको थियो ।
सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिनुभएको थियो । यसैगरी, कोइराला २०५८ सालमा भएको संसदीय दलको नेतामा भएको निर्वाचनमा पार्टीका वरिष्ठ नेता  शेरबहादुर देउबासँग पराजित हुनुभएको थियो ।
काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति निवर्जाचित कोइरालाले नेता देउवालाई पराजित गर्नुभएको थियो । कोइरालाले एक हजार ६५२ मत उहाँका निकट प्रतिद्वन्द्वी देउवाले एक हजार ३१७ मत पाउनु भएको थियो ।
पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक–पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गर्नु भएको थियो । लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा हनु भएका कोेइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास (भारत) मा बिताउनुभएको छ ।
२०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बन्नुभएको थियो ।
समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । कोइरालाले आफ्नो नेतृत्वमा पार्टी्भित्र मूल्य मान्यताको संस्कार सुरू गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर व्यवहारमा त्यसो गर्न नसक्नु भएको गुनासो पार्टी पंक्तिबाट बेला बेलामा आउने गरेको थियो ।
नारद

झलनाथ खनाल, पूर्व प्रधानमन्त्री: उहाँको निधनको दुखद खबर मैले राती सुने । त्यो खबरले म अत्यन्त मर्माहत भएँ । उहाँको नेपाली कांग्रेसको सभापति र पूर्व प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो । उहाँको कांग्रेसको शालीन र सादगी नेताको प्रतीकको रुपमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताले उहाँलाई उच्च सम्मान गर्दथे । त्यस्तो नेताको निधन देशको लोकतान्त्रिक आन्दोलनको निम्ति ठूलो क्षति हो । उहाँप्रति नेकपा (एमाले)को तर्फबाट र मेरोतर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।  नेपाल अहिले संविधान निर्माणमा कोइरालाको योगादान नेपालको इतिहासमा अविस्मरणीय रहने छ । उहाँले लोकतन्त्रका निम्ति लोकतन्त्र स्थापना र विकासका निम्ति उहाँले अत्यन्त ठूलो योगदान दिनुभएको छ ।

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस: सुशील कोइरालाले अत्यन्त निष्ठानवान्, त्यागी र लोकतन्त्रका लागि अठान लिने होनाहार नेता हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांगे्रस, नेपाली जनता र पार्टी पङ्क्ति मर्माहत भएको छ । सामान्य परिवारमा जन्मेर नेपाली कांग्रेसको पार्टी सभापति एवं प्रधानमन्त्रीसम्म बन्न सफल हुनु भएका कोइराला नेपाली जनताको हित र लोकतन्त्रलाई सबल बनाउन अविचलित रहनु भयो । प्रजातन्त्र, लोकतन्त्र स्थापना र संविधान निर्माणदेखि कार्यान्वयन गर्ने क्रममा उहाँले पु¥याएको योगदानलाई म उच्च सम्मान गर्दछु । उहाँको निधनमा शोकमा हरेका तमाम नेता तथा कार्यकर्तालाई धैर्य र संयम रहन अपिल गर्दछुृ ।

पुष्पकमल दाहाल प्रचण्ड: सुशील कोइरालाको निधनको खबर एउटा आकस्मिक खबर जस्तो भयो । म त धनकुटामा थिएँ । यसले हाम्रो पार्टी र मलाई स्तब्ध भएको छ । उहाँ लोकतान्त्रिक आन्दोलनको एउटा अथक योद्धाको रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँले पञ्चायतविरोधी आन्दोलनमा खेलेको भूमिका आम नेपाली जनतालाई प्रस्टरुपमा थाहा नै छ । पछिल्लो चरणमा संविधानसभामा संविधान बनाउने क्रममा ठूलो पार्टीको अध्यक्षको हैसियतमा स्मरणीय भूमिका खेल्नुभएको छ । राजनीति र देशकै समर्पित नेताको रुपमा उहाँले आफ्नो छवि बनाउनु भएको छ । उहाँको निधनले संविधान कार्यान्वयनको चरणमा ठूलो क्षति पु¥याएको छ । सबै राजनीतिक शक्तिको एकताको खाँचो रहेको बेलामा उहाँसँग कुरा हुँदा राष्ट्रिय एकता हामी सबै मिलेर नै संविधान कार्यान्वयन र भूकम्पपछिको पुननिर्माण गर्नुपर्छ भन्नेमा उहाँले एकताबद्ध भएर जानुपर्छ भनेर मलाई भन्नुभएको थियो । उहाँको निधनले यस प्रक्रियामा ठूलो क्षति पुगेको छ । 
स्वर्गीय कोइराला प्रति नेपाल मदर डट कम परिवार हार्दिक श्रध्दान्जली ब्यक्त गर्दछ ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक