20160404

फेरी फूट्यो एमाओबादी: एमाओवादी परित्याग गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’को नेतृत्वमा कम्युनिस्ट न्युक्लियस नेपाल नामक नयाँ पार्टी घोषणा

- नरेन्द्र केसी, घोराही, दाङ
एकीकृत नेकपा माओवादी परित्याग गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’को नेतृत्वमा कम्युनिस्ट न्युक्लियस नेपाल नामक नयाँ पार्टी घोषणा गरिएको छ। दाङको घोराहीमा पत्रकार सम्मेलन गरी सो पार्टी घोषणा गरिएको हो। जसको केन्द्रीय संयोजकमा ओली आफैं रहनुभएको छ भने सदस्यहरूमा विकास शर्मा (पश्चिमाञ्चल), डा. ऋषिराज बराल (पूर्वाञ्चल), रेशम पुन (मध्यपश्चिमाञ्चल), विमर्श शर्मा (सुदूरपश्चिमाञ्चल), शेरकुमार खड्का ‘गति’ (मध्यपश्चिमाञ्चल), मनप्रसाद श्रेष्ठ ‘शिशिर’ (मध्यपश्चिमाञ्चल), तीर्थ ओली (मध्यपश्चिमाञ्चल) र धनबहादुर ओली ‘सौरभ’ (मध्यपश्चिमाञ्चल) रहनुभएको छ। संयोजक ओली यसअघि एमाओवादीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो भने शर्मा र बराल माओवादीमा केन्द्रीय सदस्य बन्नुभएको थियो। बाँकी सदस्यहरू एमाओवादी पूर्व राज्य समिति सदस्यहरू हुन्। संयोजक ओली, मनप्रसाद श्रेष्ठ र शेरकुमार खड्का रुकुम निवासी हुनुहुन्छ भने रमेश पुन र तीर्थ ओली रोल्पा तथा धनबहादुर ओली सल्यान निवासी हुनुहुन्छ। पार्टीका तर्फबाट अन्य माओवादीहरूसँग ध्रुवीकरण प्रक्रिया अघि बढाउन संयोजक ओलीकै संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै संयोजक ओलीले एमाओवादीले सशस्त्र संघर्षको नीति त्यागेकाले सो पार्टी परित्याग गरेको बताउनुभयो। एमाओवादीसँग तत्काल वार्ता पनि हुने जानकारी दिँदै उहाँले मोहन वैद्य नेतृत्वको नेकपा
क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीसँग वार्ता प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो।
मोहन वैद्य दर्शनको गुरु भएको उल्लेख गर्दै उहाँले स्प्रिडका हिसाबले विप्लव माओवादी अगाडि भए पनि यो पार्टीमा वैचारिक पक्ष अपूरो रहेको टिप्पणी गर्नुभयो।
‘अहिलेका लागि हाम्रो विचार जोगाउनु मुख्य उद्देश्य हो, नयाँ कम्युनिष्ट आन्दोलन शुरु गरिने छ’, संयोजक ओलीले भन्नुभयो– ‘अन्य कार्यक्रमभन्दा विप्लवको एकीकृत जनक्रान्ति अलि वैज्ञानिक देखिन्छ तर यसमा अझै विश्वस्त भइसक्ने स्थिति छैन।’
क्रान्तिकारी कम्युनिष्ट पार्टी पुनर्निर्माण गर्ने, वैज्ञानिक समाजवादी क्रान्तिमा लाग्ने, मालेमावादी सिद्धान्तको थप अध्ययन गर्ने, सूचना भूमण्डलीकरणको नयाँ संश्लेषण गर्नेलगायतका उद्देश्यलाई यो पार्टीले अघि सारेको छ। कार्यक्रम संयोजक ओलीले विज्ञप्ति पढेर सुनाउनुभएको थियो भने विमर्श शर्माले थप व्याख्या गर्नुभएको थियो। कार्यक्रम सञ्चालन रेशम पुनले गर्नुभएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक