20161215

‘हाम्रा नेताहरू जनमतसङ्ग्रहसँग डराउँछन्’




Deva Prakash Tripathi 2– देवप्रकाश त्रिपाठी
नर्वेमा मेरा एक मित्र छन् ट्रोन्ड बर्केदल, युवा राजनीतिकर्मी हुन्, उनी नेपाल आउन चाहन्छन्, तर अनेक बहानाबाजी गर्दै उनको नेपाल आगमनलाई पन्छाउँदै छु । चीनको एक विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक छेनको नेपाल आउने इच्छालाई पनि मैले पे्ररित गरिनँ, दुई वर्षदेखि छेनले नेपालको भ्रमणमा आउने इच्छा प्रकट गरेका छैनन् । आइसल्यान्डका चर्चित पत्रकार भोचाहिँ नेपालको संयुक्त परिवारबारे सुनेर छक्क पर्थे र संयुक्त परिवारबारे बुझ्न नेपाल आउने उनको इच्छालाई पनि मैले प्रोत्साहित गर्न सकिनँ । पाकिस्तानी पत्रकार सज्जाद मलिक नेपाल हेर्ने इच्छा पटकपटक प्रकट गरिरहन्छन्, तर मैले उनलाई पनि निम्ता दिन सकिरहेको छैन । घानाका नाना अर्का त्यस्ता मित्र हुन् जो त्यहाँको सत्तारुढ दलको महासचिव भइसकेका व्यक्ति हुन् र नेपाल आएर खास विषयमा प्रवचन दिने उनको इच्छा छ, तर विगत आठ वर्षअघिदेखि उनको इच्छा मैले अहिलेसम्म पूरा गर्न खोजेको छैन । यस्ता अन्य केही विदेशी
मित्रहरू छन् जसले नेपाल आउने इच्छा प्रकट गर्दा मैले खासै वास्ता नराखेपछि सम्पर्क नै गर्न छोडेका छन् ।
गरिब र सानो आकारको देशका बासिन्दामा एकप्रकारको ‘कप्लेक्स’ हुन्छ, आफ्नो देशबारे विदेशीले जानकारी पाएका रहेनछन् भने त्यो पीडा र छटपटीको विषय बन्छ । त्यसैले विदेशीलाई आफ्नो देशबारे केही राम्रा कुरा बताउन पाउँदा एउटा देशभक्त नागरिकमा बेग्लै प्रकारको आनन्दानुभूति हुन्छ । कुनै विदेशीले आफ्नो देशबारे जान्ने इच्छा राख्दा हरकोही देशभक्तमा देशबारे बताउने जाँगर पैदा हुन्छ र कुनै विदेशीले देशको भ्रमण गर्ने चाहना प्रकट गरे भने पनि देशभक्त व्यक्ति उसलाई स्वागत–सत्कार गर्न हतारिन्छ, तर मैले नेपाल आउन चाहने विदेशी मित्रहरू कसैलाई पनि स्वागत गर्ने तत्परता लिइनँ । मेरा विदेशी मित्रहरूलाई मेरो देश देखाउने इच्छा नभएर या मभित्र देशभक्तिको भावना नभएर मैले उनीहरूलाई नेपाल आउन निरुत्साहित गरेको होइन । उनीहरू नेपाल आएपछि जे–जे देख्नेछन् त्यसले मेरो देशको अन्तर्राष्ट्रिय स्तरमा थप बेइज्जती हुने त्रासका कारण मैले उनीहरूलाई नेपाल भ्रमणको निमन्त्रणा दिन नसकेको हुँ । उनीहरूसँगको भेटमा मैले नेपालको सौन्दर्य, यहाँका सीधासोझा जनता र लगानीका निम्ति उर्वर भूमिबारे बताएको छु ।
हामीसँग प्रजातन्त्र र प्रजातान्त्रिक व्यवहार भएको पनि तिनलाई सानका साथ बताइएको छ । सवासय जातीय समूह अस्तित्वमा भएर पनि हामीबीचको सद्भाव अनुकरणीय छ पनि भनियो । मेरा कुरामा उनीहरूले केही न केही विश्वास अवश्य गरेका छन् । नेपाल बोलाइएको अवस्थामा तिनले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्यहाँका कर्मचारी, ट्याक्सीचालक र होटेलका एजेन्टहरूको व्यवहार देखेर मेरो देशप्रति नकारात्मक धारणा बनाउलान् कि भन्ने चिन्ता मलाई छ । उनीहरू स्वच्छ हावामा श्वास फेर्न अभ्यस्त छन्, धुलोमा श्वास फेर्नु पर्दा उनीहरू बिरामी पर्लान् र त्यसको दोष पनि मेरै देशमाथि लाग्ला भन्ने त्रास मलाई छ । राजधानीका सडकमा खाल्डाखुल्डी, धुवाँ, धुलो र जथाभावी हर्न बजाउँदा पैदा हुने ध्वनि प्रदूषणले तिनलाई कायल पार्ने र त्यति नै कारणले देशप्रति ज्यादै नै नकारात्मक धारणा बनाइदिने हुन् कि भन्ने मलाई लाग्छ । घुम्न आउने मानिसलाई होटेलको कोठामा सीमित भएर बस् भन्न सकिँदैन र त्यसो भन्नु पनि हुँदैन । होटेलबाट बाहिरिनेबित्तिकै सडकमा देखिने असभ्य व्यवहार देशको बेइज्जतीको कारण बन्न सक्छ ।
उनीहरूले काठमाडौंबाट बाहिर जाने इच्छा राखे भने कम्तीमा पोखरासम्मको यात्रा त गराउनैपर्ने हुन्छ । कलङ्की हुँदै थानकोट पुगिन्जेलसम्म देशको प्रमुख राजमार्गको हालत देखेर तिनले नेपाली कस्तो जीवन बाँच्छन् र कस्तो बाटोमा हिँड्छन् भन्ने राम्रोसँग थाहा पाउनेछन्, यस्तो कुराले तत्कालै तिनको सहानुभूतिको पात्र होइने चिन्ता ममा छ । सडकको अवस्था देखेर भौतिक योजना तथा निर्माण मन्त्रालय वा सडक विभाग नामको कुनै निकाय छ कि छैन भनेर तिनले नसोधे त ठिकै हुन्थ्यो, सोधिहाले भने ‘छ’ भन्नैपर्ने हुन्छ । ती निकाय के गरेर बस्छन् भन्ने थप प्रश्न आउँदा भ्रष्टाचार गरेर बस्छन् या दुई प्रतिशत काम गरेर दुई सय प्रतिशतसम्म बिल बनाएर देश लुट्छन् भनी सत्य बताउँदा पनि आफ्नै बेइज्जत हुने र ‘केही नगरी बस्छन्’ भन्दा पनि लज्जास्पद हुने निश्चित छ । कुनै राजनीतिक प्रणाली छ भनेर सोधेमा सङ्घीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समावेशी, समानुपातिक, गणतन्त्रात्मक र संसदीय राज्य प्रणाली छ भन्नैपर्ला । विश्वमा ६ दर्जनभन्दा बढी इसाई र एकाउन्न इस्लामिक मुलुक छन्, साठी प्रतिशत मात्र मुसलमान भएको मलेसियाले समेत आफूलाई इस्लामिक मुलुक घोषणा गरेको छ, यहाँ नेपालमा करिब बयासी प्रतिशत हिन्दू सनातनी र ओमकार परिवारसम्बद्ध समेतको गणना गर्दा चौरान्नब्बे प्रतिशत सनातनी धर्मावलम्बी भएर पनि किन धर्मनिरपेक्ष मुलुक बनाएको भन्ने प्रश्न उनीहरूबाट आउन सक्छ । नेताहरूलाई इसाईहरूबाट प्राप्त ‘डलरको करामत’ भनौँ भने आफ्नो इज्जत कसरी रहला ? नभनौँ यसको अर्को कुनै चित्तबुझ्दो कारण बताउन पनि सकिँदैन ।
विदेशी मित्रहरूले बहुसङ्ख्यक जनताको चाहनाबमोजिम संविधान र शासन–व्यवस्था लागू हुने होइन र भन्ने जिज्ञाशा राखे भने त्यसको जवाफ दिन सकिने अवस्था छैन । ठूला र दूरगामी महत्वका राजनीतिक मुद्दाहरू जनमतसङ्ग्रहमार्फत टुङ्गो लगाउँदा हुन्छ कि भन्ने उनीहरूको सुझाव आउँदा ‘हाम्रा नेताहरू जनमतसङ्ग्रहसँग डराउँछन्’ भनियो भने त्यसले पनि हाम्रो लोकतन्त्र र राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउने निश्चित छ । लोकतन्त्रको इज्जत जाने प्रकारको जवाफ दिँदा पनि हामी नेपाली नै सहानुभूतिको पात्र बन्नेमा शङ्का गरिरहनुपर्ने छैन ।
भौगोलिक विविधताबाट प्रभावित हुनसक्ने तिनले जातीय र सामाजिक विविधता एवम् सद्भावबारे पनि जिज्ञासा राख्लान् । कुनैबेला आफैँले गौरवका साथ नेपालीको विविधता, एकता र सामाजिक सद्भावबारे वर्णन गरिएको थियो, अब त्यो भत्कियो र हाम्रा ‘महान्’ नेताहरूले निजी स्वार्थपूर्तिका लागि देश भत्काए भनेर कसरी भन्नु ? नभनौँ भने ‘सत्य त्यही हो’ भनिदिँदा आफ्नै प्रतिष्ठामा क्षति पुग्ने डर । अस्पतालमा धन हुनेले मात्र उपचार पाउँछन् गरिबलाई रोग लागेपछि मर्न पाउने अधिकार सुरक्षित छ, तर ‘राज्यले उपचार गराइदिन्छ’ भनेर ढाँटौँ भने उपचार नपाएर अकाल ज्यान गुमाउने दाजुभाइ, दिदीबहिनीहरूको आत्माले श्राप दिने त्रास छ । आर्थिक विकास दरबारे जिज्ञासा राखे एक प्रतिशतभन्दा तल (०.७७ प्रतिशत) बताउनुपर्ने, युवाहरूले अरब भूमिमा बगाएको रगत–पसिनाको मूल्यबाट यहाँका ‘ढाडे’ कर्मचारी र ‘धुन्धुकारी’ नेता पाल्नुपर्ने र प्राकृतिक स्रोतसम्पन्न भएर पनि त्यसको उपयोग हुन–गर्न नसकिएको यथार्थ पनि लुकाउन–छिपाउन सकिने अवस्था छैन । पौने एक शताब्दीभत्र पटकपटक प्रजातन्त्र ल्याएको र अन्तिमपटक सङ्घीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक विशेषतासहितको ‘सर्वाधिक उन्नत’ राजनीतिक प्रणाली स्थापना गरेपछि देशबाट शान्ति, सुरक्षा, समृद्धि र विकासको बाटो हराएको तथ्य मैले नबताए पनि उनीहरूले थाहा पाउने डर मभित्र जमेर बसेको छ । विश्वका सर्वाधिक बीस गरिब मुलुकको सूचीमा परेको व्यहोरा त उनीहरूले गुगल सर्च गरेर पत्ता लगाइसकेका होलान्, गरिब मुलुकमा पनि नेता र कर्मचारीचाहिँ व्यवसायीभन्दा अतुलनीय रूपमै धनी हुँदा रहेछन् भन्ने उनीहरूले नेपाल आएपछि थाहा पाउनेछन्, यो पनि मेरा निम्ति चिन्ताको विषय बन्यो ।
हुन त आफू एक सचेत तर साधारण नेपाली जनताको हैसियतभन्दा माथि उठ्न नसकेको मानिसमध्ये एक हुँ । उच्च पदीय जिम्मेवारी नलिएको हुनाले विदेशी मित्रलाई स्वदेशमा बोलाउनै नसक्ने गरी मैले शर्म नमाने पनि हुने हो, तर यी नेता र नेतृत्वझैँ शर्महीन हुन सकिएन, त्यसैले बोलाइएन । केही वर्षअघि क्यानडाको भ्रमणमा रहँदा क्यानेडियन बैंक नोट कम्पनीका उपाध्यक्षसँगसँगै दिवाभोज खाने अवसर मिल्यो । उनले आफ्नो हजुरबा नेपाल जानुभएको, उहाँले नेपालको सुन्दरता र नेपाली जनताको प्रशंसा गरेको र आफू पनि नेपाल आउन इच्छुक रहेको बताए । लाग्यो, अबचाहिँ फेला परियो । मैले सम्हालिँदै भने, ‘तपाईंको हजुरबाले नेपाल र नेपालीको प्रशंसा गर्नुभएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु । तपाईं नेपाल आउन चाहनुहुन्छ भने तपाईंको नेपाल बसाइलाई सुखद र आरामदायी बनाउन म अवश्य प्रयास गर्नेछु, तर नेपाल आउनुअघि तपाईं मानसिक रूपमा बेग्लै ढङ्गले तयार हुनुपर्छ ।’ उनले निकै जिज्ञाशु भएर कान ठाडो बनाउँदै सोधेका थिए, ‘त्यस्तो के हो ?’ जवाफमा मैले उनलाई भनेको थिएँ, ‘नेपाल ब्युटिफुल’ होइन एउटा ‘युनिक’ मुलुक हो भन्ने तपाईंको दिमागमा हुनुपर्छ, आइसकेपछि सुन्दर लागेछ भने क्यानडा फर्किएर साथीहरूलाई सुनाउनुहोला । अर्को, २१औँ शताब्दीमा पनि मानिस कति असभ्य, अराजक र लापरबाहपूर्ण जीवन बाँचिरहेका छन् भन्ने थाहा पाउनका लागि आउनुहोस् विमानस्थलदेखि नै तपाईंले यस कुराको महसुस गर्न पाउनुहुनेछ । तेस्रो, राज्य र सरकार भएर पनि पाइला–पाइलामा राज्य र सरकार नभएको अनुभूति गर्नका निम्ति आउनुहोस् ।’ मेरा कुरा सुनेर उनी निकैबेर हाँसिरहे र हाँसो थामिएपछि सँगै रहेका अर्का एक क्यानेडियन मित्रतिर फर्किएर उनले भने, ‘एसियामा पनि यो चेतनास्तरको सभ्य मानिस हुँदारहेछन् ।’
ती क्यानेडियनबाट आफ्नो व्यक्तिगत प्रशंसा तर पूरा एसियालाई अपमान गरेको सन्दर्भ म कहिल्यै भुल्न सक्दिनँ । त्यसैले विदेशी मित्रहरूलाई नेपालमा स्वागत गर्न भनेपछि म सधैँ हिचकिचाउने गर्दछु, आफ्नो मुलुकको चौतर्फी दुरावस्था देखाएर आफ्नो अपमान र उपेक्षा आमन्त्रण गर्ने क्षमता ममा छैन । तर, देशको जिम्मा लिएको दाबी गर्नेहरू किन लज्जाबोध गर्दैनन् हँ ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक