20170405

११२ देशका झण्डै ३० हजार विद्यार्थीहरू पढ्ने जर्ज मेसन बिश्व बिद्यालयमा आयोजित अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपाली प्रथम भएको देख्दा !

- भुपनारायण घर्तिमगर, रोल्पा, नेपाल हाल भर्जिनिया यू एस ए
  अहिले भर्खरै अमेरिकामा रहेका एमाले जनहरुको सम्मेलन बाल्टीमोरमा सम्पन्न भएको छ भने काङ्रेस जनहरुको सम्मेलन मनासस भर्जिनियामा गर्न काङ्रेसकाजनहरु अहोरात्र खटिरहनुभएको छ । कमल थापाजीको रा.प्र.पा. को अमेरिका सम्मेलन गत बर्ष नै सम्पन्न भएको थियो अमेरिकामै । अमेरिकामा नेपालका राजनीतिक पार्टीहरुको भगीनि संगठन खोल्ने र नेपालकै जस्तै फोहोरी राजनीति गर्ने अमेरिकामा रहेका हामी नेपालीहरुको पहिलो पुस्ताले दोस्रो पुस्तालाई सिकाउन पर्ने भाषा, सँस्कृती, आफ्नो पहिचान युक्त कला अब दोस्रो पुस्ताले उल्टै पहिलो पुस्तालाई सिकाउन पर्ने भएको छ ! बुझी नसक्नु छ अमेरिकामा नेपाली राजनीति । खोइ हाम्रा नेपाली साथीभाइहरुले अमेरिकालाई पनि नेपाल बनाउन थाल्नुभएको हो या के हो त्यो वहाँहरुलाई नै थाहा होला तर यस्तो निराशाजनक फोहोरी नेपाली राजनीतिका बिचमा पनि अमेरिकामा दोस्रो पुस्ताका केही नेपाली
छोराछोरीहरुले आशाका किरण बाड्न थालेका छन ।   
                    
                                  सन् २०१७ , अप्रिल ४ का दिन साँझ ६•३० बजे संयुक्त राज्य अमेरीकाको भर्जिनिया राज्य फेयरफ्याक्स स्थित George Mason University मा आयोजित अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपाली बिद्यार्थिहरूले Nepalese Student Association को तर्फबाट प्रतिनिधित्व गर्दै नृत्य प्रस्तुत गरि प्रथम स्थान ओगट्न सफल भए । अमेरीकाको राजधानीको काखमा अवस्थित यस विश्वविद्यालयमा झण्डै ११२ देशका झण्डै ३० हजार विद्यार्थीहरू पढ्छन्। नेपाली संस्कार संस्कृतिलाई चिनाउदै प्रथम स्थान प्राप्त गर्न सफल सबै नेपाली छोराछोरीहरूलाई हार्दिक बधाई अनि शुभकामना !

 गत वर्षको प्रतिस्पर्धामा नेपाली छोराछोरीहरू तेश्रो भएका थिए भने त्यो अगाडी चौथो। उक्त Nepalese Student Association ले यस विश्वविद्यालयमा विगतका वर्षहरूदेखि Taste of Nepal "Ekata" को सन्देश दिदै नेपाली खाना र नृत्य प्रस्तुत गर्दै नेपाली सांस्कृतिक साँझ मनाउदै आएको छ। 

विश्वविद्यालयकै कार्यक्रममा नेपाली संस्कृति झल्काउदै नेपाली झण्डा बोकेर मार्चपास गर्दै नेपाली संस्कार संस्कृतिलाई चिनाउदै सांस्कृतिक दूतको काम गर्दै आएको छ। अमेरिकामा हुर्की बढीराखेका र पढीराखेका छोरा छोरी -हरूले शुद्ध नेपाली शैली र पनमा , नेपाली भेषभुषामा ,अझै भन्नु पर्दा ब्यवसायिक कलाकारहरू जस्तै रङ्ग र ढङ्गमा नृत्य प्रस्तुत गरेको देख्दा मन भाबुक बन्यो। 

झट्ट हेर्दा र देख्दा जति सजिलो देखिए पनि, वास्तविकतामा बिदेशमा भिन्न सँस्कार सँस्कृतिमा हुर्कदै, अरूको भाषा शैलीमा पढ्दै र आंशिक समय काम गरि कापी कलम खर्चको जोहो गर्दै परदेशमा सँघर्षरत अबिभाबकलाई सहयोग गर्दै आफ्नो पन,सँस्कृति, सँस्कार, भाषा, भुषालाई जस्ताको तस्तै अपनाउदै जिवन्त शैलीमा पस्कनु सजिलो कूरा पटक्कै होईन।यि नेपाल आमाका सच्चा सन्तानहरूको निस्वार्थ कर्मले म लगायत सबैलाई नतमस्तक र गौरवान्वित बनाएको छ। मनमनै श्रद्धा ब्यक्त गर्दै भने पनि , हे नेपाल आमाका सच्चा सन्तानहरू तिमीहरूलाई मेरो कोटी कोटी नमन छ ! कोटी कोटी बधाई छ ! ! कोटी कोटी शुभकामना छ !!! तिमीहरू त सच्चा नेपाली सँस्कृतिका दूत हौ !सच्चा लोकदूतहरू हौ!! यि नेपाली छोराछोरीहरूका माता-पिता जो भौगोलिक रूपमा नेपालबाट टाढा भएर पनि भावनामा नेपाल सजाउंदै, वास्तविकतामा आफ्ना छोराछोरीहरूमा कार्यान्वयन गर्दै परदेशमा जीवन्त नेपाल चिनाउन योगदान गर्नुभयो उहाँहरू पनि सबै बधाई र धन्यवादका पात्र हुनुहुन्छ। 

कार्यक्रम हेरे पश्चात मलाई लाग्यो आ आफ्ना सपना,कथा अनि ब्यथाले सँसारभर छरिएका नेपालीहरू सँगसँगै नेपाली सँस्कार सँस्कृतिहरू पनि सँसारभर छरिने र चिनिने पक्का भयो।बरू मलाई खड्कीएको कुरा, म लगायत हामी आफुलाई स्वघोषित नेपाली सँस्कार सँस्कृतिका हिमायती र पक्षपाती ठान्नेहरू,घर घरमा अनि झोला झोलामा सँघ सँस्था खोलेर हामी अगुवा बन्नेहरू र राज्यका जिम्मेवार निकायहरूले सदभाब जनाउनु पर्ने,सहयोग उपलब्ध गराउन पर्ने र ऐक्यवध्दता जनाउनु पर्ने थियो।हाम्रा शिप र अनुभवले दोश्रो पुस्तालाई अरू निखारिन मद्दत गर्नु पर्ने थियो।जुन कुराहरू ऊक्त कार्यक्रम लगायत कतै पनि देखिदैन।त्यस प्रकारको सदभावनामा खडेरी नै लागेको छ भन्दा हुन्छ।सत्य पनि यही नै हो। 

जाती र पार्टीका समाचार अनि लेखहरू,पास्नी र न्वरानका सूचना अनि शुभकामनाहरू छाप्न र लेख्न अभ्यस्त हाम्रा छापाहरू र सचेत पत्रकार महोदयहरूले कार्यक्रम अगाडी र पछाडी सूचना अनि समाचार लेख्न कञ्जुस्यांई गरेर दोश्रो पुस्ताको स्वत:स्फूर्त सँस्कृति प्रेमको प्रयासलाई विगतका वर्षहरूदेखि नै नजरअन्दाज गरेको सन्देश दिए जस्तो लाग्छ ।अवश्य पनि यो शोभनीय कार्य भएन। सायद अब यो वर्षदेखि आँखा खुल्ला की ? आशा गरौं । जर्ज मेसन बिश्व बिद्यालयको कार्यक्रम त एउटा उदाहरण मात्र हो।नेपाली छोरा छोरीहरू जहाँ जहाँ छन् ,त्यहाँ त्यहाँ स्कूल,कलेज अनि बिश्व बिद्यालयमा यस्ता नेपाल चिनाउने कार्यक्रमहरू संसारभर गर्दै आएका छन्।

 विगतका वर्षहरूदेखि Nepalese Student Association ले गर्दै आएको कार्यक्रममा पनि भर्जिनियाका अन्य बिश्व बिद्यालयहरू भी सी यू , भर्जिनिया टेक लगायत बिश्व बिद्यालय र स्थानीय स्कूलबाट स्वत:स्फूर्त सहभागी भएको देखियो।यसै प्रकार सँसारभर छरिएका नेपालीहरूले नेपालबाट कलाकारहरूलाई झिकाएर , स्थानीय स्तरमै नव कलाकारहरूलाई प्रोत्साहित गरेर नेपाली कला सँस्कृति चिनाउने र फैलाउने कार्यहरू गर्दै आएका छन्।वास्तवमा जन जनको मनमा फुल्ने सच्चा राष्ट्रवाद भनेको यही होला। 

यस प्रकार स्वत:स्फूर्त रूपमा नेपाली पन चिनाउने सच्चा नेपाली मनहरूलाई सम्मान र सहयोग गरौं ।नेपाली कला सँस्कृतिलाई मायाँ गर्ने हामीहरू जगेर्ना गर्न लागौं।सँघ सँस्था तथा जिम्मेवार निकायहरू औपचारिकतावादमा मात्र सिमीत नबनौं।जाती र पार्टीले ग्रसित नेपाली मूलधारको मानसिकताबाट माथि उठी सच्चा नेपाली बनेर नेपाली कला सँस्कृतिको जगेर्ना गर्दै चिनाउने, फुलाउने र फैलाउने पवित्र कार्यमा सक्दो योगदान गरौं । 

नेपालका पार्टीलाई आफुसँगै कर्मभूमीमा ल्याएर समाज भाँड्न र फुटाउन खप्पिस हामी पहिलो पुस्ताले यि निस्वार्थ स्वत: स्फूर्त नेपाली संस्कार संस्कृतिलाई चिनाउने दोश्रो पुस्ताबाट सिकौं। पार्टी, जाती र क्षेत्र का हिमायती होईन, नेपाली बनौ नेपाल भनौ । नेपाली संस्कार संस्कृतिलाई चिनाउन लागौं। जय नेपाली संस्कार संस्कृति !

( नोट :  लेखक घर्तिमगर अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसीका महासचिब र नेपाललाई हर तरहले बुझेका, माया गर्ने राष्ट्रप्रेमी, संस्कृती बिद पनि हुनुहुन्छ - सम्पादक )   

   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक