20180214

ईतिहास रचेको कवि नीरा शर्माको कविता "बा" जसले धेरै छोरा छोरीहरुलाई रुवाउंदैनन् मात्रै, आफ्नै बा सँग पुर्याउँछ पनि । बा कविताकी कवि नीरा र सँगीतकार हरि लम्साललाई नेपालमदर डटकमको पनि नमन !


कवि तथा साहित्यकार नीरा  शर्माको “बा” नामक बहुचर्चित कविता युट्ब लगायत सामाजिक सञ्जालमा धेरै चर्चित भएको छ । साहित्यकार शर्माको कवितामा संगीतकार हरी लम्सालले स्वर र संगीत भरेका छन् । साहित्यकार शर्माले यो कवितामा आमाको वेदना सधैं पढेको,बुझेको तर बुवाको पीडाले भरिएको मन कहिल्यै पढ्न नसकेको
भाव पोखेकी छन् । यो गीतको रेकर्डिङ्गको बेला सङ्गीतकार हरी लम्साल आफ्ना स्वर्गीय बुवालाई सम्झदै भक्कनिएका थिए भने उता चर्चित कार्यकम प्रस्तोता सबिना कार्कीले पनि पनि बाचन गर्दा गर्दै आफ्नो बुवालाई सम्झेर रोएकी थिइन । युट्युबमा अहिले यो कविता ६ लाख ४८ हजार ५ सय ३६ पटक हेरिएको छ । उक्त गीत “बा” लाई हरेक नेपालीले आफ्नो बा को मुख हेर्ने दिनको अवसर परेर सार्वजनिक
गरिएको थियो ।

गीतको म्युजिक भिडियो पनि बनेको छ भिडियोमा सुरज आचार्यको सशक्त अभिनय रहेको छ । यस्तै स्मृति श्रेष्ठ रावतको मेकअप, हरि न्यौपाने को छायाङ्कन, अनि सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो लाई सान थापाले निर्देशन गरेका हुन् । अमेरिका बसेर साहित्य विधामा कलम चलाउँदै आएकी साहित्यकार शर्मा सामाजिक सञ्जालमा पनि धेरै चर्चित मानिन्छन् ।

     कविताकाे पुर्ण पाठ
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन् !!
हाम्री प्यारी भान्जी निरा शर्माको चर्चित कविता
शिर्षक: बा
मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।
बारीको डीलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्यांगको चौतारी झैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँधेरो मेटाउन
मैन झै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेल झैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरी
सँधै एक्लै कुदिरहे
त्यसैले त अग्लिंदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।
यतिखेर-
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सँधै
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्यौल जिन्दगी
तर बा
करकलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरुको सिला खोज्दैछन्
परेलीका डीलहरुमा ।
बोल्दा बोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउछु म गला अबरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुदै होइन ।
फुंगरुंग उडेका
उदासीका फूलहरु
फुलेका छन् बाका मुहार भरी
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाए देखि अस्ताउदासम्म
ठुँगिरहन्छ !
भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरु
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरुवा हो
जो सँधै हारिरहन्छन्
केवल सन्तानका लागि ।
-  नीरा शर्मा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक