20190623

पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति दलबलसहित रेशम चौधरीलाई भेट्न जानु, गम्भीर मुद्दाका कैदीको फोटो खिचेर सामाजिक सञ्जालमा प्रदर्शन गर्नु कत्ति पनि नैतिक काम होइन

Image may contain: 2 people, people standing- नारायण गाउँले 
पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति दलबलसहित रेशम चौधरीलाई भेट्न जानु आफैमा उचित थिएन । आमनागरिक सरह भेट्नुभो रे, ठिकै होला तर त्यति गम्भीर मुद्दाका कैदीको फोटो खिचेर सामाजिक सञ्जालमा प्रदर्शन गर्नु कत्ति पनि नैतिक काम होइन । त्यो सुरक्षाका दृष्टिले पनि खतरनाक विषय हो ।


उहाँ पूर्व प्रम हुनुहुन्छ । राज्यले सचिबालयदेखि सुरक्षाकर्मीसम्म उपलब्ध गराउँछ । राज्यका अङ्ग र प्रचलित कानुनप्रति आम नागरिकका रूपमा म विद्रोही बन्न सकूँला, उहाँले त्यसको सम्मान र रक्षा गर्नुपर्छ । यो विषय अनुचित लागेको भए गृहमन्त्री या प्रधानमन्त्रीलाई नै सम्पर्क गरेको भए हुन्थ्यो र कानुनी व्यवस्था के छ भन्ने बुझेको भए हुन्थ्यो ।

विदेशबारे सबै थाहा छैन, तर बेलायतमा चौधरीभन्दा कम संवेदनशील मुद्दाका कैदीलाई समेत अस्पतालमा हतकडी लगाएर राखिन्छ । र, कसैलाई यसरी फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने अनुमति हुँदैन ।

चौधरीमाथि कुखुराचोरीको मुद्दा लागेको होइन, मान्छे मार्नेजस्तो गम्भीर मुद्दा हो । फेरि लामो समय कानुनी भाषामा उनी भगौड़ासमेत हुन् । यी दुबै कारणले गर्दा प्रहरीले उच्च सतर्कता अपनाउनु अस्वाभाविक होइन । यदि पन्ध्र जना व्यक्ति हुलमुलसहित आउने भने अपराधी भाग्नसक्ने सम्भावना हुन्छ । त्यतिबेला जबाफदेही र सजायको भागीदार को हुन्छ ? यी कानुनहरू उहाँहरूले नै बनाएको हो ।

रेशम चौधरी निर्दोष होलान्, महान् होलान्, क्रान्तिकारी होलान्, जे होलान् । मेरो त्यसमा टिप्पणी छैन । तर कानुन बनाएर अदालती प्रक्रियाबाट उहाँलाई निर्दोष बनाइदिनुस् न । कि अदालत खारिज गर्नुस् र सबै कैदीलाई फूलमाला लगाएर बिदा गरिदिनुस् । त्यसपछि चौधरीलाई भेट्नुस् । अँगालो मार्नुस् या फोटो खिच्नुस् !

अनि राजाको हुकुमी शैलीमा प्रधानमन्त्रीजस्तो व्यक्तिले नेल लगाउन आदेश दिने व्यक्तिलाई कारबाही गर्ने फरमान दिन मिल्छ ? नियम, कानुन, पद्धति, प्रक्रिया र परम्परा के छ त्यसको छानबिन गरेर आवश्यक देखिए कानुन परिवर्तन गर्ने र दोषी देखिए कारबाही हुन्छ भन्नुपर्ने होइन ? प्रधानमन्त्रीले फैसला सुनाउने हो ? विधि हुँदैन ? के अब कर्तव्य पूरा गर्ने साधारण प्रहरीलाई बलि चढाउने ? हत्या, बलात्कारका अन्य अपराधीलाई के गर्ने ? विधि बनाउने कि आदेश दिने ?

देशका यति उच्च ओहोदाका व्यक्तिहरूको यो प्रवृत्ति कत्ति पनि आशालाग्दो छैन !

****************************************************************


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक