20190713

देशैभरी भारी बर्षा, बाढी पहिरो, कयौँको ज्यान गयो, घाइते र बेपत्ता पनि उत्तिकै !

देशैभरी भारी बर्षा, बाढी पहिरो, कयौँको ज्यान गयो, घाइते र बेपत्ता पनि उत्तिकै । यस्तो बिपदको घडीमा निधन भएका सबैमा हार्दिक श्रध्दान्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना, उध्दार कार्यमा खटिएका सेना, प्रहरी, सशस्त्र देखी जन जन सम्म सबैमा नमन । बेपत्ताहरु पनि छिट्टै सकुशल संपर्कमा आउन सकुन कामना । साबधानी अपनाउन र राहत कार्यमा जुट्न सरकार देखी सबैमा हार्दिक आह्वान पनि । बाढी पहिरो प्राकृतिक बिपत्ती मात्र होइन हामी मानबहरुले सिर्जना गरेको समस्या पनि हो गम्भीर बनौं । Image may contain: outdoor
Image may contain: 4 people, child and outdoorImage may contain: one or more people, outdoor, nature and waterImage may contain: 1 person, outdoor and water

Image may contain: sky, boat, outdoor, water and nature
Image may contain: outdoorImage may contain: car and outdoor
Image may contain: sky and outdoor
Image may contain: outdoor
Image may contain: outdoor
Image may contain: one or more people and shoes
Image may contain: bridge, outdoor and water
Image may contain: plant and outdoor
Image may contain: mountain, outdoor and nature
Image may contain: 4 people, outdoor
Image may contain: outdoor
Image may contain: sky and outdoor
Image may contain: one or more people, people standing, sky and outdoor
Image may contain: one or more people and outdoor
 Image may contain: outdoorImage may contain: 3 people, outdoor


नयाँ पत्रिका लेख्छ - बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ ।
बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ । गृहका अनुसार काठमाडौं र खोटाङमा तीन–तीनजनाको मृत्यु भएको छ । त्यस्तै, झापा, काभ्रे र भोजपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको छ । 
विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ । 
अविरल वर्षाका कारण काठमाडौं उपत्यकामै चारको ज्यान गएको छ । काठमाडौंको मूलपानीमा पर्खालमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने ललितपुरमा पहिरोमा पुरिएर एकजनाको ज्यान गएको छ । काठमाडौंको कागेश्वरी मनहरा– ६ टहरामा बस्दै आएका २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बलराम खत्रीको घरको पर्खाल भत्किँदा टहरामा बस्दै आएका उनीहरू च्यापिएका हुन् । बारा स्थायी घर भएका उनीहरू काठमाडौंमा ज्यालादारी काम गर्थे । त्यस्तै, ललितपुरमा बागमती नगरपालिका–२ मा पहिरोले घर पुरिँदा सुरज जिम्बाको मृत्यु भएको हो । 
हेलिकोप्टर स्ट्यान्डबाई थिए, तर उद्धारका लागि उडाउन सकिएन 

बेदनिधि खनाल 
प्रमुख, राष्ट्रिय आपत्कालीन सेवा सञ्चालन केन्द्र 

निरन्तरको वर्षापछि तराईका २३ वटै जिल्ला प्रभावित भएका छन् । पहाडका पनि मध्य र पूर्वी क्षेत्रका जिल्ला प्रभावित छन् । कुनै न कुनै रूपमा देशभर नै असर परेको छ । बिहीबार र शुक्रबार गरेर बाढी, पहिरो तथा डुबानमा १८ जनाको मृत्यु भएको छ, १३ घाइते छन्, सातजना बेपत्ता छन् । चार सय ३५ परिवार विस्थापित भएका छन् । एक सय ५३ भन्दा धेरैको उद्धार भएको छ । तराईमा सप्तकोसी र कमला नदी बस्तीमा छिरेको छ । राजमार्गहरू १२ ठाउँमा अवरुद्ध छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको छ । 
शुक्रबार विभिन्न ठाउँबाट उद्धारका लागि हेलिकोप्टर माग भएको थियो । उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका थिए । तर, प्रतिकूल मौसमका कारण उडाउन सकेनौँ । 
यसपटक पूर्वसूचना प्रणाली प्रभावकारी भएको छ । एक्सन प्लानअनुसार जिल्लाजिल्लामा उद्धार र पूर्वतयारीका काम भइरहेका छन् । स्थानीय तहबाट समेत प्रभावकारी काम भइरहेको छ । सुरक्षा निकाय, सडक विभागलगायत निकायका संयुक्त टोलीहरू पनि परिचालन भएका छन् । रणनीतिक ठाउँमा विशेष टोलीहरू खटिएका छन् । 
त्रिपाललगायतका सामानहरू जिल्लाजिल्लामा छन् । युनिसेफलगायत निकायले पनि विस्थापितहरूलाई वितरणका लागि सामान खरिद गरेका छन् । तराईमा रबरबोटको माग धेरै छ, मागअनुसार दिइएको छ । कतिपय स्थानमा खतराबारे सुसूचित गराउँदा पनि सर्वसाधारणले आफ्नो ठाउँ छाड्न मानेका छैनन् । 
मृतककाे नामावली
  • काठमाडौं– शर्मिला यादव, निलु यादव र कुन्दन यादव 
  • खोटाङ– रेखा राई, रोमन राई र रोहन राई
  • काभ्रेपलाञ्चोक– गोमा दंगाल र सुहावी दंगाल 
  • झापा– अञ्जन लावती र एलिजा न्यौपाने 
  • भोजपुर– जनक विक र जगतबहादुर राई 
  • पर्सा– निखिल पटेल 
  • रामेछाप– पदमकुमारी सुनुवार 
  • सिन्धुली– हेमकुमारी सुनुवार
  • ललितपुर– सुरज जिम्बा 
  • धादिङ– अस्मिता तामाङ 
  • मकवानपुर– सतमाया बलामी 

८ घन्टापछि अन्तर्राष्ट्रिय विमानस्थल चल्यो, धेरै राजमार्गहरू अवरुद्ध
बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहट र सर्लाहीखण्डमा ठूला सवारीसाधन मात्र चल्न सक्ने अवस्था छ । बिपी राजमार्ग पहिरोले अवरुद्ध भएको छ । सुनसरीको रामधुनी, धनकुटाको पाख्रिबास, उदयपुरको रौतामाई, खोटाङको हलेँसी, ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीको गोलञ्जोर, रामेछापको मन्थली, ललितपुरको महाँकाल–हेटौँडा राजमार्ग, कान्तिपथ र त्रिभुवनपथ तथा लमजुङ–मनाङ सडक पनि बाढीका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, धावनमार्गबाट यती एयरलाइन्सको जहाज चिप्लिँदा शुक्रबार बिहान ११ बजेदेखि ८ घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अवरुद्ध भयो । नेपालगन्जबाट आएको एटिआर नाइन एन अल्फा एमएम जहाज अवतरणका क्रममा धावनमार्ग छोडर दाहिनेतर्फ १५ मिटर घाँसेमैदानमा पुगेको थियो । दैनिक कम्तीमा तीन सय २५ उडान हुने विमानस्थलमा शुक्रबारको दुर्घटनापछि नियमित तालिकामा रहेका ८० प्रतिशत उडान अवरुद्ध भए । साँझ ७ बजेदेखि मात्र सेवा नियमित गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।
कहाँ के भयाे ?
सिंहदरबारको पर्खाल भत्कियो 
देशको प्रशासकीय केन्द्र सिंहदरबारकै पर्खाल असुरक्षित तरिकाले निर्माण गरिएको खुलेको छ । वर्षाका कारण सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक सर्वसाधारण सामान्य घाइते भएका छन् । 
गाडीमा ढुंगाले लागेर घाइते 
ललितपुरमा गुडिरहेको गाडीमा ढुंगाले लागेर एक घाइते भएका छन् । बा.४ख ८६४ नम्बरको गाडीमा सवार ३५ वर्षीय दीपक घले घाइते भएका हुन् ।

कुलेश्वर, बल्खु र कलंकी डुबानमा 
शुक्रबार दिउँसो कलंकी र बल्खु क्षेत्रका बस्ती डुबानमा परेका छन् । कुलेश्वरको मनमती खोलाले स्थानीय विनोद चौधरीलाई बगाएको छ । चौधरीलाई खोलाले बगाएको ग्यास सिलिन्डर लिन जाने क्रममा भेलले बगाएको हो । 
कलंकीको मालपोत कार्यालय, भाटभटेनी सुपरमार्केट, खड्गेला पुललगायत क्षेत्र डुबानमा परेको कालिमाटी वृत्तका डिएसपी देवेन्द्र पालले बताए । त्यस्तै कुलेश्वरको भुवनेश्वरी मन्दिर आसपास क्षेत्रका घरमा पानी पसेको थियो । बल्खु खोला आसपासका बस्ती प्रभावित भएको छ । साँझबाट वर्षा कम भएपछि अवस्था सामान्यतिर गएको थियो । 
राधेराधे क्षेत्र डुबानमा 
गत वर्ष भक्तपुरको हनुमन्ते आसपास क्षेत्र डुबेपछि यसपालि पनि पानी पर्न थालेपछि स्थानीय त्रसित थिए । यो क्षेत्रमा सतर्कता पनि अपनाइएको थियो । तर, हनुमन्ते यसपालि पनि बस्ती छिर्‍यो । भक्तपुरका एसपी सविन प्रधानका अनुसार राधेराधे आसपासका १५–२० घर डुबानका परेका छन् । 
किस्ट कलेजमा पानी पस्यो 
ललितपुरको किस्ट अस्पतालको पहिलो तलामा समेत पानी छिरेपछि बिरामी प्रभावित भएका छन् । किस्टमा हरेक वर्ष बर्खामा पानी पस्ने गर्छ । त्यस्तै, पाटन र मंगलबजार क्षेत्रका घरहरू पनि डुबानमा परेको ललितपुर प्रहरीले जनाएको छ । 
डुबानमा जलेश्वर कारागार
रातो र बिग्ही नदीको बाढीले जलेश्वर कारागारसमेत डुबानमा परेको छ, कैदीहरूको घुँडासम्म पानी पुगेको छ । नदीमा पानी बहाव बढ्दै गए पिपरा र एकडारा गाउँपालिका तथा बल्वा, जलेश्वर र मटिहानी नगरपालिकाका बस्तीहरू पनि डुवानमा पर्ने खतरा छ । बल्वा–२ मा घाँस काट्न गएका ७० वर्षीय हनिफ बैठालार्ई रातो खोलाले बगाएको छ । बल्वा–११ को तटबन्ध भत्काएर बस्तीमा पानी पसेको छ । 
रौतहटमा १७ गोठाला बागमती खोलामा फसे
गाई चराउन गएका १७ गोठाला बागमती खोलाको बाढीमा फसेका छन् । उनीहरू रौतहट र सर्लाहीको बीचमा पर्ने वृन्दावन नगरपालिका–१ बलेरीखोर क्षेत्रमा नदीको बगरमा फसेको, तर उद्धार हुन नसकेको स्थानीय रुपेन्द्र पटेलले बताए । रूखमा चढेर ज्यान जोगाइरहेका उनीहरूको उद्धारका लागि सेनालाई लिखित आग्रह गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । नगरपालिकाले गरेको उद्धार–प्रयास सफल नभएको मेयर रामस्नेही यादवले बताए ।
रूखमा बसेर ज्यान जोगाएकाको २४ घन्टापछि उद्धार
सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा कमला नदीको बाढीमा २४ घन्टाभन्दा बढी फसेका एकजनालाई नेपाली सेनाले उद्धार गरेको छ । ५५ वर्षीय बद्रु मुखिया रूखमा चढेर बाँचेका थिए । उनलाई नदीको बहाव कम भएपछि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । त्यस्तै, कल्याणपुर नगरपालिका ५ स्थित कमला नदीमै पाँचजना फसेका छन् । उनीहरूको उद्धारको पहल भइरहेको प्रजिअ अधिकारीले बताए ।
मोरङमा चार सय परिवार विस्थापित, २५ सय प्रभावित 
कानेपोखरी–२ मा गेउरिया खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । उनको सनाखत नभएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मोरङमा करिब चार सय परिवार विस्थापित भएका छन् भने करिब २५ सय परिवार प्रभावित बनेका छन् । विराटनगर महानगरपालिकाको १, ६, ७, ८ र १६, सुन्दरहरैँचा नगरपालिका १ र जहदा गाउँपालिका कटहरी ४, धकनपालथान ४ र ५ र बुढीगंगाको ७ नम्बर वडाका गरी चार सय परिवार विस्थापित भएका हुन् । विस्थापितमध्ये केहीले स्कुल र सार्वजनिक स्थानमा त केहीले आफन्तकहाँ आश्रय लिएका छन् । मोरङ प्रशासनका प्रवक्ता उमेश पाण्डेका अनुसार विराटनगर–८ सिँगिया खोला किनारको सुकुमवासी बस्तीका ५० घर विस्थापित भएका छन् ।
बाढीले बेनी–जोमसोम सडक कटान, यातायात अवरुद्ध
कालिगण्डकी नदीमा आएको बाढीले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर कटान गरेर सडक नै बगाएपछि यातायात अवरुद्ध भएको छ । करिब १० मिटर सडक कटान गरेको र सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । भिरक्षेत्रको सडक बगेकाले तत्काल मर्मतको सम्भावना छैन । अन्नपूर्ण गाउँपालिकाको महभिरमा कालिगण्डकी र गलेश्वर रघुगंगा नदीमा बनाइएको बेलिब्रिजसमेत नदी कटानको जोखिममा परेको छ ।
ओखलढुंगामा जताततै पहिरो, सबै सडक अवरुद्ध
चार दिनदेखि लगातार परेको पानीसँगै आएको बाढी र पहिरोले जिल्लाका सबैजसो सडक अवरुद्ध भएका छन् । भँडारे खोलाको बाढीले सिद्धिचरण लोकमार्ग दुईदिनदेखि अवरुद्ध छ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने–आउने सयौँ सवारी र हजारौँ यात्रु अलपत्र परेका छन् । पैरे खोलाको बाढीका कारण जिल्लाको पश्चिमी क्षेत्रमा सवारी सञ्चालनमा आउन सकेका छैनन् । 
ललितपुरमा एकको मृत्यु 
ललितपुरको बागमती–२ बगुवामा घर भत्किँदा ११ वर्षीय सुरज जिम्बाको मृत्यु भएको छ । दलिनले किचिएर उनको मृत्यु भएको स्थानीयले बताए । दक्षिण ललितपुरका बागमती, महांकाल र कोन्ज्योसोम गाउँपालिकामा बिहीबारबाट विद्युत् तथा सडक अवरुद्ध भएको जनप्रतिनिधिहरूले बताएका छन् । जिल्लाभर दुई सयभन्दा बढी घर पहिरोको जोखिममा रहेको जनाइएको छ । 
बारा र पर्सामा दुई बालकको मृत्यु
परवानीपुर गाउँपालिका–१ रहरियाटोलमा घरअगाडि नालामा डुबेर अगेन्द्र यादवका साढे ४ वर्षका छोरा बिकी यादवको मृत्यु भएको छ । बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार खेलिरहेका उनी नालीमा डुबेका हुन् । अविरल वर्षासँग नाली ठूलो भएको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको राठौरले बताए । बाढीमा बग्दै आएको दाउरा संकलन गर्ने क्रममा शुक्रबार पर्सामा एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–१ बगवनाका १२ वर्षीय निखिल पटेलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए । चार दिनदेखि लगातार परिरहेको वर्षाका कारण पर्साको सदरमुकाम वीरगन्ज डुबानमा परेको छ । रानीघाट, श्रीपुर, राधेमाई, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवालगायतका क्षेत्र पानीको निकास नहुँदा डुबेका छन् । त्यस्तै, भिस्वा, मुडली, लंगडी, धोबिनी, आसवारी, गुलरिया, जयमंगलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।
झापामा दुईको मृत्यु, एक बेपत्ता 
बाढीले बगाएर दमक–१० मा एक बालिकाको मृत्यु भएको छ । मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की ६ वर्षीया बालिका एलिजा न्यौपानेलाई कलभर्टमा खेलिरहेको बेलामा बगाएको थियो । उनलाई पाँच सय मिटर दक्षिणमा फेला पारेपछि अस्पताल लगिएको थियो । त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, बाढीले बगाउँदा भद्रपुर नगरपालिका–९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा मेचीनगर नगरपालिका–१४ मजदुर बस्तीका ४५ वर्षीय सुफल हस्दा सतार बेपत्ता भएका छन् । कमल गाउँपालिका–२ र शिवसताक्षी नगरपालिका–३ भएर बग्ने कमल खोलाको बाढीले बगाएर ल्याएको अवस्थामा शुक्रबार एक व्यक्तिको शव भेटिएको छ । साँझ साढे ६ बजे शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान १० बजेबाट बेपत्ता भएका इलाम चुलाचुली गाउँपालिका–१ का ५० वर्षीय अञ्चल लावतीको शव रहेको पुष्टी भएको प्रहरीले जनाएको छ ।
थाहा नगरमा दुईको मृत्यु, एक बेपत्ता
 मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा बाढीले बगाएर एक बालिका र भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । थाहा नगरपालिका– ३ मा महाभिर खोलाले बगाउ“दा घाइते भएकी बालिका सतमाया बलामीको मृत्यु भएको हो । खोलाले बगाएपछि स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका थिए । उनको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने बलामी र स्थानीय युवा सन्तोष बलामीलाई खोलाले बगाएको थियो । सन्तोषलाई सकुशल उद्धार गरिएको छ । त्यस्तै, कैलाश गाउ“पालिका– ५ कालिखोलामा आएको पहिरोमा परी तारामाया पाख्रिन बेपत्ता भएकी छिन् । वर्षा जारी रहेको र खोला तर्न नसकिएको कारण स्थानीय बासिन्दा घटनास्थल पुग्न सकेका छैनन् । थाहा नगरपालिका– ७ आग्राको बाल्चा भिरबाट लडेर रौतहटका २७ वर्षीय उमेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
काभ्रेमा पहिरोले घर पुर्दा दुईको मृत्यु
काभ्रेको बनेपा नगरपालिका–३, चुनातालमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । ५५ वर्षीया गोमा दंगाल र उनकी सात वर्षीया नातिनी सुहावी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गोमाकी बुहारी सुशीला दंगाल र तीन महिनाकी नातिनी अनुष्का दंगाल भने घाइते भएका छन् । उनीहरूको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बिहीबारदेखिको निरन्तर वर्षाका कारण काभ्रेका ग्रामीण भेगमा ठाउँठाउँमा पहिरो गएको छ । बनेपा र पनौती डुबानमा परेका छन् । वर्षाका कारण पुन्यमती खोला बढेपछि डुबान भएको हो । 
खोटाङमा घर बगाउँदा तीनको मृत्यु, एक घाइते 
खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा २९ वर्षीया रेखा राई र उनका छोराहरू चार वर्षीय रोमन र सात महिनाका रोहन बेपत्ता भएको थियो । अपराह्न तीनैजनाको शव फेला परेको छ । 
मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करिब पाँच बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारैजनालाई बगाएको स्थानीयवासीले बताएका थिए । पहिरो झर्नासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता तीनजनाको शव भने इलाका प्रहरी कार्यालय खोटाङबजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्न फेला पारेका हुन् । 
ओखलढुंगामा दुईजनाको मृत्यु
ओखलढुंगामा बाढीले बगाएर दुई जनाएको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको हो । बिहिबार बेलुका बेपत्ता भएकी शेर्पाको शव शुक्रबार दिउँसो स्थानीय लसुनेखोलाको किनारमाफेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए । त्यस्तै खेतमा पसेको भेल थुन्ने क्रममा मोलुङ खोलाले बगाएर कुमार राईको पनि मृत्यु भएको छ । उद्धारपछि उपचारका लागि उदयपुरको घुर्मी लैजाने क्रममा उनको मृत्यु भएको स्थानीय बुद्धिमान राईले बताए । राईसँगै रहेका उनका दुईजना नाति घाइते भएका छन् । 
पाँचथरमा खोलाले बगाउँदा बालक बेपत्ता 
दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित रविबजारका आठ वर्षीय जीवन राईलाई खोलाले बगाएको छ । होलिचाइल्ड स्कुलमा अध्ययनरत उनको खोजी भइरहेको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए । लगातार पानी परिरहेकाले खोजी कार्य जटिल बनेको प्रहरीले जनाएको छ । जिल्लाको निबु खोलाछेउमा पहिरो खरेर मेची राजमार्गसमेत अवरुद्ध भएको छ । 
रामेछापमा गोठ भत्किँदा एक महिलाको मृत्यु
रामेछाप नगरपालिका–५ रामपुरमा शुक्रबार बाढीले गोठ भत्काउँदा एकजनाको ज्यान गएको छ । भैँसीलाई घाँस हाल्न गएकी ७१ वर्षीया पदमकुमारी सुनुवारको गोठले किचेर मृत्यु भएको हो । दुईवटा भैँसी पनि मरेका छन् । 
रुकुम (पश्चिम)मा ढुंगाले लागेर किशोरीको मृत्यु 
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरो खस्दा ढुंगाले लागेर एक किशोरीको मृत्यु भएको छ । वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो । सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत बस्नेतलाई जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा ढुंगाले लागेको वडा नम्बर ५ का अध्यक्ष प्रजित विकले जानकारी दिए ।
सिन्धुलीमा पहिरोले एकको मृत्यु, दुई बस्ती डुबानमा 
पहिरोले गोठ भत्किँदा फिक्कल गाउँपालिका–१ महादेवडाँडाकी ३५ वर्षीया हेमकुमारी सुुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वस्तुलाई घाँस हाल्न गोठमा गएकी सुनुवारलाई शुक्रबार गोठसँगै पहिरोले बगाएको थियो । उनीसँगै पहिरोमा पुरिएकी एक महिलालाई स्थानीयले सकुशल उद्धार गरेका छन् । सुनवारको तीनवटा गाई र तीनवटा बाख्रासमेत पहिरोले पुरेको छ । बागमती नदीमा आएको बाढीका कारण मरिण र हरिहरपुरगढीका दुई बस्ती डुबानमा परेका छन् । हरिहरपुरगढी गाउँपालिका–३ घँटेगुर्जीका ६० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष करसाङ लामाले बताए । त्यस्तै, मरिण गाउँपालिका–७ बाह्रबिसेका बस्ती डुबाननमा परेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको दर्जनभन्दा बढी पहिरो खसेको छ । गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा चट्याङ लागेर ४० वर्षीया निर्मला कार्की घाइते भएकी छन् । 
बाराका दुई सय घरपरिवार विस्थापित
बारामा बाढीका कारण करिब दुई सय घरपरिवार विस्थापित भएका छन् । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले फेटा गाउँपालिका– १ त्रिवेणीमा ८० घर, जीतपुरसिमरा उपमहानगरपालिका– ८ रमौलीमा ३५ घर, वडा नं. १० मा २५ घर, वडा नं. २४ हरपुरमा २५ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए । राठौरले डुबानका कारण जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको जानकारी आइरहेको र उद्धारका लागि प्रहरी परिचालन भइरहेको जानकारी दिए । त्रिभुवन राजपथको पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत चुरियामाई क्षेत्रमा पहिरो जाँदा यातायात प्रभावित बन्न पुगेको छ । निजगढस्थित सहिद चोक क्षेत्र डुबानमा परेको छ । डुबानका कारण केहीबेर यातायात आवागमनसमेत रोकिएको थियो । डुबानकै कारण निजगढ नगरपालिकाको शैक्षिक क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ ।
ताप्लेजुङमा पुल बग्यो, ३२ घर बाढीको जोखिममा
दुर्गम गाउँ याम्फुदिनका ३२ घर खोलाको जोखिममा परेको छ । चार दिनदेखि पानी परिरहेकाले तुम्याहाखोलाले बस्तीतिरको जमिन कटान गर्दै गएको स्थानीय डिल्लीकुमार गुरुङले बताए । खोलाले झोलुंगे पुल बगाएपछि ३२ परिवारलाई गाउँपालिका केन्द्र थुंगीनसँग छुटाएको छ । डिल्लीकुमारले आफूहरू रातभर जागा बस्ने गरेको बताए ।
महोत्तरीमा एक वृद्ध बेपत्ता
 बल्वा–२ मा घाँस काट्न गएका ७० वर्षीय हनिफ बैठालार्ई रोतो खोलाले बगाएको छ । बल्वा–११ को तटबन्ध भत्काएर बस्तीमा पानी पसेको छ । रातो र बिग्ही नदीको बाढीले पिपरा र एकडारा गाउँपालिका तथा बल्वा, जलेश्वर र मटिहानी नगरपालिकाका बस्ती डुबानको खतरामा छन् । सोनमा गाउँपालिकाको मगरथाना र औरही नगरपालिकाको फुलबरियामा पनि बाढी छिरेको छ । जलेश्वर कारागारसमेत डुबानमा परेको छ । 
धनकुटामा दुई बालिका घाइते 
धनकुटाको चौबिसे गाउँपालिका–१ सौरेका दिलीप गजमेरको घर पहिरोले बगाउँदा उनका दुई छोरी ६ वर्षीया एलिसा र ८ वर्षीया एलिना घाइते भएका छन् । चौबिसे– ५ का नहेन्द्र लिम्बू र दिलबहादुर मुदेलको घर भत्किएका छन् । दर्जनौँ घर जोखिममा रहेको स्थानीय तहहरूले जनाएका छन् भने केही स्थानमा यातायात अवरुद्ध भएको छ । 
सुनसरीमा ६० घर विस्थापित 
मंगलबारदेखि परेको पानीको कारण सुनसरीका ठूला सहर डुबानमा परेका छन् । इटहरी, इनरुवा, दुहबीलगायतका सहर डुबेका छन् । हरिनगरामा ६० घर परिवार डुबानमा परेका छन् । उनीहरूलाई स्थानीय तहको पहलमा सुरक्षित स्थानमा सारिएको सुनसरीका प्रमुख जिल्लाअधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए ।
सेहेरा खोलामा आएको बाढी इटहरीमा पसेको छ । सयौँ घर डुबेका छन् भने तरहरादेखि इटहरीसम्मको सात किमी सडक जलमग्न भएको छ ।
रौतहटमा १७ गोठाला बागमती खोलामा फसे
गाई चराउन गएका १७ गोठाला बागमती खोलाको बाढीमा फसेका छन् । रौतहट र सर्लाहीको बीचमा वृन्दावन नगरपालिका–१ बलेरीखोर क्षेत्रमा नदीको बगरमा फसेको तर उद्धार हुन नसकेको स्थानीयले बताएका छन् । उनीहरू रूखमा चढेर बसेको र उद्धारका लागि हारगुहार गरिरहेको स्थानीय रूपेन्द्र पटेलले बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले उनीहरूको उद्धारका लागि लिखितपत्र पठाएर सेनाको हेलिकोप्टर मगाइएको बताए । नगरपालिकाले आवश्यक सामग्रीसहित उद्धार टोली पठाए पनि प्रयास असफल भएको नगरप्रमुख रामस्नेही यादवले बताए । 
त्यस्तै, गढीमाई नगरपालिका–६ पकहाबखरी टोल डुबानमा पर्दा ४० वर्षीया दुलारी देवी बेपत्ता भएकी छिन् । पकहाबखरी टोलमा दुई सय घर छन् । चन्द्रपुर नगरपालिका–३ समेत नदी कटानको खतरामा परेको छ । चाँदी खोलामा आएको बाढीका कारण चन्द्रनिगाहपुरसँग वडाको सम्बन्ध नै टुटेको वडाध्यक्ष रवि देवकोटाले बताए । धार परिवर्तन गरेर खोला गाउँ पस्न थालेको उनले बताए । ३ नम्बर वडामा तीन दिनदेखि बिजुलीसमेत अवरुद्ध छ ।

GO TO HOME PAGE

Go to Home Page 
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक