20190919

संविधान दिवस, २०७६ को उपलक्ष्यमा २८२ जना व्यक्तिको बाँकी कैद मिनाहा भएछ !

Image may contain: 1 person- शंकर कुमार श्रेष्ठ  
सरकार कृपया जानकारी पाउँ !
संविधान दिवस, २०७६ को उपलक्ष्यमा २८२ जना व्यक्तिको बाँकी कैद मिनाहा भएछ । संविधानले दिएको सुविधा प्रयोग गरेकोमा अन्यथा भन्न मिलेन् । साथै सत्ताधारी वा अन्य राजनीतिक दलका कति कार्यकर्ता र आफन्त त्यस सूचिमा परे भनेर सोध्नुको कुनै सार्थकता अब देख्दिन ।
स्मरण रहोस्, बाँकी कैद माफी पाउने व्यक्तिहरु क़ानून बमोजिम कसुरदार ठहरिएका व्यक्ति हुन् ।
- तर ती कसुरदारका कसूरबाट ‘अपराध पीडित’ भएका कति पीडितहरुको पीडा माफी गर्नुभयो ?
- कति पीडितलाई अस्पतालमा पुर्याएर औषधोपचार गर्नुभयो ?
- मरणान्त अवस्थाका कति पीडितलाई हेलिकॉप्टर आदि प्रयोग गरेर सुविधासम्पन्न अस्पतालमा पुर्याउनु भयो ?
- कति त्यस्ता पीडितलाई आर्थिक सहायता दिएर चुलोमा आगो बाल्न सक्ने व्यवस्था गरिदिनु भयो ?
- कति पीडितलाई सामाजिक पुनर्स्थापना गर्नुभयो ?
- हत्याबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार गर्न कति रुपैया खर्च गर्नुभयो ?
- पीडितलाई ठहर भएबमेजिमका कति क्षतिपूर्ति उपलब्ध गराउनु भयो ?
- पीडितलाई न्यायमा पहुँच पुर्याउन कति अदालत, प्रहरी, सरकारी वकिल कार्यालयमा ‘पीडितमुखी बडापत्र’ राख्नु भएको छ ?

- पीडितको सुरक्षा र गोप्यताको लागि कति सरकारी कार्यालयमा ‘श्रव्यदृश्य संवाद कक्ष’ (Audio/Video Conference Room) को व्यवस्था गर्नु भएको छ ?
- कति अदालतमा सही अर्थमा बन्द इजलासको व्यवस्था गर्नु भएको छ ?
- कति कार्यालयमा ‘पीडित कक्ष’ (Victim Desk) र कर्मचारीको व्यवस्था गर्नु भएको छ ?
- यो सरकार र न्याय प्रणाली पीडितको पनि हो भनेर के-कस्ता अभियान लागु गर्नु भएको छ ?
- कति पीडितलाई वारदातस्थल, मुचुल्कास्थल, घर वा अस्पताल पुगेर संवेदना र सहानुभूति व्यक्त गर्न सक्नु भएको छ ?
- कति पीडितका सन्तानलाई निःशुल्क अध्ययनको व्यवस्था गरिदिनु भएको छ ?
- कति पीडितलाई रोजगारीको व्यवस्था गरिदिनु भएको छ ?
- कति सरकारी कार्यालयमा मनोचिकित्सकको व्यवस्था गरिदिनु भएको छ ?
- मानसिक र शारीरिक पीडामा परेका कति पीडितकहाँ पुगेर संविधान दिवसको उपलक्ष्यमा फलफूल वितरण गर्नु भएको छ ?
- कैद मिनाहा गर्दा वा न्यायिक विचाराधीन मुद्दा फिर्ता लिँदा पीडितको सहमति लिनु भएको छ कि छैन ?
- कैद माफ़ भएका व्यक्ति र सम्वद्ध पीडितलाई भेट गराएर कति पीडितसित माफ़ मगाउनु भएको छ ?
- तिनीहरुबीच सामाजिक सद्भावना र समझदारीको के-कस्तो व्यवस्था र कार्यक्रम गर्नु भएको छ ?
- सही अर्थमा माफ़ दिने अधिकार त पीडितको पो हो भनेर यहाँहरुले कहिले बुझ्नु हुन्छ ?
- अभियुक्त एकीन हुन नसकेका पीडितको अनुसन्धान उप्रान्त क्षतिपूर्ति प्रयोजनको लागि अदालतमा मुद्दा पेश गर्न के-कस्ता पहल गर्नु भएको छ ?
पुन: स्मरण रहोस्, संविधान दिवसको सुखद् अनुभूति अपराध पीडितले पनि गर्न पाउनु पर्छ ।
पीडितले पनि बुझ्ने र महसुस गर्ने गरी संविधान दिवसको शुभकामना दिन सकौँ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक