20200420

लकडाउनको जिन्दगी, गाउँठाउँ र बाउआमाको याद अनि कोरोना !

Image may contain: 1 person- चेतनाथ कणेल ‘हरित’

फेसबुक हेर्ने क्रममा अमेरिकाको भर्जिनियामा बस्ने वरिष्ठ लोकगायक, पत्रकार तथा स्रष्टा मित्र रामप्रसाद खनालको ‘पिपलारुखे ठूल्दाइ’ शीर्षकको एक अनुभूतिजन्य आलेख पढ्न पुगेँ। उनको आलेखमा गुल्मी हर्दिनेटा, मैनडाँडा, मनभागतिरका सुन्दर ग्रामीण स्मृति–दृश्य झल्कने बाल्ययादका ‘नोस्टाल्जिक’ कुरा प्रशस्त रहेछन्, अनि ती दृश्यपटलाई वर्तमान कोरोनामय विश्वव्यापी (प्यान्डेमिक) कहर र पीडासँग गाँसेर हेर्ने प्रयास पनि गरिएको रहेछ। र, अन्त्यमा रामप्रसादको भनाइको भाव छ– गामठाममा हुर्कँदा धेरै कष्ट सहेर, धुलो–धूवाँ पचाएर र बिरामी पर्दा पनि गाउँका ‘डाक्टर’ मानिने सामान्य अनुभवी मान्छे वा ‘कम्पाउण्डर’ले एउटै सूई दर्जनौं जनालाई लगाउँदासमेत कुनै रोग नसरी, ती सबै–सबै कुरा पचाएर यो शरीर बलियो बनेको छ, तसर्थ कोरोना–सोरोनाले पक्कै छुँदैन होला; आजकाल ती ग्रामीण प्राकृतिकपन र रोगप्रतिरोधी शक्तिका कुरा सम्झेर मनमा साहस र आँट पलाएर आएको छ।


खनालजीको लेखले मलाई पनि एकछिन स्फुरित पार्‍यो। यतिबेला विश्वका अति सम्पन्न देश होउन् वा अति नै विपन, विकसित होउन् वा अद्र्धविकसित वा अल्पविकसित, ठूला र भव्य सहरमा बस्ने होउन् वा सामान्य सहर र बजारमा बस्ने, सबैसबैलाई आफ्नो देश र आफ्नो गामठामको यादले खुब सताएको छ। आफ्ना आमाबुबालाई छोडेर, परिवारका अन्य सदस्यहरूलाई छोडेर लामो समयदेखि देशकै विभिन्न सहरहरूमा रहने–बस्ने गरेका वा विदेशमा जागिर खान, पढ्न वा ‘बिजनेस’ गर्न भनी गएका व्यक्तिहरूले आफ्ना बाबुआमा खुब सम्झेका छन्, लोग्नेले स्वास्नी सम्झेका छन्, स्वास्नीले लोग्ने सम्झेका छन्,  परिवारका अन्य सदस्यहरूलाई पनि यो बेला झल्झल्ती सम्झेका छन्। आफ्नो गामठाममा बस्ने आफन्ती, दौँतरी र त्यहाँका खोला, खहरे, झरना, चौतारी (चौपारी), बगैँचा, धारा, इनार, कुवा, कुला-नहर, चउर, खेत-बारी, पाटीपौवा, मठ–मन्दिर, स्कुल, डाँडा, बेँसी, वन–जङ्गल, चियापसल, ढिकी, कोल, जाँतो (झाँतो) ……… आदि आदि कुराहरू हरेक व्यक्तिका आँखामा झल्झली नाचेका छन्। कतिपय आजका दिनमा पनि आफ्ना घरमा पुग्ने होडमा बेहाल हालतमा नै पैदलैपैदल यात्रारत छन्, लकडाउनको बेवास्तासमेत सामान्य बनेको छ केही दुःखी जनका लागि। अभावले डामिएका व्यक्तिका लागि।

लगभग पूरै विश्वका मान्छेहरू कोरोनाको पीडामा गृहबन्दी (लकडाउन) भएर बसेको धेरै भयो। हप्तौँ बन्दी भएर एकान्तवासमा बसिरहेको बेला, जिन्दगीमा कहिल्यै नसोचेको र जीवनमै पहिलोपटक भएको बाध्यात्मक र उकुसमुकुसको यो ‘घरबन्दी, यो ‘कोठाबन्दी’ले कसको मन पोलिरहेको छैन? कसको मन उद्वेलित भएको छैन ? सहरमा यो पीडा झनै बढी छ। उकुसमुकुस झन् बढी छ। कसैका लागि त न आँगन छ, न छत छ, न त गल्लीमा नै निस्कन मिल्छ, न सडकमा नै खुट्टा तन्काउन पाइन्छ। बडो कठिन छ। एउटै कोठामा बसेर ‘घरबन्दी’ समय बिताउनुपर्दा कसको मन रुँदैन? कसको मनले खुला हावा खान गाउँठाउँतिरै जाऊँ भन्दैन?

अझ कतिपयका लागि यो बेला ‘छोरो रुँदै सहरको झेलैमा, आमा रुँदै गाउँबेँसी मेलैमा’ भन्ने भएको छ। गाउँमा बाटाघाटोमा जान नपाए पनि ‘भौतिक-सामाजिक दूरी’कायम राख्दै आफ्नै टोल–छिमेकका आँगन र डहर चहार्न त पाइन्छ, पहिलेजस्तो चियापसलमा बसेर गफ गर्न नपाए पनि आफ्नै बारी, खेत, खर्‍यान, कुलो, पाखो आदिमा कृषिकर्मका साथ रम्न र जम्न त पाइन्छ। काम गरेर जीउ तन्काउन त पाइन्छ। गाई, भैंसी, बाख्रा, भेडा, कुखुरा, परेवा, कुकुर, बिराला, चराचुरूङ्गीसँग मनग्ये खेल्न त पाइन्छ।

यो कुरा लेख्दै गर्दा गजलकार विष्णु थापाका हालै प्रकाशित एक गजलका दुई पंक्ति सम्झन पुगेँ। उनले पनि गाउँघरको याद आउने कुरालाई आफ्नो गजल (मधुपर्क, चैत २०७६) मार्फत् निकै मर्मस्पर्शी पाराले अभिव्यक्त गरेका छन्। गजलका ती मर्मस्पर्शी दुई पंक्ति हेरौँ:

“बन्दीघरमा केको मस्ती, ज्यानै प्यारो रैछ आमा

मोजमस्ती गर्नलाई त, गामै प्यारो रैछ आमा”

हो, मान्छेले आफूलाई सहरमा कहर बढेको बेला, सहरमा दुःखको माकुराले बढी जालो लगाएको बेला, सहरमा अकल्पनीय भय र डरको गर्जन बढेको बेला आफ्ना परिवार र आफ्नै थातथलोको बढी याद गर्छ। आफू सहरमा भए पनि गाउँमा नै पूरै घरपरिवार र नालनाता हुनेले त अझ भन्ने गर्छ– आखिर ‘स्वर्ग’ त्यतै रहेछ, आखिरी ‘शान्ति’ त्यतै रहेछ यिनै कुरा सम्झँदै विदेशमा भएका मान्छे होउन्,  सहरमा भएका मान्छे होउन्, हरेक व्यक्ति सबै भौतिक सुख र चयनका कुरा तिलाञ्जलि दिएर आफू बसेको सहरबाट बुर्कुसी मार्दै आफ्नै घरदेश र गाउँघरतिर हुत्तिन चाहन्छन् कोरोना–सन्त्रासले सताएको यो बेला।

केही दिनअघि लकडाउन (बन्दाबन्दी) को समयलाई दुई दिन केही खुकुलो पारी ‘उपत्यका छाडेर बाहिर जान चाहनेलाई सरकारले जान दिने भयो रे’ भन्ने खबर लिक भएको ग्यास वा हुस्सु–कुहिरोझैं सहरभरि एकाएक फैलियो। करिब दुई हप्ताको लकडाउन सास्ती खेपेर आजित सहरवासी गाउँलेहरू एकाएक आफ्ना झोला र पोकापुन्तुरा कस्न थाले। गाडी र टिकटका लागि फोन गर्न थाले । जाने टोली तयार गर्ने र गाडी रिजर्भका कुरा गर्दै बाटो खर्चको जोहो पनि गर्न थाले। तर फेरि तीन–चार घण्टाभित्रै खबर फैलियो– ‘हैन रैछ।’

गाउँघरको याद र सहरको कोरोना कहरले मान्छे कति उकुसमुकुसमा छ भनेर ‘जाँच्न’का लागि भने त्यो दुई-तीन घण्टाको सनसनीपूर्ण समय यथेष्ट थियो। गाउँठाउँको याद र आमा–घरको सम्झनाले सताएपछि मान्छेले कोरोना-सोरोना केही भन्दा रहेनछन् भन्ने पनि देखियो। बस, ट्रक, माइक्रो, ट्याक्सी, जीप, ट्र्याक्टर आदिमा यात्रा गर्दा अन्य संक्रमित व्यक्तिसँगै यात्रा गर्न पुगियो भने के हालत होला? यो कुरा कसैलाई मतलब पनि थिएन। खाली घर जान पाए पुग्यो। आमाका काखमा गएर फालिन पाए पुग्यो। सायद त्यसै भनिएको होइन, “आमा र मातृभूमिभन्दा ठूलो कुरा यो संसारमा केही हुँदैन।” दुःख परेको बेला आमा, बाबा र भगवानलाई जसले पनि बढी सम्झन्छ भनेको यही हो।

“कोर्ना’ र किर्ना” !

कोरोनाकालमा हामी सामाजिक सञ्जाल निकै प्रयोग गरिरहेका छौं। फेसबुक कमै चलाउने मान्छे भए पनि यति धेरै फेसबुक मैले कहिल्यै चलाएको थिइनँ। हरेक दिन एक दुई घण्टा फेसबुकमा नबसी आफू अद्यावधिक भएजस्तो नै लाग्दैन, आफू ‘सामाजिक प्राणी’ भएजस्तो नै लाग्दैन। यो नसा हो, पक्कै हो, तर यो आवश्यकता पनि भएको छ अहिले। व्यापक जनबीच आफ्ना विचार राख्न छिटो र भरपर्दो माध्यम भएको छ, अनि प्रतिक्रिया पनि यसमा तुरुन्त पाइने गर्छ, विचार वा ‘स्टाटस आफूलाई चित्त नबुझ्दा आफैं तुरुन्तै सम्पादन गर्न पनि पाइन्छ। हामीजस्ता दशकभन्दा बढी समयदेखि नियमित चलाएका व्यावसायिक व्यक्तिलाई मात्र नभएर यो समयमा विद्यालय पढ्ने किशोरकिशोरी, युवायुवती, गृहिणी, बूढापाका आमा–बुबालाई पनि फेसबुकले निकै राम्रो साथ दिएको छ। व्यक्तिगत कुरा आदानप्रदान गर्न, फोन–वार्ता गर्न, समाचार हेर्न, फोटो राख्न आदि विविध सेवा यसबाट पाइने भएकोले पनि आजभोलि सर्वाधिक लोकप्रिय र व्यापक प्रयोगमा आएको हो फेसबुक।

फेसबुक, टिकटक, युट्युब, भाइबर, स्काइप, जुम आदि जस्ता सामाजिक सञ्जाल र उच्चस्तरीय इन्टरनेट प्रविधिले कोरोना–समय बिताउन सजिलो भएको छ संसारभर नै। नेपालमा पनि धेरै व्यक्तिका हातहातमा स्मार्ट फोन सजिएका छन् यतिबेला। नखाएर र नलाएर भए पनि स्मार्टफोन चाहिने अवस्था सिर्जना भएको छ आजकाल। तार इन्टरनेट नपुगेका ठाउँमा ‘डाटा’बाट भए पनि नेट चलाउने चलन बढेको छ। अझ कोरोना–समयमा छोराछोरी, नातिनातिनाहरू पनि हजुरबा–हजुरआमासँग रमाएका छन्। नातिनातिनाले हजुरबा–हजुरआमालाई पनि नयाँनयाँ कुरा र प्रविधि सिकाउँदैछन्। मोबाइल फोनमा गर्न सकिने अनेक कामकुराका चर्तिकलाबारे बताउँदैछन्।

हाल बुटवलमा बस्ने हाम्रा आफ्नै एकजना ८३ वर्षे बुबाले नातिको सहयोगमा कोरोनासम्बन्धी लयात्मक कविता वाचन गर्ने जाँगर चलाएको देख्दा छुट्टै आनन्द लाग्यो। उहाँले बडो मिठास शैलीमा ‘कोर्ना’को कहर सुनाउनुभएको छ। गाउँघरमा किर्ना भनेर सबैले जान्दछन्। गाईबस्तुलाई नराम्ररी टोक्छ किर्नाले, रगत चुसेर सताउँछ किर्नाले। र, पशुको रगत टन्न खाएपछि अघाएर त्यतिबेलै मर्छ किर्नो। त्यही किर्नोको कुरा सम्झेर अब कोरोनालाई पनि नेपाली ज्येष्ठ जिब्रोहरूले उहाँ बुबाले जस्तै ‘कोर्ना’ भन्न थालेका छन् । आखिर नेपाली नाम ‘कोर्ना’ भन्दा के फरक पर्‍यो त यो विश्व–विध्वंशकारी रोग ‘कोरोना भाइरस (कोभिड–१९) लाई ?

कोर्नाले जसरी विश्व खाँदैछ, जसरी नेपाललाई पनि विस्तारै विस्तारै सताउँदैछ, त्यसरी नै ‘किर्ना’ प्रवृत्तिका केही स्वार्थी व्यक्तिहरूले यो समयमा भ्रष्ट आचरण देखाउँदैछन्। स्वास्थ्य–सामग्री खरिदमा कमिशन र भ्रष्टाचार, कुटनीतिक गाडीसमेत प्रयोग गरी लूट मच्चाउने खेल, खाद्यान्न र औषधिजन्य सामग्रीहरू लुकाएर कालोबजारी गर्ने, राहतको दुरुपयोग गर्नेजस्ता काम कतिपय व्यक्तिबाट हुँदैछन्। ती व्यक्ति समाजका ‘किर्ना’ हुन्। यही सन्दर्भमा किर्नाको प्रवृत्तिबारेमा डोटेली युवाकवि खेम बतासले ‘किर्नाहरू’ शीर्षकमा लेखेको एक कविताका पंक्ति असाध्य मर्मस्पर्शी छन्

रगत चुस्नु ने यिनको धर्म

यी अनेक रूप र जातका किर्नाहरू

रगत पसिना चुस्न पाएपछि

मरन्च्याँसेबाट रातारात खाइलाग्दा बनछन्

उमरी र उपियाँबाट एकाएक किर्नामा बदलिन्छन्

किर्ना भनेका किर्ना नै रहेछन् !

अन्तमा, ‘कोर्ना’ समयमा ‘किर्ना’बन्न उद्यत केही महास्वार्थी व्यक्तिहरूमा चेत पलाओस् भन्ने विशेष आग्रह। कठिन समयमा पनि यथार्थ समाचार र सिर्जनामार्फत् असल सन्देश फैलाउन चाहने हरेक पत्रकार र प्रबुद्ध सर्जक–जनमा सयौँ सलाम !

छत्रकोट गाउँपालिका–४, श्रृङ्गा, गुल्मी,

हालः नयाँबानेश्वर, शङ्खमूल, काठमाडौं– ३१
***************************************

Related :

पिपलारुखे ठुल्दाई, हाम्रा गाउँको हैजा, लुतो र अहिलेको कोरोना महामारी !



- रामप्रसाद खनाल  


हाम्रो नेपाली नयाँ वर्ष २०७७ सुरु हुँदै गर्दा र आज नयाँ वर्षको पहिलो दिन केही लेख्नै पर्छ भनेर कम्प्युटरमा बस्दै गर्दा कोरोनाले त्रसित आतङ्कित मन भित्र अनेकौँ विषयहरू बुरुक्क बुरुक्क उफ्री रहेका छन् ।

मेरा सबै सबै मित्रहरू, आफन्तजन, शुभेच्छुक, दर्शक, श्रोता र पाठकहरूमा सबैभन्दा पहिला नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु र कोरोना भाइरस महामारीबाट सकेसम्म सुरक्षित रहन हर सम्भव उपायहरू अपनाउन हार्दिक अनुरोध गर्न चाहन्छु । पहिला निकै डराएको म अहिले डराउन छाडिसकेको पनि अवगत गराउन चाहन्छु ।

किन डराउन छाडिस् भन्नुहोला - उत्तर सरल छ । म गुल्मीको गाउँमा गाई गोठमा जन्मिएको मान्छे । हैजा महामारी देखी धेरै प्रकारका उतार चढाव भोगेको अनुभव छ । उकालो ओरालो गर्ने देखी घाँस दाउरा, पानी पँधेरा, हलो कोदालो, दुःख सुख सबै देखेका भोगेका, माटोमै जन्मिएका, माटोमै खेलेका, हुर्के बढेका, धुँवा धुलो सब पचाएका हामीलाई कोरोनाले सजिलै छुन्छ जस्तो मलाई लागेन । छोयो नै भने पनि हामीलाई त्यति सजिलै मार्न सक्छ भन्ने कुरा म पत्याइन ।



सम्झिनुस् त हामीले खाने पँधेराको पानीको क्वालिटी कस्तो थियो ? हामीले खाने खानाका कुनै पनि परिकारको क्वालिटी अर्थात् गुणस्तर, सरसफाइ कस्तो थियो ? झाडा बान्ता देखी कस्ता कस्ता महामारी आए गए, मरियो त ??

हाम्रो गाउँमा एक जना अलि झडङ्याहा टाइपको दाइ हुनुहुन्छ पिपलारुखे ठुला । नाम पनि सिंह बहादुर कुँवर । इन्डियन आर्मीमा पेन्सन पकाएर अहिले घरमै बसेका ठुल्दाई पहिला लाहुरबाट घर आउँदा मिठाई खान पाइन्छ भनेर हामी लाइन लाग्थ्यौँ वहाँको घरमा । दसैँमा पनि टिको लगाउन घरको टिको पछि दौडिएर हामी ठुलदाइको घर जान्थ्यौँ किनकि ठुलदाइले एकको नयाँ नोठ दिन्थे बुढाले टिको लगाइदिए पछि त्यो बेला पनि ।

ती ठुलदाइको हातको पिटाइ नखाएका र देखे नतर्सिने गाउँ भेगमै कम थिए मान्छे । बुढाले मुख भन्दा पहिला हात चलाउने बानी थियो । ठुलदाइकी छोरी लक्षीमा र म सँगैका सहपाठी पनि । एक दिन मेरै आँखा अगाडि ठुलदाइले माइली छोरी कमलालाई टिपेर छेलो फाले जस्तै पोखरीमा फालेको त्यो दिन देखी म ठुल्दाईको नजिक पर्न डराउँथेँ ।

म कहिल्यै त्यस्तो बिठ्याइँ नगर्ने मान्छे, एक दिन सानैमा ठुल्दाईको कुकुरको छाउरो पछाडि पछाडि आयो । डराएर कुकुर भगाउन सानो ढुङ्गो कुकुर तिर फालेको के थिएँ बुढाले देखेछन् । अनि त बुढाले मेरो ढाड र करङको मर्मत राम्रै सँग गरे नि । त्यति मात्र हो र मूल बाटोमा कुकुरका शान्ति ठुलदाइले मलाई गोहोरो लतारेझैँ लतारेको त्यो दिन हिजो जस्तो लाग्छ ।

यिनै ठुल्दाई हाम्रो गाउँमा कोही बिरामी भए "सुई लाउने डाक्टर" पनि थिए उ बेला  । मेरो घर पल्तिर धर्मराज दाइको घर थियो । दाइ बिरामी पर्नुभयो । ७ वटा सुई लाउनुपर्ने स्वास्थ्य चौकीले बताए पछि धर्मराज दाइले नजिक हुन्छ त्यहीँ पिपलारुखे ठुलाकोमा गएर लगाउँला भनेर खोपको औषधी लिएर आउनुभयो । सुई लाउन धर्मराज दाइले मलाई साथी लिएर जानुहुन्थ्यो । त्यो बेला मैले देखेको ती ठुलदाइले एउटै सुइले वर्षौँ वर्ष सुई लगाएर ( सुई लगाउने भनेको खोप लगाउने भनेको के कस्तो अलमलिएको ??)  गाउँले लाई सहयोग गर्नुहुन्थ्यो । खइ लागेको त्यो सुई पचाएका हामी ती गाउँ बाट उठेर आएकालाई कोरोनाले सजिलै छोला र !

पिपलारुखे ठुल्दाई अहिले पनि टाठै हुनुदोरहेछ मैले पोहोर साल गाउँ जाँदा भेटेर आएँ । ठुल्दाई अहिले सुई लाउनुहुन्छ कि छोड्नु भयो ? भन्दा बुढा भन्दै थिए - भाइ, त्यो बेला पो स्वास्थ्य चौकी डाक्टर, अहेब, अनमी हुन्नथेर सबै चलाइन्थ्यो अहिले त गाउँ गाउँ मा छन् क्या रे ! सुई लगाउन छाडेँ । मैले यो ठुल्दाईको प्रसङ्ग यहाँ किन ल्याएँ बुझ्नु भयो होला - त्यसरी एउटै सुई वर्षौँ प्रयोग गर्दा पचाएका हामी, ठुल्दाइहरुलाई डाक्टर बनाएका हामी के सजिलै मरौँला र ??                 

कयौँ हैजा र महामारी भोगेर यहाँ सम्म आएका हामीलाई अर्को गजबको खुसी लाग्ने कुरो छ भने नेपालमा लगभग हामी सबैले बिसीजी खोप लिएका छौँ । बिसीजी को खोप लगाएका मानिसहरूमा कोरोना सङ्क्रमण कम देखिएको र देखिए पनि मृत्यु दर अत्यन्त न्यून रहेको अमेरिकामा गरिएको एउटा सर्वेक्षणले देखाएको छ ।

एउटा अर्को रोचक घटना सुनाउँ । म ७ वर्षको हुँदा हाम्रो गाउँ वरपर हैजाको महामारी फैलियो । केहीको मृत्यु भयो । अनि अर्को वर्ष लुतोको महामारी भयो । म सानै थिएँ र पनि सम्झिन्छु । गाउँ भर जो भेटिन्थे कनाउँदै गरेका भेटिन्थे । शिर देखी पाउ सम्म मेरो शरीर भर हरेक अङ्ग अङ्गमा लुतो भएर कनाउँदा शरीर पुरै रगताम्मे हुन्थ्यो । भन्दा लुतो सामान्य लाग्छ तर भएकालाई र यो भोगेका लाई सोध्नुस् यहाँ भन्दा खतरा र सङ्क्रमण हुने अरू के हुन्छ होला र !

लुतो आए पछि कनाउँदा कनाउँदै घाउ हुने मात्र होइन जब चिलाए पछि यसरी चिलाउँछ कि सहन नसकेर मान्छेले छालै लोकत्याएर फाल्छन । लुतो भयो भने बाँदर कहिल्यै निको हुन्न, कनाउँदा कनाउँदै मर्छ सुन्नु भएकै होला । मैले पनि वाक्क दिक्क भएर छाला लोकत्याएको याद छ त्यो बेला ।

हाम्रो गुल्मीको धरम्पानी मैनडाँडा भन्दा तल मनभाग ( पौवा ) भन्ने ठाउँ छ त्यहाँ एक जना रेणु भन्ने सिएमए क्लिनिक चलाएर बस्थे । उनलाई नै हामी डाक्टर भन्थ्यौँ । मलाई लुतो भएका बेला उनले भने - हेर बाबु एक महिना हरेक दिन सुई लाउनुपर्छ । उनी मेरो दाइका साथी पनि थिए । त्यसैले मलाई उनले बढी टेक केयर पनि गरे । एक महिना सम्म हरेक दिन सुई लगाएको म त्यो पिडा अहिले शब्दमा व्यक्त गर्न पनि सक्दिन ।

एउटै सुइले त्यो बेला सबैलाई सुई लाउने चलन थियो । त्यति गर्दा नमरेर बाँचेको मान्छे अहिले कसरी मर्छु हँ ? कोरोना भाइरस आयो भने पनि त्यो म सँग जुध्नै सक्दैन, आफै निसास्सिएर मर्छ भन्ने कुरामा म ढुक्क छु तर सावधान भने छु है । सुरक्षित हुने उपाय, सम्बन्धित निकायका सूचना र निर्देशन पुरा पालन गर्छु ।

- बैशाख १, २०७७, भर्जिनिया अमेरिका   

Image may contain: Ram Prasad Khanal, possible text that says 'नयाँ बर्ष २०७७ को उपलक्ष्यमा हार्दिक शुभकामना रामप्रसाद खनाल अध्यक्ष अन्तर्राष्ट्रिय कलाकार मज्च अमेरिका RAMP RAMPRASADKHANAL.COM'

 हाँस्य कविता : 

कन्फ्युज भएको हुनुपर्छ कोरोना भाइरस पनि !

Image may contain: Ram Prasad Khanalकेही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
बुढी माउँ पकाउँछिन्
जोत्ने दाइले झैँ
म स्याम्म बजाउँछु
एक थाल भात
महँगो तरकारी
आलु जत्तिको पनि अडिलो नहुने
भन्नका लागि मासु भनिने
बोईलर कुखुराका झाम्टाहरू !
सिन्की सकियो
मस्यौरा सकियो
झान झुन पार्दा सबै सकियो
म भात बहादुर
कोरोना बहादुरसँग तर्सिएँ
काम धाम छोडेर
थन्किएका बेला घर
पहिले पहिले
मोइसँग लफन्नाएको आटो
मकैको रोटी सम्झिँदै
कोदो, फापर जस्तै देखिने पिठोको रोटी
बुढी माउँ जे जे दिन्छिन्
घैँटे पेटमा सिन्की खाँदे जस्तै
खाँदी रहेको छु म आजकल
काम नगरी खान कहाँ पाइन्छ ?? भन्थे मान्छेहरू !
इस् गर्छु काम !
बुढी माउँ किचनमा पकाउंछिन
म स्याम्म खान्छु
जब भरिन्छ घैँटे पेट
बिस्तारामा जान्छु
किनकि
बसेर टिभी हेर्न मिल्दैन
अनि,
बिस्तारामा कहिले उत्तानो परेर
कहिले घोप्टी परेर
कहिले कोखे परेर
फोन बाटै हेर्छु टेलिभिजनहरू
बिना पैसा सित्तैमा कजिन्छु
जुकेरबर्गको फेसबुकमा
गुगलको युट्युब रोला जस्तो गर्छ
मलाई आइजन भनेर
अनि म त्यता पनि जान्छु
समाजसेवी भावना छ मेरो
म कसैसँग ज्याला मजदुरी लिन्न
उनीहरूका लागि काम गर्छु
बुढी माउँ फेरी चिया नास्ता लिएर आउंछिन
म मिठा मुखले बजाउँछु
बजाउँदा बजाउँदै थकाई लाग्न थालेको छ
सुत्दा र बस्दा दिक्क लाग्न थालेको छ
उठ
खाऊ
बस
सुत
मेरो दिन चर्या यस्तै भएको छ आजकल !
बरु,
यस पटकको अनुभबले लाग्यो
काम गर्न नखोज्ने काम चोरहरु
बसी बसी खान खोज्ने ठगहरु
काममा जान भन्दा मरे झैँ गर्नेहरु
बिचरा तिनीहरुलाई
 कति गाह्रो हुँदो हो सधै घरमै बस्न
फिल्म र सिरियलहरु हेर्दै
समय कटाउन !
मलाई ति बिचराहरु देखी
दया लाग्न थालेको छ अहिले
तिनको बन्दी जिबन सम्झेर
रुन मन लागेको छ अहिले !
केही दिन यता
मेरो चाल चलन देखेर
कन्फ्युज भएको हुनुपर्छ
कोरोना भाइरस पनि !
यस्तो अल्छी मनुवालाई लगेर के गर्नु ?
शायद यसै भन्दै होला कोरोना यमराज !
धुलो धुँवा फोहोर
उकालो ओरालो
घाँस दाउरा
पानी पँधेरो
खेत बारी
सबै सबै पचाइसकेको म मनुवा
उसले चिनेछ क्यारे
लिन आउने हिम्मत गरेको छैन
म कति ज्याद्रो छु
उसले बुझे जस्तो छ
त्यसैले हिम्मत गरेको छैन
मलाई लिन आउने !
आयो भने मैले पनि जानेको छु
त्यसलाई पचाउन !
आइजन न मात्रै
निसास्सिएर मर्छस् बाबु तँ म सँग
तँ भन्दा पनि म खतरा छु !
ज्याद्रो छु
गाई गोठमा जन्मिएको हुँ
सक्दैनस् बाबु सक्दैनस् तैँले
फुर्ती गर्दै नगर !
मेरो भर पर्दै नपर !
ढाँट्या भए मरिजाम !
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका, अप्रिल ७, 2020
******************************

नयाँ हनुमान चालिसा


ओली काका कति राम्रो, प्रचण्ड झन अति राम्रो   
नेकपामा छानी हेर, देख्छौ सबै राम्रै राम्रो    
गरीब दुखी सर्बहारा, जनता जती सबै हाम्रो 
आजकल त हनुमान चालिसा नै यही हो हाम्रो ! 
भन्देखीलाई शेर बहादुर दाई पनि कति राम्रो  
भाउजु हाम्री आरजु त, जती हेर्यो उती राम्रो 
रामचन्द्र दाई सँगै जय नेपाल जती राम्रो
गच्छेदार, सिटौला र निधी पनि हो है हाम्रो 
कमल थापा, पशुपती, प्रकाशचन्द्र पनि के कम 
मधेशबादी ६ अध्यक्ष जो हेर्यो त्यही राम्रो छ झन 
हिसिलाको मुखै राम्रो, बाबुरामको नाच जस्तै 
देश जनता भन्न छोड फुटौला नि कांच जस्तै   
यसो भने कसो होला नयाँ नेपाल नयाँ चाला 
हनुमान चालिसा त यस्तो बन्यो हाम्रो पाला 
लकडाउन मै बस अब, खाउ त्यही, त्यही ओढ 
दले बन, गुणगान गाउ, आफ्नो हेर, अरु छोड !

- रामप्रसाद खनाल      
*************************************************8

* लोक तथा दोहोरी गायक रामप्रसाद खनालका गीतहरु ( अडियो जुकबक्स भाग - १ )

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक