20200422

देश दुर्घटनामा जाने खतरा देख्दैछु - डा. युवराज संग्रौला



प्रधानमन्त्रीको मनको बाघ र देशको दुर्भाग्य


सम्मानित राष्ट्रपति महामहिम श्री बिद्यादेवी भण्डारीले मन्त्री परिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभन्दा ठिक १२ घन्टा जति अगाडि प्रधानमन्त्रीको एउटा ‘भिडियो क्लिप’ सामाजिक संजालमा भाइरल भएको थियो। भाइरल क्लिपमा देखिएका प्रधानमन्त्री धादिङको आकाशबाट धादिङको जमीनमा अचानक मानिसहरू कसरी प्रकट भए भनेर प्रश्न गर्दै रिसाएको देखिन्छ। हजुर, ठिक सुन्नु भयो, प्रमको आसय यस्तै थियो।


‘सिडिओलाई थाहा छैन। प्रहरीलाई थाहा छैन। मानिसहरू अचानक कहाँबाट आए ? काठमाडौबाट  पत्रकार  कसरी आए ? रहस्य के हो ?’ भनेर प्रधानमन्त्री झोंक्किएका छन्। रातापिरा भएका छन् ।

कसले सुनायो होला प्रधानमन्त्रीलाई यस्तो ‘कन्स्पिरेसी  थ्यरी’ ? कसले  विश्वस्त गरायो होला मान्छेहरू अचानक प्रकट गराइएका हुन् भन्ने कुरा प्रधानमन्त्रीलाई ? कसरी उनले यस्तो उडन्ते  ‘षड्यन्त्रको सिद्धान्त’ पत्याउन सके होला ?           

मलाई के लाग्छ भने केही समययता प्रधानमन्त्री हतास छन्। आतिएका छन्। उनलाई मनको बाघले चिथोरेको चिथोरै छ । क्लिप हेर्ने जोसुकैलाई पनि प्रधानमन्त्रीको मनस्थिति बुझ्न गाह्रो छैन। ‘भिडियो क्लिप भाइरल’ हुनुको कारण पनि यही हो।

यस्तो लाग्छ, दुई तिहाई प्रचण्ड बहुमतका धनी प्रधानमन्त्री पद्म शमशेरको मनोदशामा शासन गरिरहेका छन्। पद्म शमशेर भाइहरुले गलहत्याउलान्, मार्लान्  र सत्ताच्युत गर्लान् भनेर सधैं हतास र थर्कमान रहन्थे। राती सुत्न सक्दैन थिए। प्रधानमन्त्री पनि त्यस्तै मनोदशाबाट गुज्रिएको देख्न सकिन्छ। कसैले आन्तरिक ‘कु’ गर्ला कि, सत्ता अर्कैले उछिट्याउला कि, सत्ताच्यूत्त हुनुपर्ला कि भनेर उनीपनि पलपल थर्कमान छन् । उनी यति हतास छन कि उनलाई जसले जेसुकै मनगढन्ते कहानी सुनाए पनि ‘हो’ जस्तो लाग्न थालेको छ।

दुई तिहाई प्रचण्ड बहुमतका धनी प्रधानमन्त्री पद्म शमशेरको मनोदशामा शासन गरिरहेका छन्। पद्म शमशेर भाइहरुले गलहत्याउलान्, मार्लान्  र सत्ताच्युत गर्लान् भनेर सधैं हतास र थर्कमान रहन्थे। राती सुत्न सक्दैन थिए। प्रधानमन्त्री पनि त्यस्तै मनोदशाबाट गुज्रिएको देख्न सकिन्छ। प्रधानमन्त्रीको मनको बाघ नै देशका लागि फेरि अर्को दुर्भाग्य हुने संकेत देखिंदैछ।

जब मान्छेलाई मनको बाघले खान थाल्छ उसको प्रतिक्रिया पत्याउनै नसकिनेगरि अस्वभाविक भएर ब्याबहार र बोलीमा प्रतिबिम्बित हुन थाल्छ। भनिन्छ पद्म  शमशेर पनि चिसो पानी समेत फुकेर मात्रै पिउथे रे। बिरालो देख्दा नि मलाई मार्न र सत्ता कब्जा गर्न बाघ पठाए भनेर ढोका लाउथे रे।

दुई तिहाईका जंगबहादुरजस्ता प्रधानमन्त्री पनि सत्ता गुम्छ कि भन्ने आशंकाले पद्म शमशेरजस्तो हतास र शंकालु भइसकेका रहेछन्। उनी पनि तपाईंलाई असफल देखाउन, त्यही असफलतालाई देखाएर तपाईंलाई सत्ताच्यूत गर्न एक हुल मानिस ‘लकडाउन’को बेलामा पनि धादिङमा अचानक र रहस्यमय तरिकाले प्रकट गराइए भन्दा पत्याउने भइसकेका रहेछन्।

‘भाइरल क्लिप’मा अस्वभाविक मनोदशामा देखिएका प्रधानमन्त्रीलाई यही एउटा ‘क्लिप’ र संवादले मात्रै प्रतिनिधित्व गर्दैन होला भन्ने लाग्दा नलाग्दै,   त्यसको १२ घन्टापछि दुईवटा अध्यादेश जारी गरेर उनले पुन: आफ्नो हतास मनोदशा पुष्टि गरिदिए।

सारा संसार कोरोनाको संक्रमण र संन्त्रासले भयभि त छ। लाखौंको संख्यामा मौरीको गोलोजस्ता नागरिकहरु देशबाहिर मृत्यु र संक्रमणको जोखिममा छन् । देशभित्र बन्दाबन्दीको हाहाकार छ। मानिसहरू सयौं किलोमिटरको यात्रामा पैदल निस्किएका छन्। प्रधानमन्त्रीलाई अचानक कहाँबाट मलाई असफल बनाउन यी मानिसहरू प्रकट गराइए भनेर लागेका मानिस यिनै यात्रु हुन्। अरु लाखौं मानिस घरभित्र पानी खाएर बाँचिरहेका छन्। लाखौंको रोजगारी गुमेको छ। लाखौंको ब्यावसाय धारासायी भएको छ।

तर प्रधानमन्त्रीको प्राथमिकतामा के छ ?

कुर्सी छ।

सबैतिरबाट ध्यानस्थ भएर प्रधानमन्त्रीको चित्त कहाँ स्थिर छ ?

सत्तामा स्थिर छ।

प्रधानमन्त्रीलाई संक्रमण र संक्रमणपछिका चुनौतिपूर्ण दिनहरुको डर छैन। डर पुर्वप्रधानमन्त्री भइएला कि भन्ने छ। जागिर जाला कि भन्ने छ।

तपाईं मृत्यु र संक्रमणको भयले आग्लो लगाएर घरभित्र बसेको समयमा तपाईंले नै दुईतिहाई दिएको प्रधानमन्त्री, तपाईंसँग राजनीतिक स्थिरताका लागि भन्दै मत मागेको प्रधानमन्त्री, तपाईंलाई रेल चडाउँछु, पानी जहाजमा घुमाउँ छु, समृद्ध बनाउँ छु आदि भन्ने अनेक बाचा गरेर कुर्सीमा उक्लिएको प्रधानमन्त्रीको प्राथमिकता र ध्यानाकर्षण कता छ भन्दा, कुर्सी, कुर्सी र कुर्सीमा मात्रै छ। किर्नो टाँसिए जसरी, जुनसुकै मुल्यमा पनि प्रधानमन्त्री कुर्सीमा टाँसिइरहन चाहिरहेका छन् ।

उनले यसैलाई राजनीतिक स्थिरता भनेर बुझेका छन्। उनले बुझेको राजनीतिक स्थिरता र समृद्धि तपाईं हामीले अपेक्षा गरेजस्तो बुझेजस्तो छैन। ओलीले राजनीतिक स्थिरता भनेको आफू कुर्सीमा उक्लिएपछि अरु कसैले त्यो कुर्सी हल्लाउनु हुदैन भन्ने अर्थमा बुझेका छन्। बस ! आफू बसेको कुर्सी हल्लिनु हुदैन त्यही हो ओलीको स्थिरता। यदि हल्लियो अथवा भविष्यमा  हल्लिने सम्भावना मात्रै रहयो भनेपनि उनले राजनीतिक दलहरु फुटाएर, त्यहाँका लोभिपापीहरु किनेर पनि उनको बुझाइको राजनीतिक स्थिरता कायम राख्न कसुर छोड्ने छैनन्। उनले हिजो बिजुली चम्केको तालमा जारी गर्न लगाएको अध्यादेश त्यसैका लागि हो।

ओलीको अर्को प्रमुख एजेन्डा समृद्धिको ब्याख्या त खासै गरिरहनु पर्दैन। कसकसलाई  कुनकुन दर भाउमा समृद्धि आइरहेको छ  त्यो त हप्तैपिच्छे सार्वजनिक भइरहेकै छ। संक्रमणको महामारीमा पनि केपि ओलीको समृद्धिको अभियान रोकिएको छैन। रोकिनेवाला पनि छैन।  धेरै समृद्धि पच्न नसकेर भूतपुर्व भएका र लगातार समृद्धि पचाइरहेकाहरुको बारेमा हामी सबै जानकार नै छौँ ।

लाग्छ इतिहासको फोहोरी चक्र दोहोरिन ठिक्क परेको छ। हामी २०५२ सालको संघारमा छौँ । फरक यति हो २०५२ मा त्यो फोहोरी संसदीय अभ्यासको उद्घाटन शेरबहादुर देउवाले गरेका थिए। ०७७ मा ओलीले अध्यादेशमार्फत गरेका छन् ।

हेर्नुस, सरकार दुई प्रकारका हुन्छन्।  एउटा हुन्छ लोकमतले बनाएको सहमति र संस्कारको सरकार अर्को हुन्छ अंकगणितको तिकडममा मात्रै खडा भएको- गणितीय सरकार। तिकड्म भन्दा पर उसँग कुनै नैतिक धरातल र बैधता हुँदैन। ऊ तिकडम गरेर मात्रै बच्न सक्छ। ऊ बाँच्नका लागि तिकडम  गरेर आफ्ना अंकहरु जोगाउछ। अंकहरुलाई बैंकक पठाउछ। अंकहरुलाई डाक  बडाबडमा खरिद गर्छ। अंकहरुको सुबिधाका लागि पजेरो भित्र्याउँ छ। ओलीले भोलि अर्को अध्यादेश ल्याएर मन्त्री परिषद् ९९ सदस्यीय हुन्छ भने अचम्म मान्नु पर्दैन। किनभने इतिहास साँच्ची छ यस्ता अंकगणितको तिकडममा मात्रै राजनीतिक भविष्य देख्नेहरुले इमान, जमान, आत्मसम्मान, कानुनी र संवैधानिक मर्म मात्रै होइन देशका खोलानाला र देशैसम्म पनि बेचेका छन् ।

म आज अढाई दशकअगाडि गठन भएको मनमोहन अधिकारी नेतृत्वको त्यो अल्पमतको सरकार सम्झिरहेको छु। जसलाई इतिहासमा दर्ज हुन र जनताको स्मृतिमा बस्न कुनै गणितले रोक्न सकेन। जनताहरु आज पनि मनमोहन अधिकारीलाई एउटा आदर्श कम्युनिस्ट प्रधानमन्त्रीको रुपमा स्मरण गर्छन्।

नेकपाका अहिलेका यी आदर्शहीन अहंकारी अनुहार पनि त्यो सरकारमा थिए । मनमोहनको छत्रछायाँमा उनको संस्कारमा थिए ती अनुहारहरु भन्ने मलाई विश्वास भइरहेको छैन। पछि अंकगणित तिकडमा त्यो लोकप्रिय सरकार बर्खास्त गरियो। यीनै ओलीजस्तै अति चतुर्मानहरुले त्यो लोकप्रिय सरकार ढालेका थिए। पात्र अवस्य नै फरक थिए तर बुझाइ र प्रवृत्ति यही थियो। यस्तै चतुर्मानहरुको अंकगणितीय तिकडमवाला प्रवृत्ति जो आज अध्यादेशको रुपमा प्रकट भइरहेको छ।

साथीहरू, समय एकपटक फेरि घुमेर तिनै घिनलाग्दा बद्नाम दिनहरूको संघारमा आइपुगेको छ ।

लाग्छ इतिहासको फोहोरी चक्र दोहोरिन ठिक्क परेको छ। हामी २०५२ सालको संघारमा छौँ । फरक यति हो २०५२ मा त्यो फोहोरी संसदीय अभ्यासको उद्घाटन शेरबहादुर देउवाले गरेका थिए। ०७७ मा ओलीले अध्यादेशमार्फत गरेका छन्  ।

उनको मनोदशा, उनका प्राथमिकता, उनको हतासा र उनले जारी गरेको अध्यादेशले बडो अनिष्ट राजनीतिक दुष्चक्रतर्फ संकेत गरिरहेको छ। तर देशेले अर्को एउटा राजनीतिक दुष्चक्र थेक्न सक्दैन। प्रधानमन्त्रीको मनको बाघ नै देशका लागि फेरि अर्को दुर्भाग्य हुने संकेत देखिंदैछ।

हामी सबैले यसमा ध्यान पुर्याउन र हस्तक्षेप गर्न जरुरी छ। मेरो तर्फबाट मैले गर्न सक्ने हस्तक्षेप यहि लेख हो र यति नै हो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक