20200527

कोरोना भाईरस महामारी र मेरो आफ्नै कथा

Image may contain: Satish Chapagain, smiling- सतिश चापागाईं 
केहिदिन अगाडी मैले फेसबुकमा एउटा पोष्ट गरेको थिएँ । संसारलाई नै आतंकित बनाएको कोरोनाको जस्तै लक्षण मिल्ने ज्वरो, शरीरमा एकदम जाडो महशुश गर्ने गरेको, सुख्खा खोकी लाग्ने गरेको, श्वास प्रश्वासमा अफ्ठेरो भएको र डाक्टरले पनि कोरोना भएको हुनसक्ने बताएको कुरा लेखेको थिएँ । मलाई धेरैले मेरो बिरामीको कारण, प्रकृति र मैले अपनाएको साबधानी अनि उपचार विधिका बारेमा सोधपुछ गर्नु भएका कारण सबैलाई एकमुष्ट जानकारी दिन सकुँ भनेर यो लेख लेखेको हुँ । शुरु मै प्रष्ट पार्न चाहन्छु की म अहिले पूर्ण निको भएको छु । मलाई कोरोना लागेकोले यो लेख लेखेको होइन । कोरोनाको लक्षणसंग मिल्ने रोग लागेर निको भएको एउटा व्यक्तिका नाताले मैले भोगेको शारीरिक र मानसिक पीडा बुझाउन यो लेख लेखेको हुँ ।

संसार आतंकित भईरहँदा आफुले केहि अनुभव पनि गरेकोले अरुको जानकारीका लागि त्यो पोष्ट गरेको थिएँ । मुख्य कुरा त्यो बेला धेरै आफन्त र साथीभाईका फोन कलहरु बढी नै आएको र फोन उठाउने बित्तिकै खोकी लाग्ने भएकोले सबैलाई म निको भएको जानकारी दिन पनि उक्त पोस्ट गरेको थिएँ । जसले गर्दा सबैले एकै पटक वास्तविकता थाहा पाउनु भयो । कतिले म्यासेज गरेर पनि थप जानकारी लिनुभयो । संसारभर केस बढिरहेको बेला त्यही लक्षणको बिरामी भएर निको भएपछी आफ्ना प्रियजनमा खुशी र अनुभव बाँड्नु मेरो दायित्व पनि थियो ।


त्यो पोष्ट गरेर मैले ठिक गरेछु भन्ने अनुभव अहिले भएको छ । किनकी त्यसपछि अमेरिकाकै बिभिन्न स्टेटमा रहेका साथीभाईहरुले आफुहरु पनि त्यही लक्षणसंग लडिरहेको बताउनु भयो । मैले जानेको सल्लाह र नेपाली डाक्टरहरुको सम्पर्क दिएँ । अमेरिकाभन्दा बाहिरका साथीभाईले पनि मेरो स्वास्थ्यको बारेमा सोध्नुका साथै यसबारेमा चासो लिनु भएको छ । अझ राम्रो कुरा कतिपयले त्यसपछि काममा जान छोडेर घर मै बसेको पनि बताउनु भएको छ । बिरामी साथीभाईलाई अनुभव बताउन पाउँदा र नभएकाहरुलाई पनि मेरो कारण चासो र सजगता बढेकोमा मैले त्यो पोष्ट गरेर राम्रै गरेको महशुश भएको छ ।

मेरो आफ्नो कथा यस्तो छ :

संसारमा कोरोना फैलिएको, अमेरिकामा र म बस्ने स्टेटमा कोरोनाले मान्छे मरिसकेको अवस्था थियो । म आफु सामान्य पेट दुखेकोले आफ्नै डाक्टरको क्लिनिकमा पुगेर चेक जांच गरें । त्यो रात म अचानक ब्युझिएँ, छातीमा अफ्ठेरो भएकोले तिन घण्टा सुत्न सकिन । फेरी निदाएँछु, बिहान उठेर काममा गएँ । दिउसो जाडोको महशुश भयो तर काम गरेर घर आएँ । साँझ सुत्ने बेलामा फेरी अफ्ठेरो महशुश हुन लाग्यो । केहीबेर त सुत्ने कोशिश गरें तर अघिल्लो रातको अफ्ठेरो र संसारको परिवेश सम्झेपछि म उठेर आफैले गाडी लिएर इमर्जेन्सी भर्ना हुन गएँ ।  मलाई जाडो हुने र खोकी लाग्ने भईसकेको थियो, छातीको दायाँ भागमा बढी दुखेको थियो ।

त्यहाँ मेरो मुटुको धड्कन चेक भयो, रगत र पिसाबको परिक्षण भयो, छातीको एक्सरे भयो र आवश्यक अल्ट्रा साउण्ड पनि । सबै हेरेर डाक्टरले पेटमा एसिडिटी बढेको भनेर औषधी लेखिदिए । दुईदिन घर मै बसें र काममा गएँ । हल्का जाडो घरमा पनि हुन्थ्यो, काममा गएको बेला झनै भयो । तीन घण्टा काम गरेपछि घरमा आएँ ।

यो पनि पढ्नुहोस :   नेता विश्वप्रकाश शर्माकी श्रीमती के भन्छिन ? In Janani with Bishnu Mainali
घरमा आएपछि मेरो पर्सनल क्लिनिकमा सम्पर्क गरें, नर्सले केहिदिन घर मै आराम गर्न भनिन । मैले कोरोनाको चेक गर्न आग्रह गरें । नर्सले कोरोना वा रुघाखोकी मध्ये एक भएको बताईन । उनले आफूकहाँ नआउन र अस्पताल पनि नजान सुझाव दिईन । माईल्ड सिम्टम (सामान्य लक्षण) भएकोले आत्तिनु पर्दैन भनिन । ज्वरो घटाउन नेपालको सिटामोल जस्तै Tylenol खान सुझाब दिईन । उनले कोरोना परिक्षण टेस्टिंग किटको अभाव भएको र सामान्य अवस्थामा चेक गर्न नपर्ने भन्दै ज्वरो निको नहुँदासम्म क्वारेन्टाईनमा बस्न भनिन । म उनले भनेजस्तै गरि आफ्नै कोठामा बसें । छोरीहरुसंग दुई हप्ता भेट भएन । श्रीमती भने खाना ल्याउनु पर्ने र औषधी पानी दिईरहनु पर्ने कारणले नजिक हुनु नै पर्ने भयो । कोरोना नै हो भन्ने नभएकोले उनी त्यति टाढा बसिनन, मलाई भने डर लागिरहन्थ्यो । तैपनि बोल्दा, खोक्दा अलि टाढा बसेर साबधानी अपनायौं ।

ति दिनमा दिउसो त ठिकै हुन्थ्यो तर साँझ परेपछि लाग्ने खोकीले डराउन दिन्थ्यो । अनुभवी नर्सले भनेको हुँदा विश्वास बढी थियो तर कोरोनाको परिक्षण गर्न पाए हुन्थ्यो भन्ने मनमा भईरहन्थ्यो । किनकि संसारभरी नै मानिसहरु मरिरहेका थिए । यहासम्म कि इटालीमा त डाक्टर र नर्सहरुको नै ज्यान गएको थियो । एक हप्तासम्म पनि ज्वरो, खोकी र जाडो नियमित भएपछी मलाई अलि बढी डर लागेको थियो । सातौं दिनको दिन मनमनै सोचें “अब बाँच्ने दिन धेरै छैन !” यो रोग लागेपछि चौध दिनमा सन्चो हुनपनि सक्छ र मर्नपनि सकिन्छ । सात दिन भैसक्दा बीसको उन्नाइस नभएपछि त्यस्तो सोचाई आउदो रहेछ ।

त्यसपछि एकदिन अर्को एक जना डाक्टरले कोरोना नभएर निमोनिया पनि हुन सक्छ, चेक गराउनु भनेपछी श्रीमतीले मलाई लिएर इमर्जेन्सीमा गईन ।भलै यसरी जानु उपयुक्त होइन । श्रीमतीलाई गेटबाट नै फ़र्काईदियो । मलाई पनि भित्र लगेर सामान्य सोधपुछ र छाती चेक गरेपछि घर पठाईदियो । मैले कोरोना हो की चेक गर भनें । मलाई चेक गरेका स्वास्थकर्मीले भने “म पनि क्वारेन्टाइनमा बसेर निस्किएको हुँ, मलाई पनि चेक गरेनन। किट नै छैन ।” उनले मेरो फोक्सोको अवस्था राम्रो भएको र कुनै अन्डरलाईन कण्डिशन नभएको भन्दै घर जाने सल्लाह दिए । त्यतिबेलासम्म म बस्ने मेरिल्याण्ड राज्यमा दुई ठाउंमा मात्र कोरोना परिक्षण गर्ने केन्द्र थिए । डाक्टरले पठाए मात्र त्यहाँ जान पाईन्थ्यो ।

नलागेको भए त ठिकै हो तर लागेको भए मैले असावधानी गर्ने बित्तिकै धेरैलाई सार्न सक्छु भन्ने भएर मैले त्यस हप्ता मेरो सम्पर्कमा आएका नेपाली साथीहरुलाई आफ्नो अवस्था जानकारी गराएँ । काममा पनि म्यानेजरलाई खबर गरें ।

अवस्था स्थिर नै भएपछी मैले एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष तथा डाक्टर केशव पौडेललाई सम्पर्क गरें र अवस्था जानकारी गराएँ । उहाँले पनि खाना र पानीमा बढी ध्यान दिने, आराम गर्ने र ज्वरो घटाउने भन्नुभयो । रुघाखोकीका केहि औषधि साथीभाई मार्फत मगाएको थिएँ । त्यसले खासै काम गरेको थिएन । ज्वरोको औषधि ५-५ घण्टामा खानुपरेको थियो । मेरो पुरानो डोजले काम नगरेको थाहा पाएपछि मैले औषधिको राम्रो ज्ञान भएका डाक्टर सरगम महतलाई सम्पर्क गरें । डाक्टर महत कै सल्लाहमा मैले खाईरहेको भन्दा डबल डोजको ज्वरो घटाउने औषधि खाएँ । अब भने १२ घण्टासम्म काम गर्न लाग्यो । १२ घण्टापछि फेरी ज्वरो शुरु !

यो पनि पढ्नुहोस :   ओलीलाई काँग्रेसको प्रश्न : 'संविधान संशोधन गर्नु राष्ट्रघात कि जनमत संग्रहको सम्झौता ?'
पछिल्ला दिनमा समाचार हेर्न छोडिदिएँ । कोठामा मै हल्का हिड्नु, बसेर कपालभाती, अनुलोमबिलोम र भास्त्रिका गर्नु नै दिनचर्या भयो । बिहान उठ्दा पसिनाले शरीर लछप्पै हुन्थ्यो । उठेपछि केहीबेर खोक्नु पर्छ । अनि मन नपरी नपरी जुवानो र बेसार पानी पिउने । बल गरीगरी खाना खाने र ज्वरोको औषधी खाने नै मेरो काम भयो ।

दिनहरु कटिरहेका थिए । स्वास्थ्य भने स्थिर थियो । नेपालबाट आमाले “मन्दिर गएर आएकी छु, भाकल गरेकी छु” भन्नुहुन्थ्यो । बहिनीले फोन गरेर “भर्खर मन्दिरमा गएर दीयो बालेर आएँ दाई !” भन्थिन । थाहा पाउने नेपालका सबै आफन्तले फोन गरेर “सामान्य रुघाखोकी हो, केहि हुन्न ।” भन्नुहुन्थ्यो । तर उहाँहरुको मनको भाषा त मपनि बुझ्थें । आधा मनले त म पनि रुघाखोकी नै भन्थें, तर आधा मन सधै अशान्त हुन्थ्यो । किनकी संसार अशान्त थियो, मानिसहरु विचलित थिए । जुन लक्षणले म बेडमा थिएँ त्यही रोग कोरोनाको ईपिसेन्टर बनेको थियो अमेरिका ।

घरको एउटै कोठाको एउटै बेडमा सुतेको ११ औं दिन भयो । एक क्षणका लागी लाग्यो “अब जीवन दुई दिन बाँकी छ ।” यस्तो बेलामा घरिघरी नकारात्मक सोंच आउँदो रहेछ । हुन त म जीवनमा योभन्दा बढी लखतरान हुने गरि बिरामी परेको थिएँ । मर्छु जस्तो कहिल्यै सोचिन तर यो पटक धेरै डर थियो । शारीरिक पिडामा कम तर मानसिक भय बढी थियो । तरपनि सकारात्मक सोच राखिरहें, हिम्मत गरिरहें । सादा तातो पानी र जुवानो, अदुवा, बेसार र नुन राखेर पकाएको पानी प्रशस्त पिएँ । खानामा सकेसम्म बल गरें । सुत्दा र बस्दा थाकेपछि कोठामा हिडिरहन्थें ।

एक्लै बसेको दुई हप्ता हुदै थियो । दिउसोमा हुने जाडो कम महशुश हुन थाल्यो । अलिकति आशा बढ्दै थियो कि म सन्चो हुने भएँ भनेर । २७ मार्चको दिन ज्वरो ९९ डिग्री मै थियो । तर शरीरको दुखाई कम भएको थियो, जाडो हटेको र शितलता बढेको थियो । सधैभन्दा अलि फरक भयो । म सुत्नेबित्तिकै निदाएँछु । सधै सुतेको बेड मन नपरेर भुईमा अर्कै बेड बनाएर सुतेको थिएँ । २८ मार्चको बिहान म झसंग हुदै ब्युझिएं । आधा ब्युझिदै गर्दा मेरो मनले मनसंग सोध्यो “हैन म त मरें कि क्या हो ?” मैले पानीमा पौडीए जस्तै दुईटा हात बेड मै चलाएं । संगै खुट्टा पनि चलाएँ । भुईमा सुतेको हुँदा मेरो खुट्टा खाटको खुट्टामा ठोक्कियो । म जुरुक्क उठें, आफैलाई चिमोटें । दुईतिन पटक लामो स्वास लिएँ । खाट कै पल्लोतिर भुईंमा सुतेकी श्रीमतीलाई चिच्याएर उठाएँ र भने, “बुढी मलाई सन्चो भएछ ।” त्यसबिहान मेरो शरीर अरु बिहानभन्दा चंगा थियो, शरीरमा पसिना आएको थिएन । १२/१३ दिनको नियमितता भंग भएको थियो । जीवनमा पहिलो पटक भोगेको त्यो ५/७ सेकेन्ड सम्झेर अहिले पनि अचम्म लाग्दछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक