20200525

मेरो बुटवल, बसन्त दाई, बालकृष्णजी र लाहुरे बा !

- रामप्रसाद खनाल 

 
आज मलाई किन हो कुन्नि बुटवल याद आइरहेको छ । बिना योजना, बिना विषय पनि कहिले काहीँ कलम चलाउनु पर्छ भन्ने मान्यता राख्ने म  आज त्यही गर्दै छु । आज कुनै खास विषयमा केन्द्रित भएर मैले लेख्ने छैन । तर केही सम्झनाका तरेलीमा म बहने प्रयास गर्ने छु ।

बुटवल मेरो कर्मभूमि, मैले उच्च शिक्षा हासिल गरेको भूमि, अहिले पनि मेरा परिवारजन रहेको भूमि, पहिलो पटक जीवनमा आफ्नै पौरखबाट एउटा सानो घडेरी जोडेर, बस्ने गुँड बनाएको भूमि । धेरै पसिना सिँचेको छु मैले बुटवलमा । अहिले म कतै जाँदा, नदी नाला देख्दा पनि मेरो तिनाउ नदी, अलि पर मेरो जन्मभूमि गुल्मीमा गण्डकी र रिडी झलझली याद आउँछन् । त्यसैले मैले तिनाउ, गण्डकी र रिडीलाई सम्झेर गीत मात्र गाएको छैन कयौँ कविता, लेखहरू पनि लेखेको छु । ( पछिल्लो गीत यो लिङ्क https://www.youtube.com/watch?v=inNRu74pG2E  मा सुन्न सक्नुहुन्छ । मेरा अन्य गीतहरू सुन्न यो लिङ्क https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber मा जान सक्नुहुन्छ । )

संस्मरण नम्बर १ :

बुटवलको कुरा गर्दा आदरणीय दाइ बसन्तध्वज जोशीको निकै याद आउँछ । बुटवलका पुराना पत्रकार । अग्रज पत्रकार । जाने मानेका पत्रकार र समाजसेवी वसन्त दाइसँगको बुटवलका सुरुवाती दिन देखिनै मेरो सुमधुर सम्बन्ध रह्यो र त्यो आज सम्म जारी छ । वसन्त दाइको एक्स-रे साप्ताहिकमा पनि मैले धेरै लेखेँ । न त वसन्त दाइले मलाई कहिल्यै छोड्नुभयो न मैले दाइ लाई कहिल्यै साथ छोडेँ ।


नेपाल भारत पत्रकार मञ्च देखी प्रेस क्लब रुपन्देही सम्म खोलेर कहिले नेपालमा त कहिले भारतको कुशीनगरमा सम्मेलन गर्दाका क्षण, सँगै नारिएर हिँडेका क्षण भुल्नु पनि कसरी होइन र वसन्त दाइ ? पत्रकार सङ्घ देखी महासङ्घ सम्म पनि हामी सँगै रह्यौँ, दुखका दिन देखी सुखका दिन सम्म वसन्त दाइ र म सधैँ सँगै छौँ । कर्ण बहादुर कार्की, पँ. बाबुराम भट्टराई र उनका केही चम्मच बन्ने मित्रहरूले मलाई जसरी सताउँथे बुटवलमा गरी खाएको देखेर, वसन्त दाई लाई पनि कम सताएका होइनन्, मैले आफै देखे भोगेको छु ।



त्यो बेला, म भर्खरको ठिटो पत्रकार, वसन्त दाइ पुरानो, पाको, अग्रज पत्रकार । तर पनि हामी सधैँ नारिएर अगाडि बढ्थ्यौँ । पुराना पत्रकारहरू अर्जुन ज्ञवाली दाइ, ऋषि भुसाल सर, पूर्व रापँस सूर्यलालजी, मलाई बुटवल बहुमुखी क्यापसमा समेत पढाएका मेरा गुरु नवराज सुबेदी लगायतका पाका पत्रकारहरूको मैले सधैँ माया, आशीर्वाद र साथ पाएको हुँ बुटवलमा । मित्र शशी पौडेललाई पनि म त्यत्तिकै र सधैँ सम्झिन्छु किनकि वहाँ मलाई सधैँ साथ दिनेमा पर्नुहुन्थ्यो र छ ।

संस्मरण नम्बर २ :

बालकृष्ण चापागाईँजी सँग त म सँगै काम पनि गरेँ । मैले आफ्नो पत्रिका निस्पक्ष साप्ताहिक निकाल्नु अघि वहाँकै तत्कालीन जन सङ्घर्ष दैनिकमा प्रकाशनको दोस्रो दिनदेखी सह व्यवस्थापक देखी सह सम्पादक सम्म भएर काम गरेँ । हामी सँगै काम गर्ने क्रममा मैले बहुत कुछ सिकेको छु बालकृष्णजीसँग पनि । वहाँलाई म सधैँ आफ्नो अग्रजको रूपमा व्यवहार गर्छु, मान्छु, सम्मान पनि गर्छु । वहाँ आफैमा कहिल्यै पनि खराब व्यक्ति हुँदै होइन तर कर्ण बहादुर कार्की, पँ. बाबुराम भट्टराई र उनका केही चम्मचहरुले प्रयोग गर्न खोजेका घटनाहरू वसन्त दाइ हामी सबैलाई थाहा छ । वहाँका पनि केही बाध्यता र विवशता रहे होलान् त्यो बेला । हामी बिचमा पनि फुट ल्याउन भिलेन बन्ने ती कतिपय अनैतिक अनुहारहरू मेरो मानस पटलमा ताजै छन् । बालकृष्णजीलाई म राम्ररी बुझ्दछु र वहाँले मलाई राम्ररी बुझ्नुभएको छ । हामी बिच न कुनै मन मनमुटाब छन्, न भविष्यमा हुने नै छन् । हामीलाई फुटाउन, जुधाउन खोज्नेहरू आफै धराशायी भएर गए । हाम्रा खुट्टा तान्ने कतिपय त यसरी भासिए कि तिनीहरूलाई देख्दा अहिले दया लाग्छ र ती बिचराहरूका लागि भगवान् सँग प्रार्थना गर्न मन लाग्छ ।

Image may contain: 3 people, including Pampha Chapagain and Ram Prasad Khanal, people smiling

संस्मरण नम्बर ३ :

म बुटवल छाडेर काठमाडौँ बसाइ सराइ गर्ने निर्णय गर्नमा मलाई सबैभन्दा बढी प्रोत्साहन गर्ने अग्रज पत्रकारहरू राजन कार्की दाइ, वसन्त दाइ, अर्जुन दाइ, ऋषि सर, नवराज सर, सूर्यलालजी, शशीजी लगायत हुनुहुन्थ्यो । म बुटवलबाट काठमाडौं गएर केही गर्छु भन्दा मलाई महत्वाकाँक्षी भयो यो मान्छे डुब्छ भन्दै मलाई उडाउने, खुट्टा तान्ने केही बहादुरहरु अहिले पनि जिबित छन । तर मलाई साथ दिने, हौँसला दिनेहरुलाई म जिन्दगीमा कहिलै भुल्दिन र भुल्ने पनि छैन ।
Image may contain: Rajan Karki      

संस्मरण नम्बर ४ :

म काठमाडौँ आउँदा मलाई छोड्न आउने बसन्तध्वज जोशी दाई म काठमाडौं आएको एक वर्ष नबित्दै "रामप्रसाद भाइ मलाई पनि बुटवलमा केही पत्रकारहरूकै खेदोको कारण पनि बस्न मन लागेन" भन्दै बसाइ सरेर काठमाडौँ आउनुभयो । उमेर अवस्थामा बुटवल हल्लाएर बसेको त्यस्तो जाँगरिलो, उर्वर, बुटवलको चम्किलो तारा दाई अहिले काठमाडौँमा पत्रकारिता छाडेर विशुद्ध समाजसेवामा क्रियाशील हुनुहुन्छ । वसन्त बुटवलका वसन्त नै थिए उनी बिनाको बुटवल र लुम्बिनी अञ्चलको पत्रकारिता, राजनीति र समाजसेवा मलाई पुरै अधुरो लाग्छ तर त्यस्तो सुन वसन्त लाई नचिन्नेहरू पित्तललाई प्राथमिकतामा राखेर बसे । अहिले शायद पश्चात्ताप गर्छन् होला ।     

संस्मरण नम्बर ५ :

म केही महिना अगाडि अमेरिकाबाट नेपाल जाँदा पनि खोजी खोजी वसन्त दाइलाई भेट्न गएँ वहाँको ललितपुर स्थित घरमा । दाइ भाउजू छोरा सँग भेँटें । उमेर अवस्थाले मात्र हो नत्र दाइमा उही स्वभाव, हँसिलो, जाँगरिलो । बुढाले तोरी हरियो .... माया लाउनाले बिचै परियो भनेर दाइले गाउने त्यो गीत वसन्त दाईका मुखबाट प्रत्यक्ष, फोनमा कमसेकम मैले सय पटक सुने हुँला । बुढा मान्छे अति रसिक ।

वसन्त दाई म अमेरिका आइ सकेपछि अलि एक्लो भएको जस्तो मलाई महसुस भयो । दाइले भन्नुभयो - उमेरमा, सकुन्जेल जे जे गर्नु थियो गरियो भाइ, सबै लाई गरियो । तर तपाईँ अमेरिका बस्न थाल्नु भयो । हाम्रा यताका पत्रकारहरू पनि आजकल निकै भाउ खान थालेका छन् । त्यही भएर म त्यस्ता भाउ खोज्ने लाई खोज्दिन पनि । तर बालकृष्ण भाईले भने सम्झिन्छन् है । अरू त पहिला काठमाडौँ मा आउँदा डेरा चाहिए खोज्दै आउँथे क्यारे, अहिले होटेलमा बस्न सक्ने भएर होला हामीलाई के को सम्झिन्थे र !" बुझ्ने लाई काफी छ दाइको यो लाइन ।

मैले दाइको कुरा सुने पछि बुझी हालेँ । दाईले भन्नुभएको ठिक हो । मान्छे आजकल यति स्वार्थी र अधर्मी भए कि आफ्नो स्वार्थ सिद्ध गर्न बाहेक मान्छेले मान्छे खोज्दैन, आफ्नो चिन्दैनन्, साथीभाई भन्दैन र देख्दैन, सम्झिन्न ।

त्यस्ता स्वार्थी मान्छेहरुको कुरा किन गर्नु । बरु एकछिन रमाइला एक दुई कुरा गरौँ भो !

संस्मरण नम्बर ६ :

रमाइलो घटना याद आयो । वसन्त दाइ र म गर्मी छल्न साँझ साँझ तिर बुटवलको सिद्ध बाबा थान तिर जान्थ्यौँ गर्मी याममा । वसन्त दाइको एउटा स्कुटर थियो भम्पड । गोल पार्क बाट चिडिया खोला तिर लाग्दा जब उकालो के आउँथ्यो त्यो स्कुटर यति जोडले कराउँथ्यो कि के भन्नु ! सबैले के भयो भन्दै हामी लाई हेर्थे ! (म ती दिन सम्झेर हाँस्दै लेख्दै छु है वसन्त दाई ।) वसन्त दाईले चलाउने म पछाडि बस्ने,  मलाई त्यो स्कुटर कराएको सुन्दा डर लागेर दाई भो म हिँडेर आउँछु माथि, तपाईँ एक्लै जानुस् भन्थे । पछाडि हेर्दा धुवाँको मुस्लो । गोल पार्क बाट चिडिया खोला पुग्दा सम्म दुई तीन पटक स्टार्ट बन्द भएर घचेटेको पनि याद आउँछ भन्या । त्यो स्कुटर मैले कहिल्यै भुल्न सक्दिन ।

Sabatino Moped and Scooter | Portland Classic Scooter Sales and Servic

संस्मरण नम्बर ७ :

अलि पछि बालकृष्णजीले त्यस्तै एउटा भम्पड मोटर साइकल ल्याउनुभाथ्यो ( कुन चाहिँले विज्ञापनको पैसा दिएन अनि बुढाले त्यो मोटर साइकिल उठाएको हुनुपर्छ भन्ने मेरो अनुमान छ तर म पक्का छैन है त्यसमा ) त्यो मोटर साइकिलले बालकृष्णजी लाई कती सम्म बोक्यो थाहा भएन तर बालकृष्णजीले त्यो मोटर साइकिल निकै बोक्नुभयो । हरेक दिन बिहान स्टार्ट नभएर लतार्दै हिँड्ने बालकृष्णजी हेलमेट भने लगाउनुहुन्थ्यो । कुरै त हो बालकृष्णजी न रिसाउनुस् है !

'70's Indian Enduro 100 Cc Runs Great

संस्मरण नम्बर ८ :

त्यस पछि मेरो पालो आयो । मैले एउटा भम्पड राजदूत मोटर साइकिल किने । सत्र हजारमा किनेको मोटर साइकिल उकालोमा वसन्त दाईको स्कुटर र बालकृष्णजीको मोटर साइकिल बिर्साउने प्रकारको थियो । कहिले स्टार्ट बन्द हुन्छ, पेट्रोल खाने कति कति । बिच बाटोमा धोखा  दिन्छ । मार भाई धक्का भन्यो आफैले घुचेट्दै मोटर साइकिल वर्कसप सम्म पुर्‍यायो । हैरानै पार्‍यो भन्या ।   



मेरा एक जना मामाका ज्वाँई, भिनाजुलाई लौन भिनाजु यो मोटर साइकिल बेचिदिन पर्‍यो भनेको भिनाजुले एउटा इन्डियन आर्मीको लाहुरे बा  लाई पठाउनुभयो । ती लाहुरे बा आए मोटर साइकिल हेर्न । हेरे, मुसारे, जिन्दगीमा कहिल्यै मोटर साइकिल चढेका रहेनछन् बुढाले । आर्मी पारामा भने - हेर बाबु, आफू त लाहुरे मान्छे लेफ्ट राइट बाहेक अरु केही जान्दिन । अब यो मोटर साइकिल किनेर लगेर बल्ल चलाउन सिक्ने हो । कपिलवस्तुको कोपवा तिरका ती लाहुरे बा ले मलाई बोल्नै दिएनन् एकतर्फी कुरा गर्दै भने - ४० हजारमा दिने भए देऊ नत्र कुरै चाहिएन । चालिस भन्दा माथि एक पैसो हाल्दिन, त्यहाँ भन्दा सस्तो दिए पनि लैजान्न पो भन्छन् त ती बुढा । होइन बुवा त्यत्रो पर्दैन भन्दै छु - तिमी बढी जान्ने नहोऊ बाबु । देश खाएर शेष पल्टेको मान्छे हुँ मलाई नजिस्काऊ । चालिस हजार बुझ । मैले त्यो भम्पड मोटर साइकिल ४० हजारमा बेचिदिएर त्यही पैसामा सात हजार थपेर ४७ हजारमा नयाँ मोटर साइकिल किने । जिन्दगीमा त्यस्ता ग्राहक पनि भेटिए बा । बोल्न दिएको भए कसम ।

संस्मरण नम्बर ९ :

अझै कुरा यिनै पेन्सनवाला लाहुरे बा को । मोटर साइकिल किनेर बसको छतमा राखेर लिएर गएका लाहुरे बा ले गाउँ पुगेर छिमेकीहरू सबलाई घरमा मोटर साइकिल हेर्न डाकेछन् । एउटा स्कुल पढाउने मास्टरले सोधेछन् लाहुरे बा, कति मा किन्नु भयो त यो मोटर साइकिल ? बुढाले  जबाफ फर्काएछन् ४० हजारमा । यतिमा त नयाँ नै पाइथ्यो त किन पुरानो ल्याउनुभयो ?? यो सुनेर लाहुरे बा लाई रिस उठेछ - न तिम्रा बाउले जिन्दगीमा मोटर साइकिल देखे, न तिम्रा हजुर बाउले । के थाहा छ तिमीलाई ? केटाकेती पढाए जस्तो हो ?? चुप लाग । अनि गाउँले तै चुप मै चुप भएछन् । त्यस पछि गाउँ मा कसैले पनि त्यो मोटर साइकिलको मूल्य सोध्न छाडेछन् । लाहुरे बा ले त्यो मोटर साइकिल सिक्दा खुट्टा पनि भाँचेछन् । अनि गाउँलेहरूले के भयो लाहुरे बा खुट्टो ?? भन्दा बा ले भन्थे रे - खुट्टो भाँचियो देखिनस् ? यो गाउँ मा आज सम्म कसैले मोटर साइकिल सिक्दा खुट्टो भाँच्या देख्याछस ? लाहुरे बा ले मोटर साइकिल स्टार्ट गरेर हिँडेछन् पर बाट एउटा भैँसी आउँदै रहेछ, जोगाउन ब्रेक हान्नको सट्टा खेत तिर मोडिएछन् अनि आलीमा गुटुङ्ग टुङ्ग हुँदा खुट्टा भाँचिएको रे ! पछि भिनाजुले त्यो घटना सुनाउँदा मात्र होइन आज पनि सम्झिँदा म मरी मरी हाँस्छु । गाउँका हुने खाने, आर्मीका रिटायर्ड लाहुरे बा लाई त्यो मोटर साइकिलले त्यस पछि पनि बसन्त दाईलाई, मलाई र बालकृष्णजीलाई जस्तै दुःख दिए होलाकी नाई कुन्नी !

- मे २५, २०२० भर्जिनिया, अमेरिका  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक