20200527

श्याम शरणको गोप्य नेपाल भ्रमण, नक्सा प्रकरण र हाम्रा "राष्ट्रबादी" हरुको राष्ट्रबाद !


Image may contain: Bhupnarayan Ghartimagar- भुपनारायण घर्तिमगर 

" नेपाल दुई ढुङ्गा बिचको तरूल हो"
राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज  पृथ्वी नारायण शाहले नेपालको भू-राजनैतिक अवस्थालाई यसरी सटिकमा चित्रण गरेका थिए । राष्ट्र निर्माताले धर्ती छाडेर गएको धेरै वर्ष भईसक्दा पनि नेपालको भू-राजनैतिक अवस्थामा परिबर्तन भएको छैन । अवस्थित चीन र दक्षिण पूर्व पश्चिममा अवस्थित भारत तत्कालिन अवस्थामा भन्दा झन दरिलो ढङ्गले विश्व राजनैतिक रङ्गमञ्चमा उदाई रहेका छन्।विश्व भूमण्डलीकरण संगसंगै प्रविधिका क्षेत्रमा भईरहेको द्रुत बिकास र परिबर्तनले विश्वका हर क्षेत्रलाई पहिले भन्दा छिटो प्रभाव र परिबर्तन गरीरहेको छ।

यसै सेरोफेरोमा भारत र चीन दुबै उदियमान विश्व शक्तिका रूपमा अगाडि बढीरहेका छन्।यो आजको तीतो यथार्थ हो।एशिया प्यासेफीक क्षेत्र विश्व अर्थतन्त्रको केन्द्र बन्न गईरहेको बर्तमान अवस्थामा सिङ्गो एशिया प्यासेफीक क्षेत्रको साथसाथै दक्षिण एशिया आजको समयमा झनै पेचिलो र आकर्षक बन्न गईरहेको छ।हाम्रो देश नेपालको भू-राजनैतिक स्थिति दुई विशाल देश लगायत झण्डै झण्डै तीन अरब जनसँख्याको बिचमा अवस्थित छ।भारत संगको खुल्ला सीमाना र चीन संगको सहज आवत जावत अनि दुबै सीमा क्षेत्रका समान संस्कृति र अनुहार आदिका कारण बर्तमानमा भारत र चीन मात्र नभएर पश्चिमा मुलुकहरूको पनि आकर्षणको केन्द्र
बनेको छ नेपाल।

नेपाललाई केन्द्र बनाएर दुई बिशाल यशियाली देशमा खेल्न र दुबै देशका सीमा क्षेत्रका समान संस्कृति र अनुहारको उपयोग गर्दै , प्रभावमा पारेर ती दुई ठूला देशमा आफ्नो संस्कृति एवं राजनैतिक प्रभाव पार्ने प्रयास पश्चिमाहरूले सकृयताका साथ गर्दै आएको देखिन्छ। यसैको प्रभाव भन्दा फरक नपर्ला ,हालका दिनमा नेपालमा धर्म परिबर्तनका घटना बढ्दो छ।यसको लक्ष्य नेपाल मात्र सिमीत नभएर विशाल जनसँख्या भएको दक्षिण पनि हो।यसैका निम्ति पश्चिमको प्रभावमा मुद्दै नबनेको धर्म निरपेक्षता नेपालमा लादिएको सबैलाई थाहै छ।चीनको बढ्दो गती र स्वतन्त्र तीब्बतको मुद्दालाई नजिकबाट हेर्न र उछाल्न पनि पश्चिमा शक्त्तिहरूलाई नेपाल भू-राजनैतिक दृष्टीकोणले आकर्षक र उपर्युक्त थलो देखिएको छ।

२००७ सालको परिबर्तन संगसंगै भारतीय प्रभावको दबदबा बढ्दै आएकोमा पछिल्ला दिनहरूमा चीन,यूरोप र अमेरिकाको चासो र चलखेल बढी रहेको छ। जसको कारण देश चार शक्तिको खेलमैदान जस्तो भएको छ। बर्तमान सरकार बचाउन चीनिया राजदूतको सकृयता,MCC प्रकरण र धर्म निरपेक्षता यसका ज्वलन्त उदाहरणहरू हुन।भारत परम्परागत प्रभावलाई कायमै राख्न चाहन्छ भने चीन प्रभाव बिस्तार गर्न चाहन्छ।यूरोप अमेरिका नेपाललाई केन्द्र बनाएर भारत र चीनमा खेल्न चाहन्छन्। आपसी द्वन्द भएता पनि भारत र चीन नेपालमा यूरोपिय र अमेरिकी प्रभाव बढेर उनिहरू माथी आँखा राखेको पक्कै मन पराउने छैनन्।

यही भू-राजनैतिक अवस्था र परिस्थितिका कारण हामी अवसर र चुनौतिका बिचमा छौं।हाम्रा सामुन्नेमा भएका चुनौतिहरूलाई सुझबुझ पूर्ण कुटनीतिका माध्यामबाट समाधान गर्दै अवसरहरूको अधिकतम उपयोग गरि अगाडि बढ्न सकेको खण्डमा मात्र राष्ट्रिय स्वार्थ र सार्वभौमिकतालाई रक्षा गर्दै हामी सवल ,सक्षम र आत्मनिर्भर हुन सक्छौं।हामी जस्तै भू-राजनैतिक अवस्था भएको मंगोलियाले पछिल्लो समयमा यस्तै सुझबुझ पूर्ण नीतिका कारण राम्रो गरि रहेको छ।थोरै मात्र जनसँख्या भएको देशले सवल कुटनीतिको माध्यामबाट सबैलाई सन्तुलन गर्दै अवसरहरूको अधिकतम उपयोग गर्दै समग्रमा राम्रो गर्दै आएको छ।झण्डै झण्डै हाम्रो देशको जस्तै भू-राजनैतिक अवस्था भएको अफगानिस्तानले सुझबुझ पूर्ण ढङ्गले चुनौतिहरूलाई पञ्छाउदै अवसरहरूको उपयोग गर्न नसक्दा ठूलो मूल्य चुकाउनु परेको छ। राजा जहिर शाहको सत्ता बहिर्गमन संगसौगै सन् १९७३ मा राज सँस्था गयो।कम्यूनिष्ट आयो तर शोभियत सँघको सेना फिर्ता संगसौगै डा• नजिब ( नजिबुल्ला) को पतन संगै गयो। अहिले पनि पूर्वी यूरोप र रसियामा दुई लाख भन्दा बढी अफगानी कम्यूनिष्ट शरणार्थी छन्।मुजाहिद्दिन आयो। अमेरिका,पाकिस्तान र साउदीको सहयोगमा तालिवान आयो अमेरिका संगको द्वन्दकै कारण गयो।बर्तमानमा अमेरिकी कठपुतली सरकार छ।लाखौ लाख बिदेशमा शरणार्थी छन्।लाखका हिसाबले मान्छे मरे र अहिले पनि मरि रहेका छन्।देश अझै युद्धमै छ।बेहाल अवस्थामा अफगानिस्तान र अफगानिहरू छन्। देशको नेतृत्व असक्षम, कलंकित, पर-निर्भर र स्वार्थी बन्दा देश कस्तो हुन्छ ? भन्ने उदाहरण हो अफगानिस्तान।

हुन त कुटनीति आफैमा जटील र गम्भीर बिषय हो।परम्परागत रूपमा लामो समय देखि चल्दै आएको बिधा हो। खास गरिकन पूर्वीय सभ्यता/भारत बर्षमा निकै लामो समय देखि यसको उच्च अभ्यास हुदै आएको पाईन्छ।  रामायण कालमा रावणको राजसभामा बाली पूत्र अंगदले प्रदर्शन गरेको कुटनैतिक कौशल र महाभारत कालमा कौरव सभामा पाण्डव पक्षलाई  ५  गाउँ मागेर दुर्योधनको अहँकारलाई उचाल्दै महाभारतको सबै दोष कौरव पक्षमा थोपर्न श्री कृष्णले देखाएका कुटनैतिक क्षमता आज पनि महत्वका छन्।नन्द शासनलाई समाप्त गरि मौर्य शासनको स्थापना गर्न महान राजनीतिज्ञ तथा कुटनीतिज्ञ चाणक्यका सीप कौशल आज पनि त्यतिकै सान्दर्भिक छन्।नेपाल ककीकरणमा श्री ५ पृथ्वी नारायण शाहले अवलम्वन गरेका कुटनीति आज पनि नेपाल लाई मार्ग दर्शक छन्। उत्तरमा माओ जस्ता नेता र दक्षिणमा नेहरू जस्ता नेता भएको समयमा राष्ट्रिय सार्वभौमिकतालाई ब्यबहारमा उच्च राख्दै स्वतन्त्र नेपाल चिनाउन सफल श्री ५ महेन्द्रका कुटनीति बाट आज पनि हामीले शिक्षा लिन सक्छौं।

प्रथम विश्व युद्ध पश्चात परिमार्जित हुदै दोश्रो विश्व युद्ध अनि शीत युद्धको समाप्ति हुदै आजको विश्व पटल सम्म आइपुग्दा कुटनीति धेरै परिमार्जित भएको देखिन्छ।विचारको स्थानमा ब्यापार हावी भएको पाईन्छ। ठूला शक्ति राष्ट्रहरूले ब्यापारलाई केन्द्रमा राखेर आफ्नो परराष्ट्र नीति अवलम्वन गरेको देखिन्छ। समान विचारका सरकार र सत्ता भएका देशहरूको पनि ब्यापारिक तथा अन्य स्वार्थले वीचार छायाँ परेर तिक्तता आएको देखिन्छ।  चीन र भीयतनामको सम्वन्धलाई राम्रो उदाहरणको रूपमा लिन सकिन्छ। बेला बखत अमेरिका र क्यानडाका बिच अति राम्रो सम्वन्ध हुदाहुदै पनि खटपट देख्न पाईन्छ। हामी नेपालीले चीन चीन भनेर भज्दैमा  आफ्नो अरबौ डलरका ब्यापार दाउंमा लगाएर हाम्रा निम्ति चीन कसै संग लड्न आउने छैन। एक छिमेकीका बिरूद्ध अर्कोलाई उचाल्नु भन्दा समदुरीको सवल सम्वन्ध बनाउदै सन्तुलन गरेर अगाडि बढ्नु राम्रो हुन्छ।  चीन कार्डमा बढी निर्भर हुदा नेपाली शासकले मूल्य चुकाएको धेरै भएको छैन।

यसर्थ हाम्रो जस्तो भू-राजनैतिक अवस्था भएको देशले अत्यन्तै सजग र सुजबुझ कुटनीति अवलम्वन गरेर अगाडि बढी चुनौतिहरूलाई पञ्छाउदै अवसरहरूको उपयोग गरेर समग्र राष्ट्रिय बिकास गर्दै नेपाली स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्न नितान्त आवश्यक छ।भावना र आवेगमा आएर सस्तो लोकपृयताका निम्ति अवलम्वन गरिने कुटनीतिले क्षणिक सस्तो लोकपृयताका निम्ति काम गरे पनि दीर्घकालिन राष्ट्रिय हितमा काम गर्न सक्दैन।सत्ता र स्वार्थ रक्षार्थ देशको स्वार्थलाई ख्याल नगरिकन चालिएका कदमले बिकल्पहरू सिमीत गर्दै हाम्रो जस्तो भू-राजनैतिक अवस्था भएको देशलाई नोक्सान नै पुर्याउछ।हो राष्ट्रवादको पवित्र गंगोत्री कुशासन, अनैतिक र भ्रष्टाचारका पाप धोई पखालि गर्ने तीर्थ बन्न सक्छ।

त्यसैले हाम्रो भू-राजनैतिक अवस्थालाई ख्याल गर्दै, सुझबुझ पूर्ण कुटनीतिको अवलम्वन गरेर ,समस्याहरू समाधान गर्दै राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्न आवश्यक छ।नेतृत्व नैतिक,स्वच्छ,निष्कलंकित र स्वाभिमान हुन जरूरी छ। सत्ता पाउन सहयोग लिने, पार्टी चलाउन र चुनाव लड्न पैसा लिने। औषथोपचार, छात्रवृति आदि ईत्यादि केही नछाडेर लिने खाने अनि स्वार्थ नमिलेर राष्ट्रवाद उछालेर राष्ट्रवाद बलियो हुदैन। यो आर्टिकल लेख्दा लेख्दै भारतीय पूर्व सचिब तथा राजदूत श्याम शरण नेपाल आएर प्रचण्ड, ओली र देउवा ज्यूहरूलाई भेटेर संविधान संशोधन संसदको कार्य सूची बाट हटाईयो भन्ने समाचार आएको छ। यदि यो सत्य हो भने नेपालको राष्ट्रवाद र नेपाली जनताको राष्ट्रवादी भावना प्रति खेलवाड हो।मालिकलाई देखेर ख्वामित भन्दै शरण पर्ने हो भने मालिक संग रिसाएर किन वुर्कुशी मार्दै उफ्रेर राष्ट्रिय स्वार्थलाई दाउंमा लगाउने ? हामी जनताले पनि भावनामा भन्दा वास्तविकताको धरातलमा बसेर सोच्न र सोही अनुरूप गर्न आवश्यक छ।अमिला रोपेर आँपको आशा गरेर हुदैन। आँगनमा उन्यू रोपेर ढकमक्क फुलको आशा गर्नु मुर्खता हुन्छ। आयातित सिद्धान्तका भरमा सत्ता र स्वार्थ प्रधान कुटनीतिले पक्कै पनि नेपाल र नेपालीलाई फाईदा गर्ने छैन।हाम्रा वैभवशाली सभ्यता र सांस्कृतिका भरमा/जगमा नैतिक,निष्कलंकित र स्थायी देश प्रेमी बनि सुझबुझ पूर्ण र भू-राजनैतिक प्रधान कुटनीतिको अवलम्वन गर्दै हाम्रो नेपाली स्वाधिनता र सार्वभौमिकताको  रक्षा गरौ। सवल,सक्षम र स्वतन्त्र नेपाल बनाउदै नेपाली भएर बाँचौ।

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक