20200902

नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय ५१, संक्रमित हुनेको सख्या ४१ हजार ६ सय ४९ , २३ हजार २ सय ९० संक्रमण मुक्त, उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा अवधि थप

आज काठमाडौँ उपत्यकामा ३ सय ८८ जना सहित थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३ सय ५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जना सहित ३ सय २० महिला र ८ सय पुरुष गरी १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४१ हजार ६ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार १ सय १२ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २३ हजार २ सय ९० पुगेको प्रा.डा जोगेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ६ जना पुरुष र ६ महिलाको मृत्यृ भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

संक्रमणबाट चितवनमा ५५ र १८ वषिया महिला, काठमाडौमा ८९ वर्षीया, ललितपुरमा ७० वर्षीया, तनहूमा २० वर्षीया र कपिलवस्तुमा ६० वर्षीया महिला तथा बारामा ९७ वर्षीय पुरुष, चितवनमा ६५ वर्षीय, काठमाडौमा ७० र ७६ वर्षीय, धाधिङमा ४७ वर्षीय र भक्तपुरमा ४० वर्षीय पुरुषको मृत्यु भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १८ हजार १ सय ८ जना रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् ।

यस्तै संक्रमितहरुमध्ये १ सय ४४ जनाको आइसियुमा र १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसै बिच काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ ।

यसअघि जारी निषेधाज्ञा आज रातिबाट सकिनै लाग्दा उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गृह मन्त्रायलसँग छलफल गरेर निषेधाज्ञा अवधि थप गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायप्रसाद भट्टले टेकअवे, होम डेलिभरी र भन्सार पास भएका निर्माण सामग्रीलाई सञ्चालनका लागि खकुलो गर्दै निषेधाज्ञा बढाइएको बताउनु भयो ।

नेपाल मदर लाई प्राप्त एक अर्को समाचार अनुसार सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।

नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ । सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हो ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा सङ्क्रमण देखिन थालेपछि समुदायमा नै सङ्क्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिनुभयो । यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौँ उपत्यकामा पनि समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमण दर बढिरहेको छ । हिजोमात्र ४८१ जनामा सङ्क्रमण देखिएको थियो ।

“पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ । काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा सङ्क्रमण देखिएको छ ।”

“सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा पाण्डेले बताउनुभयो ।

सातवटै प्रदेशमा सङ्क्रमण बढी फैलिएका ठाउँमा गई छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ ।

एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।

महाशाखाका निर्देशक डा पाण्डेले अवको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताउनुभयो । उहाँका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ । “पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ । काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा सङ्क्रमण देखिएको छ ।”

विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा सङ्क्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि सङ्क्रमण देखिन थालेको उहाँको भनाइ रहेको छ । गत माघ ९ गते नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५२९ जना कोभिड– १९ को सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षण गरिएकामध्ये सङ्क्रमण दर ५।७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय सङ्क्रमित १८ हजार ११२ जनामा रहेको छ । यस्तै २३९ जनामा सङ्क्रमणका कारणले निधन भइसकेको छ ।

नेपालमा प्रति १० लाख ७.८ प्रतिशत मृत्युदर, सङ्क्रमितमध्ये मृत्युदर ०।६ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले समुदायस्तरमा सङ्क्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले १२ जिल्लामा खासखास ठाउँमा ९कलस्टर०मा सङ्क्रमण देखिएको बताउनुभयो । “यहाँ समुदायमा सङ्क्रमण अझै फैलिएको छैन”, उहाँले भन्नुभयो, “बाह्र जिल्लामा क्लस्टरमा सङ्क्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न सकेनाँै भने समुदायमा फैलिने डर छ ।”

अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज रहेका छन् । अहिले संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना, होम आइसोलेशनमा सात हजार २८० जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले समुदायमा सङ्क्रमण अझै गई नसकेकाले बताउनुभयो । उहाँले सङ्क्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशका क्रममा रहेको बताउनुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक