20200929

कोरोना, नेपाल र ताजा अवस्था


काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९३४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९३४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुष तथा भक्तपुरमा २८ महिला र ४५ पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका ११ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार २८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् ।

काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । काभ्रेप्लाञ्चोकमा १३ जनामा सङ्क्रमणको पुष्टि भएको होे ।

सर्लाहीमा कोरोना भाईरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल (बाबा आइसोलेसन)मा मृत्यु भएको हो । घरमै बिरामी परेर आइतबार वीरगञ्ज जानुभएका वृद्धको त्यसैदिन जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको परिवारका सदस्यलाई उद्वृत गर्दै बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिनुभयो ।

वृद्ध मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलाको बिरामी समेत हुनुहुन्थ्यो । मृतकको शव मङ्गलवार दिउँसो जिल्लामा ल्याएर पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती पुल दक्षिणपट्टीकिो घाटमा जलाएर अन्त्येष्टि गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार सर्लाहीमा पहिलो पटक यसरी कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको मृतककै धर्मअनुसार जलाएर दाहसंस्कार गरिएको हो ।

मृतकका परिवारका सदस्य र मलामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको शव व्यवस्थापन टोलीले सलामी अर्पण गरी शव जलाएको हो ।

शव व्यवस्थापनमा सहभागी टोली सदरमुकाम मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा बेग्लै आइसोलेटेड भएर बस्ने रणशेर गणका प्रमुख सेनानी (कर्णेल) सुरज राउतले जानकारी दिनुभयो ।

सर्लाहीमा अहिलेसम्म सदरमुकाम मलङ्गवामा दुई, लालबन्दी, हरिपुर, हरिपूर्वा, चक्रघट्टा र बरहथवामा एक÷एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । त्यसमध्ये वीरगञ्जमै मृत्यु भएका चक्रघट्टाका एक पुरुषको लखन्देही खोला र हरिपूर्वाकी एक महिलाको बाँके खोलामा सेनाद्वारा नै गाडेर शवको व्यवस्थापन गरिएको थियो । अन्यत्र मृत्यु भएका मलङ्गवा, लालबन्दी र हरिपुरका सङ्क्रमितको भने मृत्यु भएकै जिल्लामा शव व्यवस्थापन गरिएको छ ।

कोरोना सङ्क्रमणबाट अति प्रभावित भएको जिल्लाको सूचीमा पर्ने सर्लाहीमा अहिलेसम्म दुई हजार ५८ जनामा सङ्क्रमण पुष्टी भएको छ । त्यसमध्ये सात जना सङ्क्रमितको मृत्यु भएको छ भने एक हजार आठ सय २१ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सङ्क्रमितहरु होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका कोभिड–१९, फोकल पर्सन सुशिलकुमार झाले बताउनुभयो । पछिल्लो समय निषेधाज्ञा खुलेपछि भीडभाड बढ्दै जाँदा कोरोना परीक्षण भने हुन छाडेको छ ।

कोभिड–१९ को जोखिमबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ ।

बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ ।

उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताउनुभयो । “हामी उपत्यकाको नाका खोल्न नहुने पक्षमै थियौँ, सरकारलाई सुझाव पनि दिएको हो, तर कार्यान्वयन नहुँदा भीडभाड र सङ्क्रमण दर बढेको छ”, उहाँले रासससँग भन्नुभयो, “उपत्यका र अन्य जिल्लामा एउटै नियम लागू गर्नुहुन्न भन्ने पक्षमा हामी छौँ ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमबार उपत्यकामा चार हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका थिए । चार हजार ६९८ सवारीमार्फत २० हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । फलस्वरुप भीडभाड बढेको महसुस भएपछि आजदेखि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको उपत्यकाको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ । सार्वजनिक सवारी साधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ । सबै सवारीले पूर्णरुपमा आदेश लागू गरेका छैनन् भने जोर बिजोर प्रणालीसमेत बेपरवाह भएको पाइएको प्रहरीले जनाएको छ । प्रमुख श्रेष्ठले जोरबिजोर प्रणाली अहिले कागजमै सीमित भएको बताउनुभयो । त्यसकारण पनि उपत्यकामा भीडभाड बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल एक÷दुई दिन केही खुकुलो हुँदा सवारी बढेको पाइएकाले आजदेखि जोरबिजोरको पूर्ण कार्यान्वयनमा प्रहरी परिचालन गरिएको बताउनुभयो । आज मध्याह्नसम्ममा मात्रै उपत्यकामा एक हजार १०० सवारीलाई कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक र भौतिक दूरी कायम नगर्ने सवारी साधानलाई कारवाही तीव्र पारिएको छ । तोकिएभन्दा बढी भाडा लिएको, बढी यात्रु राखेको तथा स्वास्थ्यमापदण्ड प्रयोग नगरेको पाइएमा पनि सवारीलाई कारवाही गरिने उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको विवरण अनुसार देशभर कोरोना सङ्क्रमित मानिसको झण्डै आधा उपत्यकाका व्यक्ति छन् ।

त्यसैले उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक