20200904

'अनलाइनबाटै श्राद्ध गरौँ सङ्क्रमणबाट बचौँ'

 सोर्‍ह श्राद्ध | Suvadin !काठमाण्डाै - ‘घर पार्लर’ नामक कम्पनीले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै अनलाइन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले गुगल मिट, जुमलगायतका भिडियोमार्फत अनलाइन सेवा दिने भनेको छ । एक जना पण्डितबाट सुरु भएको सेवा अहिले विस्तार भएर ६ जना पण्डित कम्पनीसँग आबद्ध रहेका छन् । भर्चुअलमार्फत श्राद्ध गर्नेले कम्पनीलाई कुन तिथिमा श्राद्ध गर्ने, कति बेला गर्ने भन्ने जानकारी गराउनुपर्छ । अनि  कम्पनीले पनि के के गर्ने ? कसरी गर्ने भन्ने जानकारी दिन्छ । अहिले यो कम्पनीले 'अनलाइनबाटै श्राद्ध गरौँ सङ्क्रमणबाट बचौँ' भन्ने नाराका साथ श्राद्ध प्याकेज नै ल्याएको छ । 

यस्तै लाजिम्पाटमा रहेको ‘एस्ट्रो विधा’ले पनि अनलाइन सोह्रश्राद्ध प्याकेज ल्याएको छ । उसले २ हजार तिरेर अनलाइनमार्फत सोह्रश्राद्ध गर्न सकिने भनेको छ । पाँच लाखभन्दा बढी सेवाग्राहीलाई अनलाइनमार्फत नै ज्योतिष सेवा प्रदान गर्दै आइरहेको एस्ट्रो विधाले लकडाउनका कारण पुरोहितलाई घरमै बोलाएर सोह्रश्राद्ध गर्न नसक्ने अवस्थालाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको बताएको छ ।

भर्जुअल श्राद्ध गरेबापत सेवाग्राहीसँग २ हजार रुपैयाँ उसले लिने गरेको छ । जूम, स्काइप वा म्यासेन्जर प्रयोग गरेर श्राद्ध गर्न सक्ने उसले जनाएको छ । श्राद्धपछि ई–सेवा, खल्तीलगायतका एपहरुबाटै भुक्तानीको व्यवस्था गरिएको छ । रुपन्देहीको तिलोक्तमा नगरपालिकाले त सार्वजनिक सूचना नै निकालेर सोह्रश्राद्ध गर्दा भर्चुअल सेवा प्रयोग गर्न आग्रह गर्यो । यसरी पालिकाले समेत  भर्चुअल श्राद्धलाई ‘मान्यता’ दिइएपछि केही पुरोहितहरु  थप हौसिएका छन् ।

तर संस्कृतिविद् लगायत धेरैले अनलाइन श्राद्धको नाममा व्यापार गरेको भन्दै आलोचना गरेका छन् । श्राद्ध, पूजापाठ भन्ने बित्तिकै जजमान र पुरोहित एकै ठाउँमा भएर गर्नुपर्छ भनिन्छ । अहिलेको सङ्क्रमणमा वैकल्पिक उपाय त होला तर, त्यसले कर्तालाई आत्मसन्तुष्टि भने नदिने ललितपुर नख्खुका गेहेन्द्रराज अर्याल बताउनुहुन्छ । ‘अहिलेका युवापुस्ताले आत्मसात गर्लान् तर पुरानो पुस्ताले यो कुरालाई आत्मसात गर्न सक्दैनन्, केहीलाई रुचि लाग्ला तर मलाई त भर्चुअल माध्यमबाट सोह्र श्राद्ध  गर्न ठिक लाग्दैन’ उहाँ भन्नुहुन्छ । 

काठमाण्डौ सितापाइलाका शिव दुवाडीलाई पनि भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्ने कुरा चित्त बुझेको छैन । उहाँ भन्नुहुन्छ, ‘आफ्ना पितृले मोक्ष पाउन् भनेर श्राद्ध गर्ने हो । जतिसुकै विधि पुर्याउँछु भने पनि भर्चुअल विधिबाट गर्दा नियम पुग्दैन भन्ने कुरा सत्य हो ।’ 

पछिल्लो समय धर्म संस्कारका काममा पनि व्यापारीकरण हुँदै गएको भन्दै संस्कृतिविद्हरुले असन्तुष्टि जनाएका छन् । अझ अहिले कोरोना कहरको समयमा रेट नै तोकेर अनलाइन व्यापार हुन थालेको उनीहरु बताउँछन् ।ज्योतिष सेवा दिँदै आएका केही साइटहरुले सोह्र श्राद्धको नाममा व्यापार गरेका भन्दै संस्कृतिविद्ले चिन्तासमेत व्यक्त गरेका छन् । भर्चुअल सोह्र श्राद्धको नाममा दररेट नै तोकेर ब्राह्मण आपूर्ति गर्ने गरेको र यो शास्त्रको नियम विपरीत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । 

उहाँकाअनुसार शास्त्रमा सके सोह्र दिन नै श्राद्ध गर्नुपर्ने, नसके विभिन्न तिथिमा र त्यो पनि नसके आफ्नो पितृको जुन दिन निधन भएको छ, त्यही तिथि पारेर श्राद्ध गर्न भनिएको छ । श्राद्ध कुनै साहित्यिक कार्यक्रम गरेजस्तो वा बालबालिकालाई अनलाइनमा पढाएजस्तो नभएको भन्दै पितृ कर्म यसरी गर्नु अनुचित हुने गौतमले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘सोह्र श्राद्ध श्रद्धापूर्वक गर्नुपर्ने काम हो । तर पैसाका लागि मात्र  भर्चुअल माध्यमबाट बार्गेनिङ गरेर गराउनु र अरुलाई देखाउनका लागि गरेजस्तो गरिनुले धर्म संस्कृतिकै उपहास हो । सोह्र श्राद्ध ब्राम्हण नराखी सिद्ध हुँदैन । बस्ने आशनदेखि सबै कुराको व्यवस्थापन हुनुपर्छ ।  गोदान  अर्थात् गाईदान गर्नुपर्छ । यसो गर्दा कुश र पानी समातेर गाईको प्रतीकका रुपमा पैसा राखेर पुरोहितलाई अर्पण गर्ने गरिन्छ ।’

यस कार्यका लागि दान लिने व्यक्ति अर्थात् पुरोहितको भौतिक उपस्थिति हुनैपर्ने नियम भएकाले भर्चुअलबाट श्राद्ध गर्नु उपयुक्त नभएको भन्दै उहाँले दररेट तोकेर व्यापारीकरण गर्नु झनै गलत भएको बताउनुभयो । भर्चुअल विधि एकातर्फ शास्त्रीय मान्यता अनुकूल छैन भने अर्कोतर्फ यसका व्यवहारिक कठिनाइ पनि धेरै छन् । धेरै जजमानहरु श्राद्धका सामग्रीहरु आफैँले तयार पार्न सक्दैनन् । अरु प्रक्रियामा पनि पुरोहितको भौतिक उपस्थिति आवश्यक पर्छ । 

उज्यालो अनलाइनका अनुसार कोरोनाको जोखिम बढ्दै गएको बेला भर्चुअल माध्यमबाट श्राद्ध गर्न सम्भव नहुने र वृद्धवृद्धा भएको घरमा यो विधि स्वीकार्य नहुने संस्कृतिविद् मधुसुदन सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संस्कृति जोगाउने भन्दैमा गएका वर्षमा जस्तो भिडभाड गर्नु पनि हुँदैन । सावधानी भने अपनाउनु पर्छ । भौतिक दूरी कायम गर्न बिर्सनु हुँदैन । पुरोहितले सम्भव भएमा एउटा घरमा लगाएको कपडा अर्को घरमा जाँदा धोएर मात्रै लगाउनु राम्रो हुन्छ । मास्क, पञ्जा लगाउनै पर्छ ।’

धेरै घरमा जानुपर्ने र व्यस्त पुरोहितभन्दा पनि घर नजिकै भएका पुरोहितलाई बोलाउँदा उचित हुने उहाँको भनाइ छ । भोजभतेर गर्ने, धेरै मानिस जम्मा हुने भने गर्नु हुँदैन । दूरी कायम गरेर छोटो तरिकाले श्राद्ध गर्न सकिने उहाँको भनाई छ । यस्तो अवस्थामा एक जना पुरोहित  मात्र बोलाएर श्राद्ध गर्नुपर्ने उहाँ बताउनुहुन्छ । पहिलाजस्तो नातागोता भेला गर्नु हुँदैन ।  

शास्त्रले पनि स्वास्थ्यभन्दा ठूलो अरु केही नहुने बताएकाले परिस्थितिअनुसार चल्नुपर्ने उहाँको भनाइ छ । संस्कृतिविद् मधुसुदन सुवेदी भन्नुहुन्छ, ‘संस्कृति धान्नका लागि सोह्र श्राद्ध गर्नै पर्छ । तर पहिले जसरी नै गर्छु भन्न थालियो  भने अवस्था भयावह पनि हुन सक्छ  ।’ 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक