20201221

प्रचण्ड–माधवले ओलीलाई निकाल्ने, ओलीले प्रचण्ड–माधवलाई निकाल्ने, एमाले र माओवादी एकता भङ्ग, घेराबन्दी बढ्दै, देश फेरी भुमरीमा !


ओली प्रचण्डको चोँचो मोँचोले देशको यो हालत भयो, अब माधव प्रचण्डको चोँचो मोँचोले के के हुने हो !
   
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्डलाई कारबाहीको तयारी गरेको छ । भोलि बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अनुशासनहीन काम गरेको,आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री विरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको,पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ । बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको एक नेताले बताए । पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको छ । प्रचण्ड–माधव नेपाल पक्षले भोलि दिउँसो बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरेपछि ओली पक्षले काउन्टर कारबाही गर्न लागेको हो ।

उता नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने भएको छ । मंगलबारको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई हटाएको जानकारी निर्वाचन आयोगलाई दिने तयारी प्रचण्ड–माधव नेपाल पक्षको छ ।

ओलीलाई अध्यक्ष हटाएपछि उनको ठाउँमा पूर्व एमालेको तर्फबाट माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ ।नेपाललाई मंगलबारकै बैठकबाट अध्यक्ष चयन गर्ने कि अर्को बैठकबाट भन्ने टुंगो लागि नसकेको एक नेताले बताए । पार्टी एकता बेलाको सहमति र विधान अनुसार नै दुई अध्यक्ष रहने र पूर्व एमाले तथा पूर्व माओवादीबाट एक एकजनाले अध्यक्षता गर्ने स्पिरिट अनुसार ओलीको ठाउँमा नेपाललाई अध्यक्ष घोषणा गरिने ती नेताले बताए । बरियतामा भने प्रचण्ड पहिलो नम्बरमा हुनेछन् । प्रचण्ड–माधव नेपाल पक्षले बुधवार संसदीय दलको बैठक पनि बोलाएको छ । सोही बैठकबाट ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरिने सांसद झपट रावलले बताए ।

एमाले–माओवादी एकीकरण भएको दुई वर्ष सात महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन हुने निश्चित जस्तै भएको छ । केन्द्रीय कमिटीका अलग–अलग बैठक बसेसँगै अब नेकपाको विभाजन भएको छ । दुवै पक्षले पार्टी फुटाउने अन्तिम तयारी गरे पनि कसले पहिले घोषणा गर्ने भन्ने मात्र बाँकी छ । यो काम पनि सम्भवतः मंगलबार दुवै पक्षको बैठकबाट हुनेछ । नेकपा विभाजनसँगै मुलुक गम्भीर राजनीतिक र संवैधानिक संकटको सुरुङमा फस्ने सम्भावनाहरु देखिएका छन् । जुन अहिले आकलन गरिएका भन्दा निकै फरक हुनेछन् ।

प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही अघि बढाएको पत्र निर्वाचन आयोगमा सोमबार पेश गरिएपछि ओली पक्षले पनि प्रचण्डमाथि कारबाहीको औपचारिकता दिन मंगलबार बिहान केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकबाट प्रचण्डलाई कारबाही गरेर अध्यक्षबाट हटाइएको निर्णय हुनसक्छ । ओली पक्षले अन्य केही नेतालाई पनि कारबाही गरेको जानकारी आयोगलाई दिने सम्भावना छ । आफू पहिले हात नछाड्ने मान्यतामा रहँदै आएका ओलीले निर्वाचन आयोगमा अर्को पक्ष गएपछि काउन्टर कारबाही गर्न लागेको बताइन्छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले आफूलाई प्रचण्डले कारबाही गर्न नसक्ने बताइसकेका छन् । नेकपाको कुनै पनि निर्णय आफ्नो हस्ताक्षर विना वैधानिक नहुने ओलीले बताएका छन् । निर्वाचन आयोगमा दुवै अध्यक्षले हस्ताक्षर गरेर प्रमाणीकरण गरेको निर्णयलाई आधिकारिक मानिने भनिएको छ । नेकपामा अब एकले अर्को पक्षलाई गर्ने कारबाही राजनीतिक मात्र हुन् । प्रचण्ड–माधव नेपाल पक्षसँग बहुमत रहेको छ । बहुमतले गरेको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिनुपर्ने प्रचण्डले बताएका छन् । तर सहमतिका आधारमा निर्णय हुने र दुवै अध्यक्षले प्रमाणीकरण गरेको निर्णय आधिकारिक हुने कुराले नेकपा विभाजनपछि कानूनी लडाईं हुने लगभग निश्चित छ ।

केपी ओलीले पार्टी एकता भंग भएको घोषणा गर्ने सम्भावना पनि छ । त्यसो हुँदा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिने तर्क पनि राजनीतिक मात्रै हो अहिलेलाई । प्रतिनिधिसभा भंग भइसकेको अवस्थामा अब संसदीय दल भन्दा पनि पार्टी विभाजनमा केन्द्रीय कमिटीको संख्या महत्वपूर्ण हुन्छ । 

विद्यमान केन्द्रीय कमिटीको संख्याले ओलीलाई साथ दिंदैन । करीब तत्कालीन एमालेले करीब ५५ प्रतिशत र माओवादीले करीब ४५ प्रतिशत सदस्य लिएर पार्टी एकता भएको थियो । तत्कालीन एमालेको माधव नेपाल पक्ष प्रचण्डसँग लागेका कारण ओलीसँग केन्द्रीय कमिटीको ४० प्रतिशत संख्या नपुग्न सक्छ ।

अब नेकपाको विभाजन प्रतिनिधिसभा नै भंग भएको अवस्थामा कानूनी हिसाबले भन्दा पनि राजनीतिक निर्णयबाट हुने सम्भावना छ । त्यसैले अब फेरि ओलीले अर्को अध्यादेश ल्याएर दल विभाजन गर्छन् भन्ने तर्कमा भने दम छैन । ओली सूर्य चिन्ह र नेकपाको आधिकारिता दावी गर्दै निर्वाचन आयोगमा जाने तयारीमा छन् ।

नेपाल प्रेसका अनुसार यता प्रचण्ड–माधव नेपाल पक्षले ओलीलाई कारबाहीको जानकारी निर्वाचन आयोगलाई दिएर पार्टी विभाजनको प्रष्ट सन्देश दिइसकेको छ । मंगलबार कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गर्नेछ । त्यो निर्णयसहित प्रचण्ड पक्ष पुनः निर्वाचन आयोगमा जानेछ ।

प्रचण्ड पक्षले पार्टीको अहिलेको विधानलाई नचलाई दुवै अध्यक्ष कायम राखेर जाने रणनीति बनाएको छ । स्रोतका अनुसार पूर्व एमालेबाट माधव नेपाललाई अध्यक्ष बनाउने तयारी छ । मंगलबारकै बैठकबाट माधव नेपाललाई अध्यक्ष चयन गर्ने कि केही दिनपछि भन्ने टुंगो लागिसकेको छैन ।

बुधबार विघटित प्रतिनिधिसभाका सदस्यहरु सहित संसदीय दलको बैठक बसेर ओलीलाई दलको नेताबाट हटाई प्रचण्डलाई नेता चयन गर्ने तयारी छ । त्यसपछि नेकपा विभाजनले औपचारिक रुपमा पूर्णता पाउनेछ । दुवै पक्ष आफूलाई आधिकारिक भन्दै निर्वाचन आयोगमा गएपछि यो विषय कानूनी लडाइँमा परिणत हुनेछ ।

निर्वाचन आयोग र सर्वाेच्च अदालतसम्म दुवै पक्ष आधिकारिकताका लागि जाने अवस्था आउनेछ । त्यसबीचमा प्रदेश सरकारमा पनि मुख्यमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव आउनेछ । सात मध्ये ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेकपा विभाजनपछि कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका मुख्यमन्त्री अल्पमतमा पर्न सक्छन् ।

नेकपा विभाजनसँगै मुलुक राजनीतिक मूठभेड र संवैधानिक संकटतर्फ अग्रसर हुनेछ । एकपछि अर्को नसोचिएका घटनाहरु हुनेछन् । नेकपाको एउटा हिस्सासहित सबै विपक्षी दलले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दै राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

एकातिर राजनीतिक रुपमा प्रतिनिधिसभाको बैठक सभामुखले विशेषाधिकार प्रयोग गरेर बोलाउन खोज्ने र अर्कोतिर नेकपाकै सांसदहरु सर्वाेच्च अदालत जाने पनि तयारी पनि छ । यसबीचमा परिस्थिति बिग्रँदै गएर मुलुकमा संकटकाल लागू हुने र प्रदेश सभाहरु समेत भंग हुनेसम्मको अवस्थामा मुुलुक पुग्ने सम्भावना नजिकिंदै गएको देखिएको छ । नेकपा विभाजनसँगै मुलुक क्रमशः संवैधानिक संकटकै बाटोमा जाने निश्चित थियो, परिस्थिति त्यही दिशामा गइरहेको छ ।

यता  नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड पक्ष) र जनता समाजवादी पार्टीले संसद विघटन गर्ने सरकारी निर्णयको संयुक्त प्रतिवाद गर्ने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै तीनवटै पार्टीको केन्द्रीय बैठक र आन्तरिक तयारीपश्चात् सरकारविरुद्ध संयुक्त कार्यक्रम घोषणा गर्ने निर्णयसमेत गरेको छ । तीन दलको बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कदम असंवैधानिक रहेकोले कानूनी र राजनीतिक दुवै हिसाबले प्रतिवाद गर्ने निर्णय भएको बताए ।

‘सरकारको कदम संविधान र लोकतन्त्रविरोधी रहेको ठहर सबै दलले गरेका छौं । अब तीनै दलको आन्तरिक गृहकार्यपछि कानूनी र राजनीतिक हिसाबले सरकारको प्रतिवाद गर्छौ’, श्रेष्ठले सञ्चारकर्मीसँग भने । बैठकपछि कांग्रेस नेता रमेश लेखकले तीनवटै पार्टीको केन्द्रीय बैठक तय भइसकेकोले ती बैठकपछि थप रणनीति निर्माण हुने जानकारी दिए । कांग्रेस र नेकपाको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारका लागि बोलाइएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी थिए । नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुनलगायत सहभागी थिए । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक