20201231

प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूलाई लक्ष्य गरी भएको विस्फोटनमा कम्तीमा २२ जनाको मृत्यु

यमन आक्रमणयमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। पचास जनाभन्दा बढी घाइते भएको बताइएको छ। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।
घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ।
तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू "सकुशल" रहेको बताएका छन्।

देशका सूचनामन्त्रीले हूथी विद्रोहीहरूले "कायरतापूर्ण आतङ्कवादी कार्य" गरेको आरोप लगाएका छन्।
सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ।
साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हूथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।
यमन भोकमरी: 'विश्व उदासीन'
‘यमन विश्वकै ठूलो भोकमरीको जोखिममा’
त्यहाँ द्वन्द्वका कारण १,१०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ। अनि लाखौँ मानिस भोकमरीको सिकार भएका छन्। कोभिड-१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।
भिडिओमा के देखिन्छ?
यमन आक्रमण
भिडिओमा विमानबाट यात्रीहरू ओर्लिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ।
मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धूँवा निस्किएको देखे पछि भागेका थिए।
त्यसको केही समयमै गोली चलेको आवाज सुनिएको थियो। समाचारसंस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुईवटा विस्फोट सुनेको बताएका छन्।
अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी मामिला हेर्ने एक मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताए। हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन।
साउदी अरबद्वारा यमनसँगको सिमाना बन्द
साउदी अरबको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्गमा क्षेप्यास्त्र आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ।
अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एक कर्मचारीको पनि मृत्यु भएको जनाएको छ।
यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उपसचिवको मृत्यु भएको र दुई उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।
प्रधानमन्त्री मीन अब्दुल मलिक सइदसहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमणलगत्तै सुरक्षित स्थलमा लगिएको थियो।
सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो।

यसबीच हूथी विद्रोहीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा बुधवार राति हवाई आक्रमण भएको विवरणहरू आएका छन्।
सरकारको नियन्त्रणमा रहेको एडेन सहरमा भएको आक्रमणको केही घण्टामा सानामा हवाई आक्रमण भएको बताइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार सानाको आकाशमा लडाकु विमानको आवाज सुनिएको थियो र त्यसपछि विस्फोटहरू भएका थिए।
यमन सरकारको समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले ती हवाई आक्रमण गरिएको ठानिएको छ।- BBC

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक