20210601

विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधन


 काठमाडौं / विवेकशील नेपाली दलका संस्थापकसमेत रहनुभएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधन भएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४:२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण भएपछि थापालाई अस्पताल भर्ना गरिएको थियो । सोमबारमात्र उहाँको कोरोना नेगेटिभ आएको थियो । सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्रविधिबाट उपचार गरिएको थियो । उपचार महंगो भएकाले पार्टीका नेताहरुको अगुवाइमा भएको आर्थिक संकलनमा एकै दिन पचास लाख रुपैयाँ भन्दा बढी संकलन भएको थियो ।

थापाको परिवारले संक्रामक रोगको समयमा अन्तिम संस्कार साधारण पारिवारिक तवरले गर्ने इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन अनुरोध गरेको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकले व्यक्त गर्नुभएका सद्‍भाव, सदिच्छा तथा प्रार्थनाको लागि आभार व्यक्त गर्दै राष्ट्रपति, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्‍भाव र शुभेच्छाका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ ।

पार्टीले थापाको निधनमा शोक व्यक्त गर्दै स्व. थापाको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

विभिन्न राजनीतिक दल, सामाजिक क्षेत्रका व्यक्तित्वहरु तथा आम नागरिकहरुले पनि शोक बक्तव्य तथा सामाजिक सञ्जालबाट स्व. थापाको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

युवाहरुको सामाजिक अभियानबाट सुरु भएको विवेकशील दललाई पछि पार्टीको रुप दिइएको थियो । मेडिकल शिक्षालगायतका सामाजिक, राजनीतिक क्षेत्रमा विवेकशील दलले अभियान सञ्चालन गरेको थियो ।

यसै बिच विवेकशील साझा पार्टीले एक शोक वक्तव्य प्रकाशित गर्दै भनेको छ - विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा "उज्वल थापाको जीवन र विचार" विषयमा छलफल र बहस चलाउने छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।

थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ।

यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।

रवीन्द्र मिश्र, अध्यक्ष

मिलन पाण्डे, संयोजक

विवेकशील साझा पार्टी

मिति: १८ जेठ २०७८

*****************************




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक