20210705

८४ अर्ब रुपैयाँ लगानी लागेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

  प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय आत्मविश्वास बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले स्वदेशी पुँजीमा निर्माण गरिएको ४ सय ५६ मेगावाटकोमाथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कम्प्युटरबाट स्विच थिचेर भर्चुअल उद्घाटन गर्नुहुँदै विदेशीको भर नपरी आफ्नै बलबुतामा पनि थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण माथिल्लो तामाकोशी भएको बताउनुभयो ।

विकास हामी सबैको साझा आवश्यकता भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उपलब्धि पनि सबैको भएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् ढल्केबर सवस्टेशनबाट देशका विभिन्न भागमा वितरण गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं उर्जामन्त्री विष्णु पौडेलले जलविद्युत उत्पादनको इतिहासमा माथिल्लो तामाकोशी नयाँ कोसेढुंगा गाड्न सफल भएको बताउनुहुँदै यो औद्योगिक उत्पादनका लागि ठुलो योगदान हुने बताउनुभयो । 

नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्त्व भएको उल्लेख गर्दै उहाँले नेपालमा अब कहिल्यै पनि लोडसेडिङ नहुने बताउनुभयो । आजदेखि माथिल्लो तामाकोशी आयोजनाले नियमित विद्युत् उत्पादन थाल्नेछ । 

४ सय ५६ मेगावाटको यो आयोजनाबाट आज पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गर्नुभएको थियो । आयोजनाको करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान छ । यसमा ५२ अर्ब खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ । 

पूर्ण स्वदेशी पुँजी र स्वदेशी जनशक्ति मात्र प्रयोग गर्ने लक्ष्य राखिएकोमा परामर्शदाता तथा इन्जिनियरिङमा विदेशी जनशक्ति प्रयोग गरिएको थियो । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक